नवराज पथिक
२६ जेठ, काठमाडौं । भूकम्पको कारण आहात भएका रामेछापका हायु समुदायलाई जस्तापाता लगायत राहत सामाग्री वितरण गरिएको छ । द ह्वाइट जोन नेपालल लोपोन्मुख समुदायलाई अलग्गै सहयोग गरेको हो ।
संस्थाले हायू र सो स्थानका दलित घरपरिवार गरी कुल १ सय ८१ परिवारलाई डेढ बण्डलका दरले जस्तापाता, ३० किलोका दरले चामल, दाल, नुन र भाँडाकुडा लगायतका राहत सामाग्री उपलब्ध गराएको हो ।
संस्थाका पूर्व अध्यक्ष एवं हाल अमेरिकामा बसोबास गर्दै आएका ग्याल्पो योन्जन तामाङको नेतृत्वको टोलीले राहत सामाग्री वितरण गरेको संस्थाले जनाएको छ ।
हायूू जातिलाई नेपाल सरकारले अत्यन्तै लोपोन्मुख जातिको सूचीमा राखेको छ । २०६८ को जनगणना अनुसार नेपालभरिमा यो जातिको संख्या २ हजार ९ सय २५ जना रहेको छ । जसमध्ये हायु भाषा बोल्नेको संख्या १ हजार ५ सय २० रहेको छ ।
रामेछाप र सिन्धुली जिल्लामा मात्र बसोबास रहेको हायू समुदायको सुनकोसी नदी वारिपारि बसोबास छ । उनीहरुको मूल बसोबास रामेछाप जिल्लाको साविकका सुकाजोर, रामेछाप र ओख्रेनी गाविसका केही वडामा मात्र छन् ।
त्यस्तै सिन्धुली जिल्लाको खनियाखर्कमा यस समुदायको बसोबास रहेको छ । यो समुदाय आर्थिक, सामाजिक तथा राजनीतिक हिसावले पछि परेको छ ।
सेनाको कामको सर्वसाधारणद्वारा प्रशंसा
भूकम्प प्रभावितहरुको लागि रामेछाप जिल्लामा राहत वितरण एवं उद्धारको कार्य जारी रहेको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति एवं अन्य विभिन्न संघसंस्थाहरुको सहयोगमा भुकम्प प्रभावितहरुलाई राहत वितरण एवं उद्धारको कार्य भइरहेको छ ।
रामेछापका विभिन्न गाविसमा भत्किएका घरहरुबाट स्थानीयहरुको सामान निकाल्ने तथा धराप भएर बसेका घरहरु भत्काइदिने काममा नेपाली सेना खटिरहेको छ । जिल्लाको ठोसे, चुचुरे लगायतको स्थानमा श्री मेयर गण धनकुटाबाट आएको नेपाली सेनाको टोली उद्धार कार्यमा खटिइ रहेको छ ।
नन्दवक्स रण रामेछापबाट परिचालित सेनानी उज्वल थापाको कम्ााण्डको सो सैनिक टोलीको कामको स्थानीयले प्रशंसा गरेका छन् । वैशाख २२ गतेदेखि उद्धारमा खटिएको सो टोलीले २९ गएको अर्काे ठूलो भूकम्पको कारण घाइते भएकाको जीवितै उद्धार गरेको थियो ।
सेनाले एकजनाको भने पुरिएको शव निकालेको थियो । अहिले पनि सेनाको टोली सो क्षेत्रमा उद्धार कार्यमा खटि रहेको छ । सेनाको सो कार्यको स्थानीयले खुलेर प्रशंसा गरेका छन् ।
विभिन्न संस्थाद्वारा राहत वितरण जारी
यसैबीच हिमालय उर्जा विकास कम्पनी लिमिटेडले बुधबार दोलखाको श्यामा गाविसमा एक सय ७८ थान त्रिपाल वितरण गरेको छ । दोलखाकै माली र रामेछापको वेताली, रस्नालु, ठोसे र चुचुरे गाविसका भूकम्प प्रभावितलाई पनि तत्काल राहत स्वरुप एक एक सय त्रिपालहरु वितरण गरिएको कम्पनीका प्रवन्धक प्रकाश दुलालले जानकारी दिए ।
यसैगरी विलिभर्स चर्च समुदायले रामेछापको चुचुरे र प्रीति गाविसका भूकम्प प्रभावितहरुका लागि ७ सय २० थान त्रिप्ााल, ५ सय ५० थान कम्बल, बेसार, मसला लगायतका सामागि्रहरु वितरण गरेको छ।
यसैबीच हृवाइट जोन नेपालका पूर्व अध्यक्ष एवं रामेछापको तिल्पुङ स्थायी घर भएका ग्याल्पो योन्जन तामाङलेे व्यक्तिगत रुपमा मन्थलीस्थित मन्थली गुम्वाका लामा भिच्छुहरुका लागि १० हजार ५ सय बराबरको चामल, दाल, तेल, नुन, चिनी लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप उपलब्ध गराएका छन् । गुम्वामा हाल सञ्चालन भइरहेको लामा शिविरमा भिक्षुहरुले प्रशिक्षण लिइरहेका छन् ।
यसैगरी छायाँश्वरी विजनेश ग्रुपले लखनपुर गाविसमा १ हजार ३ सय वोरा चामल, त्रिपाल, नुन लगायतका राहत सामाग्री उपलब्ध गराएको छ । संस्थाले अहिलेसम्म त्रिपाल नपुगेका २ सय ८९ घरमा १ थानका दरले त्रिपाल समेत वितरण गरेको हो । सोही संस्थाले रामेछापको गुन्सी गाविसको वडा नम्बर ५ का पहरी समुदायलाई पनि राहत सामाग्री प्रदान गरेको छ । सो वडामा रहेका ५ पहरी घरपरिवारलाई प्रति घर १ बोरा चामल र १ थान त्रिपालका दरले राहत वितरण गरिएको पत्रकार विदुर ढुंगेलले जानकारी दिए ।
प्रतिक्रिया 4