Comments Add Comment

जनयुद्ध : जीत र हारका बीस वर्ष

SUDARSHAN mANGOLसुदर्शन मंगोल

वि.सं. ०७१ को फागुन १ मा आउँदा सिंगो माओवादी आन्दोलनको आयु २० वर्ष पुगेछ । जनयुद्धका दश वर्ष विजय र उपलब्धिका वर्ष रहे भने शान्तिप्रक्रियाका दश वर्ष विघटन र पराजयका वर्ष बन्यो ।

०५२ फागुन १ मा माओवादीले सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादका विरुद्ध सशस्त्र जनयुद्धको उद्दघोष गर्‍यो । यो नेपालको इतिहासमा सर्वाधिक ठूलो सशस्त्र आन्दोलन थिया, जसको लक्ष्य नयाँ जनवादी राज्यसत्ताको स्थापना थियो ।

तर, आज जनयुद्धका लक्ष्य पूरा नहुँदै माओवादी आन्दोलनको ठूलो हिस्सा संसदवाद र गोलचक्करवादमा पुगेर विसर्जनको संघारमा छ भने अर्को क्रान्तिकारी हिस्सा नयाँ शिराबाट अघि बढ्दैछ । खासगरी नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको माओवादीले दश वर्ष लामो जनयुद्धका लक्ष्यलाई भिन्न शिराबाट पुरा गर्ने बाटो तय गरेको छ । यो माओवादी आन्दोलनका लागि एउटा सुखद पक्ष हो ।

खासमा माओवादी आन्दोलनको बीस वर्ष कस्तो रह्यो ? त्यसमा पनि जनयुद्धका दश वर्ष र शान्ति प्रक्रियाका दश वर्षलाई आजका माओवादीहरुले कसरी मूल्यांकन गर्ने ? वास्तवमा माओवादी आन्दोलनको विचलन र विघटन कहाँबाट सुरु भयो ? जनयुद्ध आरम्भदेखि चुनबाङसम्मको अवधिलाई कसरी समीक्षा गर्ने ? चुनबाङदेखि काठमाडौंसम्मको यात्रालाई कसरी विश्लेषण गर्ने ? शान्तिप्रक्रियामा आएदेखि यहाँसम्मको माओवादी आन्दोलनको विभाजन र नयाँ धुव्रीकरणलाई कसरी बुझ्ने ? अबको माओवादी आन्दोलन कसरी अघि बढ्छ ? थुप्रै प्रश्नहरु छन्, जसको जबाफ आजका क्रान्तिकारी माओवादीहरुले दिनै पर्छ ।

उपलब्धिका वर्ष

वास्तवमा जनयुद्धका दश वर्ष माओवादी आन्दोलनको एउटा स्वर्णयुग भन्दा अतियोक्ति नहोला । किनभने दश वर्षे जनयुद्धले नेपालको सामन्तवादी संरचनालाई जरैदेखि हल्लाइदियो । सामन्तवादका जराहरु गाउँ गाउँबाट काटिए । त्यसैको बलमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । यी त सिंगो नेपाली समाज र विश्वले स्वीकार गरेको तथ्य भइहाले । त्योभन्दा अझ ठूल्ठूला उपव्धिहरु भए, जसलाई काठमाडौंको केन्द्रीय सत्ता र विदेशी शक्तिकेन्द्रहरुले स्वीकार गरेन । तर, यथार्थ त्यही थियो ।

दश वर्षे जनयुद्धले सशस्त्र छापामार टुकडीको निर्माण गर्दै दशौं हजारको संख्यामा विशाल जनमुक्ति सेना निर्माण गर्‍यो । दशौं हजार पूर्णकालीन कार्यकर्ता उत्पादन गर्‍यो । तिनै कार्यकर्ता र जनसेनाको बलमा गाउँ-गाउँबाट स्थानीय सत्ता निर्माण भए । स्थानीय सत्ताबाट जिल्ला जनसरकारहुँदै माओवादीले केन्द्रीय जनसरकारको घोषणा समेत गर्‍यो । गाउँदेखि शहरसम्म आउँदा करिब ७५ प्रतिशत भु-भाग माओवादीको नियन्त्रण र कब्जामा छ भनेर इन्टरनेशनल क्राइसिस गु्रपदेखि थुप्रै देशी/विदेशी शक्तिहरुले समेत स्वीकार गरे ।

गाउँदेखि केन्द्रीय जनसरकारको घोषणासम्म पुग्नु त्यो वास्तवमा ठूलो राजनीतिक उपलब्धि थियो । रणनीतिक रक्षादेखि सन्तुलनहुँदै रणनीतिक प्रत्याक्रमणको फौजी चरणसम्म आइपुग्नु पनि सैन्य हिसाबले ठूलो उपलब्धि थियो ।

देशव्यापीरुपमा माओवादी आन्दोलनको फैलावट । आफ्नै जनसेना, जनसत्ता, जनअदालत र जनकम्युनहरु स्थापना गर्नु कम्ति चानचुने कुरा थिएन । नेपाली धर्तीमा यति ठूलो सशस्त्र आन्दोलन कहिल्यै भएन । ००७, ०१५ र ०१७ मा कांग्रेसले गरेको तीनपटकको सशस्त्र संघर्ष र ०२८ मा मालेले सुरु गरेको सशस्त्र झापा संघर्षभन्दा कयौं ठूलो आकारमा माओवादीले आफ्नो सशस्त्र आन्दोलनलाई विकास र विस्तार गर्‍यो ।

माओवादी आन्दोलनले खासगरी विपन्न किसान, उत्पीडित महिला, दलित, जनजाति, मधेश र उपेक्षित क्षेत्रका समुदायमा ठूलो प्रभाव पार्‍यो । माओवादीको आव्हानमा सामन्तका सयौं बिघा जमिन खोसेर हलिया र मुक्त-कमैयाहरुलाई बिनामुआब्जा बितरण गरिदिँदा हजारौं किसान, हलिया र मुक्त-कमैयाहरु सामन्त/जमिन्दारका विरुद्ध आन्दोलनमा माओवादीसँगै हेलिए । उनीहरुले माओवादी आन्दोलनबाट आफ्नो भविष्य देखे । मध्ययुगीन छुवाछुत र भेदभाव विरुद्धको माओवादी क्रान्तिले उपेक्षित हजारौं दलित समुदायहरु जनयुद्धमा सरिक हुन पुगे । आधा आकाश र आधा धर्ति ओगटेका महिलामाथिको सामाजिक र सांस्कृतिक कुपरम्पराका विरुद्ध हजारौं उत्पीडित महिलाहरु माओवादी आन्दोलनमा सहभागी बने ।

त्यसैगरी जनजाति, मधेशी र कर्णाली क्षेत्रजस्ता उपेक्षित समुदाय र क्षेत्रहरुको पनि दश वर्षे जनयुद्धमा अत्याधिक ठूलो सहभागिता रहन पुग्यो । तिनै उत्पीडित र उपेक्षित वर्ग, जाती, क्षेत्र, लिंग र समुदायको मुक्ति र परिवर्तनको आवाज माओवादीले उठाएका कारण जनयुद्धले छोटो समयमा ठूलो उपलब्धि हासिल गर्न पुग्यो ।

यसरी माओवादी आन्दोलनको गुणात्मक छलाङले चीनमा माओको निधनपछि यति ठूलो सर्वहारा आन्दोलन, जसको प्रभाव देशदेखि विदेशसम्म पुग्यो । विश्वका भाइचाराहरुमा निकै ठूलो उत्साह र उमंगहरु सिर्जना गर्‍यो । त्यसैले त विश्वका भाइचारा र शुभचिन्तकहरुले नेपालको माओवादी आन्दोलनबाट असाध्यै प्रभावित भएर यस्तो अभियान छेडे, ‘हिमालयतिर र्फक, जहाँ एउटा नयाँ विश्व जन्मदैछ’ ।

एउटा ‘ट्रनिङ पोइन्ट’

राजनीतिक र फौजीरुपले रणनीतिक प्रत्याक्रमणमा पुगेको माओवादी आन्दोलन चुनबाङ बैठकसम्म आउँदा ठीकै बिन्दुमा थियो । रुकुमको खारा मोर्चामा दुईपटकको असफल फौजी आक्रमण र अन्य कयौं जिल्ला सदरमुकाम पूर्णरुपले कब्जा हुन नसक्नुको राजनीतिक र फौजी कारणहरु के थिए ? राजनीतिक र फौजी रुपले जनयुद्धलाई कसरी रक्षा र विकास गर्ने ? मुलतः फौजी रुपले तत्कालीन शाही नेपाली सेनामाथि कसरी विजय हासिल गर्ने ? खासगरी जनयुद्धको राजनीतिक लक्ष्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कसरी वैधानिकता प्रदान गर्ने ? यी प्रश्नहरुमाथि गंभीर बहसको खाँचो र आवश्यक्ता पनि थियो ।

यी परिघटनाहरुबीच ०६२ असोज-कार्तिकमा रुकुमको चुनबाङमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले राजनीतिक कार्यदिशाको रुपमा लोकतान्त्रिक गणतन्त्रको कार्यनीति र फौजी रुपमा ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति पारित गर्‍यो । दस्तावेजमा टेकेर बहस गर्ने हो भने कार्यनीतिक रुपमा चुनबाङले तय गरेको राजनीतिक र फौजी कार्यनीतिलाई प्रचण्डले इमान्दारितापूर्वक कार्यान्वयन गर्न सकेको भए नेपालमा नयाँ ढंगबाट क्रान्ति सम्पन्न गर्न सकिने निश्चित थियो । तर, प्रचण्डहरु इमान्दारीपूर्ण तरिकाले क्रान्तिको तयारीमा लागेनन् । खासगरी चुबाङबाट काठमाडौंमा प्रवेशसँगै प्रचण्डहरुको मन र मस्तिष्क बुर्जुवा संसद्वादतिर लहसियो । काठमाडौंको केन्द्रीय सत्ता कब्जा गर्न आएका प्रचण्डहरु उल्टै उसको कब्जामा परे । जसका कारण सिंगो माओवादी आन्दोलनले ठूलो धक्का खानुपर्‍यो ।

विश्वमा माओको निधनपछि कतै पनि सर्वहारा क्रान्ति किन सफल हुन सकेनन् ? पेरु, बर्मा, मलाया, फिलिपिन्सलगायतका मुलुकहरुमा चलेका सशस्त्र जनयुद्धहरुले किन सेटब्याक खायो ? भारतमा दशकौं वर्षदेखि संचालन भइरहेको जनयुद्ध किन तार्किक निश्कर्षमा पुग्न सकेको छैन ? पक्कै पनि ती माओवादी आन्दोलनहरुको बारेमा अध्ययन र खोजी हुन जरुरी थियो । दश वर्षे जनयुद्धलाई नयाँ उचाइँबाट विकास गर्नु भनेको राजनीतिक र फौजी दुबै हिसाबले गर्नु थियो । तर, प्रचण्डहरुले सोचेजस्तो संसद्वादमा पुगेर विलय हुन माओवादीहरु चुनबाङबाट काठमाडौं आएका हुँदै होइनन् । चुनबाङको बुझाइ र गराइमा भिन्नता आएकै हुनाले ०६३ को बालाजु प्लेनमबाट पार्टीमा सुषुप्त रुपले दुईलान संघर्ष सुरु भएको हो । पछि खरिपाटीदेख पालुङटारहुँदै ६/७ वर्ष लामो पेचिलो दुईलाइन संघर्ष चल्यो । यो अन्तरसंघर्षले पार्टीमा देखा परेका अन्तरहरुलाई हल गर्न नसकेपछि ०६९ को बौद्धबाट माओवादी पार्टी घोषित रुपले विभाजित हुन पुग्यो ।

माथि थोरै चर्चा गरेजस्तै चुनबाङबाट माओवादी जनयुद्धलाई नयाँ शिराबाट विकास गर्नै पर्ने थियो । राजनीतिक र फौजीरुपले माओको निधनपछि सफल हुन नसकेका जनयुद्धहरुबाट पाठ सिकेर नेपालका माओवादीहरुले आफ्नो आन्दोलनलाई कुनै पनि हालतमा विकास गर्नै पर्ने थियो । राजनीतिकरुपमा के हुन सक्थ्यो ? फौजीरुपले कसरी विकास गर्न सकिन्थ्यो ? त्यसैले चुनबाङ बैठक माओवादी आन्दोलनको एउटा निर्णायक र ट्रनिङ प्वाइन्टथियो ।

पराजय र गोलचक्करका वर्ष

शान्तिप्रक्रियामा प्रवेश गरेपछि माओवादी आन्दोलन ओरालोतिरको यात्रामा लाग्यो । यो बीचमा माओवादीहरुले थोरै उपलब्धि तर धेरै क्षति र पराजय भोग्नुपर्‍यो । आन्दोलन र संघर्ष होइन खाली वार्ता र सम्झौताको बाटो अबलम्न गर्न थालेपछि सिंगो माओवादी आन्दोलनले आफ्नो आयतन क्रमश घटाउन पुग्यो । प्रचण्ड र बाबुरामहरु यति तल झरेर सम्झौतामा गए कि उनीहरुले संसद्वादीहरुसँग गरेको अवाञ्छित सम्झौता र आत्मसमर्पणका कारण जनसेना क्यान्टोनमेन्टमा खुम्चिन पुग्यो । जनसत्ता, जनअदालत र जनकम्युनहरु विघटन गरियो ।
माओवादीका धेरै नेताहरु संसदतिर छिरेपछि पार्टी कार्यक्रमहरु स्थिगत जस्तै हुन पुगे ।

नेताहरु संविधानसभा (संसद) भवनमा घाम ताप्नतिर लाग्ने । इमान्दार कार्यकर्ताहरु क्रान्तिको भविष्यप्रति चिन्तित भएर कुनै विकल्प नपाएपछि पलायन हुने । जनसेनाहरु क्यान्टोनमेन्टतिर छटपटिने । कार्यकर्ताहरु कार्यक्रम नपाएर पलायन हुने । अनि जनताहरु जनसत्ता, जनअदालतहरु विघटन हँुदा निराश भएर अर्को कुनै पार्टीको फुर्को समाउनुपर्ने । यस्तो स्थिति आइलागेपछि माओवादीको भविष्य के हुन्छ ? त्यसपछि माओवादी आन्दोलन घोर निराशा, अन्योल र अर्कमन्यतातिर फस्यो । त्यसपछि माओवादीले पराजय मात्र व्यहोर्न थाल्यो ।

दश वर्षे जनयुद्धका लक्ष्यहरु सम्पूर्ण रुपले गुम्ने स्थिति देखेपछि माओवादीभित्रबाट क्रान्तिकारी नेता/कार्यकर्ताहरुले पार्टीभित्रबाटै विद्रोहको झण्डा उठाए । सुरुमा बालाजुदेखि विद्रोहको झण्डा उठाउने कमरेड विप्लव हुन् । पछि जेलबाट किरण र गौरव मुक्त भएपछि किरणले क्रान्तिकारी विचार समूहको नेतृत्व गरे ।

किरणले क्रान्तिकारी विचार समुहको नेतृत्व प्रदान गरे पनि त्यसलाई अविलम्ब क्रान्तिकारी पार्टी आकारको रुपमा लैजान सकेनन् । जसले गर्दा धेरै क्रान्तिकारी कार्यकर्ताहरु प्रचण्ड-बाबुरामसँग रहन पुगे । प्रचण्डहरु संसदीय घेराबाट निस्कनै नसक्नेबारे क्रान्तिकारीहरुले उतिबेलै निचोड निकालेका थिए । त्योबेला यथाशीघ्र क्रान्तिकारीहरुले प्रचण्ड-बाबुरामसँग सम्वन्धविच्छेद गर्ने र नयाँ पार्टीको निर्माणसँगै क्रान्तिकारी कार्यक्रमलाई अघि बढाउनुपर्दथ्यो । तर, त्यो हुन सकेन ।

ठोस परिस्थितिको ठोस विश्लेषण माक्र्सवादको आत्मा भनेजस्तै ठोस परिस्थितिमा ठोस निर्णय गरेर अघि बढ्नु लेनिनवादको आत्मा हो । रुसमा लेनिनले ठोस परिस्थितिको ठोस विश्लेषण मात्र गरेनन्, ठोस परिस्थितिमा ठोस निर्णय गरेर अक्टोबर क्रान्ति गरे । संसदको प्रयोग र बहिष्कार, अक्टोबर क्रान्तिपछि संविधानसभाको निर्वाचन र विघटन । यी सबै लेनिनले क्रान्तिकारी वर्गको पक्षमा गरेको वर्ग पक्षधरता र सही नेतृत्वका कारण थियो ।

यता नेपालमा शान्तिप्रक्रियाको समग्र पाटापक्षको एक एक गरेर विश्लेषण त भयो तत्कालीन क्रान्तिकारी विचार समुह र नेतृत्वबाट । तर, विश्लेषणपछि सश्लेषण गर्न नेतृत्वले सकेन । किरणजीको विश्लेषण निकै राम्रो रह्यो तर सश्लेषण हुन सकेन । मालेमावादको दार्शनिक, सैद्धान्तिक र राजनीतिक पक्षमा सुन्दर ब्याख्या हुने तर कार्यदिशा, कार्यक्रम र योजनामा फितलो रहने । मालेमावादको व्याख्यामा किरणजी क्रान्तिकारी रहने तर कार्यदिशा र कार्यक्रममा दक्षिणपन्थी देखिने ।

त्यो मुलतः किरणजीमा देखा परेको गम्भीर राजनीतिक र सांगठनिक समस्याका कारण थियो । उनले आलोचना र विरोधको राजनीति त गरे तर आफ्नो बाटो के हो ? हामी के गर्छौ ? क्रान्ति कसरी गर्ने वा कसरी हुन्छ ? यसबारे किरणले कहिल्यै वैकल्पिक बाटो दिन सकेनन् । अविभाजित एमाओवादीहुँदै ड्यास माओवादी गठनको अढाइ वर्ष लामो समय र अहिलेसम्म पनि उनी गोलचक्करको बाटोमा छन् । के गर्ने ? विरोध मात्र गर्ने वा केही नयाँ गरेर देखाउने ? उनीसँग राजनीतिक कार्यक्रम छैन । कुनै योजना छैन । त्यही भएर त कमरेड विप्लवको नेतृत्वमा नयाँ क्रान्तिकारी माओवादी निर्माण हुन पुग्यो ।

लङमार्चको दोस्रो कदम

कपिलवस्तु भेलादेखि नयाँ पार्टी विभाजनसम्मको अवधि नेपाली मौलिकताको लङमार्चको पहिलो कदम थियो । यसले माओवादी आन्दोलनमा देखा परेको प्रचण्ड-बाबुरामको नवसंशोधनवाद र किरण-बादलको छद्म संशोधनवाद विरुद्धको लडाइँमा ऐतिहासिक जित हासिल गर्‍यो ।

तत्कालीन चीनमा चलाइएको लङमार्च पार्टीभित्रको अवसरवाद र बाहय दुश्मनका विरुद्ध छेडिएको लडाइँ थियो । त्यसले भित्र र बाहिरका दुबै दुश्मनका विरुद्ध जित हासिल गर्‍यो । त्यही लङमार्चको जगमा माओले नयाँ जनवादी क्रान्ति सम्पन्न पार्नु भयो ।

आज नेपालमा कमरेड विप्लवको नेतृत्वमा निर्माण भएको नेकपा माओवादीले भिन्न ढंगबाट लङमार्चको दोस्रो कदम अघि बढाएको छ । चीनमा एक लाखको संख्यामा सुरु भएको अभियान उत्तरी शेन्सी पुग्दा जम्मा २५ हजार लालसेना मात्र बचेका थिए । त्यो अभियानमा दशौं हजारको संख्यामा लालसेनाले वीरगति प्राप्त गरे । दशौं हजार कम्युनिस्ट कार्यकर्ता पलायन भए, थाके । अन्तिममा बचेको २५ हजारको जगेडा शक्तिले नै दशौं लाख लालसेना निर्माण गर्‍यो र क्रान्ति सम्पन्न भयो ।

हो, आज नेपालमा पनि विप्लव नेतृत्वमा रहेका सबै मान्छेहरु पार्टीमा रहिरहन सक्लान् भनेर भन्ने स्थिति छैन । किनभने केहीे मान्छेहरु निहीत निजी स्वार्थ बोकेर आएकाहरु पनि छन् । ती मान्छेहरु साच्चिकै क्रान्ति सुरु हुने बित्तिकै सात कोष टाढा भाग्ने निश्चित छ । किनभने जसले निजी स्वार्थ बोकेर आएको हुन्छ, उसले क्रान्तिका लागि खतरा मोल्न तयार हुँदैन ।

नेपाली लङमार्चको दोस्रो कदम हालै दाङमा सम्पन्न राष्ट्रिय सम्मेलनले दिशानिर्देश गरेको बाटो हो । यो बाटोबाट नेपाली क्रान्तिको बाटो धेरै हदसम्म सोझिएको छ । यसले क्रान्तिकारी माओवादीहरु नयाँ शिराबाट नेपालको जनवादी क्रान्ति सम्पन्न पार्ने बाटोमा अग्रसर छन् भन्ने देखाएको छ । दश वर्षे जनयुद्धका अनुभव र शिक्षाहरुबाट पाठ सिकेर यो माओवादीले एकीकृत जनक्रान्तिको कार्यदिशाबाट नेपाली क्रान्ति सम्पन्न पार्दैछ ।

इतिहासको पुनराववृति हुँदैन, विकास हुन्छ भनेजस्तै नेपाली क्रान्तिको पनि पुनरावृत्ति नभई नयाँ ढंगबाट विकास भएर क्रान्ति हुँदैछ । पेरिस कम्युनको पुनरावृत्ति रसियन क्रान्तिमा भएन । अनि रयिसन क्रान्तिको पुनरावृत्ति चिनियाँ क्रान्तिमा भएन । त्यसैगरी रसियन र चिनियाँ क्रान्तिको पुनरावृत्ति ०५२ फागुन १ मा सुरु भएको जनयुद्धमा हुबहु भएन । अब नेपालमा हुँदै गरेको क्रान्तिमा रसियन, चिनियाँ र ०५२ मा सुरु गरिएको जनयुद्धको हुबहु नक्कल हुने छैन । निकै भिन्न स्वरुपबाट ती क्रान्तिका अनुपम शिक्षा र अनुभव सश्लेषित भएर क्रान्ति सम्पन्न हुनेछ । जुन बाटो (कार्यदिशा) एकीकृत जनक्रान्तिको कार्यदिशाको रुपमा अभिव्यक्त हुन पुगेको छ ।

नेपाली जनयुद्ध दिवसको २० औं वर्षगाँठको अवसरमा हामी क्रान्तिकारी माओवादीहरुले स्मरण गर्नै पर्ने कुरा भनेको ०५२ मा सुरु गर्दा जे प्रतिबद्धता ब्यक्त गरेर जनयुद्ध गरिएको थियो, त्यो लक्ष्यलाई कुनै पनि हालतमा पुरा गर्नतिर लाग्नु हो । क्रान्तिकारीका सपनाहरु कहिल्यै मर्दैनन् । लेनिनले भनेजस्तै क्रान्तिकारीहरुले हरदम सपना देख्नुपर्छ । जुन सपनाले मात्र क्रान्तिका सपना पूरा गर्न सकिन्छ । फागुन १ क्रान्तिकारीहरुको एक ऐतिहासिक दिन हो । त्यो दिन कालजयी बनेर इतिहासमा अजर अमर बनिरहेनछ । केही व्यक्तिहरु हार्दैमा, गल्दैमा र कोही मान्छेहरु गोलचक्करमा हराउँदैमा कुनै पनि क्रान्तिले हार्दैन ।

अन्तिममा फागुन १ को क्रान्तिकारी र गौरवशाली इतिहासलाई संरक्षण गरेर अघि बढौं । जित क्रान्तिकारीहरुकै हुनेछ ।

(लेखक नेकपा माओवादीसँग सम्बद्ध छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment