-कमल मादेन
भूकम्पले काठमाडौं उपत्यकाका धेरैजसो मन्दिर, दरबार क्षेत्र, घर, विद्यालय आदि ध्वस्त बनायो । नेपाल सरकारले अहिले विवादको घेरामा रहेर प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय पुनर्निमाण प्राधिकरण गठन गर्ने भएको छ । उक्त प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचना पाँच वर्षभित्र पुनःनिर्माण गरिसक्न ६ सय ६६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।
त्यत्रो रकममा भत्किएका संरचनाहरु कस्तो बन्लान् ? ती पहिलेका जस्तै हुन्छन् कि भिन्न बनिने छन् भन्ने जिज्ञासा सर्वसाधारणमा माझ पलाएको छ । तर, यो पंक्तिकार पुनर्निमाण गर्दा प्रयोग हुने भौतिक सामाग्रीमध्ये काठ र काठको स्रोतबारे समग्र नेपालको वनजंगलसँग जोडिएर केही वृतान्त प्रस्तुत गर्ने ध्रृष्टता गर्दछ ।
नेपालमा काठको स्रोत कति छ ?
सबैलाई थाहा भएकै कुरा हो, काठको मुख्य स्रोत जंगल हो । नेपालको कुल भूभागको ३९.१ प्रतिशत भाग जंगलले ढाकेको छ । तर, त्यसमध्ये विशेषतः उच्च हिमाली क्षेत्रमा १० प्रतिशत जति वनक्षेत्रमा पोथ्रापोथ्री फैलिएको झाडी र घाँसे मैदान छन् । रुखले ढाकेको वन त २९.१ प्रतिशत जति मात्रै छ । तीमध्ये पनि साल (सखुवा) हुने जंगल थोरै छ ।
साल मूलतः तराई र चुरिया एवं पहाडी क्षेत्रमा समुद्री सतहदेखि १५ सय मिटरसम्मको भूउचाइमा पाइन्छ । तर, चुरिया र पहाडी क्षेत्रमा पाइने साल अब्बल दर्जाको मानिँदैन । त्यो खासै चिरानीयोग्य पनि हुँदैन । तराईको साल राम्रो मानिन्छ ।
तराईमा पनि झापाको साल सबैभन्दा उत्तम मानिन्छ । केही वर्ष पहिलेसम्म काठ गोदाममा जहाँसुकैको साललाई झापाको साल भनेर बेच्ने चलन थियो । उसो त सुनसरी, मोरङतिरको साल पनि झापा सरहकै छन् । कोशी नदी पश्चिमतर्फ उदयपुरतिरको सालको काठलाई पनि काठ गोदामवालाहरु राम्रै मान्छन् । जंगली सिसौका लागि भने धनगढी प्रख्यात छ । ब्यापारीले सबैतिरको सिसौलाई धनगढीकै भन्ने गरेका छन् ।
तराईमा जंगलको अवस्था
तराईको कुल क्षेत्रफलमध्ये करिब २० प्रतिशत भूभाग जंगलले ढाकेको छ । वन मन्त्रालय अन्तर्गत ‘डिपार्टमेन्ट अफ फोरेष्ट रिसर्च एण्ड सर्भे’ ले हालै तराई फरेष्टस् अफ नेपाल शीर्षकमा एक प्रकाशन गरेको छ ।
उक्त प्रकाशनअनुसार तराईमा रहेको ७६.४५ प्रतिशत जंगल संरक्षित क्षेत्रभन्दा बाहिर छ । बाँकी १६.९७ प्रतिशत जंगल संरक्षित र ६.५७ प्रतिशत मध्यवर्ती क्षेत्रमा छन् ।
विकासक्षेत्र अनुसार सुदुरपश्चिमाञ्चल, मध्यमाञ्चल र मध्य पश्चिमाञ्चलमा पर्ने तराईको जंगल क्रमशः ३०.९३ प्रतिशत, २३.१३ प्रतिशत र २०.८० प्रतिशत छ । त्यसैगरी पूर्वाञ्चलमा र पश्चिमाञ्चलको तराईमा जंगल क्रमशः १३.६६ र ११.४७ प्रतिशत छ ।
तराई र भित्री मधेसमा वन अतिक्रमण अत्यधिक छ । तराईमा बाषिर्क रुपमा ०.४४ प्रतिशत जंगल बिनास भइरहेको छ । सन २००१ देखि २०१० सम्ममा तराईमा १६,५०० हेक्टर बन घटेको छ । नेपालमा बहुदल आएपछि अर्थात् सन् १९९१ देखि २०१० सम्मको १९ बर्षमा तराईमा कुल ३२ हजार हेक्टर वन घटेको ‘डिपार्टमेन्ट अफ फोरेष्ट रिसर्च एण्ड सर्भे’ को प्रतिवेदनमा उल्लेख छ ।
नेपाल सरकार वन मन्त्रालयले प्रकाशन गरेको ‘वन नीति-२०७१’ मा उल्लेख भएअनुसार (पृष्ठ २ ) पनि तराई र भित्री मधेसमा हालैका केही दशकयता करिब १ लाख हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ ।
मध्यपहाडी र हिमाली क्षेत्रमा खोरिया फँडानी गर्ने कार्य अझै प्रचलनमा छ । त्यस हिसाबले तराई, भित्री मधेस, मध्य पहाड र हिमाली क्षेत्र सबैतिर वनको दोहन गरिएको छ ।
मेवाको रुख, बोटधँयेराको झार !
नेपालमा कति प्रजातिका रुखहरु छन् भन्ने भरपर्दो तथ्य छैन । नेचुरल हिष्ट्री म्युजियम लन्डन र त्रिभुवन विश्वविद्यालयले संयुक्तरुपमा प्रकाशन गरेको एक पुस्तक ‘एन्नोनेटेड चेकलिष्ट अफ ‘लावरिङ प्लान्टस अफ नेपाल’ (सन् २०००)मा नेपालबाट संकलन भएका फूल फुल्ने बनस्पतिका ५ हजार ३ सय ४५ प्रजाति, १ सय ६३ उपप्रजाति छन् ।
त्यस्तै ५ सय १७ प्रकार एवं ५१ फर्मा रहेको सुची छ । त्यो सुचीमा समावेश भएका वनस्पतिहरु झार, झाडी, लहरा वा रुख कुन समुहका हुन्, त्यो पनि जनाइएको छ ।
पुस्तकमा जम्मा ६ सय ९६ प्रजातिका रुखहरु नेपालमा हुन सक्ने संकेत गरिएको छ । तर, पुस्तकमा ६ सय ९६ मध्ये कति रुख वा झाडी समुह वा लहरा हुन्, स्पष्ट छैन । धेरैमा एकै प्रजाति रुख वा झाडी वा लहरा हुन सक्ने आशंका गरिएका छन् ।
मेवालाई पनि रुख भनेर लेखिएको छ । मेवालाई घरबारीमा हुने रुख मान्ने कि फगत करेसाबारीमा लगाइने फल मात्र हो भनेर बुझ्ने ?
त्यसैगरी तराई र पहाडी भेगमा पाइने बोटधँयेरो -वनस्पतीय नाम (लाजरस्ट्रोमिया पार्भिलोरा) लाई पनि झार भनी उल्लेख गरिएको छ । बोडधँयेरोको बडेमानको रुख हुन्छ । कतैकतै बोडधँयेराको रुख सालको जत्रै हुन्छ । यी केही उदाहरण मात्रै हुन् । त्यस्ता अनगिन्ती गल्तीहरु छन् । यो पंक्तिकारको प्रारम्भिक अनुमान अनुसार नेपालमा लगभग ५ सय जति रुख प्रजाति छन् ।
सरकारी अभिलेख के भन्छ ?

नेपालमा पाइने रुखहरुमध्ये सबैभन्दा महत्वपूर्ण लौठ सल्लो हुनुपर्छ । लौठ सल्लोको पात, बोक्रा आदिबाट क्यान्सर उपचारमा प्रयोग गरिने रसायन ‘ट्याक्सोल’ उत्पादन गरिन्छ । एकग्राम ‘टयाक्सोल’ को मुल्य हजारौं डलर पर्छ । लौठसल्लोको विश्वभर एक दर्जन बढी प्रजाति छन् । त्यसमध्ये युरोपमा मात्रै पाइने एक प्रजातिको लौठ सल्लो ‘टयाक्सस् बकाटा’ हो । त्यो प्रजाति नेपालमा छ भनेर सरकारी अभिलेखमा उल्लेख छ ।
कस्तो बिडम्बना ! नेपाल सरकारको वन नियमावली ०४९ मा यो कुरा प्रकाशन भएको थियो । त्यो निमावली ०५१ मा पहिलो संशोधन भयो । उक्त संशोधनमा ‘टयाक्सस् बकाटा’ भनेर लेखिएको छ । त्यो निमावली ०७० मा चौथो पटक संसोधन भयो ।
चौथो संस्करण (अनुच्छेद २) मा नेपालमा पाइने लौठ सल्लोको वनस्पतीय अर्थात बैज्ञानिक नाम ‘टयाक्सस् बकाटा’ अब्लिग ‘टयाक्सस् वालिचियना’ लेखिएको छ । त्यसको अर्थ के ? नेपालमा ‘टयाक्सस् बकाटा’ र ‘टयाक्सस् वालिचियना’ दुबै पाइन्छन् ? नेपालमा हुँदै नभएको रुखलाई छ भनेर वन निमावलीमा उल्लेख गर्नु वन मन्त्रालयको नालायकीपन हो ।
डा. रामचन्द्र पौडेलको अनुसन्धानात्मक एक लेख अनुसार नेपालमा लौठ सल्लाका ३ प्रजाति पाइन्छन् । ‘टयाक्सस् वालिचियना’, ‘टयाक्सस् कन्टोर्टा’ र ‘टयाक्सस् माइरी’। त्यो लौठ सल्लोबारे सबैभन्दा पछिल्लो जानकारी हो । वन निमावली ०४९ मा उल्लेख भएको ‘टयाक्सस् बकाटा’ भने नेपालमा त के, एसियामै पाइँदैन ।
बरु अधिकारीले नेपालमा ‘टयाक्सस् माइरी’ पाइन्छ भनेर उल्लेख गरे । त्यो फेरि पुनः पुष्टि भएको छैन । वरिष्ठ वनस्पतिविद डा. केशवराज राजभण्डारीका अनुसार त्यो प्रजातिको लौठ सल्लो बाहिरबाट ल्याएर रोपिएको हुन सक्छ । प्राकृतिकरुपमै नेपालको जंगलमा त्यो लौठ सल्लो छ भन्ने कुरामा राजभण्डारीको आशंका छ ।
सरकारको अन्योल
केही महिनाअघि पश्चिम नेपालबाट भारत निकासी हुँदै गरेको काला दाना भन्सारमा रोकियो । काला दानालाई भन्सारले त रोक्यो । तर, त्यो काला दाना के हो भनेर स्वयम् वन मन्त्रालयका उपल्लो तहका कर्मचारी पनि अनभिज्ञ थिए । काला दाना वास्तवमा के हो ? वनका कर्मचारीलाई थाहा छैन । अर्कोतिर भन्सार कर्मचारीलाई त्यो निकासी गर्न मिल्ने कि नमिल्ने थाहा छैन ।
वन निमावली ०४९ को चौथो संस्करणमा कालादाना निकासी दस्तुर प्रतिकेजी रु ५ लेखिएको छ । तर, त्यसको वनस्पतीय नाम के हो भनेर लेखिएको छैन । जुनसुकै वनस्पतिको संसारले चिन्ने वनस्पतीय खास नाम हुन्छ । र, त्यो संसारभरि एकै हुन्छ । वनस्पतीय नामबेगरको वनस्पति बाहिर निकासी गर्नुपर्यो भने, कसैले पासपोर्टबेगर युरोप वा अमेरिकाको यात्रा गर्न निस्कन्छु भनेजस्तै हुन्छ ।
हाम्रो वन निमावलीमा आधा दर्जनजति जडिबुटी वनस्पति बैज्ञानिक नामबेगर सुचीकृत गरिएका छन् । त्यो कसरी चिन्ने ? बिदेश निर्यातका लागि नेपाल सरकारले ती जडिबुटीलाई संसारले चिन्ने पासपोर्ट नै पहिचान गर्न सकेको छैन । जस्तो वन पियाज, टोक्ला, दुधे लहरा/सरिवा, कालादाना, तिगेडी आदि वनस्पति नाम बेगर नै वन निमावली अनुसुचि-३ मा सुचीकृत गरिएका छन् ।
भूकम्पपछिको पुनर्निर्माण र काठको मूल्य
हाम्रा मठ, मन्दिरहरु काठैकाठले बनेका थिए । तिनीहरु जुनबेला बनाइए, त्यसबेला काठमाडौ उपत्यकामा काठको कमी थिएन । जंगल प्रशस्त थिए । तर, ती मठ, मन्दिर, तथा दरबार क्षेत्रमा कुन कुन प्रजातिका काठ लगाइए, त्यसको जानकारी कतै छैन । अहिले काठमाडौं उपत्यका वरपर त्यस्ता काठ बनाउन मिल्ने प्रजातिका रुखहरु छन्, छैनन्, खोजकै बिषय बनेको छ ।
काठको दाम भाउ अचाक्ली महंगिएको छ । काठमाडौ उपत्यकाभित्र बन्ने निजी घरहरुमा उपभोक्ताले राम्रा काठ खरिद गर्न नसकेर दोस्रो, तेस्रो नम्बरको काठ लगाउने गरेका छन् । काठको दाम ६/७ बर्षअघि अहिलेभन्दा झण्डै ५ गुणा जति कम थियो ।
अहिले एक क्युविकफिट सालको काठको मूल्य औसत ५५ सय रुपैयाँ पर्छ । त्यो पनि कलिला लाथ्रा (रुख)का काठलाई । लाथ्राका काठ कच्चा हुन्छन् र हदै पसाङगिन्छन्। पहिलेका काठ ठूला रुखका हुन्थे, तिनीहरु बलिया र कम पसाङ्गिन्थे ।
पहिले काठ नेपाल बाहिर पनि निकासा हुन्थ्यो । अहिले अभाव भएर उल्टै बाहिरी देशबाट आयात हुन थालेको छ । इन्डोनेसिया, बर्मा, मलेसिया लगायतका देशबाट नेपालमा काठ आयात हुने गरेको छ । काठ गोदामहरुमा बाहिरका काठ नेपालकै साल भनेर ग्राहकलाई झुक्याउने गरिएको छ ।
विदेशका साल पनि एक क्युविक फिटको मूल्य बजारमा ३५ सय रुपैयाँ हाराहरीमा छ । नेपालको साल ‘चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खूर्पाको बिँड’ भनेजस्तै हो । राम्रो सालको काठ भए पुस्तौं पुस्तालाई हुन्छ । नराम्रा परे एक दुई दशकमै काम नलाग्ने हुन्छन् ।
विगत ६/७ वर्षयता बनेका धेरैजसो घरहरुमा झ्याल, ढोका अलमुनियम तथा पीभीसी लगाइएका छन् । ती सामाग्री काठको तुलनामा २/३ गुणा सस्ता हुन्छन् । तर, ०७२ को महाभूकम्पले काठ प्रयोग गरिएको भन्दा त्यस्ता घरहरुमा बढी क्षति पुर्यायो । त्यसैले अब बनाइने निजी घरहरुमा अलमुनियम तथा पीभीसीको प्रयोग पहिले भन्दा कम हुनसक्ने अनुमान गर्न सकिन्छ । र, काठको दाम अझ बढ्ने सम्भावना छ ।
काठमाडौं उपत्यकाका घरहरुमा झ्याल, ढोका साल अर्थात सखुवाका अतरिक्त जमुना, फडिर, बर्रो, हर्रो, साज (अस्ना), टिक, बोटधँयेरो, कुम्भी, करम, सल्लो, आँप आदि लगाइएका छन् । चाप थोरै पाइन्छ, त्यसैले हिजोआज नगन्य मात्रामा मै चाप प्रयोग भएको छ । पहाडतिरका घरमा चिलाउने, उत्तिस, कटुस, साज आदि प्रयोग भएको पाइन्छ ।
पुराना घरहरुमा बढी चापको काठ प्रयोग हुन्थे । सिसौ र सत्तिसालको मूल्य अन्यको तुलनामा खासै बृद्धि भएको छैन । ६/७ बर्ष अघि पनि जंगली सिसौ एक क्युविक फिटको ४५ सय देखि ५ हजार रुपैयाँ थियो । अहिले जंगली सिसौको मूल्य एक क्युविक फिटको ५ हजार देखि ५५ सय रुपैयाँ छ । सत्तिसाल अक्सर पाइँदैन ।
अन्त्यमा,
नेपालले सरकारले ५ बर्षमा ६ सय ६६ अर्ब रुपैयाँ पुनर्निमाणमा खर्च गर्ने लक्ष्य बनाएको छ । अहिलेको दरभाउमा मूलतः मन्दिर तथा पुराना दरबार पुनर्निमाणको निम्ति कुल बजेटको १५/२० प्रतिशत रकम काठ र काठजन्य बस्तुतर्फ खर्च हुन सक्छ । त्यो प्रतिशत रकममा परिणत गर्दा एकदेखि सवा खर्ब रुपैयाँ काठजन्य बस्तुमा खर्च हुन सक्छ ।
नेपाल सरकारसँग जंगलमा रहेका काठजन्य रुखको दुरुस्त जानकारी/लगत छैन । अब पुनर्निमाणका नाममा जंगल के कति मासिने हो ? काठ माफियाहरु कति जाग्ने हुन् ? तिनलाई सहयोग गर्न वनका कर्मचारी कति लालायित हुने हुन् ? समग्रमा पुनर्निमाण प्रकृयाले वातावरणमा कस्तो असर पार्छ ? दाता सम्मेलन र राष्ट्रिय पुनर्निमाण प्राधिकरणले यसतर्फ ध्यान दिन जरुरी छ ।



प्रतिक्रिया 4