Comments Add Comment

पोखरा विमानस्थल पश्चिमाञ्चलको विकासको इञ्जिन

Pokhara-International-Airport

नविन अर्याल/सन्देश श्रेष्ठ

२९ चैत, पोखरा । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको सपनाले चार दशकपछि मुर्त रुप लिँदैछ । प्रधानमन्त्री केपी ओलीले वैशाख १ गते भव्य समारोहबीच विमानस्थलको शिलान्यास गर्दैछन् ।

प्रधानमन्त्रीको भ्रमणमा चीनसँग सहुलियत ऋण सम्झौता भएपछि विमानस्थल बनाउने बाटो खुलेको हो । विमानस्थल बन्ने सुनिश्चितता बढेपछि पोखरेली निकै उत्साहित भएका छन् । पोखरेलीले यो विमानस्थललाई पश्चिम क्षेत्रकै विकासको इञ्जिनका रुपमा लिएका छन् ।

यो विमानस्थल बनाउन लागि पोखरेली संघर्षमै उत्रिएका थिए । पश्चिमाञ्चल क्षेत्रका बासिन्दाले रिले अनसनदेखि सिंहदरबार घेर्नेसम्म काम गरेर विमानस्थल बनाउन दबाव दिएका थिए । आफ्नो संघर्षले मुर्त रुप लिन थालेपछि उनीहरुले खुसी व्यक्त गरेका छन् ।

विमानस्थल निर्माण गर्नका लागि चीनको एक्जिम बैंकबाट साढे २१ अर्ब रुपैयाँ ऋण उपलब्ध हुनेछ । यो ऋणको २५ प्रतिशत रकम नेपालले अनुदान स्वरुप पाउने छ । अनुदान बाहेकको रकमको नेपालले वार्षिक २ प्रतिशत ब्याज तिर्नुपर्छ ।

यो विमानस्थलले विकासको ढोका खोलिदिने विश्वास गरिएको छ । विमानस्थल सँगसँगै सडक, यातायात, बसपार्क लगायतका थुप्रै पूर्वाधारको विकास गर्नुपर्ने हुँदा पोखराको स्वरुप परिवर्तन हुने पोखरेली बताउँछन् । विमानस्थल सञ्चालनमा आएपछि पर्यटनमा पोखराले फड्को मार्ने पर्यटन व्यावसायीको अपेक्षा छ ।

विमानस्थलको शिलान्यास हुँदैमा पोखरेली ढुक्क भने भएका छैनन् । नेपालमा शिलान्यास भएर रोकिएका धेरै परियोजना रहेको बताउँदै उनीहरुले निर्माण सम्पन्न नभएसम्म निरन्तर दबाव सिर्जना गर्ने बताएका छन् । विमानस्थल ५ वर्षमा निर्माण सम्पन्न गर्ने योजना छ । तर, ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङले साढे तीन वर्षमै सम्पन्न गर्ने दाबी गरेको छ ।

विमानस्थल शिलान्यासको पूर्वसन्ध्यामा हामीले पोखराबासीलाई सोध्यौं, विमानस्थल बन्ने भएपछि कत्तिको उत्साहित हुनुभएको छ ? विमानस्थल बनेपछि यो क्षेत्रलाई हुने लाभहरु के-के हुन् ? प्रस्तुत छ, उनीहरुको भनाइको सम्पादित अंशः

पोखरामा १५ गुनाले पर्यटक बढ्ने अपेक्षा
रविन्द्र अधिकारी, संयोजक, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरोकार समिति

Rabindra-Adhikariविमानस्थलको शिलान्यास हुँदैछ, यो महत्वपूर्ण उपलब्धी हो । छिट्टै निर्माण कार्यसमेत सुरु हुनेछ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको पर्यटनमा कायापलट हुने छ । पोखराबाट सोझै अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पर्यटकको संख्या १५ गुनाले बढ्ने छ ।

पोखरा विमानस्थल बनेपछि हामीले चीन र भारतलाई जोड्न हवाइ मार्गसँगै सडकमार्ग पनि चुस्त बनाउनुपर्छ । भोलि चीनबाट कोरला नाका भएर कालीगण्डकी करिडोर हुँदै बाटो आउँछ । भारतबाट जोडिएको बाटो पनि विस्तार गरिँदैछ । यसो भएमा पोखरामा ३० लाख पर्यटक भित्राउन सकिन्छ ।

पोखरा नेपालको पर्यटकीय राजधानी भएको हुँदा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता परेको हो । विमानस्थल बनेसँगै नेपाल आउने पर्यटकको पहिलो आकर्षण पोखरा हुने गरेको छ । त्यसमाथि पोखरा पश्चिमाञ्चल क्षेत्रको हब पनि हो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुको पहिलो कारण पर्यटकको संख्या बढाउन नै हो ।

विमानस्थल बनेपछि यहाँ पर्यटन र उद्यमशिलताको विकास हुन्छ । नयाँ लगानीकर्ता आउँछन् । यसले पोखरा आसपासका जनताको जीवनस्तरमा सुधार आउने मात्र नभई राज्यको ढुकुटीमा पोखराको योगदानसमेत बढ्ने छ ।

पोखराको आर्थिक आधार भनेको पर्यटन हो । भोलि प्रादेशिक संरचनामा गएपछि यहाँको बाँच्ने आधार पर्यटन हो ।यहाँको पर्यटन प्रवर्द्धनका लागि पनि अन्तर्राष्ट्रिय विमानस्थल नभई हुँदैन ।

मुलुकको समृद्धिका लागि कोशेढुंगा
आनन्दराज मुल्मी, पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

aananda-raj-Mulmiपोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको चार दशकदेखिको सपना पुरा हुँदैछ । विमानस्थल बन्ने खबरले हामीलाई उत्साहित बनाएको छ । पोखरा विमानस्थल देशकै ठूलो पूर्वाधार हो । यसले पोखरामा मात्र नभई समग्र देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ । देशकै अर्थतन्त्रको मेरुदण्ड भन्दा हुन्छ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पोखरेली संघर्षमै उत्रिनुपर्‍यो । देशकै समृद्धिका लागि कोशेढुंगा बन्ने परियोजना बन्नुपर्छ भन्ने हाम्रो माग थियो । यसले पोखराको सगम्र आर्थिक क्रियाकलाप चलायमान बनाउने त भइहाल्यो नै, राज्यको आम्दानीको स्रोत समेत बढाउँछ ।

यो विमानस्थल बनेपछि पश्चिमाञ्चल क्षेत्रमा आर्थिक मात्र होइन, सामाजिक तथा सांस्कृतिक विकास समेत हुनेछ । अन्तर्राष्ट्रिय विमानस्थल बनेरमात्र आर्थिक समृद्धि हुन्छ भन्ने हुँदैन । विमानस्थलबाट कसरी बढीभन्दा बढी फाइदा लिने भनेर सोंच्नुपर्छ । विमानस्थललाई आम जनताको समृद्धिसँग जोड्नसक्नुपर्छ ।

विमानस्थल बनेपछि पोखराको अन्तर्राष्ट्रिय जगतसँग सिधा सम्पर्क हुनेछ । त्यसपछि यहाँको सडक स्तरोन्नती तथा नयाँ पूर्वाधार निर्माण हुनुपर्छ । विमानस्थलबाट फाइदा लिन पृथ्वी राजमार्गको स्तरोन्नती, अन्तर्राष्ट्रियस्तरको सभाहल, ठूला सपिङ कम्पलेक्स बन्नुपर्छ । साथै, यहाँको कलासंस्कृतिको संरक्षण गर्नुपर्छ ।

विमानस्थल चीनले बनाइदिएपछि उसको ध्यान पोखरामा बढ्नेछ । विमानस्थलले चर्चेको जमिनमा पूर्वाधार विकास गर्नेछ । सन् २०२० सम्म केरुङसम्म रेल ल्याउने चीनले घोषणा गरिसकेको छ । त्यो रेल काठमाडौं, पोखरा र लुम्विनीसम्म पुर्‍याउने उसको सोँच छ । विमानस्थल निर्माणसँगै पोखरा चीनको प्राथमिकतामा पर्ने हुँदा पोखरामा रेल ल्याउन उसको जोड हुनेछ ।

विमानस्थलले प्रत्यक्ष तीनवटा फाइदा पुर्‍याउने छ
विश्वशंकर पालिखे, विमानस्थल निर्माण अभियान्ता

