८ वैशाख, काठमाडौं । ‘कुन पाप लागेर क्रिकेटमा लागेंछु ।’ यो भनाइ हो नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीको ।
पुरुष राष्ट्रिय टोलीले नामिबियालाई दुई म्याचमा हराएर हाईहाई बनेका बेला महिला टीमकी कप्तान रुविनाले भने विरक्तलाग्दो कुरा गरिन् । किन त उनलाई यस्तो वैराग्य ?
रुबिना भन्छिन्- ‘मैले आफ्नो जीवनको १० वर्ष क्रिकेटलाई दिएँ । तर, हात लाग्यो शुन्यजस्तै भयो । पुरुष क्रिकेटरले धेरैथोक पाए, हामीले केही पाएनौं ।’
रुबिनाका अनुसार राष्ट्रिय टोलीका केही सदस्यहरु क्रिकेटबाट पलायन भैसकेका छन् । केहीले बिहे गरेर घरजम गरे त, केही विदेशतिर लागे । नियमित प्रशिक्षण छैन । सबै आ-आफ्नो कामधन्दामा छन् ।
घर-परिवारले साथ नदिएको भए रुविना आफै पनि उहिल्यै क्रिकेटबाट पलायन भइसक्ने थिइन् । उनी अहिले झापाको धुलाबारीमा क्रिकेट एकेडेमी चलाएर बसेकी छन् ।
महिला राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेकै डेढ वर्ष हुन लाग्यो । राष्ट्रिय प्रतियोगिता नभएको पनि दुई वर्षभन्दा बढी भइसक्यो । क्रिकेटमा भविश्य खोज्न आएका महिला खेलाडीहरु यस्तो शून्यतामा निराश र हतास हुनु अस्वाभाविक होइन ।
रुविनाले दोहोर्याएर, तेहेर्याएर भनिन्, ‘हामीलाई खेल्ने वातावरण बनाइदिनुस, हामी पुरुष खेलाडीभन्दा कम छैनौं ।’
प्रतियोगिता नहुँदा स्तर खस्कँदो
सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एशियाली खेलकुदमा नेपाली टोलीले पछिल्लो पटक सहभागिता जनाएको थियो । त्यस प्रतियोगितामा नेपाल क्वाटरफाइनलमा बंगलादेशसँग पराजित भयो ।
नेपालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सुरु गरेको सन् २००७ देखि हो । एसीसी उमेन्स च्याम्पियनसीपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । त्यस प्रतियोगितामा नेपालले थाइल्याण्ड, चीनजस्ता मुलुकलाई सजिलै पराजित गर्ने हैसियत राख्थ्यो ।
तर, म्याच एक्स्पोजरको अभावमा पछिल्लो समय खेलाडीको प्रदर्शन खस्कँदो छ । जबकि अन्य देशका टोलीले प्रगति गरिरहेका छन् । रुविना भन्छिन्-‘थाइल्याण्ड, चीनजस्ता मुलुकहरुलाई हामीले सजिलै पराजित गर्न सक्थ्यौं । तर, अहिले उनीहरु कहाँ पुगिसके । यस्तै हाल हो भने हामी मलेशिया, भुटानसँग पनि पराजित हुने दिन आउनेछ ।’
‘अझै पनि’- रुबिना भन्छिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगिताको तीन महिना अघिदेखि हामीलाई प्रशिक्षक उपलब्ध गराएर नियमित प्रशिक्षण दिइयो भने हामी विश्वस्तरीय प्रदर्शन गर्न सक्छौं ।’ कप्तान भएको नाताले आधिकारिक निकायसँग कुरा गर्दा गर्दा आफू थाकिसकेको तर सुनवाइ नभएको उनले गुनासो गरिन् ।
आगामी सेप्टेम्बरमा एशिया कप छनौट हुँदैछ । त्यसका लागि हङकङले टोलीको घोषणा गरेर प्रशिक्षण सुरु गरिसकेको छ । रुबिना भन्छिन्, ‘क्यानका पदाधिकारीलाई त प्रतियोगिता हुँदैछ भनेर जानकारी पनि छैन होला ।’
क्यान विवाद मुख्य कारण
नेपाल क्रिकेट संघ क्यानको विवादले पुरुष क्रिकेटको व्यवस्थापनमा त संकटमा परिरहेका बेला महिला क्रिकेटको बारेमा चासो कसलाई हुने ! क्यानले केही समयअघि महिला क्रिकेटका लागि मासिक ५ हजार तलव दिने निर्णय गरेको थियो । तर, उनीहरुले अहिलेसम्म क्यानबाट १ रुपैयाँ पनि तलव पाएका छैनन् । संघको विवाद अदालत पुगेपछि अदालतले क्यानको बैंक एकाउन्ट नै बन्द गरिदिएको छ ।
अझै छ विश्वकप खेल्ने सपना
टोलीको यस्तो अस्तव्यस्तताका बाबजुद पनि कप्तान रुविनाले विश्वकप खेल्ने सपना मनमा साँचेकी छिन् । नेपाल क्रिकेट संघले थोरै लगानी गरेर नियमित प्रशिक्षणको व्यवस्था गरे मात्रै पनि नेपालले महिला विश्वकप खेल्न सक्ने उनको दावी छ । उनले भनिन्- ‘विश्वस्तरको प्रदर्शन गर्न सक्ने खेलाडी नेपालमै छन्, क्यानले बाटो देखाइदिनुपर्यो हामी गरेर देखाउछौं ।’
गत महिना भारतमा पुरुष टोलीको विश्वकपसँगै महिला विश्वकप पनि भएको थियो । रुविनाले पनि विश्वकपको खेलहरु टिभीमा हेरिन् । वेष्टइन्डिजले पहिलोपटक उपाधि उचालेको हेर्दा आफू कल्पनामा हराएको उनी सुनाउँछिन् ।
रुबिनाले भनिन्-‘वेष्टइन्डिजको खुसी टिभीमा हेरेर मैले उनीहरुको ‘इमोसन’ महशुस गरेँ, कुनै दिन आफुले पनि यस्तै ट्रफी उठाउन पाए भन्ने सोचेँ । तर यथार्थ अर्कै छ ।’
क्रिकेट एकेडेमीको अवधारणा
प्रतियोगिता नभएर फुर्सदमा रहेकी रुविनाले यसको सदुपयोग गर्दै गृहक्षेत्रमा क्रिकेट एकेडेमी खोलेकी छन् । नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी मनोज कटुवालसँग मिलेर झापाको धुलावारीमा खोलिएको लर्ड बुद्ध क्रिकेट एकेडेमीमा उनले पूर्वी क्षेत्रका प्रतिभाहरुलाई प्रशिक्षण दिइरहेकी छन् ।
‘अधिकांश महिला खेलाडीहरु पलायनको क्रममा रहेका बेला मैले भने यही क्षेत्रमा केही गर्ने इच्छाले एक वर्षदेखि मनोज दाइसँग मिलेर एकेडेमी खेलेकी छु,’ उनले भनिन्- ‘२५ जना महिला तथा पुरुष खेलाडीहरुले एकेडेमीमा प्रशिक्षण लिइरहेका छन् ।’ उनको एकेडेमीमा १० देखि २६ वर्षसम्मका खेलाडीहरु प्रशिक्षणरत छन् । तर, धेरैजसो १७ देखि २० वर्ष उमेर समूहका छन् ।
एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरु समेटेर उनले विद्यालयस्तरीय प्रतियोगिता पनि आयोजना गरिसकेकी छन्, आफ्नै खर्चमा । पूर्वका अविभावकहरु आफैले आफ्ना छोराछोरीलाई एकेडेमीमा भर्ना गर्न प्रस्ताव गर्न थालेका छन् । यस्तोमा उनी पूर्वमा खेलाडी उत्पादनमा सफल हुँदैछिन् ।
पुरुष क्रिकेटरहरुबाट हौसला
पुरुष क्रिकेट टोलीले पाएको म्याच एक्स्पोजर, तलव सुविधा र स्पोन्सरबाट महिला खेलाडीहरुमा पनि भोक जाग्दो हो । महिला र पुरुषबीच केही विभेद महसुस गरे पनि रुविनाले पुरुष टोलीको सफलता आफूहरुको पनि भएको बताइन् ।
‘पुरुष टोलीले एकपछि अर्को सफलता हात पार्दा त्यसको सकारात्मक प्रभाव महिला टोलीमा पनि हुन्छ र हामीले पनि राम्रो गर्न सक्छौं भन्ने लागेको थियो । तर, अहिले हामी हेपिँदै गएका हौं कि जस्तो लाग्न थालेको छ,’ रुविनाले दुखेसो पोखिन् ।
सिनियर पुरुष टोलीका सबै सदस्यसँग उनको राम्रो सम्बन्ध छ । बिशेषगरी कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबाट उनले साहनुभूति पाएकी रहिछन् । उनले भनिन्- ‘पारस, ज्ञानेन्द्र दाइहरुसँग मेरो कुरा हुन्छ, उहाँहरु निक्कै पोजेटिभ हुनुहुन्छ । उहाँहरु पनि यस्तै दुःख सहेर यो अवस्थासम्म आइपुग्नुभएको हो ।’ उनले थपिन्- ‘उहाँहरुको हौसलाले नेपालको महिला क्रिकेटले पुनः उचाइ हासिल गर्नेमा आशावादी छु ।
तस्वीरः http://cricketingnepal.com/
प्रतिक्रिया 4