+
+

किन हुन्छन् हवाइ दुर्घटना ? कसरी कम गर्न सकिन्छ

डा.विनोद पोखरेल/डा.वसन्त गिरी डा.विनोद पोखरेल/डा.वसन्त गिरी
२०७२ फागुन २३ गते ९:५८

सामान्यतः विश्वभरि नै हवाइयात्रा सुरक्षित मानिन्छ । तर, अन्य देशको उडान संख्या र दुर्घटनाको दर दाँज्यो भने नेपालको आकाश असुरक्षित मानिन्छ । अमेरिकामा प्रतिदिन लगभग ९० हजार उडान भरिन्छ ।

तर, प्रत्येक वर्ष सार्वजनिक सेवा दिने विमान दुर्घटना भएको एकदमै कम पाइन्छ ।  नेपालमा दैनिक सयको हाराहारीमा उडान होला, तर वर्षको सरदरमा एक दुर्घटना त भएकै छ । भर्खरै कैयौंले ज्यान गुमाउने गरी दुईवटा हवाइ दुर्घटना भए ।

basanta_binod
डा. वसन्त गिरी / डा. विनोद पोखरेल

तारा एअरको पोखराबाट जोमसोम जाँदै गरेको सानो विमान म्याग्दीको उच्च पहाडी भागमा झर्यो र सवार सबै मानिसको दुःखद मृत्यु भयो । त्यसको केही दिनमै काष्ठमण्डप एअरको अर्को सानो विमान नेपालगन्जबाट जुम्ला जाँदै गर्दा अनियन्त्रित भई कालिकोटको चिलखायामा दुर्घटना हुँदा चालक दलका दुवैजनाको मृत्यु भयो भने यात्रुहरू घाइते हुन पुगे ।

प्रत्येक हवाइ दुर्घटनापछि छानबिन समिति बनाउने चलन छ । यसपालि पनि छानबिन समिति बनाइएको छ । तर दुःखलाग्दो कुरो के छ भने कहिले पनि ती छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुँदैनन् । त्यसैले अहिलेसम्म भएका दुर्घटना के कारणले भएका थिए भन्न गाह्रो छ ।

न ती छानबिन समितिले दिएका सुझाव पालना गरिएको नै थाहा छ, न त दुर्घटनाका लागि जिम्मेवार व्यक्ति वा संस्थालाई कारबाही भएको वा दुर्घटना न्यूनीकरणका लागि अन्य कदम चालिएको जानकारी नै छ । यदि त्यसो गरिएको भए दुर्घटनाको दर त घट्दै जानुपर्ने हो ।

विगत लगभग ६५ वर्षको नेपाली हवाइ इतिहासमा प्रत्येक वर्षजस्तो हवाइ दुर्घटना हुन्छन् । यस्तो लाग्छ, हामी फेरि अर्को छानबिन समिति बनाउन अर्को दुर्घटना पर्खिरहेका छौँ । प्रत्येक दुर्घटनामा पछि यस्तै हुने गरेको हामीले देखेका छौँ ।

किन हुन्छन् हवाइ दुर्घटना ?

संसारमा हवाइ दुर्घटना हुने प्रमुख कारणमध्ये पाइलटको त्रुटि, यान्त्रिक त्रुटि, मौसमसम्बन्धी कारण, जानिजानी गराउने दुर्घटना र अन्य मानवीय त्रुटि प्रमुख हुन् । यीमध्ये पनि पहिला तीन कारणले अझै प्रमुख भूमिका खेल्छन् । यहाँ हामीले अन्य कारणबारे नभई मौसमका कारणले हुने हवाइ दुर्घटना कम गर्न नेपालले के गर्नुपर्छ भन्ने चर्चा गर्छौं ।

तारा एअर दुर्घटनापश्चात् उक्त विमान कम्पनीले विज्ञप्ति जारी गरेर अचानक आएको मौसम फेरबदलीले दुर्घटना भएको जनायो ।  त्यो अचानक मौसम फेरबदली भनेर केलाई इंगित गर्न खोजेको हो, त्यो त प्रस्ट पारेको छैन । केका आधारमा उनीहरूले त्यसो भने ? त्यसको कुनै तथ्यगत आधार छ कि अनुमानको भरमा भनियो ? यदि मौसम अचानक बदलिएको हो भने पहिले कस्तो थियो र पछि के भयो ? वास्तवमा यी प्रश्नको उत्तरले हामो उड्डयन क्षेत्रको सुरक्षामा महत्त्वपूर्ण अर्थ राख्छन् ।

जहाजहरु उड्ने ठाउँ र ओर्लने  ठाउँको मौसम सफा भएपछि उड्छन् । तर, वीचको हवाइ मार्गको मौसम कस्तो छ थाहा हुँदैन । यसको अर्थ, विमान चालकले अन्दाजका भरमा विमान उडाउन बाध्य हुन्छन् ।

नेपालमा धेरैजसो साना जहाज दुर्घटना भएका छन्, त्यो पनि पहाडी क्षेत्रमा बढी । त्यस कारण पनि मौसमजन्य अवस्था जस्तै, हवाइमार्गको प्रत्यक्षता, वायुको गति र दिशा, हावाले पैदा गर्ने हलचल, बादलको अवस्था, पानी वा हिउँको अवस्था, चट्याङ, हावाहुरी आदिको सही सूचनाले महत्त्वपूर्ण भूमिका खेल्छन् ।

विमान उडाउन र ओराल्नभन्दा पहिले के हाम्रा विमान चालकले यी सूचना पाइरहेका छन् त ? पक्कै पनि छैनन् । यी जहाजहरु उड्ने ठाउँ र ओर्लने  ठाउँको मौसम सफा भएपछि उड्छन् । तर, वीचको हवाइ मार्गको मौसम कस्तो छ थाहा हुँदैन । यसको अर्थ, विमान चालकले अन्दाजका भरमा विमान उडाउन बाध्य हुन्छन् ।

नेपालको धेरै फरक र जटिल भूवनोटले फरकखालको मौसम सिर्जना गर्छ । छिन छिनमा र ठाउँ ठाउँमा परिवर्तन हुन्छ । यी कुरा थाहा नपार्इ हाम्रो जस्तो जटिल भू-वनोट र मौसम भएको ठाउँमा बिमान उडाउनु सिधै दुर्घटना निम्त्याउनु नै हो । दैनिक सयौ मानिसको जीवन जोखिममा पारिएको छ।

मानौं तारा एअरको बिमान दुर्घटना हुनमा उक्त क्षेत्रमा अकस्मात परेको हिउँ पानी हो रे । त्यो कुरा आधा घण्टा अघिमात्रै थाहा पाउन सकेको भए त त्यो दुर्घटना हुने थिएन नि। तारा एअरले आफ्नो विज्ञप्तिमा भनेको अचानक मौसम फेरबदली कुनै मौसम तथ्याङ्कको सहायता लिएर गरेको देखिँदैन।

दुर्घटनामा मौसमको भूमिका

माथि उल्लेख गरिएका मौसमसम्बन्धी अवस्थाको सूचना आदान-प्रदान र पूर्वानुमान गर्न हाम्रो देशमा कुनै व्यस्थित संरचना छैन अहिलेसम्म । नेपालमा एकमात्र आधिकारिक मौसम पूर्वानुमान गर्ने र जानकारी दिने निकाय जल तथा मौसम विज्ञान विभाग हो । हाम्रो जानकारी अनुसार यो विभागले अन्तराष्ट्रिय उडानहरु, जो ३५ हजार फिट माथि उड्छन, का लागि स्तरीय मौसम जानकारी दिन्छ । सम्बन्धित सूचना उसले कम्प्युटरमा आधारित मोडेलका आधारमा दिन्छ ।

तर, यस्ता मोडेलले अलि तलबाट उडने आन्तरिक उडानहरुका लागि काम लाग्ने मौसमको स्थानीय अवस्था भन्न सक्दैनन् । त्यसैले क्षेत्रीय र स्थानीय मौसमको पूर्वानुमान एउटै स्रोतबाट हुन सक्दैन । मौसम विभागसँग केही स्थानीय मौसम अड्डा छन् तर सम्पूर्ण जानकारी दिनक लागि ती प्रयाप्त छैनन् । हामीलाई भएको जानकारी अनुसार मौसम विभागले आन्तरिक उडानका लागि मौसमी पूर्वानुमान विवरण उपलब्ध गराउँदैन ।

अन्य देशको कुरा गर्ने हो भने निजी विमान कम्पनीले पनि मौसमविद राखेका हुन्छन् । जसले सम्बन्धित उडानका लागि भरपर्दो मौसमको अवस्था र पूर्वानुमान गर्छन् ।

अन्य देशको कुरा गर्ने हो भने निजी विमान कम्पनीले पनि मौसमविद राखेका हुन्छन् । जसले सम्बन्धित उडानका लागि भरपर्दो मौसमको अवस्था र पूर्वानुमान गर्छन् । यी मौसमविदले मौसम सम्बन्धी विभिन्न तथ्यहरुकोअवलोकन र निरीक्षणका आधारमा र उच्च तहको कम्प्युटर मोडेलिङबाट १२ देखि २४ घण्टासम्मको एकदमै भरपर्दो पूर्वानुमान विवरण दिन्छन् ।

उनीहरुको कामनै २४सै घण्टा मौसम हेर्ने र त्यसको जानकारी सम्बन्धी हवाइ उड्डयन ट्राफिक नियन्त्रकलाई प्रदान गर्ने रहन्छ । अनि बिमान चालकले सही सूचना समयमै पाउँछन् र दुर्घटना कम गर्न सहयोग गर्छ । सरकारले उपलब्ध गराउने मौसम पूर्वानुमानको संगसंगै आफ्नै मौसम पूर्वानुमानमा आधारित भएर मौसम सम्बन्धी हवाइ दुर्घटना सकेसम्म कम गर्छन् ।  यी अन्तरास्ट्रिय प्रचलको हामीले सिको गर्नु पर्छ ।

मौसमसँग सम्बन्धित खतराबाट हवाइ उडानको जोखिम कम गर्न सम्बन्धित निकायले तत्कालै गम्भीर रुपमा केही उपाय अपनाउनैपर्छ । त्यो भनेको मौसमी विवरणको संकलन, अध्ययन र पूर्वानुमान नै हो ।

तत्कालका लागि उडानमार्गमा धेरैभन्दा धेरै मौसम अड्डाहरु र क्यामेराहरू राखेर बास्तविक समयको तथ्यगत सूचना सम्प्रेषित हुने व्यवस्था गर्न सक्यो भने केही उपयोगी होला । मौसम छिनछिनमा परिवर्तन भैरहञ्छ । पहाडको वारि एक किसिमको हुने मौसम पारि अर्कै हुन सक्छ । त्यसैकारणले नियमित मौसमको सूचना आवश्यक छ । मौसम विभागले यति काम पनि किन गर्न सक्दैन रु अर्को प्रश्न पनि आउँछ । यति कामका लागि सरकारी मौसम विभागमा मात्रै भर पर्ने कि निजी निकायबाट पनि केही भूमिका हुन सक्ला ?

यसै सन्दर्भमा प्रख्यात म्यागासासे पुरस्कार बिजेता महावीर पुनले म्याग्दीको मोहरे डाडामा त्यस क्षेत्रमा हुने हवाइ उडानलाई सहयोग हुने गरेर मौसम अड्डा राखेको र त्यसले दिने मौसमजानकारी छिनछिनमा लिन सक्ने व्यवस्था मिलाएको बताएका छन् । सिनिएर क्याप्टेन बिजय लामाले उक्त मौसम अड्डाबाट आएको सूचना पहिले उपयोग गरेको र निकै सहयोगी भएको बताएका छन् ।

तर, आजभोलि उक्तसुविधाको अन्य विमान कम्पनी र चालकले किन प्रयोग गरेनन रु पुनले राखेको एक दुइ अड्डाले दिएको जानकारी विमान उडानका लागी पूर्ण हुन्छ त रु हुँदैन, तर पक्कै पनि निकै सहयोगी हुन्छ । त्यसैले त्यस क्षेत्रमा बाक्लै यस्ता अड्डा राख्न जरुरी छ । यो तुरुन्तै गर्न सकिन्छ ।

यदि मौसम विभागले यस्तो काम गर्दैन भने, किन विमान कम्पनीहरुले आफै नगर्ने ? त्यसका लागि पैसाको कमी नै हुन्छजस्तो लाग्दैन ।  प्रत्येक कम्पनीले आ-आफ्नै मौसमविद पनि राख्न सक्छन् ।

हामीसँग सीमित स्रोत साधान छन् त्यसैले विभिन्न अवसरहरु र उपायहरु अपनाउनु पर्छ । हामीले मौसमसम्बन्धी जानकारी नाप्ने र पूर्वानुमान गर्ने क्षमता विकास गर्नैपर्छ । भरपर्दो मौसम पूर्वानुमान एकदमै गाह्रो काम हो । उच्चखालका मोडेलले पनि सधै सही पूर्वानुमान गर्छन् भन्ने छैन ।

जस्तो भिरालोमा आउने आँधी हुरीको कुरा गरौं । यो एकदमै स्थानीय हुन्छ र वायु आइरहेको भन्दा पहाडको अर्को साइडमा हुन्छ । यस किसिमको हावा, जसलाई भुत भनिन्छ, ले कहिलेकाँही भुमरी निकाल्छ । यो भुमरी विमान उडानका लागि अत्यन्तै खतरनाक हुन्छ, साना विमानका लागि अझै बढी ।

अझ त्यसमा नेपालमा मौसम सम्बन्धी के भैरहेको छ भन्ने थाहा पाउन गाह्रो छ । किनभने त्योसम्बन्धी अध्यन अनुसन्धानको कमी छ । त्यससँगै असीना आँधी झनै खतरा हुन्छ । यसक लागि वायुमण्डलको विभिन्न तहको अवस्था थाहा पाउनु पर्दछ । यो काम गर्न रेडियो साउण्डिङ अथवा मौसम राडार राख्नु पर्दछ ।

हाम्रो आकाश सुरक्षित गर्नका लागि यी कुराहरु अनिवार्य छन् । जब हामीसँग केही वर्षको तथ्याङ्क उपलब्ध हुन्छ, तब उक्त तथ्याङ्कको अवलोकन गरेर कम्प्युटर मोडेल सिमुलेसन गरिनुपर्दछ । यी मोडेलले स्थानीय मौसम पूर्वानुमान गर्न महत्वपूर्ण भूमिका खेल्नेछन् । र, मौसम सम्बन्धित दुर्घटना न्युनीकरण गर्न सहयोग गर्नेछन् ।

मौसमको सही जानकारीको उड्यान क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि उत्तिकै महत्व छ । नेपालकै अर्को उदाहरण हेरौं । गत साल असोजको अन्तिमतिर अन्नपूर्ण सर्किटमा ठुलो हिमआँधी आयो र त्यहाँ घुम्न गएका ४३ जनाले ज्यान गुमाउनुपर्यो । उक्त हिउँ आँधी हुदहुद नामको समुन्द्री आँधीले गर्दा भएको थियो । उक्त आँधी कसरी आउँदै छ भन्ने कुरामा हामीले खासै ध्यान दिन सकेनौं । नेपालभन्दा धेरै टाढा बंगालको खाडीबाट निस्केको हुदहुद कयौं दिनको यात्रा तय गरेर मात्रै हाम्रो आकाशमा प्रवेश गरेको थियो । तत्सम्बन्धी राम्रो मौसम पुर्वानुमान गर्ने प्रणाली भएको भए र समयमै सही सूचना पुर्याउन सकेको भए कयौंको ज्यान जोगाउन सक्ने थियौं ।

वर्षा नाप्ने कार्यक्रम

वैज्ञानिक जानकारी र अनुसन्धान यस्तै हाम्रो दैनिक जीवनसँग सम्बन्धित विभिन्न पक्षलार्इ सजिलो र सुविधायुक्त बनाउन गरिन्छन् । हाम्रोमा रहेको आम मान्यता जस्तो विज्ञान रकेट उडाउने र वुद्धिविलास मात्रै होइन । अब यो क्षेत्रमा लगानी र आवश्यक जनशक्ति बढाउन जरुरी छ । विज्ञान भन्दा बित्तिकै सार्है जटिल, प्रयोगशालाभित्र बसेर बर्षौसम्म गरिने काम मात्रै होइन । मौसम सम्बन्धी माथि उल्लेख गरिएका जानकारी लिनु पनि वैज्ञानिक अनुसन्धानकै पाटो हो ।

हाम्रा पहाड कति अग्ला छन्, नदीमा कुन समयमा कति पानी बग्छन्, कतिखालाका चराचुरुंगी र जनावर पाइन्छन्, कस्ता कस्ता वनस्पति पाइन्छन् भनेर जान्नु पनि विज्ञान हो । हामीले कम्तिमा पनि कहिले, कहाँ कति पानी वा हिउँ पर्छ, हावा चल्छ र घाम कति लाग्छ थाहा पाउन जरुरी छ । देख्दा सामान्य लाग्ने यी काम र ज्ञानको महत्व धेरै छ ।

यसै सन्दर्भमा हामीले सुरु गरेको समुदायमा आधारित वर्षा नाप्ने कार्यक्रम उलेख्य छ ।यो भर्खर सुरु गरेको कार्यक्रममा विभिन्न इच्छुक विद्यालयमा वर्षा नाप्ने उपकरण राखिएको छ र सम्बन्धित विद्यार्थीले दैनिक वर्षा नाप्ने गर्छन् ।

हाम्रो आकाशमा हुने दुर्घटना न्युनीकरण गर्न पनि यस्तै सामान्य लाग्ने तर अति महत्वपूर्ण मौसमी विवरण चौबीसै घण्टा नाप्न जरुरी छ ।

(डा. पोखरेल अमेरिकाको वायोमिंग विश्वविद्यालयमा वायुमण्डलीय वैज्ञानिक हुन् । डा गिरी काठमान्डू ब्यवहारिक बिज्ञान प्रतिष्ठानमा कार्यरत वैज्ञानिक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?