Bishwo-Shankar-Palikhe-Finaपोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु सम्पूर्ण पश्चिमाञ्चलवासी सँगसँगै समग्र नेपालीका लागि गौरवको विषय हो । अहिलेसम्म नेपालमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । जसले गर्दा समय समयमा हामीले धोका पाइरहेका छौं । भैरहवा सँगसँगै पोखरामा अन्तर्राष्ट्रिय उडान धेरै सहज हुनेछ ।

टर्किस एयरको जहाज धावनमार्गमा क्र्यास हुँदा चार दिनसम्म नेपालको बाहिरी मुलुकसँग सम्बन्ध बिच्छेद भयो । किनभने अन्तर्राष्ट्रिय उडानका लागि हामीसँग विकल्प थिएन । अब त्यो समस्याबाट मुक्ती मिल्नेछ ।

यो विमानस्थल बनेपछि पश्चिमाञ्चलमा विकासको ढोका खुल्छ । यहाँ २०० सिटसम्मका जहाज उडान अवतरण गर्न सक्ने हुँदा चीन र भारतका विभिन्न शहर, अन्य सार्क मुलुकहरु, नेपाली कामदार जाने मुलुकहरुमा सिधा हवाई सम्पर्क हुन्छ । यो विमानस्थल सञ्चालनमा आएपछि पर्यटनमा ठूलो फड्को मार्ने विश्वास लिएका छौं ।

विदेशमा काम गर्ने जानेहरु सबैभन्दा बढी पश्चिमाञ्चलकै हुने गरेका छन् । अहिले उनीहरुलाई विदेश जान र फर्किन काठमाडौं जानैपर्ने बाध्यता छ । यो विमानस्थ्ल सञ्चालनमा आएपछि त्यो बाध्यताबाट मुक्ती मिल्नेछ । जसले कामदारको समय र पैसा बचत हुने विश्वास लिएका छौं ।

यो विमानस्थलले पश्चिमाञ्चल क्षेत्रको निर्यात व्यापार समतेत फस्टाउने मलाई विश्वास छ । अलिहे कुनै वस्तु तेस्रो मुलुकमा निर्यात गर्नु पर्‍यो वा आयात गर्नु परेमा काठमाडौं नै जानुपर्छ । जसले गर्दा लागत उच्च हुन जान्छ । यो विमानस्थल बनेपछि आफ्नै घरआँगनबाट वस्तुहरु विदेशमा निर्यात गर्न सकिने हुँदा ट्रेडिङ व्यावसाय फस्टाउँछ ।

पोखरा र आसपासका जनतालाई लाभ

विन्दू थापा, अध्यक्ष पोखरा उद्योग वाणिज्य संघ

यो विमानस्थल प्रदेश नम्बर ४ का लागि महत्वपूर्ण परियोजना हो । विमानस्थल निर्माण कार्य सुरु हुने भएपछि हामी हर्षित र उत्साहित छौं । पश्चिम क्षेत्रको विकासमा यो विमानस्थलले नेतृत्व गर्ने हाम्रो अपेक्षा छ ।

bindu-kumar-thapaयो चार नम्बर प्रदेशका लागि मात्र होइन, समग्र मुलुकको अर्थतन्त्रका लागि समेत महत्वपूर्ण छ । मुलुकमा आर्थिक कृयाकलापहरु बढनेछन् । सबैभन्दा बढी लाभ पोखरा तथा आसपासका जनताले लिनेछन् ।

विमानस्थलले पोखराको पर्यटन उद्योगमा ठूलो प्रभाव पार्नेछ । गण्डकीसहित र धौलागिरी र लुम्विनी अञ्चलमा समेत पर्यटकीय गतिविधि बढ्नेछन् । खासगरी होटल व्यावसायी, टुर एन्ड ट्राभल व्यावसायी, साहसिक खेल सञ्चालक व्यावसायी, म्यानपावर व्यावसायीहरुलाई लाभ हुने देखिन्छ ।

यहाँबाट चीनको केरुङ करिव ३०० किलोमिटर र भारत २०० किलोमिटर दुरीमा पर्छ । यो विमानस्थल बनेपछि दुबै बाटोको स्तरोन्नतीका लागि दबाव सृजना हुनेछ ।

विमानस्थलले मल्टिपल लाभ पुराउने छ
गणेश बहादुर श्रेष्ठ, अध्यक्ष, लक्ष्मी समूह

Ganesh Bdr Shresthaविमानस्थलको शिलान्यान हुने खबरले यहाँका उद्योग, व्यावसायिदेखि सबैजना उत्साहित भएका छन् । विमानस्थल सञ्चालनमा आयो भने यहाँको पर्यटन क्षेत्र फस्टाउँछ । पर्यटन व्यावसाय फस्टायो भने कृषिदेखि सबै उद्यम व्यावसाय फस्टाउने मौका पाउँछन् । यो विमानस्थलले यहाँ मल्टिपल इफेक्ट पार्ने निश्चित छ ।

विमानस्थल बनेर मात्र हुँदैन, त्यसलाई चाहिने अन्य अत्यावश्यक पूर्वाधा विकासमा पनि ध्यान दिनुपर्छ । एयरपोर्टसँगै राम्रो सडक, स्तरीय होटलहरु, पार्क, सभा सम्मेलन गर्ने भवन, सपिङ कम्पलेक्स लगायतका पूर्वाधारहरु बढाउँदै जानुपर्छ । विमानस्थलसँगै अन्य पूर्वाधारको पनि विकास भयो भने पोखराले आर्थिक रुपमा फड्को मार्न धेरै समय लाग्दैन ।

अब हामीले पोखरामा स्तरीय होटलहरु खोल्न ध्यान दिनुपर्छ । सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ । पर्यटकीय प्रोडक्टहरु बढाउनुपर्छ । यसका लागि सरकार र पोखराबासीको सहकार्य हुनु जरुरी छ । यो विमानस्थल पश्चिमाञ्चल क्षेत्रको आर्थिक विकासको मेरुदण्ड सावित हुनेछ ।

पोखरामा थप पूर्वाधार विकासको ढोका खोल्ने छ
प्रकाश खनाल, अध्यक्ष, पोखरा उपत्यका नगर विकास समिति

prakash-khanalयो विमानस्थलले सिंगो पोखरा त लाभान्वित हुन्छ नै । सँगसँगै छिमेकी जिल्लामा समेत लाभ पुग्नेछ । यसले थप विकासको ढोका खोल्ने काम गर्नेछ । पोखरामा अन्य विकासका पूर्वाधारहरु बनाउने सम्भावनाको ढोका खोल्नेछ ।

पोखरा पर्यटकीय नगरी भएपनि पूर्वाधारमा धेरै पछाडि छ । यहाँ खासै पूर्वाधार विकास हुन सकेको छैन । २०३२ सालमा जग्गा अधिग्रहण गरेपनि अहिलेसम्म व्यवस्थित बसपार्क बनाउन सकिएको छैन । विमानस्थल बनेसँगै बसपार्क बनाउन कर लाग्छ ।

पोखरा पर्यटकीय शहर हो । अहिलेसम्म कलासंस्कृति र प्राकृतिक प्रोडक्ट बेचिरहेका छौं । अब मानव निर्मित संरचना बनाएर पर्यटक आकर्षित गर्ने सम्भवनाको ढोका खुलेको छ । काहुँमा टावर, सडक विस्तार, सपिङ मलहरुको विकास हुनुपर्छ ।

पोखरामा विमानस्थल बनेर मात्र हुँदैन, अन्य पूर्वाधार पनि विकास गर्नुपर्छ भनेर नीति निर्मातालाई झकझकाउने काम हुन्छ । किनभने विमानस्थल बनेपनि अन्य पूर्वाधारको विकास गर्न नसकेमा उपलब्धी हुँदैन ।

पर्यटकीय गतिवधिहरु बढ्नेछन्
बसन्त दवाडी, महासचिव, हवाई खेलकुद संघ

अन्तर्राष्ट्रिय विमानस्थलले यस क्षेत्रमा आर्थिक मुभमेन्ट बढाउने छ । यो क्षेत्रका मानिसमा सकारात्मक उर्जा प्रदान गर्ने काम हुनेछ । यसले आर्थिक मात्र होइन, सामाजिक, सांस्कृतिक विकासमा समेत भूमिका खेल्ने छ ।

यो विमानस्थल देशकै लागि राम्रो परियोजना हो । विमानस्थल सञ्चालनमा आएपछि मुलुककै अर्थतन्त्र चलायमान हुनेछ । यहाँको पर्यटन उद्योग सबैभन्दा बढी लाभान्वित हुने देखिन्छ । होटल, रेष्टुरेन्ट, ट्राभल व्यावसायी, हवाई खेलकुद व्यावसायी बढी फस्टाउने देखिन्छ ।

कतिपयले विमानस्थल बनेपछि पोखराबाट साहसिक खेल समाप्त हुन्छ भन्छन्, तर मलाई त्यस्तो लाग्दैन । विश्वमा ठूला विमानस्थल भएको ठाउँमा साहसिक खेलकुद चलिरहेका छन् । यदि यहाँबाट विस्थापित भएपनि नजिकका ठाउँमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिन्छ ।

सुरक्षित उडान हुनुपर्छ, सरकारले त्यो मापदण्ड बनाउनुपर्छ, हामीले त्यो मापदण्ड फ्लो गरेर व्यावसाय चलाउँछौं । पर्यटकीय गतिविधि बढाउने विमानस्थल बन्दा हामी अत्यन्तै खुशी छौं ।

विमानस्थल चार नम्बर प्रदेशको अवसर हो
लक्ष्मी त्रिपाठी, अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य महासंघ

laxmi-tripathi2चालीस वर्षदेखि विमानस्थलको नाममा जग्गा बाँझै थियो । पोखरेलीको संघर्षबाट ढिलै भएपनि विमानस्थल बन्ने भएको छ । यो विमानस्थल सञ्चालनमा आएपछि पश्चिमाञ्चल क्षेत्रको आर्थिक सामाजिक विकासमा सघाउने छ ।

विमानस्थल बनेसँगै यस क्षेत्रको आर्थिक क्रियाकलाप बढ्नेछन् । पर्यटक सिधै पोखरा आउन सक्नेछन् । जसले पर्यटकको संख्या पनि बढाउन मद्दत गर्नेछ । यो विमानस्थल ४ नम्बरको प्रदेशको आधार हो । यसलाई मैले अवसरका रुपमा लिएको छु ।

विकासको ढोका खोल्दै नयाँ वर्षको सुरुवात हुँदैछ
गोपी भट्टराई, अध्यक्ष, रेष्टुरेन्ट तथा बार एशोसियसन पोखरा

Gopi-Bhattraiभूकम्प, नाकाबन्दी र मधेश आन्दोलन लगायतका कारण २०७२ कष्टकर रुपमा विताएका नेपालीका लागि २०७३ को प्रारम्भमै खुसी छाउने भयो । मुलुकमा ठूलो र महत्वपूर्ण परियोजनाको उदघाटनसँगै नयाँ वर्षको सुरुव्ाात हुनेछ ।

यो विमानस्थलले मुलुकमा आर्थिक विकासको ढोका खुल्ने अपेक्षा छ । पोखरामा धेरै पर्यटक आउन आतुर छन्, तर डाइरेक्ट एक्सेस नहुँदा सबै पर्यटक आउन सकेका छैनन् । एयरपोर्ट बनेपछि उनीहरु नेपाल आउनेछन् ।

एयरपोर्टसँगै यसबाट फाइदा लिनका लागि सडक विस्तार, फोहोरमैलाको व्यवस्थापन, यातायातको सुधार, घरको मापदण्ड आदि व्यवस्थापनमा बेलैमा लाग्नुपर्छ । विमानस्थलसँगै यहाँको हरेक गतिविधि बढ्ने हुँदा भोलि राजधानी काठमाडौंजस्तै फोहोर र साँघुरो हुनसक्छ । त्यसैले त्यसो हुन नदिन विशेष तयारी गर्नुपर्ने हुन्छ ।

पर्यटन व्यावसायीले आफ्नो सेवा सुविधा, आचार विचारमा सुधार गरी भोलि ओइरिने पर्यटकका लागि सेवा पुर्‍याउन तयार हुनुपर्छ ।

विमानस्थल बनेपछि पोखरेलीको भविष्य चम्किन थाल्छ
पुरुषोत्तम न्यौपाने, बरिष्ठ लोकगायक

purushotam-neupaneयो विमानस्थल निर्माण हुनु हाम्रो लागि निकै खुसीको कुरा हो । अहिले विदेश जानका लागि कलाकार होस् वा कामदार सबै काठमाडौं जानैपर्छ । काठमाडौं जाँदा र फर्कदा कमाएको पैसा समेत बीचमै सकिन्छ ।

यदि पोखरामा एयरपोर्ट बनेमा काठमाडौंसम्म जाने, त्यहाँ खाने बस्ने पैसा जोगिन्छ । विदेशबाट फर्किदा पनि एयरपोर्टबाट होटलसम्म ट्याक्सीमा आउनुपर्‍यो, खानुपर्‍यो, बस्नुपर्‍यो । सिधै पोखरा आउन सकियो भने दुःख गरेर कमाएको धेरै रकम बचत हुन्छ ।

यो विमानस्थल बन्न सुरु भएपछि १०/१५ हजारले तत्कालै रोजगारी पाउँछन् । विमानस्थल २१ अर्वमा बन्ने भनिएको छ । जसमध्ये २/३ अर्ब रुपैयाँ खानपिन र बसाईमा खर्च हुनेछ । त्यो रकम पनि पोखरामै रहने हो ।

विमानस्थलमार्फत भारत र चीनसँग सोझो सम्पर्क हुने हुँदा दुबै देशबाट पोखरा घुम्ने पर्यटक बढ्नेछन् । यो विमानस्थल उदघाटन गरेपछि पोखरेलीको भविष्य चम्किन थाल्ने मेरो विश्वास छ ।

विमानस्थल सञ्चालन नहुँदासम्म दबाव दिनुपर्छ
भरत पराजुली, अध्यक्ष, पश्चिमाञ्चल होटल व्यावसायी संघ

Bharat-Parajuliपोखरेली जनताको ४० वर्षदेखिको सपना पूरा हुन लागेको छ । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ठूलो संघर्ष गर्नुपरेको थियो । संघर्षले मुर्त रुप लिन लाग्दा समग्र पोखराबासी उत्साहित र खुशी छौं ।

विमानस्थलको शिलान्यास भएरमात्र हुँदैन । छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्छ । शिलान्यास हुँदैमा धेरै खुसी हुन हुँदैन, शिलान्यास भएर निर्माण नभएका धेरै परियोजना छन् । त्यही भएर समयमा निर्माण कार्य सम्पन्न गर्नका लागि हामीले अझै दबाव दिनुपर्छ ।

विमानस्थल बनेमा सबैभन्दा बढी लाभान्वित पर्यटन व्यावसायी हुन्छन् । पर्यटकको संख्या बढेपछि यहाँको आर्थिक गतिविधि बढ्छन् । एउटा पर्यटकले १३ जनालाई रोजगारी दिने हुँदा पर्यटकको संख्या बढ्ने वित्तिकै रोजगारी व्यापक रुपमा सृजना हुनेछ ।

विमानस्थलसँगै हरियाली तथा सफा सुन्दर पोखरा निर्माण, सम्पदाको संरक्षण गरेर पर्यटक आकषिर्त गर्न सकियो भने विमानस्थलले सार्थकता पाउनेछ । पर्यटकीय गतिविधि बढेमा राज्यलाई विदेशी मुद्रा आर्जन हुन्छ ।

विमानस्थल बनाउन दशैंको टिकामा अनसन बसेको हुँ
ओमप्रकाश पाण्डे, प्रबन्ध निर्देशक, ल्यान्डमार्क होटल

OM-Prakash-Pandeyविमानस्थलको शिलान्यास हुने निश्चित भयो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने चिनियाँ ठेकेदारले प्रतिवद्धता जनाएको छ । तोकिएको समयमा विमानस्थल सञ्चालनमा आएमा पश्चिमाञ्चल क्षेत्रमा आर्थिक व्यावसायीक विकास हुनेछ ।

नेपालमा ठूला परियोजना समयमा पूरा नभएका धेरै उदाहरण छन् । शिलान्यास हुँदैमा तोकिएको समयमा सम्पन्न हुन्छ भन्ने छैन । सरकार परिवर्तन हुनेवित्तिकै परियोजना प्रभावित हुने गरेका छन् । यो विमानस्थल निर्माणको सन्दर्भमा त्यस्तो नहोस् भन्ने कामना छ । सरकार परिवर्तन भएपनि राष्ट्रिय गौरवका आयोजनाको काम रोकिन हुँदैन । विमानस्थल निर्माणका लागि दबाव दिन दशैंको टीकाको दिन अनशन बसेको छु ।

यो विमानस्थल बनेपछि पोखराको पर्यटनले फड्को मार्नेछ । विदेशमा सिधा सम्पर्क बढेपछि पर्यटक बढिहाल्छन् । विमानस्थलसँगै चीन र भारतसँग ठूलो सडक र रेलमार्गले पनि जोड्नुपर्छ । यहाँ आउने भारतीय र चिनियाँ पर्यटक हुन् । सडक र हवाईमार्गको सहज पहुँच भएपछि पर्यटकको ओइरो लाग्छ ।

पोखरा औद्योगिक व्यावसायीक शहरमा परिणत हुनेछ
लक्की क्षेत्री, पर्यटन व्यावसायी

lucky-chhetri-hiraयति ठूलो परियोजना बन्दा स्वाभाविक रुपमा खुसी बनाएको छ । हामीलाई विकल्प एयरपोर्ट आवश्यकता थियो । विमानस्थलसँगै यहाँ आर्थिक गतिविधि बढ्ने हुँदा ४ नम्बर क्षेत्र आर्थिक रुपमा आत्मनिर्भर बन्नसक्ने सम्भावना छ ।

विमानस्थलको नकारात्मक पाटो पनि उत्तिकै छ । विमानस्थल सञ्चालनमा आएपछि पोखरा ठूलो सिटी शहरमा परिणत हुन्छ । यहाँ उद्योग व्यावसाय बढ्नेछ, मानिसको भिडभाड बढ्नेछ । पोखरा क्राउडेड र डिष्टर्व हुनेछ । जसले गर्दा पोखराको अहिलेको सुन्दरता हराउने सम्भवना छ । अहिले पोखरा सिटी पनि होइन, गाउँ पनि होइन विछट्टै खालको छ ।

पोखराको हवाइ यात्रा सुलभ हुनेछ
रामकृष्ण ज्ञवाली, अध्यक्ष, नेपाल पत्रकार संघ

Ramkrishna-gyawaliपोखरामा यति ठूलो परियोजना बनेको थिएन । विमानस्थलसँगै यहाँ लगानी बढ्छ, सँगसँगै रोजगारी बढ्छ । जसले गर्दा यस क्षेत्रका आममानिस लाभान्वित हुनेछन् । पोखराको अन्तर्राष्ट्रिय बजारमा एक्सेस बढ्नेछ ।

विमानस्थल बन्ने भएपछि ५ वर्षभित्र पोखराको जनसंख्या १ लाख बढ्छ । यसले आर्थिक गतिविधि बढाउँछ । एयरपोर्ट सँगसँगै काठमाडौं, लुम्विनी, सौराहा,केरुङ सडकको स्तरोन्नती गर्न बाध्यता हुन्छ । यसले पोखरामा झनै चहलपहल बढाउँछ ।

अहिले काठमाडौं-पोखरा हवाई भाडा अत्यन्तै महंगो छ । १२ मिटरको सानो धावनमार्ग भएको हुँदा यहाँ ठूला विमान अवतरण गर्न नसकेपछि हवाई भाडा महंगो भएको हो । भोलि ठूला जहाज पोखरामा ल्यान्ड गर्न थालेपछि आन्तरिक हवाई भाडा स्वतः घट्नेछ ।

यसको अलावा मुलुकका बिभिन्न शहरमा कनेक्टिभ फ्लाइट समेत बढ्नेछ । विमानस्थल बनेपछि अन्तर्राष्ट्रिय यात्रुमात्र होइन, आन्तरिक यात्रुसमेत लाभान्वित हुनेछन् ।

पर्यटकसँगै रोजगारी पनि बढ्छ
विप्लव पौडेल, प्रबन्ध निर्देशक, बाराही होटल

Biplap-poudelपोखरा पर्यटकीय क्षेत्र हो । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने वित्तिकै पर्यटकीय गतिवधि बढ्नेछ । पोखराको पर्यटन विकासमा विमानस्थल कोशेढुंगा सावित हुनेछ । विदेशमा सिधा हवाई सम्पर्क भएपछि पर्यटक बढ्छन्, पर्यटक बढेपछि लगानी बढ्छ, लगानी बढेपछि रोजगारीसमेत बढ्छ ।

अहिले काठमाडौंमा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा अत्यधिक चाप छ । चापकै कारण धेरै उडान हुन सकेको छैन । उडान बढ्नेवित्तिकै हवाई भाडा घट्छ, हवाई भाडा घटेपछि पर्यटकको आकर्षण समेत बढ्ने निश्चित छ । अहिले नेपाल महंगो हवाई भाडाका कारण विश्वकै महंगो गन्तव्यमा पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment