मधेसी मोर्चा प्रधानमन्त्री निर्वाचनमा केपी ओलीलाई हराउन कांग्रेसका सुशील कोइरालालाई भोट हाल्न गयो, यो महाभूल थियो । अहिले त मलाई के लागिरहेको छ भने दार्शनिक कुरा र सैद्धान्तिक कुरा आफ्नो ठाउँमा छ । तर, पोलिटिक्स एकदमै व्यवहारिक हुँदोरहेछ ।
तीन दल चाँही सत्ताको राजनीतिमा गइसके । मधेसी मोर्चा सडकमा आन्दोलन गरिरहेका छन् । काठमाडौंमा सत्ताको राजनीति गरिरहेका छन् । अन द रेकर्ड भनिरहेको छु मैले । तीन महिनाभन्दा बढी (एक सय दिन) देखि आन्दोलन भइरहेको छ । मधेसी मोर्चाका नेताहरु दुई महिनादेखि वार्तामा छन् । तीनदलले वार्ताका नाममा मधेसी मोर्चालाई भकुण्डोजस्तो यो कोर्टबाट यो कोर्ट पुर्याउने गरी एउटा पार्टीदेखि अर्को पार्टीमा फालिरहेका छन् । र, मधेसी मोर्चाका नेताहरु फोटो सेसन गरेर काठमाडौंमा बसिरहेका छन् ।
आन्दोलनका नाममा चारवटा नाका बन्द गर्ने भनेको छ । वीरगन्जबाहेक कुनै नाका बन्द छैनन् । भनेपछि सडकमा गर्नेले मात्रै आन्दोलन गरिरहेका छन् । नेताहरु चाँही वार्ताका नाममा काठमाडौंमा छन् ।
मलाई के लाग्छ भने असोज ३ गते नेपाली राजनीतिको डिपार्चर पोइन्ट हो । जुन दिन नेपालमा संविधान आयो, तीन दल सत्ताको राजनीतिमा लागे । मधेसी मोर्चा कन्फ्यूज्ड भयो । अब संविधानकै राजनीतिमा रहने या सत्ताको राजनीतिमा जाने ?
विजय गच्छदार कन्फ्यूजनमा रहेनन् । उनी सत्ताको राजनीतिमा गइहाले । मधेसी मोर्चालाई के लाग्यो भने केही दिनको आन्दोलनपछि आफ्नो यात्रा सहज भइहाल्छ । समस्या समाधान हुन्छ । तीन दलले मानिहाल्छन् । संशोधन गरिहाल्छन् ।
तीन दललाई एकै ठाउँमा राखेर केपी ओलीजीलाई ‘कन्फिडेन्ट’ मा राखेरै मात्र यो समस्याको समाधान हुन्छ । एमालेलाई अलग्याएर, नेपाली कांग्रेससँग टाँसिएर यो समस्याको समाधान हुँदैहुँदैन
तर, तीनदलले आफ्नो पूर्ववत अडानलाई कायम राख्दै यो आन्दोलनलाई आन्दोलनको रुप नै दिएनन् । यसलाई लडाइँको रुपमा लिए । आन्दोलन र लडाइँमा फरक छ । आन्दोलनले सम्वादको अपेक्षा गरेको हुन्छ । ‘गिफ एन्ड टेक’को संवादको अपेक्षा गरेको हुन्छ । लडाइँमा जीत-हारको मात्रै कुरा हुन्छ । जीत-हारमा बल प्रयोगको मात्रै कुरा हुन्छ । संवादको कुरा हुँदैन । राज्यले एकदमै लडाइँको रुपमा लियो ।
यो भन्नु अर्को भुल हुन्छ कि एमाले एकदमै क्रुर र नेपाली कांग्रेस लचिलो । याद गरौं कि नेपाली कांग्रेसको प्रधानमन्त्री हुँदा सबैभन्दा बढी मान्छे मरेका छन् ।
त्यसैले यो उहाँहरुले लडाइँका रुपमा लिनुभयो । मधेसी मोर्चाले आन्दोलनकै रुपमा लिएको छ । मोर्चाको आन्दोलन खुम्चिएको छ । र, मधेसी मोर्चाको नेताहरुमा पछिल्लो समयमा आएर विश्वास कमजोर भएको छ । यत्रो दिन भयो आन्दोलन, मान्दै मान्दैनन् । नाकाबन्द गर्न गयो, मान्छे मारिदिन्छन् । राजमार्ग बन्द गर्न गयो, मान्छे मार्दिन्छ । अब गर्ने के ? भैरहवामा ‘अनअफिसियल्ली’ १४ जना मान्छे मारिएको छ, कसरी जान्छ मान्छे नाकाबन्दी गर्न ?
सोमबारको दिन बिहान भारदहमा जहाँ गोली चलेको थियो, त्यहाँ सादा पोसाकका प्रहरीहरु घर घरभित्र पसेर महिलामाथि दुव्र्यवहार गरेको छ । बिहान घरमा सुतिरहेका बेला । भनेपछि, राज्यको त्यो लेभलको आतंक छ । नेताहरु रक्षात्मक भएका छन् । यत्रो ठूलो आन्दोलन भइरहेको छ, मधेसमा उहाँहरुको एकदम पातलो उपस्थिति छ । आन्दोलन घोषणा गरेको छ, जनता सडकमा छन् । उहाँहरु सडकमा गयो, ज्यान मारिने, नाकामा गयो ज्यान मारिने । गर्ने के ? केन्द्रले आन्दोलन फिर्ता गर्दैन ।
अब यो अवस्थामा मोर्चाको रणनीति कमजोरी कहाँ-कहाँ भयो भने मधेसी मोर्चाले यो आन्दोलनलाई थप सशक्त बनाउन चाल्नुपर्ने कदम नचालेर राज्यलाई सहज हुने काम गरिदियो ।
संविधानसभा छँदैखेरि यदि सामूहिक राजीनामा दिएर मधेसी मोर्चा बाहिर गएको भए अन्तर्राष्ट्रिय रुपमा पनि एउटा म्यासेज जाने थियो कि एउटा तप्काले चारवटा शक्तिमध्ये एउटा शक्तिले संविधान मानेको छैनन् भनेर दबाव पथ्र्याे होला । आन्दोलनको रुपमा मात्र दवाब दिने पहल गर्यो । काठमाडौंलाई कम दबाव पर्यो । मधेसमा बढी दबाव पर्यो । थप दबाव दिन मधेसी मोर्चाले गर्नुपर्ने काम गरेर संविधानसभा छोडेर हिँड्नुपथ्र्याे । छाडेनन् ।
दोस्रो, अब हामी संविधान मान्दैनौं भन्नुभयो उहाँहरुले । राज्य एकछिनलाई त्रसित भयो । तर, प्रधानमन्त्री निर्वाचनमा उहाँहरु आउनुभयो । ल, अब त संविधान मान्नुभयो भनेर सबै अखबारमा खबर आयो, राज्य खुसी भयो । मधेसी मोर्चा फर्किसक्यो भनेर आन्दोलनलाई केही दिनसम्म त्यसले सिथिल गरिदियो ।
त्यसपछि उहाँहरुलाई आन्दोलनको ग्राउण्डबाट धेरै आलोचना भयो । आलोचनापछि उहाँहरु भागेर मधेस जानुभयो अब फेरि जान्न भनेर । तर, फेरि सभामुख, राष्ट्रपतिको निर्वाचन सकिएपछि उहाँहरु सदनमा आउनुभयो ।
अब सडक र सदन दुवैबाट लड्ने भन्नुभयो । अब उहाँहरुलाई लड्न बाँकी रहेको एउटा सरकारबाट हो । जुन विजय गच्छदारले गर्दै हुनुहुन्छ । विजय गच्छदारले के भन्नुभयो भने सडकबाट, सदनबाट र सत्ताबाट संघर्ष गर्ने । तीन ठाउँबाट संघर्ष गर्ने भएपछि तीनवटा मन्त्रालय उहाँहरुले पाउनुभयो ।
अब संघारमा म के देख्दैछु भने उहाँ (मोर्चाका नेता) हरु कांग्रेस, एमाले सत्ताको खेलमा हुनुहन्छ । अब केपी ओलीजीले संशोधन किन गर्नुहुन्छ । हिजो संविधान तीन दलले मिलेर बनायो । आज आन्दोलन तीनदलको विरोधमा हो । संशोधनमा सहमत भइदिने केपी ओलीजी । सात प्रदेशको खाका त तीनै दलले ल्याएको हो नि त । मधेसी दलले त कांग्रेसप्रति समर्थन जनाइरहेको छ । अब भोलि गएर केपी ओलीजी सीमांकनको हेरफेर गराइदिने । पर्सिपल्ट यहाँ अविश्वासको प्रस्ताव लाग्छ । र, उहाँको सरकार ढल्छ । अब उहाँले त्यो काम किन गर्नुहुन्छ ?
मधेसको अहिलेको एजेन्डा भनेको संविधान संशोधनसँग छ । सत्ता परिवर्तनसँग छैन । यो गौण कुरा हो । तर, दुर्भाग्यवश नेताहरुको त्यतातिर लोभ परिसकेको छ
त्यसैले अब कांग्रेस, एमाले र माओवादीको बीचमा खेलेर यो समस्याको समाधान हुँदैन । जुनखेल प्रधानमन्त्री निर्वाचनका बेलादेखि भइरहेको छ । यो खेलमा पछिल्लो समयमा मधेसी मोर्चा फस्दैछ । नेपाली कांग्रेस ओलीलाई हटाउने खेलमा लागेको छ । प्रचण्डजीलाई बीचबाट केही फुत्किहाल्छ कि भन्ने आशा छ । आफ्नो सरकार ढलिहाल्छ कि भन्ने केपी ओलीलाई पीर छ । यो बीचमा तीनदल नमिलेसम्म संविधानमा चारसय संख्या पुग्दैन र संशोधन हुँदैन । त्यसैले तीन दललाई एकै ठाउँमा राखेर केपी ओलीजीलाई ‘कन्फिडेन्ट’ मा राखेरै मात्र यो समस्याको समाधान हुन्छ । एमालेलाई अलग्याएर, नेपाली कांग्रेससँग टाँसिएर यो समस्याको समाधान हुँदैहुँदैन ।
ठीक छ, ओलीको विकल्प खोजौंला, ओलीजीको पार्टी भोलि यसको विपक्षमा आइदियो भने के गर्ने ? चारसय सीट भएपछि मात्र संविधान संशोधन हुने हो । सरकार त यसो तानतुन गर्दा पुग्ला । आज ३२ सीट भएको मधेसी मोर्चाले संसद चल्न दिएको छैन एकसय ८० भन्दा बढीसीट भएको एमालेले पनि भोलि संसद चल्न दिएन भने कुन संविधान संशोधन गरेर यो देशमा लागुहुन्छ ? त्यसैले कांग्रेस एमाले र माओवादीको बीचमा खेलेर यिनलाई फुटाएर सत्ता परिवर्तन हुन सक्छ । संविधान संशोधन हुन सक्दैन ।
मधेसको अहिलेको एजेन्डा भनेको संविधान संशोधनसँग छ । सत्ता परिवर्तनसँग छैन । यो गौण कुरा हो । तर, दुर्भाग्यवश नेताहरुको त्यतातिर लोभ परिसकेको छ । त्यसैले यो गलत ट्रयाकमा पोलिटिक्स फसिसक्यो । यसलाई ट्रयाकमा ल्याउनका लागि तीनवटा दललाई एक ठाउँमा राखेर केपी ओलीलाई कन्फिडेन्ट दिलाएरै मात्र सम्भव छ ।
प्रतिक्रिया 4