+
+
Shares

दुर्घटना गराउने चालकलाई जेल हाल्नेबारे विवाद

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २१ गते १९:२४

२१ कात्तिक, काठमाण्डौं । सवारी दुर्घटनाका दोषी एवं चालकलाई कारवाही गर्नेबारे सरकार र मजदुर नेताहरु बीच मत बाझिएको छ ।

यातायात व्यवस्था विभागको कार्यालय नयाँ बानेश्वरमा शुक्रबार आयोजित छलफलमा यातायात मजदुर संगठनका प्रतिनिधि र सरकारी अधिकारीबीच केहीबेर दोहोरी नै चल्यो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका इन्जिनियर नवीन पोख्रेलले दुर्घटना गर्ने चालकलाई १० लाख जरीवाना वा ५ वर्ष कारवासको सजायँ हुनुपर्ने बताए । मजदुर नेताहरुले भने दुर्घटनाको वैज्ञानिक अनुसन्धानपछि कारण तथा दोषी प्रमाणित गरेर दोषका आधारमा सबै पक्षलाई कारवाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिएका थिए ।

बैठकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीमज्वाला राईले सडक दुर्घटनाको अध्ययन नै नगरी पूर्वाग्रही तरिकाले चालकलाई मात्रै दोषी देखाउन नमिल्ने बताए ।

चालकलाई मात्रै दोषी देखाई श्रमिकविरुद्ध कानुन बनाइए देशभरिकै यातायात मजदुरहरु काम छाडेर आन्दोलनमा आउन बाध्य हुने राईले बताए । नेपाल यातायात मजदुर संघका अध्यक्ष अजय राई र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जगत सिंखडाले राज्य एकतर्फी रुपमा लागेर मजदुरविरोधी कानुन ल्याउने हो भने त्यसलाई आफूहरु नमान्ने बताए ।

मजदुरहरुका विषयमा बन्ने नीति निर्माणका सम्बन्धमा मजदुरकै प्रतिनिधिहरुलाई सहभागी गराउनसमेत सरकारलाई मजदुर नेताहरुले आग्रह गरे । राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात व्यवसायीबाट असुलेको करोडौं रुपैयाँ राजस्व सडक विस्तार र मर्मतमा खर्च नगर्दा दुर्घटना बढेको बताए ।

एक पक्ष मात्रै दोषी छैन : महानिर्देशक

बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक काशिराज दाहालले सवारी दुर्घटनामा कुनै एक पक्ष मात्रै दोषी नभएको भन्दै सुधारका लागि सबैको सहयोगको अपेक्षा गरे ।

यातायात क्षेत्रको समस्या पहिचान गरी सुधारका लागि बनेको सुझाव समितिले सरोकारवालासँग सुझाव संकलन गरिरहेको दाहालले बताए । सुझाव संकलनपछि कानुन संशोधनका लागि राज्यलाई सुझाव दिने समितिका अध्यक्षसमेत रहेका महानिर्देशक दाहालले बताए ।

आरोप प्रत्यारोपभन्दा पनि समस्या समाधानका लागि सबैले आ-आफ्नो तर्फबाट सकारात्मक भूमिका खेल्नुपर्ने विभागका निर्देशक दाहालले बताए । तत्कालका लागि उपत्यकामा चालकहरुलाई सडक दुर्घटना न्युनीकरणका लागि सचेतना कार्यक्रम गर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?