Comments Add Comment

नामिबियाविरुद्ध उत्रनु अघि नेपाली प्रशिक्षकले लिनुपर्ने तीन निर्णय

nepali cricket

नामिबियाविरुद्ध शनिबारको म्याचपछि नेपालको विश्व क्रिकेट लिग च्याम्पियनसीपमा पुनरागमन गर्ने आशा जागेको छ । १५ हजार घरेलु दर्शकबीच नेपाली क्रिकेट टोलीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रभूत्व बनायो । यद्यपि, तीनवटै क्षेत्रमा सुधारको गुञ्जायस अझै छ ।

विशेषगरी ब्याटिङमा नेपालले अझै मिहिनेत गर्नुपर्ने शनिबारको म्याचबाट झल्किएको छ । घरेलु पिचमा १९६ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाली ब्याट्सम्यानले सोचेभन्दा बढि संघर्ष गरे । विशेषगरी शरद भेषावकरको ब्याटिङ शैली एक दिवसीय खेलका लागि जोखिमपूर्ण मानिन्छ । उनले टेष्ट म्याचमा जस्तै अत्यधिक डट बल खेले । यदि अर्को एन्डबाट विनोद भण्डारीले आक्रमण नगरेको भए नेपालको इनिङ संकटमा पर्न सक्थ्यो ।

जे होस, सोमबारको दोस्रो खेलमा नेपाल उच्च मनोबलका साथ उत्रिनेछ । त्यसभन्दा अघि प्रशिक्षक जगत टमाटाले टीमको विषयमा ३ महत्वपूर्ण निर्णय लिनुपर्छ ।

१. फेरि एक मात्र फास्ट बलर ?

प्रशिक्षकका रुपमा जगत टमाटाको आफ्नो कमाण्डमा पहिलो म्याचमै जोखिम मोलेका थिए, एक मात्रै फास्ट बलर खेलाएर । नेपालको टोलीमा फास्ट बलर सोमपाल कामी मात्रै थिए ।

यद्यपि, हिजोको पिच फास्ट बलरका लागि पनि उराठलाग्दो थिएन भन्ने सोमपालको बलिङ फिगरबाट देखिन्छ । केही महंगा भए पनि उनले नामिबियाका दुवै ओपनरलाई पेभेलियन पठाए ।

दोस्रो म्याचअघि टमाटाले आफ्नो बलिङ रणनीतिमा फेरि एकपटक सोच्नेछन् । पिचमा हुने प्रारम्भिक ताजापनको फाइदा लिन हरेक स्तरको क्रिकेटमा दुई फास्ट बलरको अनिवार्यता मानिन्छ ।

त्यही कारणले कप्तान पारस खड्काले सुरुमा तीन ओभर मिडियम पेस बलिङ गरे । नामिबियाको ब्याटिङमा पारसले रनमा अंकुश लगाउन सकेनन् । उनले तीन ओभरमा १८ रन दिए । जबकि उनै पारसले बाँकी सात ओभर स्पिन बलिङ गरे र एक विकेटसहित १६ रन मात्रै खर्चे ।

नेपालले खेलाएका तीनै जना स्पिनरले आफूलाई प्रमाणित गरेका छन् । नव आगमन गरेका सन्दिप लामिछानेले राम्रो इकोनोमीसहित एक विकेट लिए भने शक्ति र बसन्तले पनि नाम अनुसार प्रदर्शन गरेका छन् ।

यसको अर्थ अर्को म्याचमा पनि नेपालले तीन स्पिनर, एक फास्टबलर र दुई अलराउन्डर -पारस र सागर पुन) सहित को बलिङ युनिट खडा गर्ने सम्भावना प्रवल छ । टोलीमा रहेका अर्का स्पिनर सुसन भारी र फास्ट बलर करण केसी यो प्रतियोगीता बेन्चमै बसेर बिताउनुपर्ने हुन सक्छ ।

२. सागर ल्याउँदा कसलाई हटाउने ?

शनिबारको म्याचमा नेपालले वाध्यात्मक रुपमा आफ्नो नियमित ब्याटिङ क्रम चलाउनुपर्‍यो । इन्जुरीका नेपालका नियमित दुई ओपनर सुवास खकुरेल र अनिल मण्डल टोलीमा थिएनन् ।

Sagar and naresh
नरेश बुढायर र सागर पुन

तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका सागर पुन पनि अस्वस्थताका कारण अन्तिम समयमा मैदानमा उत्रिन सकेनन् ।

नियमित तेस्रो नम्बरमा भरपर्दो ब्याटिङ गर्दै आएका ज्ञानेन्द्र मल्ललाई ओपनिङ गर्न पठाउने निर्णय प्रशिक्षकले लिए ।

यो कठिन निर्णय यस अर्थमा थियो कि ज्ञानेन्द्रलाई एक स्थान माथि उकाल्दा नेपालको सिंगो ब्याटिङक्रम गिजोलिन्थ्यो । टमाटाले यो जोखिम मोले र नरेश बुढाऐरसँग ज्ञानेन्द्रको जोडी बनाए ।

अन्तिम समयमा सागर अनुपस्थित भएपछि नेपालले अनुभवी शरद भेषावकरलाई तेस्रो नम्बरमा पठाउने निर्णय लियो । शरदलाई माथि उचाल्दा नेपालको तल्लो मध्यक्रम कमजोर देखिएको थियो ।

पाँचौं नम्बरका राजु रिजाल आफ्नो डेब्यू म्याच खेल्दै थिए भने राजेश पुलामी पनि खासै अनुभवी ब्याट्सम्यान होइनन् । अनुभवी विनोद भण्डारी लामो समयदेखि राम्रो र्फममा थिएनन् ।

शनिबारको म्याचमा शरद नचलेको भए नेपाल संकटमा पर्न सक्थ्यो । तर, शरदको इनिङले नेपालको निर्णय सही सावित भयो ।

सोमबारको म्याचमा संभवतः सागर पुनको पुनरागमन हुनेछ । सागरको आवश्यकता टोलीमा यसकारण पनि छ कि उनी ब्याटिङका अतिरिक्त स्पिन बलिङ पनि गर्न सक्छन् ।

तर, उनलाई ल्याउँदा कसलाई बाहिर निकाल्ने भन्ने प्रश्न प्रशिक्षक र कप्तानसामू हुनेछ ।

यसका लागि राजु, राजेश र नरेश बुढाएरमध्ये एक जना छान्नुपर्ने हुन्छ । नरेशलाई हटाएर सागरबाट ओपनिङ गराइने सम्भावना कमै छ । विकेट किपिङका लागि राजु आवश्यक छन् । आवश्यक पर्दा ठूला सट खेल्न सक्ने क्षमता पनि उनको छ । त्यसैले राजेशको स्थान भोलिको म्याचमा सबैभन्दा असुरक्षित देखिन्छ ।

३. शरदलाई कहाँ खेलाउने ?

नेपालका सर्वाधिक अनुभवि ब्याट्सम्यान हुन् शरद । सुरु-सुरुमा तेस्रो नम्बरमा ब्याटिङ गर्ने उनी पछि ५-६ नम्बरमा धकेलिए । शनिबार संयोगले उनी आफ्नो पुरानो ठाउँमा फर्किए ।

z-2

ज्ञानेन्द्रलाई ओपनीङमा लगिसकेपछि तेस्रो नम्बरमा शरदको उपादेयता धेरै देखिन्छ । हरेक क्रिकेट टोलीले तेस्रो नम्बरमा उत्कृष्ट ब्याट्सम्यानलाई खेलाउन चाहेको हुन्छ, किनकी ब्याटिङ क्रममा यो सबैभन्दा महत्वपूर्ण स्थान मानिन्छ ।

यदि नेपालले दिर्घकालिनरुपमा ज्ञानेन्द्रलाई ओपनिङ ब्याट्सम्यानका रुपमा सोच्ने हो भने तेस्रो नम्बरका लागि पनि दिर्घकालीन विकल्प सोच्नुपर्छ । सागर पुनको अहिलेसम्मको प्रदर्शनका आधारमा उनले यो स्थान धान्न गाह्रो छ । यद्यपि पछिल्ला दिनमा उनले ब्याटिङ केही सुधारेका छन् ।

शरदलाई नियमित तेस्रो नम्बरमा खेलाउँदा नेपालको अग्रपंति मजबुत बन्नेछ । तर, विनोद भण्डारीसहितको तल्लो क्रममा धेरै भर पर्न सकिँदैन । यद्यपि अन्डर १९ टिमका पुर्व कप्तान राजु रिजाल ५ वा ६ नम्बरमा आफूलाई स्थापित गर्न सक्ने क्षमता राख्छन् । राजुको ब्याटिङ चम्कियो भने नेपालको टाउको दुखाई दुर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment