Comments Add Comment

भैरहवाको कोसेलीः पवनको पेडा

peda२६ वैशाख, भैरहवा । भैरहवाको नाम लिनेवित्तिकै झ्याप्पै सम्झना आउँछ, पवनको पेडा । यहाँ आउने सबैको कोशेली पवनको पेडा बन्छ । स्वदेशमा मात्र होइन, विदेशमा समेत पवनको पेडाको चर्चा हुने गर्छ ।

विदेश जाने नेपालीले कोशेलीका रुपमा पवनको पेडा लैजाने गरेका छन् । नेपाली पुगेका अधिकांश देशमा आफ्नो पेडा पुगिसकेको पवन मिष्ठान भण्डारका सञ्चालक पवन कुमार हलुवाई बताउँछन् । स्वदेशमा सर्वाधिक लोकपि्रय बनिसकेकेा छ ।

पवनको पेडा यत्तिकै लोकप्रिय भएको होइन, यसलाई सबैको जिब्रोमा झुण्डिने बनाउन ठूलो मेहनत र लगनशीलता छ । पवनका बुवा राधेश्यामले ०२५ सालदेखि पेडा बनाउन सुरु गरेका थिए । राधेश्यामको मेहनत तथा लगनशिलता र छोरा पवनको निरन्तरताको कारण पवनको पेडा यहाँसम्म आइपुगेको हो ।

सुरुमा राधेश्यामले आफै पेडा बनाउँथे । उनले भैरहवाको मिलन चोकमा झुप्रोबाट मिठाई पसल सुरु गरेका थिए । सात वर्षको अथक मेहनतपछि राधेश्यामले ०३२ सालमा एकतले होटलको भवन बनाउन सफल भए । त्यसपछि पेडा व्यवसाय व्यवस्थित रुपमा सुरु भएको पवन बताउँछन् ।

अहिले भैरहवा घुम्न आउने अधिकांशले पवन मिष्ठान भण्डारबाट कोसेलीका रुपमा पेडा किनेर लैजाने गर्छन् । पवनको पेडाको स्वाद लिनेमा नेताहरु, अभिनेता, मन्त्री, प्रहरी अधिकृत, निजामती उच्चअधिकारीसहित विदेशी नागरिकसमेत रहेका छन् ।

पवनको पेडाले चर्चा कमाउँदै गएपछि गएपछि सन् २००० मा होटलमा परिणत गरियो । २४ कोठासहितको होटल पवन इन्टरनेश्ानल भैरहवामा अहिले पनि चर्चामा छ । अहिले पवनको कान्छो भाइ अजय हलवाईले होटलको व्यवस्थापन हेर्दै आएका छन् । मिठाई व्यवसाय पवनले हेर्दै आएका छन् ।

pawan kumar haluwai.पवन मिष्ठान्नले गुणस्तरलाई अत्याधिक ध्यानमा राखेकै कारण लोकप्रियता कमाएको पवन बताउँछन् । उनले पेडासहित २५ प्रकारका मिठाइहरु बनाउँदै आएका छन् । उपभोक्ताले पवन मिष्ठान्नबाट ठूलो परिमाणमा मिठाई किनेर लैजाने गरेका छन् । चाडपर्व, विवाह, भोज लगायतमा यसको माग अझ बढ्ने गरेको छ ।

केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओली हेलीकप्टरबाट पश्चिमतिर जिल्लाको कार्यक्रममा जाँदै थिए । उडिरहेका बेलामा हेलिकप्टरमा समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गर्नुपर्‍यो ।

भैरहवा विमानस्थलमा बसेका ओलीलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भैरहवा झरिसकेपछि पवनको पेडाको स्वाद लिन भनेपछि ओलीले विमानस्थलमै पेडा खाएका थिए ।

केही वर्षअघि पवन सुटकेसमा समान घटाएर पेडा बोकी अमेरिका लागे । उनले अमेरिकामा साथीहरुलाई पेडाँ बाँडेर सिध्याए । अन्तिममा बोष्टन शहर पुग्दा मिठाई सकियो । पवन बोष्टन आएको थाहा पाएपछि उनको साथी सरोज राणा भेट्न आए । उनले पवनलाई पेडा खुवाउन आग्रह गरे । तर, पवनले पेडा सकिएको बताएपछि निराश हुँदै राणाले पेडा खाने आशमा भेट्न आएको बताए ।

राणाको यस्तो कुरा सुनेपछि आफुमा खुशीको सिमा नरहेको पवन बताउँछन् । ‘मेरो पेडाप्रति मानिसको यति धेरै लगाव रहेछ, त्यो कुरा विदेशमा पुगेर बुझ्न पाएँ’ पवनले भने- ‘हामी अब पेडाको बजार विस्तार गर्दैछौं, छिट्टै काठमाडौंमा त्यहाँका सुपरमार्केटसँग कुरा गरेर प्याकेटमा पेडा उपलब्ध गराउँछौं ।’

पवनको पेडा प्रतिकिलो ७ सय ६० रुपैयाँमा बिक्री हुँदै आएको छ । अन्य मिठाईहरुको मूल्य पनि यही हाराहारीमा रहेको छ । बजारमा अहिले पेडाको प्रतिस्पर्धा बढिरहेको छ । तर पनि पवनको पेडाको आकर्षण घटेको छैन । हरेक वर्ष आफ्नो मिठाईको बजार बढ्दै गइरहेको पवन बताउँछन् । क्वालिटीमा सम्झौता नगरेको हुँदा आफ्नो पेडाप्रति उपभोक्ताको विश्वास नघटेको उनको भनाई छ । पवन मिष्ठान्न भण्डारमा अहिले प्रत्यक्ष रुपमा ३० जनाले रोजगारी पाएका छन् ।

तस्विर: कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment