Comments Add Comment

वैकल्पिक राजनीतिका ७ विश्वास

नयाँ शक्तिमा भूतमुखी र अतीतमुखी अन्तरविरोध देखिनु हुँदैन

एउटा भनाइ छ- ‘भगवानको त विकल्प हुनसक्छ, विचारको विकल्प किन हुँदैन ?’ यो भनाइमा ‘भगवान’ र  ‘विचार’ दुबै सांकेतिक, प्रतीकात्मक शब्द हुन् । ‘भगवान’ ले प्राकृतिक सत्यलाई बुझाउँछ र  ‘विचार’ ले सामाजिक यथार्थलाई ।

Dambar-Khatiwadaजव प्रकृति वा व्रहृमाण्ड स्वयं गतिशील छ भने मानव समाज गतिशील नहुने कुरै छैन ।  व्रहृमाण्डको उत्पति, विकास र विनाश,  त्यो राजनीतिको विषय हैन । तर, विचारको उत्पति, विकास र विनाश, त्यो सामाजिक, राजनीतिक यथार्थ हो ।

बैकल्पिक राजनीतिको पहिलो विश्वास कुनै पनि ‘सेट थ्योरी’, ‘महाआख्यान’ वा ‘आम विश्वास’ को खास सापेक्षता हुन्छ, त्यसपछि ती असान्दर्भिक हुन्छन, कि एक-अर्कामा ‘मर्ज’ हुन्छन, कि ती अर्को कुनै रुपमा रुपान्तरित हुन्छन ।

समाजले कुनै खास कालखण्डमा आमरुपमा विश्वास गरेका ‘सेट थ्यौरी’ वा  ‘महाआख्यान’ हरु अर्को कुनै कालखण्डमा जस्ताको त्यस्तै रहँदैनन् । तथापि परिवर्तनको खास संक्रमणकालमा कुनै विचार, संस्था वा शक्तिलाई त्यतिखेरको समाजले  ‘मूलधार’ वा  ‘संस्थापन’ मानिरहेको हुन्छ ।

मूलधार भनेको त्यतिखेरको सापेक्षतमा सत्य हुनु हो, सर्वथा सत्य हुनु हैन । जसरी नदीको मूलधार सधैं एउटै भंगालोबाट बग्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन, जुन भंगालोमा धेरै पानी हुन्छ, त्यही मूलधार हुन्छ ।

मूलधारमा जे चलिरहेको छ, त्यो भन्दा ‘फरक’ र  ‘अझ राम्रो’ गर्नु पर्ने आवश्यकता, त्यस्तो आवश्यकताबोधले सृजना गर्ने दायित्व, चाहना नै ‘वैकल्पिक राजनीति’ हो ।

सिद्धान्त, नीति, योजना, कार्यक्रम, ढाँचा, संरचना, प्रक्रिया, पद्धति, कार्यशैली र संस्कृतिका क्षेत्रमा ‘वैकल्पिकता’ को खोजी गर्नु नै ‘नयाँ’ हो । ‘नयाँ’ भन्नाले भरखरै सृष्टिमा आएको घटना, भरखरै जन्मिएको बच्चा, संसारमा अन्यत्र कहीँ नभएको शुद्ध भन्ने होवइन ।

‘द अल्टरनेटिभ’ एक डेनिस राजनीतिक दलको नाम हो । सन् २०१३  मात्र गठन भएको यो दलको डेनिस संसदमा ९ सीट छ । यसले आफ्नो घोषणापत्रको प्रारम्भमा भनेको छ ‘हामी आज जे-जस्ता राजनीतिक विकल्पमा छौं, सबै मिलेर अझ राम्रो विकल्प निर्माण गर्न सक्छौं ।’
वैकल्पिक राजनीतिको दोस्रो विश्वास अतीतमुखी हैन, भविष्यमुखी चिन्तन गर्नु हो ।

हिजो कहाँ के भयो, को कहाँ थियो, त्यो इतिहास भयो । इतिहासबारे एउटा अर्को रोचक भनाइ छ- इतिहास पढ्नुको उद्देश्य त्यसको सामयिक ‘इन्टरपि्रटेसन’ गर्नु हो । तर जतिसुकै सुन्दर ‘इन्टरपि्रटेसन’ गरे पनि इतिहासका घटनालाई बदल्न सकिन्न बरु नयाँ इतिहास बनाउँन सकिन्छ । तसर्थ वैकल्पिक राजनीतिमा अतितका कुरा कोट्याइ बस्ने फुर्सद कसैलाई हुँदैन ।

इतिहास पढनुपर्छ, ‘इन्टरपि्रटेसन’ गर्नुपर्छ , शिक्षा लिनुपर्छ, सकियो । त्यसलाई कुनै आग्रह वा पूर्वाग्रहको कारण मानेर बस्नुहुन्न । यदि त्यसो गरिन्छ भने त्यो वैकल्पिक राजनीति हुँदैन ।

कतिपय मान्छेहरु ‘नयाँ शक्ति’ मा पूर्वमाओवादी साथीहरुको सहभागितालाई हेर्दा यही कोण मिलाउन सकिरहेका छैनन् । उनीहरु अतीतमुखी भएर सोचिरहेका छन्

भन्न सकिएला, भविष्य कस्ले जानेको छ र ? बैकल्पिक राजनीतिले कुनै स्वर्ग वा साम्यवादजस्ता  सुदुर भविष्यको कुरा गर्दैन । अहिले भइरहेको भन्दा तुरुन्तै कसरी हामी राम्रो गर्न थाल्न सक्छौं, त्यसका लागि कुन पात्र र प्रवृति बढी उपयोगी हो भनेर हेरिन्छ ।

उदाहरणका लागि,  हिजो राजनीतिमा जेल बस्ने क्षमता ठूलो र मुख्य क्षमता थियो होला, अब देशको विकास र सम्मृद्धि कसरी सम्भव छ, त्यसको योजना बनाउने र कार्यान्वयन गर्न सक्ने क्षमता राजनीतिक कौशलको मुख्य मानक हुन्छ ।

वैकल्पिक राजनीतिले हिजो जेल बसेका मान्छेहरुलाई अपमान पनि गर्दैन, जेल बसेको गलत थियो, माफी माग पनि भन्दैन । तर, हिजो जेल बसेकै कारण अबको नेतृत्व उसैलाई दिनुपर्छ भन्ने विश्वास पनि गर्दैन ।

कतिपय मान्छेहरु ‘नयाँ शक्ति’ मा पूर्वमाओवादी साथीहरुको सहभागितालाई हेर्दा यही कोण मिलाउन सकिरहेका छैनन् । उनीहरु अतीतमुखी भएर सोचिरहेका छन् ।

कतिपय भन्छन् कि ‘जनयुद्ध’ मा सामेल भएवापत माफी मागेर मात्र उनीहरु ‘नयाँ शक्ति’ मा सामेल हुन सक्छन् । यो भूतमुखी चिन्तन हो । वैकल्पिक राजनीतिक चिन्तनमा यस्तो सोचको कुनै महत्व हुँदैन । ‘जनयुद्ध’ को पक्ष वा विपक्षमा तर्क गर्न मानिसहरु स्वतन्त्र छन् । तर, त्यही कुरा भावी राजनीतिक ध्रुवीकरणको अवरोध बन्ने हो भने त्यो पूर्वाग्रह वा ‘भूतवाद’ मात्र हुन्छ ।

बैकल्पिक राजनीतिको तेस्रो विश्वास-सकारात्मक सोच हो । यसले पुरानाले सबै नराम्रो मात्र गरे, सबै बिगारे भन्दैन । बरु जुन कामका लागि जसले जति राम्रो गरे, ती सबैलाई राम्रो गरे वापत धन्यवाद दिन्छ । फरक दल र विचारको विरोध, खण्डन, प्रतिवाद वा भत्र्सना गर्नु नै राजनीतिको कौशल हैन ।

वैकल्पिक राजनीतिमा अरुको विरोध गरी बस्नुभन्दा आफ्ना विचारहरु ‘प्रोजेक्सन’ गर्ने क्षमतालाई मुख्य मानिन्छ । तसर्थ भेला, प्रवचन, भाषण, अन्तर्वार्ता, लेख, दस्तावेजहरुमा विरोधी विचारको खण्डनलाई खासै ‘स्पेस’ दिइँदैन ।कुनै परम्परावादी दस्तावेज पनि लेखिँदैन ।

वैकल्पिक राजनीतिको दस्तावेजीकरण औचित्य र सामयकितामा आधारित हुन्छ । अर्को अधिवेशन वा अर्को समयमा त्यसको कतिपय पक्ष बदलिइसकेको हुन्छ ।

वैकल्पिक राजनीतिको चौथो विश्वास, ससाना कामबाट ठूला सन्देसहरु सिर्जना गर्नु हो । ठूल्ठूला काम गर्ने क्षमता संसारमा कसैसँग हुँदैन । धेरै मान्छेले गरेका स-साना कामहरुको योगबाट ठूलो काम आफै सम्पन्न हुन्छ ।

कुनै ठूलो मेसिन अनेक ससाना पार्टपूर्जाहरुको कुलयोग हो । जे चिजलाई हामी ससना भनेर छोडीदिन्छौं, त्यही चिज नै अस्तित्वका विराटरुप हुन् । परमाणु अत्यन्त सुक्ष्म छ । ठूल्ठला घरहरु स-साना इँटाहरु जोडेर बनेको हुन्छ । सबै सानो चिजलाई सानो भनेर छोडी दिने हो भने ठूलो केही पनि बाँकी रहँदैन ।

जस्तो कि अहिले नेपालमा नयाँ शक्ति, नेपालले ‘क्लिन काठमाण्डौं, ग्रिन काठमाण्डौं’ अभियान चलाइरहेको छ । झट्ट हेर्दा यो कुनै ठूलो काम हैन । तर, कम्तिमा सडकमा टायर बाल्नुभन्दा, ढुंगामुढा गर्नु वा सडकका रेलिङ भाँच्नुभन्दा चाहिँ सरसफाइ अभियान हजार गुणा राम्रो हो ।

वैकल्पिक राजनीतिको पाँचौं विश्वास, मानवीय सम्बन्ध र खुशीलाई सबैभन्दा बढी महत्व दिनु हो । वैकल्पिक राजनीति गर्नेहरुले कसरी मानिसहरुको आत्मसम्मानमा ठेस लाग्दैन, कसरी मान्छे सुखी र खुशी हुन सक्छन, त्यसप्रति सधै होसियार हुनुपर्छ ।

पार्टी, क्रान्ति, सिद्धान्तजस्ता ठूला चीजको मूल्यमा जनतालाई यदाकदा दुःख दिए पनि हुन्छ भन्ने धारणा बदल्न जरुरी छ । पार्टी, क्रान्ति र सिद्धान्त, सबै जनताका लागि हुन् ।

जनता नै दुःखी, खिन्न र निराश भए भने ती चिज भएर पनि के गर्नु ? जनतालाई दुःखी बनाएर प्राप्त गरिएका जस्तोसुकै ठूला उपलब्धिमा पनि  जनताले स्वामित्व अनुभूति गर्दैनन् । न त त्यस्तो पार्टी, क्रान्ति र सिद्धान्तप्रति सकारात्मक भाव नै राख्छन् ।

यसबारे डेनिस दल ‘द अल्टरनेटिभ’ को घोषणापत्रको अर्को एक हरफ यस्तो छ-‘खुशी -हाँसो) विना सिर्जनाको भाव उत्पन्न हुँदैन । सिर्जनाविना राम्रा विचारहरु जन्मिँदैनन् । राम्रा विचारहरु विना सिर्जनात्मक शक्ति उत्पन्न हुँदैन । सिर्जनात्मक शक्तिविना कुनै सकारात्मक परिणाम आउँदैन ।’

वैकल्पिक राजनीतिको अर्को विश्वास, वामपन्थी वा दक्षिणपन्थी दुबै कार्यदिशा नहुनु हो । वामपन्थभन्दा अस्तित्वको एउटा पाटो, पक्ष वा प्रवर्गलाई बुझाउँछ । दक्षिणपन्थभन्दा पनि अस्तित्वको अर्को पाटो, पक्ष, वा प्रवर्गलाई बुझाउँछ ।

वैकल्पिक राजनीति न त वामपन्थी (लेफ्ट ) मात्र हुन्छ, न लोकतान्त्रिक (डेमोक्र्याटिक) मात्र हुन्छ, बरु एकसाथ लेफ्ट-डेमोक्र्याटिक हुन्छ

जस्तो कि मान्छेसँग भएका दुई खुट्टामध्ये एउटा खुट्टा दाहिने खुटट्ा हो, अर्को देब्रे खुट्टा हो । मान्छे एउटा अस्तित्व हो, उसलाई दुबै खुट्टा चाहिन्छ । दुबै खुट्टाको गतिशील सन्तुलन – डाइनामिक ब्यालेन्स) मा मात्र उसको जीवन सहज हुन सक्छ ।

तसर्थ वैकल्पिक राजनीति न त वामपन्थी (लेफ्ट ) मात्र हुन्छ, न लोकतान्त्रिक (डेमोक्र्याटिक) मात्र हुन्छ, बरु एकसाथ लेफ्ट-डेमोक्र्याटिक हुन्छ । यो एजेण्डाले वामपन्थी हुन्छ, विधि र पद्धतिमा लोकतान्त्रिक हुन्छ । अर्थात् वैकल्पिक राजनीतिले देब्रे वा दाहिने खुट्टामा एकखुट्टे हिँड्दैन ।

देब्रेतिर वा दाइनेतिर ढल्किएर गन्तव्य बनाउँदैन । बरु दुबै खुट्टाको गतिशील सन्तुलनमा अगाडि (फ्रन्ट ) तिर हिँडछ । यसलाई ‘फ्रन्टिष्ट’ भन्न सकिन्छ ।

वैकल्पिक राजनीतिको सातौैै विश्वास कुनै पनि विचारको सर्वोच्चता (सुप्रिमेसी अफ थट) लाई अस्वीकार गर्नु हो । कुनै पनि एक सिद्धान्त, एक विचार, एक नीति, एक योजना, एक कार्यक्रम, एक कार्यशैलीले एकसाथ सबै मानिसलाई खुृशी दिन सक्दैन ।

मानिसका चित्तवृतिहरु फरक-फरक हुन्छन् । फरक-फरक रोगका फरक-फरक औषधी भएजस्तै फरक-फरक चित्तवृत्तिका फरक-फरक खुशीका आधारहरु हुन्छन् । तसर्थ कुनै पनि दलमा चिन्तनको एकरुपता सम्भव हुँदैन । फलतः कुनै पनि विचार सर्वोच्च वा अन्तिमरुपमा प्राधिकारपूर्ण हो भन्न सकिन्न ।यसको अर्थ विचार र जीवनशैलीको स्वतन्त्रता मानिसको निजत्व हो । त्यसलाई कुनै दल वा राज्यले खण्डित गर्न सक्दैन ।

तसर्थ वैचारिक एकतामा आधारित एकमनावादी दल अबको युगमा निर्माण गर्न सकिँदैन । केही आधारभूत सहमतिसहित संगठनको एकता जोगाउनु पर्दछ । तर, पार्टीमा मान्छेलाई नै पार्टी नीतिहरुको  विरोध गर्ने अधिकार दिइन्छ ।

पार्टी अभियन्ताहरुलाई पार्टीको आधिकारिताअनुरुप आफ्ना विचारहरु बदल्न वा ढाल्न प्रेरित गरिन्न । बरु नयाँ-नयाँ ढंगले सोच्न, नयाँ नयाँ विचार, योजना पार्टीमा ल्याउन  प्रेरित गरिन्छ । बैकल्पिक राजनीति विचारको स्वतन्त्रता (फ्रिडम इन एक्सप्रेसन) र कार्यको एकता (युनिटी इन एक्सन) मा आधारित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment