टेलिभिजनको रंगिन दुनियाँमा रम्दा रम्दै नायिका बनेकी आश्मा डीसीका लागि यसको यात्रा तय गर्न गाह्रो भएन । गोपीकृष्ण टेलिभिजनमा भीजेको रुपमा काम गर्दा गर्दै उनी चलचित्रकर्मीको नजरमा परिसकेकी थिइन् । अफर गर्नेहरुको केही थिए, तर उनले रुची देखाइनन् ।
आश्मालाई एक रिपोटिङकै सिलसिलामा निर्देशक सुरेन्द्र पौडेल र निर्माता गोविन्द शाहीले कथा सुनाएका थिए । १० मिनेटको समयमा सुनेको कथाले उनको चलचित्र करिअरमा नसोचेको मोड ल्याइदियो ।
किन गर्नुभयो त ‘आभाष’?, अनलाइनखबरको ‘फ्रेस फेस’ अन्र्तगत कुराकानी गर्ने क्रममा आश्माले भनिन्-‘यसको कथा नै बलियो छ । चलचित्रको कथावस्तु मलाई मन परेर गरेकी हुँ ।’
उनलाई चलचित्र खेल्ने सोच थिएन । आश्माले आफूलाई चलचित्र नगरीमा जान्छु भन्ने नै नलागेको खुलाइन् । तर पहिलो चलचित्र ‘आभाष’को कथावस्तुले तानेपछि उनले आफ्नो पाइला रोक्न सकिनन् ।
आश्मा आफुलाई रिजर्भ बस्न चाहने युवतीको संज्ञा दिन्छिन् । आश्माको चर्चा यतिबेला कलाकार संयम पुरीसँगको प्रेमका कारण पनि छ । उनी प्रेमका बारेमा भन्छिन्-‘हामी एक अर्काको आवश्यकता महशुश गर्छौ र साथ पनि दिन्छौ ।’ संयमसँग कसरी प्रेम बस्यो आश्मालाई थाहा छैन । तर, उनी भन्छिन्-‘उहाँको ‘सायद’ चलचित्र हेरेपछि म आकषिर्त भएकी थिएँ । पछि मित्रता प्रेममा परिणत भयो ।’
उनी आफूलाई एकदमै राम्री छु भन्ने ठान्दिनन् । भन्छिन्-‘नायिका बन्नका लागि सुन्दरताले मात्र काम गर्दैन । म एउटा नायिका भन्दा पनि राम्रो कलाकारको रुपमा चिनिन चाहन्छु ।’ सुन्दताको कुरा गर्दा उनले आफ्नो आँखालाई एक नम्बरमा राखिन् ।
योजना विनाको जीवन भएकाले पनि आश्मा भोली के बन्छु र कसरी अगाडि बढ्छु भन्न नसक्ने बताउँछिन् । तर, ‘आभाष’को बक्स अफिसले उनको चलचित्र करिअरलाई ठूलो असर पार्नेछ । भनिन्-‘निर्मातालाई आम्दानी भयो भने मेरो पनि करिअर चम्केला, होइन भने मैले पनि सोच्नै पर्छ ।’
प्रतिक्रिया 4