Comments Add Comment

कसले खायो ३५ किलो सुनको कमिसन ?

पुष्प दुलाल

२४ मंसिर काठमाडौं । व्यवस्थापिका संसद अन्तरगत सार्वजनिक लेखा समितिमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र गृहसचिव सूर्यप्रसाद सिलवालले बुधबार ३५ किलो सुनका विषयमा सभासदलाई जवाफ दिन हम्मेहम्मे पर्‍यो ।Gold

प्रहरीले गरेको बदमासी झल्काउने भिडियो र अडियो समेत संसदीय समितिको बैठकमा प्रस्तुत भएपछि गृहका अधिकारी असिन-पसिन भए । संसदीय समितिलाई जवाफ दिने क्रममा प्रहरी महानिरीक्षक अर्यालले सभासदहरुलाई विचार पुर्‍याएर बोल्न आग्रह गरे ।

के हो ३५ किलो सुनकाण्ड ?
गत असार २३ गते प्रहरीले काठमाडौंको तीनकुनेबाट ३५ किलो सुन समात्यो । भीमबहादुर तमाङ, पदम तामाङ र सञ्जय झाको सुराकीमा प्रहरीले सो परिमाण बराबरको सुन समातेको थियो ।

बरामत भएको सुनको १५ प्रतिशत मूल्य बराबर ‘सुराकी कमिशन’ दिने चलन छ । जसअनुसार उक्त सुनको सुराकी गर्नेले सुराकी कमिशनवापत २ कराेड १० लाख रुपैयाँ पाउनुपर्ने थियो ।
तर, प्रहरी नेतृत्वले आफ्नै नाता गोतालाई  नक्कली सुराकी खडा गरेर वास्तविक सुराकीलाई कमिसन नदिएपछि यो काण्ड बाहिर आयो ।

यो पनि पढ्नुस् – तीन वर्षमा २८५ किलो सुन समातियो : प्रहरी

वास्तविक सुराकी दाबी गर्ने तामाङ र झाले आफूहरुले कमिशन नपाएको र प्रहरी नेतृत्वले नक्कली सुराकी खडा गरेर आफन्तलाई कमिशन दिएको दाबी गर्दै विभिन्न निकायमा उजुरी गरे ।
उनीहरुले अख्तियारमा पनि उजुरी गरे । अहिले यो काण्डको फाइलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । संसदीय सार्वजनिक लेखा समितिले पनि यो काण्डको छानविन थालेको छ ।

अख्तियारको आलटालपछि लेखाको शरण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धानमा आलटाल र ढिलाइ भएको सुराकीहरुको गुनासो छ । प्रहरीका उच्च अधिकारीबाट ज्यान मार्ने धम्कीसमेत आएको भन्दै  सुराकीहरुले आफ्नो सुरक्षा र घटनामाथि छानविन गरी आवश्यक कारवाही गर्न लेखा समितिमा निवेदन दिएका हुन् ।

सुराकीको निवेदनसँगै ३५ किलो सुन काण्ड अहिले संसदमा प्रवेश गरेको छ । सार्वजानिक लेखा समितिले यस विषयमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसँग पटक-पटक प्रष्टीकरण लिने प्रयास गरेको छ ।

चित्तबुझ्दो जवाफ नआएको भन्दै समितिले बुधबार पुनः गृहसचिव सूर्यप्रसाद सिलवाल र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रष्टीकरण दिन बोलायो ।

उनीहरुले संसदमा प्रष्टीकरण त दिए । तर, यथार्थ विवरण लुकाएर संसदलाई जवाफ दिएको सभासदहरुले आरोप लगाए ।

धनराज गुरुङले भिडियो देखाए

सभासद धनराज गुरुङले केन्द्रीय अनुसन्धान ब्यूरोका हवल्दार सुरेन्द्र स्वाँर र सुराकीबीच सुराकी कमिसनमा भएको ‘मोलमोलाई’को भिडियो नै संसदमा देखाए । Dhanraj Gurung

त्यसैगरी गुरुङले सीआइबीका तत्कालीन एसपी ईश्वरबाबु कार्की र सुराकीबीच टेलिफोनमा भएको कुराकानीको अडियो पनि संसदमा सुनाए ।

‘सुराकी तपाईहरु नै हो, तर तपाईहरुको नाम राखेपछि तपाईहरुलाई सुट हुने भएकाले नाम उल्लेख नगरिएको हो । तपाईहरुलाई कमिशन दिन्छौं तर, भनेजति दिँदैनौं,’ भिडियोमा सीआइबीका हवल्दार स्वाँरले भनेका छन्- ‘हाम्रा पनि स्वास्छी छोराछोरी छन्, हामीले चैं खानु पर्दैन ?’

भिडियो १४ मीनेट लामो छ । भिडियोमा धम्कीपूर्ण र अश्लील शब्दहरु पनि छन् । भिडियोमाथि समितिको अर्को बैठकमा थप छलफल हुने सभापति जनार्दन शर्माले बताए ।

त्यसैगरी पाँच किलो सुन प्रकरणमा तत्कालीन सीआइबी प्रमुख केशबहादुर साहीविरुद्ध उजुरी दिने सीआइबीका तत्कालीन प्रवक्ता एसपी ईश्वरबाबु कार्कीले सुराकीसँग गरेको टेलिफोन वार्ताको अडियो रेकर्ड पनि सभासद गुरुङले  बैठकमा सुनाए ।

रेकर्डमा एसपी कार्कीले भनेका छन् -‘सुराकी तिमीहरु नै हौ, तिमीहरुलाई कमिशन दिउँला, तर डलरवाला पनि खोज । डलरवाला ल्यायौ भने कमिशन पाउँछौ । म सरुवा मिलाएर काभ्रे वा भक्तपुर आउँछु, अनि सेटिङ मिलाएर काम गर्नुपर्छ ।’

काभ्रेमा सरुवा मिलाएर सेटिङ मिलाउने बताएका एसपी कार्की हाल बारमा एसएसपी पदमा कार्यरत छन् ।

लेखा समितिमा जुहारी

लेखा समितिमा प्रहरी महानिरीक्षक अर्याल, गृहसचिव सिलवाल र सभासदहरुबीच जुहारी नै चल्यो ।

‘अधिकांश घटनामा तस्करी बापतको सुराकी कमिशन नेपाल प्रहरीका उच्च अधिकारीका साली, श्रीमती, जेठी सासूले लिएको देखिन्छ’ सभासद योगेन्द्र चौधरीले भने -‘प्रहरी नेतृत्वको परिवारले तस्करीको सूचना दिएकै हुन् भने त्यहाँ प्रहरी अधिकारीको पनि संलग्नता छ । उनीहरुमाथि छानविन हुनुपर्छ ।’

सभासदहरुले प्रहरीको नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए ।

कुन सभासदले के भने ?

बैठकमा करिब एक दर्जन सभासदहरुले आफ्नो धारणा राखे । अधिकांश सभासदले नेपाल प्रहरीको नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए ।

सभासद धनराज गुरुङले प्रहरीले आफन्तलाई नक्कली सुराकी खडा आफैंले कमिशन लिने गरेको दाबी गरे । ‘दिनैपच्छिे एयरपोर्टबाटै खुरुखुरु सुन भित्रिएको छ भन्ने सूचना आएको छ, के प्रहरीको मिलेमतो बिना यो संभव छ ?’ उनले प्रश्न गरे ।

यो विषयमा विषेश छानविन गर्नुपर्ने र अर्को बैठकमा गृहमन्त्रीलाई नै बोलाएर जवाफ माग्नुपर्ने गुरुङले माग राखे ।

सभासद रामहरी खतिवडाले ३ वर्षमा २ सय ८५ किलो सुन बरामत हुनुले नेपालमा दिनानुदिन सुन तस्करी बढ्दै गएको पुष्टि भएको भन्दै यसतर्फ समयमै सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने बताए ।

‘पुलिसका डनहरुले नक्कली सुराकी खडा गरी आफैं पैसा लिन्छ, करोडौं कमाएर बैधानिक बनाउँछन्’ खतिवडाले अख्तियारलाई समेत आरोप लगाउँदै भने- ‘अर्बको फाइल गएपछि अख्तियारमा पनि अडि्कन्छ ।’

सभास वीरेन्द्र महतोले चीनको खासा र भारतसँग भएको खुल्ला नाकाका कारण सुन तस्करी बढेको बताए । सभासद एकनाथ ढकालले प्रहरीमाथि गम्भिर आशंका पैदा भएको बताए । पशुपति चौलागाईले नेपालमा सुन तस्करी समस्या बन्दै गएको बताए ।

सभासद डोरप्रसाद उपाध्यायले वैध बाटो (वाणिज्य बैंक) बाट आएको ४ सय किलो सुन नबिकेर थन्किएको तर सुनको तस्करी भने बढिरहेको बताए ।

‘सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभूषण संघले दैनिक ४० किलो सुन आवश्यक भएको बताइरहेका छन् । तर, वैध बाटो (बैंकहरु) बाट दैनिक १५ किलो मात्रै सुन आयात भइरहेको छ ।’ उनले भने- ‘यो तथ्यले बजारमा सबै तस्करीको सुन उपयोग हुँदै आएको देखाउँछ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्षमात्रै ९ हजार किलो सुन खपत भएको तथ्यांक उनले सुनाए ।

सभासद कमला पन्तले ३५ किलो सुन काण्डमा समातिएका अभियुक्तहरु धरौटीमा छुटेको, तर ड्राइभर भने थुनिएको बताइन् ।

सभमासदहरु पार्वती डीसी, हरिचरण साह, ऋषिकेश पोखरेल, कमला पन्त,  अमृतलाल राजबंसी, हरिप्रसाद नेलाललगायतले बोलेका थिए ।

प्रमाण पुर्‍याए कारवाही भोग्छु : आइजीपीUpendra-kanta-aryal

नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफू भ्रष्टाचारमा संलग्न भएको प्रमाण पुर्‍याए जस्तोसुकै कारवाही भोग्न तयार रहेको समितिको बैठकमा बताए ।

महानिरीक्षक अर्यालले सभासदहरुलाई हचुवाका भरमा व्यक्तिगत जीवनमा आँच आउने गरी नबोल्न आग्रह गरे ।

‘सुन सुराकीमा भुक्तानी लिने मेरो १३ पुस्ते नातेदारको नाम सप्रमाण आयो भने म जस्तोसुकै कारवाही भोग्न तयार छु’ अर्यालले भने – ‘व्यक्ति खराब हुन सक्छ तर, सभासदज्यूहरुले संगठनकै अपमान हुने गरी अभिव्यक्ति दिनुचाहिँ भएन ।’

सम्मानित संसदभित्रै आफूले अपमानित भएको महशुस गरेको महानिरीक्षक अर्यालले गुनासो गरे ।

आफू महानिरीक्षक भएको एक वर्षमा प्रहरीले १ सय ८८ किलो सुन बरामत गरेको उनले सुनाए । ‘यसलाई तस्करी नियन्त्रण गर्न प्रहरी सक्रिय भयो भनेर बुझ्न सकिन्छ, तर किन त्यसरी बुझिँदैन ?’ उनले सभासदलाई प्रश्न गरे ।

प्रहरी प्रधान कार्यालयको सम्पर्कमा आएको खण्डमा वास्तविक सुराकीहरुको सुरक्षा गर्न प्रहरी प्रतिवद्ध भएको उनले दोहोर्‍याए ।

सुन बरामतसम्बन्धी मुद्दा राजस्व अनुसन्धान विभाग र भन्सार विभागमा पठाइएको उनले जानकारी दिए ।
‘सुराकी मुद्दाको विवरण प्रहरीसँग हुँदैन’ उनले भने -हालसम्म राजस्वबाट ३ वटा मुद्दाको मात्रै जवाफ प्रहरीलाई आएको छ ।

सुराकीको नाम अदालतले मागेमात्रै जानकारी गराउनुपर्ने व्यवस्था भएको भन्दै राजस्व र भञ्सार कार्यालयले प्रहरीलाई पनि जानकारी नदिएको अर्यालले सुनाए ।

सुनकाण्डका विषयमा प्रष्टीकरण दिन नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल र गृहसचिव सूर्यप्रसाद सिलवाल लेखा समितिमा उपस्थित भएका थिए ।

सुन तस्करी बढेको गृहसचिवको स्वीकारोक्ति

गृहसचिव सूर्यप्रसाद सिलवालले पछिल्लो समयमा सुन तस्करी बढेको स्वीकार गरे । ‘सुन तस्करी बढेकै हो र गृह प्रसासन नियन्त्रण गर्न सक्रिय भएको पनि हो’ उनले भने, चीनसँगको नाका क्षेत्रमा हामीले विशेष निगरानी राखेका छौं ।’

प्रहरी संगठनभित्रकै व्यक्तिहरु दोषी भए उनीहरुमाथि कारवाही हुने सिलवालले बताए ।

तर, कहिलेकाहीँ आफ्नो नाम जोडेर सेटिङ मिलाएको समाचार प्रकाशित हुने गरेको भन्दै उनले गुनासो गरे । ‘सेटिङ कसरी मिल्छ मलाई थाहा भएन, तर म सेटिङमा संलग्न भएको समाचार आइरहेका छन्’ उनले भने ।

सभासदले मानमर्दन गरेको गुनासो

सम्मानित संसदभित्रै आफूले अपमानित भएको महशुस गरेको सिलवालले बताए । ‘माननीय सभासदज्यूहरुले हाम्रो मानमर्दन हुने गरी शब्द प्रयोग गर्नुभएको छ, आगामी दिनमा यस्तो नहोस्’ सिलवालले आक्रोश पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment