Comments Add Comment

महासंघमा सर्वसम्मत नेतृत्व छान्न पूर्वअध्यक्षहरु एकजुट

FNCCI-Ex.-President
पूर्व अध्यक्षहरू सुरज वैद्य, प्रदीप कुमार श्रेष्ठ, महेशलाल प्रधान, पद्य ज्योति, रवि भक्त श्रेष्ठ, कुश कुमार जोशी र चण्डीराज ढकाल (बायाँबाट क्रमशः)

७ जेठ, काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा सर्वसम्मत नेतृत्व चयन गर्न पूर्वअध्यक्षहरु कस्सिएका छन् । लामो छलफलपछि महासंघका ९ पूर्वअध्यक्षहरु सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने सहमतिमा पुगेका हुन् ।

करिव १५ महिना अगाडि चार वर्षे कार्यकालका लागि अध्यक्षमा विजयी प्रदीपजंग पाण्डे ३५ वर्ष पुरानो भ्रष्टाचार मुद्धामा पक्राउ परेपछि अहिले महासंघ नेतृत्वबीहिन छ । नयाँ अध्यक्षका लागि यही असार १८ गते निर्वाचन गर्ने तयारी भइरहेको छ ।

निर्वाचनको मिती नजिकिँदै जाँदा पूर्व अध्यक्षहरु महासंघमा सर्वसम्मत नेतृत्व चयनका लागि तातेका छन् । सहमतिका आधारमा आगामी नेतृत्व चयन गर्न आफुहरुले सक्दो प्रयास गर्ने आइतबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले बताए ।

सर्वसम्मत नेतृत्व चयनका लागि दबाव दिन आफुहरु एकजुट भएको पूर्वअध्यक्ष महेशलाल श्रेष्ठले बताए । यसका लागि आफुहरु पटक-पटक छलफलमा बसेर यस्तो निष्कर्षमा पुगेको उनको भनाई छ । नवनिर्वाचित अध्यक्षले २१ महिना महासंघको २१ महिना नेतृत्व गर्न पाउने छ ।

‘नौ जना पूर्वअध्यक्षहरु सहमतीबाटै आगामी नेतृत्व सर्वसम्मत छनौट हुनुपर्ने पक्षमा छौं’ प्रधानले भने- ‘व्यवसायीलाई एकजुट बनाएर महासंघको छबी माथि उठाउन यसले सहयोग पुर्‍याउने छ ।’ महासंघको नेतृत्वका लागि आफुहरु इन्ट्रेष्टेड नभएको दाबी गर्दै उनले भोली नेतृत्व सम्हाल्न आग्रह गरिएको खण्डमा त्यसबाट पनि नभाग्ने स्पष्ट पारे ।

FNCCI

  • अध्यक्षका दावेदार भाष्करराज राजकर्णिकार, भवानी राणा र पशुपति मुरारका (वायाँबाट क्रमश:)

पूर्वअध्यक्षहरु सर्वसम्मतीको नाममा महासंघको नेतृत्व हत्याउन प्रयास गरिररहेको आरोप लगाइएको छ । सबै पूर्वअध्यक्षले महासंघको रेसमा आफुहरु नभएको स्पष्ट पारेका छन् । आफुहरुको उद्देश्य सर्वसम्मत नेतृत्व चयन गरी महासंघको शाख माथि उठाउने रहेको उनीहरुको भनाई छ ।

नौ जना पूर्वअध्यक्षले सहमतीपत्रमा हस्ताक्षर गरेपनि पत्रकार सम्मेलनमा भने ७ जनामात्रै उपस्थित थिए । महेश्वरलाल प्रधान, पद्य ज्योति, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य पत्रकार सम्मेलनमा उपस्थित थिए ।

आनन्दराज मुल्मी र विनोदबहादुर श्रेष्ठ भने विशेष कारणले पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको बताइएको छ । उनीहरु पनि सर्वसम्मत नेतृत्व चयन गर्नका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

पूर्वअध्यक्षहरुले सर्वसम्मत नेतृत्वका लागि यो नै योग्य उम्मेदवार भनेर प्रस्तुत नगरेको बताएका छन् । ‘भोली अध्यक्षका लागि मनोनयन दर्ता गर्नेहरुबाटै सर्वसम्मत अध्यक्ष चयनका लागि प्रयास रहने छ’ रविभक्त श्रेष्ठले भने- ‘सर्वसम्मत अध्यक्ष बनाउन हाम्रो भोलीदेखि नै प्रयास सुरु हुन्छ ।’

अहिले चर्चामा रहेका अध्यक्षका उम्मेवारलाई एकैठाउँ राखेर सहमतिको प्रयास थालिने पूर्वअध्यक्ष श्रेष्ठले बताए । आगामी अध्यक्षका लागि कार्यवाहक अध्यक्ष पशुपति मुरारका, कार्यकारिणी सदस्य भवानी राणा र यसअघि अध्यक्षमा पराजित भएका भाष्करराज कणिर्कारको चर्चा छ ।

FNCCI--Past-President
पूर्व अध्यक्षहरू सुरज वैद्य, चण्डीराज ढकाल, कुश कुमार जोशी र रवि भक्त श्रेष्ठ फोटो खिचाउँदै (बायाँबाट क्रमशः)

‘सकेसम्म सहमतिमा अध्यक्ष चयन गर्ने प्रयास हुन्छ’ श्रेष्ठले भने- ‘हाम्रो प्रयास सफल हुन सकेन भने विधानअनुसार निर्वाचनबाट अध्यक्ष चयन हुने छ ।’ अहिलेको अस्वस्थ प्रतिस्पर्धाले महासंघको गरिमा घटेको, व्यवसायीबीच फुटको स्थिती सिर्जना भएको उनको भनाई छ ।

अर्का पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले पूर्वअध्यक्षहरु सर्वसम्मत नेतृत्व चयनका लागि एकजुट भएको स्पष्ट पारे । ‘महासंघको अध्यक्षका लागि रविभक्त श्रेष्ठ र मबीच पनि सहमति भएको थियो’ उनले भने- ‘सबैको चाहाना भएमा सहमतिबाटै नयाँ अध्यक्ष चयन गर्न सकिन्छ ।’

व्यवसायीहरु एकजुट भएको देखाउन पनि सहमतिमा नेतृत्व चयन गर्नुपर्ने निष्कर्षमा पुगेको अर्का पूर्वअध्यक्ष कुशकुमार जोशीले बताए । व्यवसायीबीच तिक्तता बढ्दै जाँदा महासंघको भूमिका कमजोर बन्दै गएको बताउँदै उनले निजी क्षेत्रको समस्या सरकारसमक्ष जोडदार रुपमा राख्न पनि व्यवसायीबीच एकता हुनुपर्ने बताए ।

अहिलेको विषम परिस्थितीमा चुनाव नहोस्, सर्वसम्मतीबाटै नेतृत्व चयन होस भन्ने आफुहरुको इच्छा रहेको जोशीको भनाई छ । उनले भोलिदेखि नै सर्वसम्मत नेतृत्व छनौटका लागि छलफलमा जुट्ने जानकारी दिए ।

‘हामी महासंघमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयासरत छौं’ अर्का अध्यक्ष पद्यम ज्योतिले भने- ‘यसको मतलव हामी पुनः महासंघको नेतृत्वमा आउन चाहेको होइन ।’

FNCCI--Past-President-2
पत्रकारको प्रश्न सुन्दै पूर्व अध्यक्षद्वय प्रदीप कुमार श्रेष्ठ र महेश लाल प्रधान (बायाँबाट)

निवर्तमान अध्यक्ष सुरज वैद्यले पनि सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने कुरामा जोड दिए । ‘पूर्वअध्यक्षहरु चुनावी मैदानमा नआउने सहमति भएको छ, हामी सबै  सर्वसम्मत नेतृत्व चयनमा लाग्छौं’ उनले भने- ‘संस्था बचाउनुपर्छ, संस्था बचाउने काम पूर्वअध्यक्षहरुको पनि जिम्मामा पर्छ ।’

पूर्व अध्यक्षहरुले महासंघको पदाधिकारी कसैले पनि अध्यक्षको उम्मेदवार बन्न चाहेमा वर्तमान पदबाट स्वतः हट्नुपर्ने नैतिक दायित्व हुने हुँदा मनोनयन दर्ता गर्नु अगावै उक्त पदबाट राजिनामा गर्नुपर्ने निष्कर्ष निकालेका छन् । तर, विधानमा भने यो कुरा उल्लेख छैन ।

यस्तो व्यवस्था भएमा कार्यवाहक अध्यक्ष पशुपति मुरारकाले अध्यक्षमा उठ्न पदबाट राजिनामा दिनुपर्ने हुन्छ । मुरारकालाई अध्यक्षमा उठ्नका लागि रोक्न पूर्वअध्यक्षहरुले यस्तो निर्णय गरेको आरोप पनि लगाइएको छ ।

‘अध्यक्षमा पनि उठ्छु, अहिलेको पद पनि छाडि्दन भन्न मिल्दैन’ अर्का अध्यक्ष चण्डिराज ढकालले भने- ‘यसले महासंघको छबि राम्रो बनाउँदैन । भोली अध्यक्ष जितेमा एउटै व्यक्ति दुई पदमा हुने हुँदा पनि राजिनामा गर्नुपर्ने उनको भनाई छ ।

पदमा बसेर राजिनामा नगरी अध्यक्ष बन्न खोजेमा आफुहरु प्रतिरोधमा उत्रिने ढकालले चेतावनी दिए । कार्यकारिणी सदस्यहरुका हकमा भने यो व्यवस्था लागू नहुने उनले स्पष्ट पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment