७ फागुन, काठमाडौं । भारतीय जनता पार्टीकी उपाध्यक्ष रेणुदेवीको अभिव्यक्तिमाथि विवाद भइरहेकै बेला काठमाडौं आइपुगेका अर्का भाजपा नेता नेता विजय जोलीले नेपालमा धर्म परिवर्तन बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपालमा हुने धर्म परिवर्तनले भारतमा समेत सुरक्षा चुनौती बढ्ने भन्दै उनले त्यसलाई रोक्न प्रधानमन्त्री सुशील कोइराला, एकीकृत माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरूको ध्यानाकर्षण गराएको जानकारी दिए ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा विहीबार जोलीले भने- ‘नेपालमा गरिब जनतालाई प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न वाध्य पारिएको छ ।’
आफूले चाहेको धर्म मान्ने अधिकार सबै नागरिकलाई भएको तर, करकाप र प्रलोभनमा धर्म परिवर्तन गराउने प्रवृत्ति मान्य नहुने जोलीले बताए ।
हिन्दु राज्य कायम हुनुपर्छ भन्ने भाजपाको लाइन हो ? भनी सोधिएको प्रश्नमा जोलीले भने-‘नेपालमा के हुनुपर्छ भन्ने निर्णयकर्ता नेपाली जनता हुन्, भारत सधैं त्यसको सम्मान गर्छ ।’
भाजपाका पूर्वविदेश विभाग प्रमुख समेत रहेका जोलीले सहमतिमै संविधान निर्माण गर्न नेपालका राजनीतिक दलका नेताहरूलाई आग्रह गरे । भारत सरकार संख्याका आधारमा नभई सहमतिमै संविधान बनोस् भन्ने पक्षमा रहेको भन्दै उनले भने-‘मैंले भेटेजति नेताहरूलाई संख्यामा नगई सहमतिमै संविधान जारी गर्न आग्रह गरेको छु ।’
नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारी हुँदै नेपालको शान्ति प्रक्रिया अहिलेको अवस्थामा आइपुगेको भन्दै उनले सहमतिको बाटो नछाड्न सुझाव दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिबाटै संविधान निर्माण गर्न सुझाव दिएको स्मरण गराउँदै जोलीले नेपाल मामिलामा मोदीको धारणामा परिवर्तन नआएको स्पष्ट पारे । उनले भने-‘नरेन्द्र मोदीजी सहमतिबाट संविधान जारी होस् भन्ने पक्षमा अडिग हुनुहुन्छ ।’
नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने भन्दै उनले संविधान निर्माण प्रक्रियामा नेपालले खोजेको सहयोग दिन भारत तयार रहेको बताए ।
प्रतिक्रिया 4