Comments Add Comment

लाप्राकलाई नमुना बस्ती बनाउन सरकार र एनआरएनबीच समझदारी

NRN punarnirman (6)१२ बैशाख, लाप्राक । गत बर्षको महाभूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन गैरआवासीय नेपाली संघ र सरकारबीच सम्झौता भएको छ ।

आइतबार लाप्राक गाउँमा आयोजित बिशेष कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार गैरआवासीय नेपाली संघले लाप्राकको साविक अस्थायी बस्ती रहेको स्थानमा एकीकृत बस्ती विकास गर्ने छ ।

‘हामी तत्कालै बस्ती विकास गुरुयोजना तयारी पारेर सरकारलाई बुझाउने छौं,’ हस्ताक्षरपछि गाउँलेलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भने, ‘सरकारले त्यसलाई स्वीकृत गरेपछि आगामी वर्षात् अगाडि नै निर्माण कार्य सुरु गरेर आगामी हिउँद अगाडि तपाइँहरुलाई नयाँ घर हस्तान्तरण गर्ने लक्ष्य छ ।’

सरकारले लाप्राक गाउँका ६ सय १२ घरधुरी भूकम्पबाट प्रभावित रहेको तथ्यांक संकलन गरेको छ । पुरानो बस्ती रहेको ठाउँ प्राविधिक हिसाबले बस्ती राख्न उचित नभएपछि सो बस्तीको केही माथि हाल अस्थायी टहराहरु रहेको डाँडामा ३२६ रोपनी क्षेत्रफलमा नयाँ बस्ती विकास गरिने छ । गैरआवासीय नेपाली संघले करिब ३५ करोड रुपैयाँको लागतमा एक हजार घर निर्माण गर्ने घोषणा गरेकोमा सरकारले पहिलो चरणमा लाप्राकलाई नमुना बस्ती बनाउन स्वीकृति प्रदान गरेको हो ।

NRN punarnirman (7)

दुःखलाई सुखमा बदल्नुपर्छः राष्ट्रपति

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब दुःख मानेर बसिरहने अबस्था नरहेकाले मेहेनत र परिश्रम गरेर दुःखलाई सुखमा बदल्नुपर्ने बताइन् ।

‘आफ्नो देश आफैले बनाउनुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘त्यसैले म युवाहरुलाई पुनर्निर्माण अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गर्दछु ।’

उनले स्थानीयस्तरमा रहेका सम्भाब्यतालाई पहिचान गरी त्यसको विकास गर्नुपर्ने बताइन् । गाउँमा पर्याप्त रोजगारी नहुँदा युवाहरु बैदेशिक रोजगारीमा जानुपरेको भन्दै उनले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुपर्ने बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब लाप्राकलाई नमुना बस्ती बनाउने कार्य अगाडि बढ्ने भन्दै यसको अगुवाई गरेकामा गैरआवासीय नेपाली संघलाई धन्यबाद दिए ।

NRN punarnirman (1)

साँच्चै नमुना बस्ती बनाउँछौंः घले

सो अवसरमा एनआरएन अध्यक्ष घलेले लाप्राकमा केबल ओत लाग्ने घरमात्र बनाउने नभई नमुना बस्ती बनाउने उद्देश्य रहेकाले सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
‘अब गाउँ बनाउने जिम्मा तपाइँ-हाम्रो काँधमा आएको छ । तपाइँ-हामीले हातमा हात मिलाएर काँधमा काँध मिलाएर लाप्राक गाउँलाई साँच्चिकै नमुना बनाउनु छ,’ घलेले भने, ‘नमुना गाउँ बनाउन हामीबीच नमुना देखाउन लायककै सहकार्य हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

राष्ट्र पुनर्निर्माणमा सच्चा साझेदार बन्ने गैरआवासीय नेपालीहरुको चाहनाको कार्यान्वयन आजबाट सुरु भएको भन्दै उनले यो कार्य आफैमा चुनौतीपूर्ण रहेको बताए । नमुना बस्ती बनाउने कार्य सरकार, लाप्राकबासी र एनआरएन सबै पक्षका लागि पहिलो अनुभव भएकाले सबैबाट सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

सुखद् सन्देश: ज्ञवाली

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गैरआवासीय नेपाली संघको अगुवाइमा अब लाप्राकलाई नेपालकै नमुना गाउँका रुपमा विकास गरिने बताए ।

बस्ती विकासमा गैरआवासीय नेपाली संघले लगानी गर्ने र गाउँसम्म आउने बाटो, पानी र बिजुलीका लागि सरकारले सहयोग गर्ने उनले जानकारी दिए ।

आजकै दिनबाट एनआरएन र सरकार मिलेर पुनर्निर्माणको सुखद् सन्देश दिन सकिएको भन्दै उनले खुसी ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment