+
+

बाँकेका विपन्न महिला च्याउखेतीबाट आत्मनिर्भर

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ६ गते ११:३६

६ कात्तिक, बाँके । बाँके जिल्लाका विपन्न समुदायका महिला च्याउखेती व्यवसायबाट जीविकोपार्जन गरिरहेका छन् ।

देउले च्याउ र चाम्रे च्याउ
देउले च्याउ र चाम्रे च्याउ

सीमान्तकृत समुदायमा सूचिकृत केवट समुदायका महिला पछिल्लो समय च्याउखेतीबाट साँझ बिहानको जोहो मात्र हैन आफ्ना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च जुटाउँदै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालय र अन्य सङ्घसंस्थाले आयआर्जनका लागि सीपमूलक तालिम र प्राविधिक सहयोग उपलब्ध गराएपछि केवट समुदायका महिलाले, समूह नै गठन गरी अहिले व्यावसायिकरुपमा च्याउखेती सुरु गरेका हुन् ।

आर्थिक स्थिति कमजोर भएका उनीहरुलाई व्यावसायिक च्याउखेतीले घरको समस्या टार्न सजिलो मात्र भएको छैन बचत पनि गर्न सफल भएको पर्वत महिला लघु उद्यम समूहकी कलावती केवटले बताए ।

नेपालगन्ज उपमहानगरपालिका–१७ बुलबुलियाकी सोनी केवटलाई चार छोराछोरीलाई पढाउन त्यति सजिलो थिएन ।

श्रीमान्ले मजदूरी गरेर कमाएको पैसाले रोजीरोटीसँगै धौधौले छोराछोरीको मासिक शुल्क बुझाउन पुग्थ्यो, तर हिमाल महिला लघु उद्यम समूहमा आबद्ध भएर व्यावसायिक च्याउखेती सुरु गरेपछि उहाँले अहिले सबैलाई सहजै पढाउन सक्नुभएको छ भने एउटी छोरीलाई उच्च शिक्षा दिइरहनुभएको छ ।

जिल्ला कृषि विकास कार्यालय र जिल्ला लघु उद्यम समूहले बीउ, ड्रम तथा प्राविधिक सहयोग गरेपछि जिल्लामा अहिले विपन्न समुदाय व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुले उत्पादन गरेको च्याउ नेपालगन्जमै खपत हुने गरेको छ ।

घरमा खानका लागि पनि सजिलो हुने र आम्दानी पनि हुने भएपछि कञ्चन केवटलाई च्याउखेतीले सन्तुष्ट बनाएको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेले बेरोजगार युवालाई कृषि पेसामा लगाउन यो वर्ष मात्र झन्डै दुई करोड रूपैयाँ लगानी गर्दैछ ।

त्यसमध्ये च्याउखेतीका लागि ४८ जना युवालाई छनोट गरी रु १६ लाख रकम वितरणको तयारी गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?