+
+
Shares

सरकारको पुनःनिर्माणको दुःखद निधन !

भूइँचालोको वार्षिक उत्सव र आँशुको गीत

दिल निसानि मगर दिल निसानि मगर
२०७३ वैशाख १३ गते ९:२०

भूकम्प गएको एक वर्ष पूरा भएको छ । तर पुनःनिर्माणको अपेक्षामा बसेका नेपालीहरुको चाहना भने अपुरो भएको छ । अझैसम्म मानिसहरूको मन, मष्तिस्क हल्लिन छाडेको छैन ।

बारपाकी आमाहरुका आँखा ओभाना छैनन् । धरहरा उठ्न सकेको छैन । उठाउनका लागि प्रयास गरिएको पनि छैन । बरू देशनिकाला गरिएका शरणार्थीलाई सजिलो होला बाँच्नका लागि, हामीलाई आफ्नै देशभित्र पल-पल मरेर बाँच्नुपरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले दलबलका साथ धरहराको भग्नावशेषमा उभिएर दिवंगत आत्माहरूलाई चिर शान्तिको कामना गरेका छन् । तर, त्रिपालमुनि भोकभोकै सुतिरहेकी लाप्राककी फूलमाया गुरुङलाई भने श्राप दिएका छन् ।

फूलमाया जस्तै हजारौं पीडितहरूले कुन जुनीमा गरेको पापको मूल्य अहिले चूकाइरहेका छन्, थाहा छैन । भाषणमा चुच्चो मूख गरेको रेल गुड्छ, तर मुटुमा चुत्रोको काँडा उम्रेको रहेछ ।

पोहोर साल र यसपालि खासै भिन्नता छैन । पोहोर साल फाटेका मनहरु टालिन सकेका छैनन् ।  झन् दोब्बर फाटेका छन् यसपालि । पोहोर साल भत्केका यी घरहरुले नयाँ जीवन पाउन सकेका छैनन् ।

आफैले सञ्चित गरेको आँशु, पसीना र रगतसँग एक मुठी चामल, एक थान त्रिपाल, एकजोर लुगा र एक कोर्ष औषधि साट्छू भन्दा पनि मान्दैनन् मालिकहरू

पोहोर साल घर भत्कियो, यो साल मन भत्कियो । ब्यापारीको गोदाममा राहतका लागि आएको चामल भेटिए पनि भत्केको मन सिउन सजिलो हुँदैन । मरेकाहरू बाँचे जस्तो, बाँचेकाहरू मरेको जस्तो हुनुपरेको छ । सरकार र ब्यापारीको सक्कल उस्तै-उस्तै देखिन्छ ।

नागरिकले राज्यको ढुकुटीमा पसिनासँग साटेको कर जम्मा गर्छ । पीडा र अभावमा आँखाभरि आँशु संकलन गर्छ । र, यो देशलाई बदल्नका लागि बेलाबेलामा तातो, आलो रगत पनि बगाउँछ । तर, आफैले सञ्चित गरेको आँशु, पसीना र रगतसँग एक मुठी चामल, एक थान त्रिपाल, एकजोर लुगा र एक कोर्ष औषधि साट्छू भन्दा पनि मान्दैनन् मालिकहरू ।

मानौं राज्यको ढुकुटीमा घोपा बसेका छन् मिसाहहरू । हिसाब, किताब र खातापाता बिग्रला भनेर यी बडो सचेत छन् । सिगंटीमा खानेपानीको मुहान सुक्दा, यिनीहरूको मुख रसाउँछ ।

भूइँचालोको वार्षिक उत्सव

भूइँचालो गएको वर्ष दिन पुग्दा समेत सरकार नब्यूझिएपछि पुनःनिर्माण कहाँ पुग्यो सरकार ? भनेर खोज्दै हिँड्ने एउटा सानो दल हो विवेकशील नेपाली । यिनीहरुले आफूलाई अलिक सुझबुझ भएको समुह भन्ठान्छन् । लोकबासीको माझ चिनिन चाहान्छन् ।

‘क’ नपढेका मानिसहरू जम्मा गरेर अङ्रेजीमा भाषण गर्छन् । तर, केही न केही त पक्कै गर्छन् । भूइँचालोको बार्षिक उत्सवका दिन यिनीहरूले प्रधाननमन्त्रीलाई ओली ‘कालो पिण्ड दान’ गरे ।

कालो पहिरन लगाएर धरहराको वरिपरि डौडिने मध्य एक थिइन् रन्जू दर्सना । उनी यो देशको अस्तब्यस्त देखेर हैरान भएकी शिक्षित युवती हुन् । उनले आफ्नो घाँटीको नशा फूल्ने गरी नारा लगाइन्-“भूकम्पले हल्लाउँछ, सरकारले झूँलाउछ, जनता जति पालमा, सरकार आफ्नो तालमा, तीन करोड नेपालीको प्रश्न, पुनःनिर्माण कहाँ पुग्यो सरकार ?

उनको आवाजलाई साथ दिने सयौं युवाहरू थिए । त्यो एउटा सचेत यूवाहरूको असंतुष्टि थियो । शक्ति र समुह सानो थियो, तर सन्देश र सूचना निकै ठूलो थियो ।

भूइँचालो गएको १ बर्ष पुगेको अवसरमा “परिवर्तनका लागि हामी सबै नेपालबासी एक हौ” भन्ने सामाजिक सञ्जालको समूहले ‘सिंह दरबारको ढोका खोल’ भन्ने अभियानलाई दबाबको रूप अगाडि बढायो ।

earthquek_protestसयौं सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले माइतीघर मण्डलामा उभिएर प्लेकार्ड प्रदशन गरे । उपस्थित सबैको हौसला बढाउनका लागि एक सचेत नागरिकको हैसियतमा म स्यवंसमेत उक्त कार्यक्रममा उपस्थित भएको थिएँ । कान्छीमाया तामाङलाई चाँडो राहत दे ! भन्दै मैले पनि खुब नाराबाजी गरेको थिएँ ।

बेलायतमा आफ्नो अध्ययन पूरा गरी देशका लागि केही गर्छू भनेर एक हप्ता अगाडि मात्रै नेपाल फर्केका सिन्धुली स्थायी घर बताउने अनुप कुमार जोशीको तर्क थियो-“यति सुन्दर देशलाई कुरुप बनाउनेहरू, पीडितहरूको घाउमा खुर्सानी छर्किदिनेहरू को हुन् ? के ती जनताका प्रतिनिधि हुन् ?

एक बर्ष बितिसक्दा समेत धरहराको जगमा सरकारी सुविधा खाने इन्जिनियरले पाइला नै टेकाएको छैन ।” उनको भनाइ थियो-“नेताहरूको ईच्छाशक्ति अपहरणमा परेको छ ।”

सरकारको पुनःनिर्माणको दुखद निधन

भूकम्प आएको एक बर्ष भयो, पुनःनिर्माणको काम कम्तिमा ४९ प्रतिशत त पुरा हुनुपर्ने थियो । कुरा गर्यो कुरैको दुःख भनेजस्तो पुन निर्माणका लागि आवश्यक रकम २ प्रतिशत समेत खर्च हुन सकेको छैन । आर्थिक अभावका कारण भूकप्प पीडितहरूको अवस्था विजोक छ तर, सरकार चिर निद्रामा छ ।

पुन निर्माणका लागि हालसम्म १२ अर्ब ५३ करोड खर्च भइसकेको सरकारी तथ्याङ्क छ । तर, उक्त रकम कुन भौतिक निर्माणका लागि प्रयोग गरियो भन्ने सवालको उत्तर संतोषजनक छैन । प्रधानमन्त्रीले भोजभतेर गरेर मात्रै ३ करोड सिध्याएका छन् ।

kalopinda_kpसरकारले चालू आर्थिक वर्षमा पुनःनिर्माण प्राधिकरण मार्फत खर्च गर्नेगरी करिब ९१ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । मन्त्रालय मार्फत थप १७ अर्ब विनियोजन गरेको थियो ।

स्वत स्फुर्त प्रधामन्त्रीको राहत कोषमा जम्मा भएको रकम पनि तत्काल खर्च गर्न सकिने परिस्थिति थियो । भत्केका घरहरूको सर्भेक्षणमा १६ सय इन्जिनियरहरू खटिए तर हालसम्म ७ सय परिवारले मात्र पहिलो किस्ता स्वरूप जम्मा ५० हजार रुपैयाँ पाएका छन् ।

प्राधिकरणले नीति नियम बनाउनका लागि कर्मचारी भर्ना गर्नका लागि र राजनैतिक खिचातानी झेल्नका लागि मात्रै १ वर्षको समय खर्च गरेको देखिन्छ ।

भूकम्प गएको ९ महिनापछि मात्रै पुननिर्माण गर्ने सरकारी निकायहरुले निर्माणका लागि केही रकम पाए । यो आफैमा लज्जास्पद विषय हो । आफ्नो आवास पूर्णरुपमा क्षति भएकाहरुलाई राहात दिन स्थानीय विकास मन्त्रालयलाई छुट्टै २६ करोड ५० लाख रुपैयाँ निकाशा भएको थियो  ।

तर, अधिकांश पीडितहरुले न्यानो कपडाका लागि भनेर उपलब्ध गराएको १० हजार बाहेक १ रुपैयाँ बढी पाएका छैनन् । अझैसम्म पनि त्रिपालमुनि जीवन धान्नेहरू हजारौं छन् । उनीहरुका नाममा निकाशा भएको रकम कस्ले खायो ?

संघीय मामिला तथा स्थानीय मन्त्रालय, शिक्षा मन्त्रालय, संकृति तथा पर्यटक मन्त्रालय, सहरी बिकाश मन्त्रालय, कृषि मन्त्रालय र सडक विभागलाई निकाशा भएको करिब ४ अर्ब, ५३ करोड ३४ लाख रुपैयाँ कागजमा मात्र खर्च गरियो कि बारपाक र सिन्धुपाल्चोकमा पनि खर्च गरियो ? वा खर्च गर्न नसक्नुका समस्याहरू के-के हुन् ?

नेपाली जनतालाई राहत होस्, सुबिधा होस् भनेर नचाहने शासकहरू को-को हुन् ? के यो राहत रकम उनीहरुका पिताजिको इस्टकोटको खल्तीबाट निकालिन्छ ? वा उनीहरूको घरबास उठीबास लाग्छ ?

भाग्यले बाँचेकाहरू र आँशुको गित

भूइँचालोको वार्षिक उत्सवको दिन अर्को महत्वपूर्ण कार्यक्रम पनि सम्पन्न भयो । सञ्चारकर्मी तथा डकुमेन्ट्री निर्माता गणेश पाण्डेले निर्माण गरेको डकुमेन्ट्री “भाग्यले बाँचेकाहरू” हेर्दा अधिकांशको आँखामा आँशू बग्यो । कतिपय महिलाहरु भावविह्वल बनेर भक्कानिए । सूचना तथा सञ्चारमन्त्री शेरधन राई लगायतको उपस्थितिमा बागबजारमा रहेको “सिटी म्याक्स हलमा” उक्त डकुमेन्ट्री प्रदर्शन भएको थियो । संयोगवश यो डकुमेन्ट्रीलाई नियाल्ने अवसर मिल्यो ।

अर्घखाँची ढाकाबाङका २७ बर्षीय ऋषिराम खनाल बालाजुको सयपत्री गेष्ट हाउस भत्किँदा पुरिएका थिए । उनको ८२ घण्टापछि जिवितै उद्धार गरिएको थियो । ऋषिराम पनि १ पात्र हुन् ‘भाग्यले बाँचेकाहरुको’ । अहिले उनको एउटा खुट्टा कृत्रिम छ ।

ऋषिराम चाहान्छन् कि सरकारले आफूलाई जीवनभरि हेरोस् । आफूजस्तै सयौं अपाङ्गहरू, जो भूइँचालोमा परेर घाइते भएका थिए, उनीहरुलाई सरकारले पूर्णरुपमा उपचार गरोस्

डकुमेन्ट्री प्रदर्शनमा ऋषिरामसँगै आएका थिए उनका कलिका सन्तान र श्रीमती । “म अनपढ मान्छे, घर परिवारको साहारा बन्नका लागि बिदेश जान भनेर काठमाण्डौ आएको थिएँ, तर ममाथि दैव लाग्यो, खुट्टै नभएपछि मेरो आफ्नै साहारा गूमेको छ । भावुक हुँदै ऋषिराम थप्छन्-” यस्तो हालतमा बाँचेको के सार भो र ?

ऋषिराम चाहान्छन् कि सरकारले आफूलाई जीवनभरि हेरोस् । आफूजस्तै सयौं अपाङ्गहरू, जो भूइँचालोमा परेर घाइते भएका थिए, उनीहरुलाई सरकारले पूर्णरुपमा उपचार गरोस् । रोजगार गर्न नसकेपछि आफ्नो सन्तानको भविष्यलाई सम्झेर निकै चिन्तित बनेका ऋषिरामले सन्तानलाई कसरी पालनपोषण र शिक्षा दीक्षा दिनेहोला भनेर चिन्तिन भइरहन्छन् । अहिलेसम्म सरकारले गरेको सहयोगप्रति खासै खुसी छैन उनको मन ।

घण्टौंपछि नेपाली सेनाले चमत्कारी ढङ्गबाट उद्धार गरेका वालक शोनिस अवाले पनि आफ्नो आमाको काखमा खेल्दै सिटी म्याक्स हलमा आइपुगेका थिए । भाग्यले बाँचेकाहरुको दर्शकका लागि उनी सेलिब्रेटीजस्तै देखिन्थे । सबैले हातमा लिन्थे, तस्बिर खिच्थे । शोनिस मुसुक्क मुस्कुराउन थालिसकेका छन् । मानिसहरुको हाउभाउ चाल पाउन थालिसकेका छन् ।

शोनिस भूइँचालोको एउटा बिम्ब हुन्, नयाँ युगको प्राराम्भ हुन् । कठिन घडीका बाबजूद शोनिसलाई उद्धार गर्ने नेपाली सेनाका सुवेदार दीपक राई र विकाश केसी लगायतलाई डकुमेन्ट्रि निर्माण समूहले सम्मानका साथमा भाग्यले बाँचेका ४ जना पात्रहरूको “जीवन-बिमा” समेत गरिदिएको छ ।

भाग्यले बाँचेकाहरू हेर्न हलमा उपस्थित थिइन् २८ बर्षीया सकुन्तला बस्नेत । उनले आफ्नो जीवन साथी रोहनलाई भूइँचालो गएयता देख्न पाएकी छैनन्, सपनामा बाहेक । उनी सुरूदेखि अन्त्यसम्म रोइन् । म आडैको सिटमा बसेको थिएँ । पसीना पुछ्न लगेको मेरो रूमाल पनि आँशु पूछेरै भिजेछ ।

सायद भूइँचालो जाँदा म देश बाहिर भएर होला, यस्को महशुस मलाई पहिलोपटक प्रतक्ष्य भएजस्तो लाग्यो । सकुन्तलाले मलाई सुस्तरी सोधिन्-“तपाई लोग्ने मानिस भएर पनि किन रूनु भएको ? सुहाउँदैन । मलाई पो लोग्नेको याद आयो अनि रोएँ ।”

हुन पनि व्यक्तिगतरुपमा मलाई भूइँचालोको कुनै असर थिएन । तर, वास्तवमा भन्नू पर्दा भूइँचालो गएको खबर सुनेपछि म ४ दिनसम्म निदाउन सकेको थिइँन । मलाई देशको पीडाले मानसिक पीडा थियो ।

मैले सकुन्तलालाई देखेर अरुणा लामाको गीत सम्झिएँ-

पोहोर साल खुशी फाट्यो जतन गरी मनले टालें

यसपालि त मनै फाट्यो केले सिउने, केले टाल्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?