+
+

राजनीतिक ऐठनले ग्रस्त कमरेडहरु ! साम्यवादी निद्राबाट ब्युझौं !

माथि प्राकृतिक ऐठनबारे कुरा गरियो । तर, यो सामाजिक घटना पनि हुन सक्छ । मानिसका विश्वास/सपना र सामाजिक यथार्थताको अन्तरबिरोधबाट सामाजिक ऐठन पैदा हुन्छ । बैचारिक अन्योलता, राजनीतिक लक्षमा अवरोध आदि कारणले राजनीतिक ऐठन लाग्न सक्छ । यसो भन्दा पाठकहरुलाई अनौठो लाग्न सक्छ । तर, यो यथार्थ हो । यतिबेला हामी आफैं यसका भुक्तभोगी हौं ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०७२ साउन २३ गते ११:२८

कहिलेकाहीँ मानिस निद्रामा पनि बोल्दछन् । यसलाई चलनचल्तीको नेपाली भाषामा बर्बराएको भनिन्छ । जब निदाएको पात्र बर्बराउन थाल्छ, तव बुझ्नु पर्छ कि उसलाई ऐठन भएछ ।

मोहन तिम्सिना
मोहन तिम्सिना

सपनामा कुनै भयावह बिपत्ती आइलाग्छ । यस्तो बिपत्तीबाट बच्न अनेक प्रयत्न गरिन्छ । चिच्याउने भाग्ने प्रयास हुन्छ । यसक्रममा मानिस बेहोसीमै बोल्छ, छटपटाउँछ । यसैलाई हामी ऐठन परेको भन्दछौं ।

ऐठनको सम्बन्ध शरीरसँग हुन्छ । विज्ञहरुका अनुसार अप्ठ्यारो सुत्दा ऐठन हुन्छ । शारीरिक उकुस मुकुसबाट ऐठन हुन्छ । अर्थात शरीरको रक्तसञ्चार प्रणालीमा आउने गतिरोधबाट ऐठन हुन्छ । यसबाट बच्न मानिसले सुत्ने बेलामा ध्यान दिनु पर्दछ ।

ऐठन मनोगत भ्रम हो । वास्तविक जीवनसँग यसको कुनै सम्बन्ध हुँदैन । तैपनि निदाएको पात्र निद्रामा बर्बराउँछ । छट्पटाउँछ  । सपनाको भ्रमपूर्ण दुखबाट उम्कने अनेक प्रयास गर्छ । सपनाको दृश्य निमित्त कारण मात्र हो । खास समस्या त आफ्नै शरीर हो । तर, यो चेत निदाइरहेको पात्रमा हुँदैन । त्यसैले उ निद्रामा बर्बराइरहन्छ । भ्रमको दुखसँग एक्लै लडिरहन्छ ।

राजनीतिक ऐठन
माथि प्राकृतिक ऐठनबारे कुरा गरियो । तर, यो सामाजिक घटना पनि हुन सक्छ । मानिसका विश्वास/सपना र सामाजिक यथार्थताको अन्तरबिरोधबाट सामाजिक ऐठन पैदा हुन्छ । बैचारिक अन्योलता, राजनीतिक लक्षमा अवरोध आदि कारणले राजनीतिक ऐठन लाग्न सक्छ । यसो भन्दा पाठकहरुलाई अनौठो लाग्न सक्छ । तर, यो यथार्थ हो । यतिबेला हामी आफैं यसका भुक्तभोगी हौं ।

प्रसंग साम्यवादीहरुको हो । अर्थात राजनीतिक ऐठनको शिकार हुने पात्रहरु साम्यवादीहरु हुन् । कमरेडहरुको लक्ष थियो, नौलो जनवाद ल्याउने । राजतन्त्र मासेपछि सजिलै नौलो जनवाद आउँछ भन्ने आशा थियो । अहिले राजतन्त्र त मासियो, तर नौलो जनवाद आएन । अब भोलि आउला भनेर आश गर्ने ठाउँ पनि छैन । पार्टी नै भित्रभित्रै विगठनको दिशामा गइसकेको छ ।

साम्यवादसम्म पुग्ने यात्रा गणतन्त्रमा आएर रोकियो । तर, यात्रा के कारणले रोकियो कमरेडहरुलाई नै थाहा छैन । त्यसैले कमरेडहरुमा एकखालको अन्योलता र उकुस मुकुस छ । अगाडिको बाटो प्रष्ट छैन । के गर्ने, कता जाने बाटो पूरै अन्धकार छ । असफलताले पोलिरहेको छ । जतात्यतै प्रश्नै प्रश्न छन् । अहिलेको अवस्था पनि स्वीकार्य छैन । तर, चित्तबुझ्दो बिकल्प पनि फेला परेको छैन ।

यसको प्रतिकृयामा कमरेडहरु अनेक कृत्य गरिरहेछन् । अर्थात समाधान खोज्ने प्रयास गरिरहेछन् । कोही ‘शसस्त्र संघषर्’ गर्ने कुरा गर्दैछन् । कोही ‘नयाँ शक्ति’ बनाउने कुरा गर्दैछन् । कोही ‘समाजवाद’ ल्याउने कुरा गर्दैछन् । बोलीमा आपसी तारतम्य छैन । बेसुर र बेतालका आवाजहरु यत्रतत्र सुनिन्छन् । सबै बिभाजित मानसिकतामा छन् ।
कोही गद्दारी भयो भन्दैछन् । कोही उपलब्धी भयो भन्दैछन् । कार्यकर्ता नेतासँगको गुनासो सुनाउँछ । नेता कार्यकर्तासँगको गुनासो सुनाउँछ । नेता, साथ दिने कार्यकताको खोजी गर्छन् । कार्यकर्ता, नेतासँगको रीस फेर्न अर्को नेताको गुटमा सामेल हुन्छ । तै पनि समस्या जस्ताको तस्तै रहन्छ ।

कतिपय नयाँ साम्यवादी पार्टी चाहिन्छ भन्दैछन् । कतिपय नयाँ गुट चाहिन्छ भन्दैछन् । कतिपय निश्क्रिय हुँदैछन् । कतिपय पार्टी नै छोड्दैछन् । आफुले बिश्वास गरी ल्याएको सिद्धान्तले सोचे अनुसार काम नगरिरहेको सबैलाई महसुस भएको छ । तर, कसैसँग बिकल्प छैन । मानी ल्याएको सिद्धान्त असान्दर्भिक भयो भन्ने आँट पनि छैन । यसको पक्षमा एकताबद्ध स्वीकारोक्ति पनि छैन । छ त केवल  असन्तुष्टी, छटपटाहट र बर्बराहट । यही अन्यौल र अकमर्णयता नै राजनीतिक ऐठन हो ।

साम्यवादी मनोदशा :
सपना सपना नै हो । यसको विपनासँग सम्बन्ध हुँदैन । यो कुरा सबैलाई थाहा छ । तर, निदाएको पात्र ब्युँझेन भने त सपना नै उसका लागि यथार्थ हुन्छ । उ सपनाकै शत्रुसँग लड्दा लड्दा हैरान हुन्छ ।

यस अर्थमा सपना देख्नेहरुका लागि बिपना भ्रम हो । तर, बिपनामा हुनेका लागि सपना  भ्रम हो । यही बिरोधाभाषका कारण सपना र विपनाका वीच आधारभुत ग्याप हुन्छ । वर्तमान परिस्थिति र आजका साम्यवादीवीच सायद यस्तै ग्याप छ ।

कमरेडहरु दुई बर्ष पुरानो साम्यवादी सपनामै मस्त छन् । परिस्थिति र मानव ज्ञान त्यति नै अगाडि बढिसकेको छ । सायद यही ग्याप नै उनीहरुको मुख्य समस्या हो । तर, सपना र बिपनाको ग्याप पुर्न त ब्युझनु न पर्‍यो । कमरेडहरुका मनोदशा हेर्दा उनीहरु तत्काल ब्युँझेलान् भन्ने पनि देखिँदैन । त्यसैले साम्यवादी निद्रा भंग नभएसम्म यो ग्याप कायम रहने देखिन्छ । त्यतिञ्जेल कमरेडहरु सपनाकै शत्रुसँग लडेर हैरान भइरहने छन् । अर्थात अहिलेजस्तै बर्बराइरहने छन् । छट्पटाइरहने छन् ।

यक्ष प्रश्नहरु :
साम्यवादसम्म पुग्ने यात्रा गणतन्त्रमा आएर किन रोकियो ? कतिपय कमरेडहरुलाई लागेको छ, यसमा प्रचण्ड बाबुरामजस्ता ‘संसोधनवादी’ पात्रको दोष छ । अनि कतिपयलाई लागेको छ, यसमा किरण, बादल, बिप्लवजस्ता ‘जडसुत्रवादी’ पात्रको दोष छ । कतिपयलाई लागेको होला, एमाले कांग्रेस जस्ता दलहरुले असहयोग गरेर यस्तो भइरहेको छ ।

तर, यो त नेपालको माओवादी पार्टीको मात्र प्रश्न होइन । एमाले पार्टीको हविगत पनि प्रकारान्तरले यस्तै भएको थियो । यो स्वदेशी प्रश्नमात्र पनि होइन । रसिया, चीनलगायतका साम्यवादी मुलुकमा पनि प्रकारान्तरले यस्तै भएको हो । त्यसैले एउटा साझा प्रश्न छ, जसले सबै साम्यवादीलाई खेदिरहेको छ । त्यो प्रश्न हो : किन विश्वभर साम्यवादी राजनीति क्षणभंगुर देखियो ?

यसमा कमरेडहरुको जवाफ हुन सक्छ, अमूक मुलुकमा अमूक संसोधनवादीका कारण यस्तो भयो । अमूक मुलुकमा अमूक जडसुत्रवादीका कारण यस्तो भयो । तर, फेरि प्रश्न उठ्छ : यदि ‘समाजवाद/साम्यवाद’ बैज्ञानिक र शास्वत हो भने के कुनै व्यक्तिको दिमागी सोचले समाजको स्वचालित गतिको नियम प्रभावित हुन्छ ?

साम्यवादी अभियन्ताहरुले शताब्दीअघि नै पुँजीवाद मरणासन्न अवस्थामा पुगेको र अब विश्वभर समाजवाद आउने बताएका थिए । तर, किन आएन ? आएको भनिएको किन ढल्यो ? कमरेडहरुको जवाफ हुन सक्छ, साम्राज्यवादका कारण यस्तो भयो । तर, यहीँ प्रश्न उठ्छ : अवश्यंभावी समाजवादलाई अस्थायी साम्राज्यवादले कसरी जित्यो ?|

संसारकै बैज्ञानिक दाबी गर्ने साम्यवादीहरु किन पुँजिवादी भन्दा वेशी बिभाजित छन् ? किन साम्यवादी पार्टीहरु बिश्वमा लगातार नासवान अवस्थामा छन् ? किन साम्यवादी पार्टीका सदस्यहरु अरु भन्दा बेसी कुण्ठाग्रस्त छन् ?

साम्यवादी अभियन्ताहरुले भनेका थिए : पुँजीवादको विकास चरम हुँदा वर्गीय ध्रुवीकरण पनि चरम हुन्छ । त्यो बेला ५ प्रतिशत पुँजीपति र बाँकी सबै सर्वहारा हुन्छन् । तर, आज विश्वको वर्ग बनावट किन यस्तो भएन ?

साम्यवादी अभियन्ताहरुले भनेका थिए निजी धन शोषणको आधार हो । निम्न पुँजिवादी चिन्तन क्रान्ति बिरोधी हुन्छ । त्यसैले सबैलाई सर्वहाराकरण गर्नुपर्छ । यसका लागि कार्यकर्ताले आफुलाई वर्गसंघर्षको भट्टीमा होम्नुपर्छ । वर्गसंघर्षको भट्टीमा खारिएपछि सबथोक ठीक हुन्छ । तर, वर्गसंघर्षको भट्टीभित्रै वा यसमा खारिएका भनिएका पात्रहरु किन निजी धनको लोभी भए ? किन अपारदर्शी भए ? किन परिवारवादमा फसे ? किन साँस्कृतिक विचलनका घटना देखिए ?

साम्यवादी अभियन्ताहरु भन्छन् : वर्गीय क्रान्ति अर्थात भौतिक आवश्यकताको पूर्तिले मानव जीवनमा सारा खुशी दिन्छ । मानिसलाई ‘आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा’ प्रवेश गराउँछ । तर, बिकसित भनिएका मुलुकहरुमा (भौतिक आवश्यकताले पूर्ण भएका मानिसहरुमा) मानसिक रोगीको संख्या किन बढेको होला ?

नेतृत्वका सीमा
थाहा छ, माथिका प्रश्नहरुले नै कमरेडहरुलाई  ऐठन परेको हो, र थाहा छ, यसको सटिक जवाफ पनि कमरेडहरुसँग छैन । तर ऐठनबाट बच्ने सरल उपाय ती प्रश्नहरुको उत्तर खोज्नु नै हो । यतिबेला कमरेडहरुलाई लागिरहेको छ, सारा बर्बादीका कारक केही नेताहरु हुन् र माथिका प्रश्नको उत्तर पनि तिनैले दिनुपर्छ ।

नेताहरुका व्यक्तिगत गल्ति थुप्रै छन् । तर, भन्नै पर्छ, बर्बादीका मूल कारक नेता मात्र होइनन् । खास कुरा संसार धेरै बदलिएको छ । बदलिएको संसारलाई नेतृत्व गर्न पुराना नेता र पुरानो ज्ञानले पुगेन । हरेक युगको परिवर्तनसँगै नयाँ प्रश्नहरु पैदा हुन्छन् । यो प्रकृया हिजो पनि थियो । आज पनि छ । अहिलेका नेताका ठाउँमा अरु कुनै पात्र भएको भए पनि यी प्रश्नहरु उठेकै हुन्थे । अर्थात यी प्रश्नहरु युगले जन्माएका हुन् । यसमा अमूक नेतालाई मात्र मुख्य जिम्मेवार ठहर गर्नु उचित होइन ।

हाम्रा नेताले समयानुकुल आफुलाई ‘अपडेट’ राखेको भए राम्रै हुन्थ्यो । त्यसो गर्न सकेनन् । यो उनीहरुको कमजोरी नै होला । तर, एउटै नेताले सधैंभरि समाजको नेतृत्व सम्हालिरहनु पर्छ भनेर आग्रह गर्नु पनि गलत हो । यो मानवीय काबुभन्दा बाहिरको अपेक्षा हो । हरेक मानिसका ऐतिहासिक सीमा हुन्छन् । कार्ल मार्क्सका पनि ऐतिहासिक सीमा थिए । हाम्रा नेताहरुका पनि सीमा छन्, जो आज अभिव्यक्त भइरहेको छ । यहाँनेर अमूक नेतासँग कसैले अस्वभाविक अपेक्षा गर्छ भने त्यो पनि उचित होइन ।

जे भइरहेको छ, प्राकृतिक/सामाजिक नियम अनुसारै भइरहेको छ । यसबाट कोही उम्कन सक्दैन ।  नेताहरु खास समयको आन्दोलनले पैदा गरेका निमित्त पात्र मात्र हुन् । उनीहरुले त्यही खास समयको मात्र नेतृत्व गर्न सक्थे । जति गर्न सक्थे, त्यति नै गरे । यसका लागि उनीहरुलाई धन्यवाद दिऔं ।

बाँकी काम अब नयाँ पुस्ताले  गर्नुपर्छ । नयाँ परिवेशको नेतृत्व गर्न नयाँ पुस्ता नै अगाडि आउनुपर्छ । उनीहरुबाट हाम्रा सबै प्रश्नको उत्तर आउँदैन । उनीहरुबाट हाम्रो युगको नेतृत्व पनि हुन सक्दैन । यो उनीहरुको सीमा हो । अझै पनि अमूक नेतामाथि दोषारोपण गर्नु वा उत्तरको अपेक्षा गर्नु भनेको सपनाको शत्रुसँग लड्नु जस्तै हो ।

बैकल्पिक दृष्टिकोण :
प्रकृति हिजो जुन नियमका आधारमा चल्थ्यो, आज पनि त्यसरी नै चलिरहेको छ । तर, प्रकृतिबारेे मानवीय ज्ञानको गहिराई भने धेरै बढेको छ । ज्ञानको गहिराई जति बढ्दै गयो, प्रकृतिमाथि मानवीय बिजयको मात्रा पनि बढ्दै गयो । यो सँगै सामाजिक चरित्रमा पनि फेरबदल आयो । चिन्तन प्रणाली र समाजशास्त्रीय नियम समृद्ध हुने आधार तयार भयो ।
मार्क्सेली साम्यवादी बिचारको निर्माण ‘न्युटनीय युग’ मा भयो । समयक्रममा ‘न्युटन युग’ लाई ‘आइन्स्टाइन युग’ ले प्रतिस्थापित गर्‍यो । ‘आइन्स्टाइन युग’ लाई ‘क्वान्टम युग’ ले प्रतिस्थापित गर्‍यो । तर, न्युटन युगको दर्शनशास्त्रलाई समृद्ध गर्ने दार्शनिक अभिभारा भने कसैले पूरा गरेन । बरु यसलाई फेर्नै नहुने मन्त्रका रुपमा बुझियो ।

क्वान्टम युगको चेतनाबाट हेर्दा न्युटनको गतिको नियम र मार्क्सको साम्यवादको निश्कर्ष प्रकृति र समाजको स्थूल तहको सत्य मात्र रहेछ । सुक्ष्म तहमा यी दुवै नियम असान्दर्भिक रहेछन् । प्रकृति र समाजमा स्थूल र सुक्ष्म, दुईखाले प्रणालीहरुको उपस्थिति छ भन्ने कुरा नै त्यो बेला प्रष्ट थिएन । त्यसैले मात्र स्थूल प्रकृति/समाज र यसका नियमलाई सास्वत मानियो ।

पदार्थ वा समाजको सूक्ष्म तहका द्वन्द्ववादका नियमहरु मार्क्सले व्याख्या गरेझैं एकत्ववाद  (वाद‐प्रतिवाद‐संवाद)मा आधारित रहेनछन् । व्यतीकरणमा आधारित रहेछन् । मार्क्सलाई त्यो बेला एकत्ववादी द्वन्द्ववादका नियमले नै साम्यवादको निश्कर्षसम्म पुर्‍याएको हो । तर, समाजको विकास प्रकृया ‘साम्यवादी‐एकत्व’ मा पुग्ने निश्कर्ष गलत रहेछ । समाज त द्वन्द्व-सन्तुलनकारी अवस्थितिमा निरन्तर गतिवान भइरहँदो रहेछ ।

वर्ग अर्थात आर्थिक (स्थुल) प्रणालीको बिश्लेषणले मात्र समाजको चरित्र उजागर नहुने रहेछ । समाजमा वर्ग, संस्कार, निजत्व र पहिचानजस्ता स्थूल र सूक्ष्म प्रणालीका बीचमा द्वन्द्व‐सन्तुलन सम्बन्ध कायम हुँदो रहेछ । त्यसैले व्यक्ति र राज्य, श्रम र पुँजि, निजत्व र सामुहिकता, प्राकृतिकता र आधुनिकता, वंशीय गुण र वातावरणगत प्रभाव, जनवाद र केन्द्रीयता, राष्ट्रवाद र अन्तराष्ट्रियतावाद, केन्द्रीयता र स्थानीयता आदि जस्ता सामाजिक प्रणाली एक अर्कामा निषेध नहुने रहेछन् । बरु परिपूरक हुने रहेछन् ।

तर, सबै साम्यवादी नेताहरुले ‘एकत्ववादी द्वन्द्ववाद’लाई शास्वत माने । त्यही हुबहु लागु गर्न खोजे । उनीहरुले ‘क्वान्टम द्वन्द्ववाद’ को खोजी नै गरेनन् । सारा गडबडीको स्रोत नै यहाँनेर छ । चिन्तनको यो गडबडी अन्यत्र (समाजशास्त्र, राजनीति, अर्थनीति, संंगठन, संघर्ष, जीवनशैली) सबैतिर फैलिएको हो ।

त्यसैले आउनुहोस् अब नयाँ ढंगले बहसको शुरुवात गरौं । रेडियो, टेलिफोन र हवाइजहाज पनि देख्न नपाएका मार्क्सका बिचारले आजको इलेक्ट्रोनिक युगको नेतृत्व गर्नुपर्छ भन्नु एकखालको मूर्खता मात्र हो । यसको अर्थ मार्क्र्सका सबै बिचार असान्दर्भिक भए भन्ने होइन । तर, साम्यवाद ठीक, हाम्रा नेता बेठीक भन्ने भनाइ पनि सही होइन । मार्क्सको नियत सफा र निर्दोष भए पनि मूलतः साम्यवादी आदर्श नै बेठीक भएकाले नेताहरु असफल भएका हुन् । यही कारण नेताहरु ढोंगी र आडम्बरी भएका हुन् । सारा गडबडीको मूल स्रोत नै यो साम्यवादी निश्कर्ष हो ।

रहर गरेर कोही पनि ‘जडसुत्रवादी’ वा ‘संसोधनवादी’ हुन चाहँदैन । अनि रहर गरेरै कोही पनि असफल हुन चाहँदैन । परिस्थितिले नै उसलाई गलाउँछ । हाम्रा नेताको सवालमा पनि कुरा यही हो । संसारमा परिवर्तनको प्रकृया शास्वत हो । यो कसैले रोकेर रोकिँदैन । यो अमूक नेतालाई दोष दिएर गनगनाउने बेला होइन । बैकल्पिक चिन्तनलाई समृद्ध बनाउने बेला हो । कमरेडहरु ! सर्वप्रथम साम्यवादी निद्राबाट ब्युझौं ! त्यसपछि साम्यवादको बिकल्प, ‘द्वन्द्व‐सन्तुलन’ मा आधारित ‘बैकल्पिक समाजवाद’ बारे कुरा गरौंला । यसले मात्रै अहिलेको राजनीतिक ऐठनलाई ठीक पार्न सक्छ ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?