२७ वैशाख, काठमाडौं । सडक, सवारी गुड्नका लागि बनाइएको हो भने सडकपेटी (फुटपाथ) पैदल यात्रुहरुलाई हिँड्नका लागि । तर, यी तस्वीरहरुमा हेर्नुहोस् राजधानीको ट्राफिक व्यवस्था कति अस्तव्यस्त छ । यी दृश्यहरु सिंहदरबार नजिकै अनामनगरको सडकमा देखिएका हुन् ।
फुटपाथमा गाडी तेर्सिएपछि यात्रुहरु जोखिम मोल्न बाध्य छन् । गाडीले पेटी ओगटेपछि यात्रुले सडकलाई नै फुटपाथ बनाउने गरेका छन् । फुटपाथमा हिँडिरहेका सर्वसाधारणलाई पेटीमा रोकिएका सवारीले सडकमै नझरी नहुने स्थितिमा ल्याएपछि सचेत नागरिकसमेत ‘बेवकुफ’ बन्न बाध्य छन् ।
यो तस्वीर देशको मुख्य प्रशाशनिक निकाय सिहंदरबारसँगैको अनामनगरको हो । यस क्षेत्रमा सवारीलाई रोक्ने कुनै नियम लागू नभएको जस्तै देखिन्छ । यहाँ पुग्दा लाग्छ, ‘यो ट्राफिक नियममुक्त क्षेत्र हनुपर्छ ।’
फुटपाथमा मात्रै हैन, यो साँघुरो सडकको छेउदेखि बीचमा पनि सवारी पार्किङ गरिन्छ ।
यहाँ मनलाग्दी तवरले सवारी मोडिन्छ, भएभरका ट्राफिक नियम निस्फक्री तोडिन्छ । एक मिनेटमै जाम हुन्छ, गाडीहरु फुटपाथमा चढ्छन् र फुटपाथमा हिँडेकालाई पछाडिबाट प्रेसर हर्न बजाएर तर्साइन्छ ।
यति देखेपछि तपाईंलाई लाग्न सक्छ कि यहाँ ट्राफिक नै पुग्दैनन् र ? त्यसो हैन, ट्राफिक त त्यहाँ पनि खटिन्छन्, तर, उनीहरु सिठ्ठी फुकेर सवारी व्यवस्थापन गर्दै गर्दैनन् । उनीहरु भद्रगोल पार्किङ देखे भने आँखा चिम्लिन्छन् र मोबाइल खेलाएर बस्छन् ।
अन्य क्षेत्रमा सवारी नियम उलंघन गर्नेलाई कारवाहीको चिट थमाइहाल्ने ट्राफिक प्रहरी नियमविपरीत फुटपाथमै गाडी तेर्स्याएको देख्दा-दैख्दै चुप बस्छन् । किन यस्तो गरिन्छ ? ट्राफिक प्रहरी नै जान्दा हुन् ।
यो क्षेत्रमा यसरी फुटपाथमा रोकिने अधिकांश गाडीमा सरकारी कार्यालय हाकिम, कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता हुने भएकाले ट्राफिक मौन बसेर सहयोग गरेको गुनासो स्थानीयको छ ।
काठमाडौंका साघुँरा सडक र साँघुरा सडकपेटी, अनि सडकका क्षमता भन्दा धेरै सवारी । र, यही साँघुरा सडकको छेउमा बनेका फुटपाथमा गाडी रोकिँदा सर्वसाधारण भने मर्का बेहोर्दैछन् ।
यो एकदिन मात्रै देखिने दृश्य हैन । अनामनगर पुग्नेले सँधै देख्ने र भोग्ने समस्या हो । दैनिक सिहंदरबार छिर्ने र निस्कने मन्त्रीज्यु र हाकिमले त नदेख्ने कुरै भएन ।
एपमार्फत सवारी व्यवस्थापनको योजना बनाएको बग्गीखानाका हाकिमले पो नदेखेका हुन् कि ? हामी फोटो खिच्न जाँदा अनामनगरका स्थानीय भन्दै थिए- ‘फोटो मात्रै नखिच्नुस् ट्राफिकका हाकिमलाई सोधिदिनुस्, अनामनगर ट्राफिक नियम निषेधित क्षेत्र हो ?
प्रतिक्रिया 4