Comments Add Comment

प्रधानमन्त्री अोलीले पुनर्निर्माण थालेको बुङ्मतीमै पीडितको बिजाेग

bungmati-vukampapidit
११ वैशाख, ललितपुर। विनाशकारी भूकम्प गएको एक वर्ष पुग्दासमेत बुङ्मती क्षेत्रको पुनःनिर्माण सुरुवात अझै हुन नसकेको स्थानीयवासीले बताएका छन् ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले यस क्षेत्रको संरचनालाई ध्वस्त पारेको थियो । भूकम्पले भौतिक संरचनालाई ध्वस्त बनाएपछि पीडितहरु अहिलेसम्म जस्ताको टहरामा बस्न बाध्य भएका छन् ।

भूकम्पपीडित टहरामै बास बसेर आफ्नो गुजारा चलाइरहेको स्थानीयवासी विश्वराज तुलाधरले बताए। जस्ता टहराको बासले खाना बनाउन, सुत्न, अन्नपात राख्न, पाहुना सत्कार गर्न, छोराछोरीलाई अध्ययन गराउन असहज परिस्थिति उत्पन्न भएको उनको गुनासो छ ।

समयमै राज्यले पीडितलाई उचित व्यवस्थापन गरिनुपर्नेमा उनले जोड दिए । बुङ्मती पुनःनिर्माणका लागि ‘बुङ्मती फाउन्डेसन’ नामक संस्था क्रियाशील रहेको फाउन्डेसनका अध्यक्ष प्रेमभक्त महर्जनले बताए। वास्तविक रुपमा अहिलेसम्म ध्वस्त संरचनाको तथ्याङ्क लिने काम मात्र भएको छ– उनले भने ।

भूकम्प गएको एकवर्ष बित्दासमेत यहाँका मानिसको दिनचर्या दुःखदायी अवस्थामा रहेकाले उहाँले यस क्षेत्रको पुनःनिर्माण छिट्टै सुरु हुने उनको भनाई रहेको छ । अब निर्माण हुने घर काष्ठकलाको शैलीबाट हुने उनले बताए।

यसरी बन्ने घरको भूइँतलामा सङ्ग्रालय, पहिलो तल्लामा क्याफे÷रेस्टुराँ, दोस्रो तल्लामा होम स्टे, तेस्रो तल्लामा परिवार बस्ने तथा माथिल्लो तल्ला दृश्यावलोकनका लागि रहने फाउन्डेसनले बताएको छ ।

यस क्षेत्रको पुनःनिर्माणका लागि चार अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए । यस कार्यमा पूर्णरुपमा युएन हाबिटेटले प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ ।

कार्यबिनायक नगरपालिकाका कार्यकारी अधिकृत रोहित पोखरेलले बुङ्मती क्षेत्र पुनःनिर्माणका लागि तथ्याङ्क सङ्कलनको काम अन्तिमचरणमा पुगेको बताए।

उनले यसै महिनाभित्र वास्तविक पीडितले घर बनाउनका लागि सरकारले प्रदान गरिने अनुदानको पचास हजार रूपैयाँको पहिलो किस्ता स्वरुप दिने प्रतिवद्धता व्यक्त गरे ।

बुङ्मती क्षेत्रको पुनर्निर्माण महाअभियान सुरुवातको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ २ गते गरेका थिए ।

गत वर्षको विनाशकारी भूकम्पले यस क्षेत्रमा ८५३ वटा घरध्वस्त बनाएको थियो । यसैगरी सात जनाको ज्यान गएको थियो भने ५० जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment