Comments Add Comment

ठमेलमा प्रहरीको टाउको दुखाइ: लागूऔषधदेखि तेस्रो लिंगीसम्म

Thamel

५ वैशाख, काठमाडौं । राजधानी आउने जोकोही विदेशी पर्यटक एकपटक ठमेल पुगेकै हुन्छन् । के पाइँदैन ठमेलमा ? हस्तकलादेखि पुरातात्विक सामग्रीसम्म, डान्सबारदेखि दोहोरीसम्म ठमेलभित्र छन् । तर यही ठमेल हिजोआज विवादमा आउन थालेको छ ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरीलाई ठमेल क्षेत्रमा लागुऔषध कारोवारी छ्याप्छ्याप्ती छन् भन्ने सूचना पहिलेदेखि थियो । तर प्रहरीले फाट्टफुट्ट बाहेक लागुऔषध बेच्ने समूह पत्ता लगाउन सकिरहेको थिएन ।

करिब १ महिनाअघि बृत्तको नेतृत्व सम्हाल्न आएका डिएसपी सोमेन्द्रसिंह राठौरलाई पनि धेरैले भने, ‘ठमेल सुधार गर्ने भए लागुऔषध नियन्त्रण गर्नुहोस् ।’ अपराधी जन्माउनेदेखि अपराधको मुख्य कारणसमेत बनिरहेको लागुऔषध नियन्त्रणका लागि डीएसपी राठौरले अहिले अपरेसन चलाइरहेका छन् ।

चैत १५ गते प्रहरीको कारवाहीमा परे चितवनका मुकुन्द श्रेष्ठ र बालाजुका सागर श्रेष्ठ । प्रहरीले मुकुन्दको साथबाट अवैध लागुऔषध खैरो हेरोइन १० ग्राम पनि बरामद गर्‍यो । अनुसन्धान गर्दा थाहा भयो, ट्याक्सी ड्राइभरको सहयोग लिएर ठमेलमा आउने विदेशी पर्यटकलाई लागुऔषध विक्री गर्ने उनीहरुको मुख्य धन्दा रहेछ । ट्याक्सी ड्राइभरले ग्राहक खोज्ने र सानो-सानो प्लाष्टिक बनाएर खैरो हेरोइन ८ देखि १० हजारमा विक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।

ट्याक्सी ड्राइभरलाई केही कमिसन दिएर धन्दा चलाउँदै आएका मुकुन्द र सागर अहिले प्रहरी हिरासतमै छन् ।

रेस्टुरेन्टको छतमा गाँजा खेती

ठमेलस्थित एक रेष्टुरेन्टमा गाँजा सेवन गर्नेहरुको भिड छ भन्दै केही दिनअघि सोह्रखुट्टे प्रहरीलाई सूचना आयो । प्रहरी टोली तत्कालै रेस्टुरेन्टमा छापा मार्न पुग्यो, जहाँ १० जना व्यक्ति गाँजाको नशामा रमाइरहेका थिए । उनीहरु सबैलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दै रेष्टुरेन्टको छतमा पुग्दा प्रहरी चकित पर्‍यो ।

ग्राहकको सुविधाका लागि छतमै गमलामा गाँजा रोपिएको रहेछ । रेष्टुरेन्टका म्यानेजर छ्याङ गुरुङ पक्राउ परेका छन् भने सञ्चालक मुखिया घले फरार छन् । उनीहरुले लामो समयदेखि छतमा गाँजा उत्पादन गरेर बिक्री गर्दै आएका थिए ।

पार्टी प्यालेस जुवा अड्डा

ठमेलमा लागुऔषध कारोवार मात्र होइन, जुवाअड्डा पनि राम्रैसँग फस्टाएको पाइएको छ । गत चैत ११ गते सोह्रखुट्टेस्थित हजुरको पार्टी प्यालेसमा प्रहरी छापा मार्न पुग्यो । त्यहाँबाट ८ जना पक्राउ परेपछि खुल्यो, पार्टी प्यालेसभित्र जुवा अड्डा चलिरहेको थियो ।

पार्टी नभएका बेला यसलाई जुवाअड्डाको रुपमा प्रयोग गर्ने नुवाकोटका बिन्देश्वर श्रेष्ठसहित ८ जना जुवाखालबाटै पक्राउ परे । उनीहरुको साथबाट २ लाख २६ हजार रुपैंयासमेत बरामद भएको थियो ।

बाहिर खाजाघर, भित्र यौनधन्दा

मसाज र त्यहाँभित्र चल्ने देहव्यापार वर्षौदेखि ठमेलको पर्याय बन्दै आएको थियो । तर, प्रहरीको लागि गतिलो आम्दिानी स्रोत पनि बनिरहेको थियो । प्रहरी केही कठोर भएपछि ठमेलका अधिकांश मसाज सेन्टर बन्द भए ।

प्रहरीका अनुसार हिजोआज मसाजमा होइन, खाजाघरभित्र यौनधन्दा फस्टाएको छ भने कतिपय ठमेल छाडेर नजिकैको नयाँबजार पुगेका छन् ।

केही दिनअघि नयाँबजारस्थित भ्याली कोल्ड स्टोर नजिकै रहेको खाजाघरमा छापा मार्न पुगेको प्रहरीले यौन अखडा चलाएको आरोपमा चार युवती र चार पुरुषलाई पक्राउ गरेको थियो ।

१० बजेपछि रक्सी पसल बन्द

गत चैत १५ गते राति करिब २ बजे ठमेलमा झगडा परेेको भन्दै प्रहरीलाई खबर पुग्यो । सीएनआइ बार नजिकै रक्सीले मातेका दुई समूहबीच हानाहान भएको थियो ।

प्रहरी घटनास्थल पुग्दा आर्मी क्लबका जुडो खेलाडी कारमाङ तामाङ र कुमार श्रेष्ठ घाइते भएका थिए । बारमा मादक पदार्थ सेवन गरेर निस्किएका ४ जनाको समूहसँग उनीहरुको झगडा भएको थियो । घटनामा संलग्न रहेको आरोपमा काभे्रका आकाश तामाङ पक्राउ परेका छन् ।

ठमेलमा रक्सीका कारण हुने घटना मध्येको एउटा उदाहरण मात्रै हो यो । यस्ता घटना दैनिकजसो हुन्छन्, जसको मुख्य कारण रक्सी नै हो । विशेष गरी डिस्को, डान्सबार लगायतका क्षेत्रहरु झगडा गर्ने थालो बनिरहेका छन् ।

ठमेललाई २४ घण्टा खुल्न नदिन प्रहरीले मुख्य बाहाना बनाएको छ रक्सी । प्रहरीले राति १० बजेपछि मदिरा बिक्री गर्न निषेध गरेको छ । मदिरा विक्री गर्ने जुनसुकै पसल १० बजेपछि बन्द गर्नुपर्छ ।

विदेशी मुद्राको तस्करी पनि

गत चैत १५ गते लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नेपालमै पहिलोपटक झोल कोकिनसहित दुई जनालाई पक्राउ गर्‍यो । दक्षिण अपि|mकाकी एमसानी र भारत नागल्याण्डकी मर्सी ठमेलबाटै पक्राउ परेका थिए ।

त्यसको एक सातापछि विशेष ब्युरोको टोलीले एक करोड भारतीय नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक पाकिस्तानी नागरिक मोहमद नदिम थिए । उनले ठमेलको होटल प्लानेटलाई आश्रयस्थल बनाएका थिए ।

तेस्रोलिंगीको केन्द्र

करिब २ साताअघि ठमेलस्थित भगवान बहालमा तेस्रो लिंगीले सिक्री लुटेको भन्दै एक व्यक्तिले प्रहरीलाई खबर गरे । राति करिब १ बजे पर्पलहेज डान्सबारमा मादक मदार्थ सेवन गरेर निस्कएका ४२ वर्षीय पीडित व्यक्ति मोटरसाइकल लिन भगवान बहाल पुगेका थिए ।

उनी मोटरसाइकल राखिएको स्थानमा पुग्न नपाउँदै २ जना तेस्रो लिंगीहरु नजिक आए र उनको संवेदनशील अंगमा स्पर्श गरे । उनले केही सोच्न नभ्याउँदै खल्तीबाट पर्स गायब भैसकेको थियो । पर्ससँगै आफ्नो घाँटीको सिक्रीसमेत लुटिएको उनले थाहा पाए । निशा केसी नाम गरेकी तेस्रोलिंगीलाई आफैंले नियन्त्रणमा लिएर उनले प्रहरीलाई खबर गरे ।

तत्काल प्रहरी पुग्दा निशासँगै रहेकी तेस्रोलिंगी भने फरार भैसकेकी थिइन् । प्रहरीले निशालाई पक्राउ गरेर अनुसन्धान गर्दा अर्की रुपा दनुवार पनि पक्राउ परिन् । तर, सिक्री र पर्स भने भेटिएन । प्रहरीले पक्राउ परेका दुवैजना विरुद्ध सार्वजनिक मुद्दा चलाएको छ ।

ठमेलमा तेस्रो लिंगीको अश्लील हर्कतले धेरैलाई पीडित बनाइसकेको छ । राति ११ बजेदेखि ठमेलका गल्लीहरुमा सक्रिय हुने उनीहरुले रक्सीले मातेकाहरुलाई निशानामा पार्ने गरेको सोह्रखुट्टेका डीएसपी राठौर बताउँछन् ।

‘२४ सै घन्टा खुल्न सक्दैन’

ठमेल, दरवारमार्ग लगायतका पर्यटकीयस्थल २४ सै घण्टा खोल्नुपर्ने बहस पटक-पटक चल्दै आएको छ । तर काठमाडौंका सिडियो रामकृष्ण सुवेदी भने तत्काल ठमेललाई २४ सै घण्टा खोल्न सकिने अवस्था नरहेको बताउँछन् । उनी भन्छन्, ‘ठमेल २४ सै घण्टा खोलेपछि दिनु पर्नु सुरक्षाको लागि जनशक्ति छैन । व्यवसायीहरुले पनि आवश्यक मापदण्ड पूरा गरेका छैनन् ।’

ठमेलमा बसेका ग्राहकलाई राति घरसम्म पुर्‍याउने व्यवस्था व्यवसायीले गर्न सक्नुपर्ने उनको भनाइ छ । सुवेदीले भने, ‘हरेक व्यवसायको अनुमति दिने निकाय फरक-फरक छ, उनीहरुले अनुगमन गरेका छैनन् । अनि कसरी सुरक्षा दिन सकिन्छ र खोल्नु ?’

तेस्रोलिंगीको बिगबिगी र लागुऔषधको कारोवारले ठमेललाई असुरक्षित बनाइरहेको सोह्रखुट्टेका डीएसपी राठौरको बुझाइ छ । उनी भन्छन्, ‘ठमेलको लागि भन्दै पर्यटन परिषददेखि अनेक संस्थाहरु खुलेका छन्, तर कसैले आफ्नो काम गरेका छैनन् । त्यत्रा व्यवसायीहरु छन्, तर सडकमा बत्ति छैन । सिसीक्यामेरा राख्दैनन् । अनि कसरी पर्यटकमैत्री हुन्छ ठमेल ?’

साउन्डसिस्टम राखिएका डिस्कोहरु राति दुई बजेसम्म र अन्य दोहोरी डान्सबार लगायतका व्यवसाय १२ बजे नै बन्द हुन्छन् ठमेलमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment