Comments Add Comment

लगानीको वातावरण नबिगारौं : अर्थमन्त्री

ramsaran-mahat-2
२९ असोज काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले आर्थिक गतिविधिहरुको विस्तारका लागि अहिले अत्यन्तै अनुकूल वातावरण बनेकोले मुलुकले निकट भविष्यमै ठूलो फड्को मार्ने बताएका छन् ।

नेपालका अर्थशास्त्रीहरुको केन्द्रीय संस्था नेपाल आर्थिक संघका नवनिर्बाचित पदाधिकारीहरुसँग बुधबार अर्थमन्त्रालयमा भएको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री महतले यस्तो बताएका हुन ।

‘आर्थिक एजेण्डालाई राजनीतिक पूर्वाग्रही दृष्टिकोणको शिकार बनाइनुहुँदैन’ उनले भने -आर्थिक एजेण्डामा सबैको दृष्टिकोण समान हुन आवश्यक छ । आर्थिक एजेण्डालाई अग्रभागमा ल्याएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।

विगत लामो समय राजनीतिक खिचातानीमा समय बर्बाद गरिएको चर्चा गर्दै अब बिबाद गरेर बस्ने समय नभएको उनले बताए । ‘संसार कहाँ पुगिसक्यो, हामीले त्यसलाई गम्भीरतापूर्वक बिचार पुर्‍याउनुपर्छ’ उनले भने । सो अवसरमा उनले भूटान समेत नेपालभन्दा धेरै अगाडि बढिसकेको सन्दर्भ प्रस्तुत गरे ।

प्राकृतिक स्रोत र साधनको समयमै सदुपयोग गर्न नसकेर खेर गैरहेको उल्लेख गर्दै महतले यसलाई सदुपयोग गर्नेमा बाधा अवरोध गर्नु भनेको अपराध भएको बताए । नेपालमा लगानीको वातावरण बनिसकेको उनको भनाई थियो ।

‘विशेषगरी नेपालको जलबिद्युत र पूर्वाधारको विकासका लागि अहिले सबैभन्दा उत्तम समय हो । अन्तर्राष्ट्रिय समुदायले यस क्षेत्रको विकासको लागि पर्याप्त चासो देखाएका छन’ उनले भने ।

विश्व बैंक र आईएफसी जस्ता संस्थाले करिब ६ खर्ब रुपैयाँसम्म लगानी गर्ने प्रतिवद्धता जनाइसकेको महतले उल्लेख गरे ।  ‘अन्य दातृ संस्थाहरुले पनि यस क्षेत्रमा लगानी गर्ने भनेका छन, निजी क्षेत्रका लगानीकर्ताहरु समेत आकषिर्त हुन थालेका छन’ उनको भनाई थियो ।

विश्व बैंक समूहको बाषिर्क बैठकमा भाग लिएर हालै नेपाल फर्किएका अर्थमन्त्री डा. महतले पहिला आफूहरुले भेट भन्नु पर्ने दातृ निकाय अहिले आफैं खोज्दै आउने गरेकोसमेत बताए ।

ramsaran-mahat

‘अहिले मलाई विश्व बैंकको कार्यालयमा आएर अमेरिकाका दुईजना सहायकमन्त्रीहरुले भेट गर्नुभयो र नेपालको विकासको लागि सहयोग गर्ने आश्वासन दिनुभयो, नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुको चासोका बारेमा पनि बताउनुभयो’ उनले भने- नेपालको जलबिद्युतको क्षेत्रमा लगानी गर्ने बारे अन्य देशका प्रतिनिधिहरुले पनि चासो राखेका छन । त्यसैले यो एउटा ठूलो अवसर हो ।

महतले नेपालको जलबिद्युतका क्षेत्रमा तत्काल ३००० मेगावाट क्षमता सम्मका आयोजनाहरुमा लगानी आउने बताए । अन्य पूर्वाधारका क्षेत्रमा पनि लगानी ल्याउन कसरत गरिरहेको पनि सुनाए । यस्तो अवसरलाई खेर जान नदिनेबारे सम्बद्ध सरोकारवालाहरु र नागरिक समाजका अगुवाहरुले समेत आवाज उठाउनुपर्नेमा उनको जोड छ । ‘अर्थतन्त्रलाई टेकअफ हुन दिऔ, त्यसपछि स्वतः अगाडि बढ्छ’ उनले भने ।

सो अवसरमा आर्थिक संघका अध्यक्ष प्रा. डा. विश्वम्भर प्याकुरेलले आर्थिक सुधार कार्यक्रमहरुलाई अगाडि बढाएर नेपालले ठूलो मात्रामा लगानी आकषिर्त गर्न सक्ने भन्दै त्यस्ता कार्यक्रमहरुमा दक्ष अर्थविदहरुका बिचारहरुलाई पनि समेटिनुपर्नेमा जोड दिए । प्याकुरेललेले आफूहरु अर्थमन्त्रालयले अगाडि सारेका आर्थिक एजेण्डाहरुलाई प्रभावकारीरुपमा अगाडि बढाउन बिज्ञका हिसाबले तयार रहेको प्रतिवद्धता पनि व्यक्त गरे ।

संघका पूर्वअध्यक्ष प्रा. डा. मदनकुमार दाहालले थिंक ट्यांक संस्थाको रुपमा रहेको संघले आफ्ना लामो अनुभवमा आधारित सुझावहरुका साथै विश्वस्तरका बिज्ञहरुलाई निम्त्याएर भएपनि नेपालको विकासका एजेण्डाहरुलाई अगाडि बढाउनेबारे सक्रिय भै सहभागिता जनाउने बताए ।

त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगलले दुई दशकअघि शुरु गरिएको उदारिकरणका कारण आर्थिक क्षेत्रमा ठूलो प्रगति भएको तर बीचमा नीतिगत अलमलले फेरि पछाडि धकेलिनुपरेको चर्चा गर्दै अव आर्थिक एजेण्डालाई उच्च प्राथमिकता दिएर कार्यान्वयनमा जानुपर्ने सुझाव दिए ।

सो भेटघाटमा संघका पदाधिकारीहरु, अर्थसचिव सुमनप्रसाद शर्मा, सहसचिव बैकुण्ठ अर्याल र मधुकुमार मरासिनी तथा मन्त्रालयका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । संघले अर्थमन्त्री डा. महतलाई संघको आजीवन सदस्यता प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment