Comments Add Comment

झिँगा भन्किएको मासु कहिलेसम्म बेच्न दिने ?

meat-dirty
११ वैशाख, वीरगन्ज । व्यवसायीले बिना परीक्षण मासु बिक्री वितरण गर्दा यहाँका जनता गुणस्तरहीन र अस्वस्थ्यकर मासु खान बाध्य भएका छन् । यहाँका अधिकांश मासु पसलेले न्यूनतम मापदण्डसमेत पूरा नगरी उपभोक्तालाई अस्वस्थ्यकर मासु बेचिरहेका छन् ।

उचित पशु वधशाला र व्यवस्थित मासु बजारको अभावमा जथाभावी र फोहर ठाउँमा खसी तथा कुखुरा वध गर्ने गरेको, खुल्ला रुपमा सडक छेउमै मासु बेच्न राख्ने गरेको, मासु काट्ने हतियार तथा अचानोलगायत समान सफा नरहेको र झिँगा भन्किएको मासु बिक्री भइरहेको छ ।

मासु जाँच ऐन प्रभावकारीरूपमा लागू हुन नसक्दा यहाँका उपभोक्ताले गुणस्तरहीन मासु खान बाध्य भएका हुुन् । गुणस्तर र स्वच्छ मासु उपभोगका लागि व्यवसायीद्वारा मासु पसल सुधारमा पहिलो प्राथमिकता दिनुपर्ने स्थानीयवासीको भनाइ छ ।

“अस्वस्थ्य र गुणस्तरहीन मासु उपभोग गर्दा स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरप्रति उपभोक्ता र व्यवसायी सम्वेदनशील हुनुपर्ने आवश्यकता देखिएको छ”–स्थानीय उपभोक्ता कन्हैयालाल केशरी भन्छन्, “त्यसका लागि उचित र व्यवस्थित स्थानमा वधशालाको निमार्ण गरिनुपर्छ र मासु जाँच ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्दछ ।”

“अधिकांश पसल उपभोक्ताको हितविपरित सञ्चालनमा रहेको पाइएको छ”–उपभोक्ता मञ्चका अध्यक्ष दीनाप्रसाद गुप्ताले भने, “यसले सिधैँ मानव स्वास्थ्यमा असर पार्ने भएकाले उपभोक्ताको हित रक्षार्थ बजार अनुगमन कार्यलाई अत्यन्त प्रभावकारी र सशक्त बनाउनुपर्छ ।”

स्थानीय निकायको इजाजत लिएर मात्र मासु बेच्नुपर्ने र वधशालाबाहेक अन्यत्र स्थानमा मासु वध तथा परीक्षण गरिएका पशुमात्र वध गर्नु पर्ने प्रावधान ऐनमा रहेको जानकारी दिँदै जिल्ला पशु सेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक डा रामपरीक्षण साहले भने, “व्यवस्थित पशु बजारको अभावमा आमउपभोक्ता स्वच्छ र गुणस्तरीय माछामासु उपभोग गर्न सकिराखेको छैन् । जसकाकारण आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव परिरहेको छ ।”

जिल्ला पशु सेवा कार्यालयका अनुसार पर्सामा दैनिक सरदर ६५ क्विन्टल खसीको मासु, ३० क्विन्टल कुखुरा, ३४ क्विन्टल राँगा, भैँसी तथा १५ क्विन्टल बङ्गुरको मासु खपत हुने गरेको छ ।

माछामासु बेच्नका लागि जिल्लामा झण्डै १९३ वटा खसी, २२० वटा कुखुरा, ५४ वटा राँगा, भैसी तथा ३७ वटा बङ्गुर मासु पसल सञ्चालनमा रहेका छन् ।

माछामासु व्यवसायी सङ्घ पर्साका सचिव ग्यासुमिया देवानका अनुसार, वीरगन्जमा दैनिक दुई हजार किलो खसी र बाख्री, एक हजार २०० किलो कुखुराको मासु र दुई हजार किलो माछा बिक्री हुने गरेको छ ।

यी सबैबाट दैनिक करिब रु १० लाखको कारोबार हुने गरेको सचिव देवानले बताउनुभयो ।

“माछामासुको खपत र कारोबारमा वृद्धि भए पनि वीरगञ्ज उपमहानगरपालिकाले यसको स्वच्छतातर्फ ध्यान दिएको छैन्”– उनले भन्नुभयो, “शद्ध माछामासु बिक्री वितरण र उपभोगका लागि उपमहानगरपालिकाले व्यवस्थित पशुवधशाला निर्माण गर्नेतर्फ आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्छ ।”

मिसावट गरी मासु बिक्री गर्न नपाइने कानूनी प्रावधान रहेपनि यहाँ बेचिने मासुमा झिँगा, धुलो आदि टाँसिने भएकाले पनि मासु उपभोक्ताका लागि हानिकारक भएको स्वास्थकर्मीहरू बताउँछन् ।

बिना इजाजत र न्यूनतम मापदण्ड पूरा नगरी पशुपक्षीका मासु बिक्री हुन थालेको व्यापक गुनासो आउन थालेपछि वीरगन्ज उपमहानगरपालिकाले त्यसको व्यवस्थापन गर्ने भन्दै विक्री वितरण निर्देशिकासमेत जारी गरेको थियो तर निर्देशिकाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा उपभोक्ता ठगिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment