Comments Add Comment

‘ससुराली जान्छु, पोइला नगएकी भए ल्याउनु पर्ला’

दाह्रीले जोगाएका अरुणकुमार ७ वर्षपछि नेपाल फर्किंदै

arun-kumar-chammar
मलेसिया। महिनौदेखि नकाटेको दाह्री सुम्सुम्याउँदै अरुणकुमार चमार बिहीवार क्वालालम्पुरमा आइपुगे । काँधमा एउटा थोत्रे झोला बोकेका थिए ।

भाई अरुण हो ?

उनले भने, ‘हो ।’

दाह्री त लामै पालिएको रै छ नी ? प्रश्न खस्न नपाउदै उनले जवाफ दिए, ‘यहि दाह्रीले त आजसम्म जोगायो ।
कसरी जोगायो दाह्रीले ?

उनले बेलिविस्तार लगाए, ‘म कालो छु । मलेसियामा अवैधानिक भएर बसेको सात वर्ष भयो । प्रहरीले धेरैलाई चेकजाँच गर्दा मलाई स्थानिय तामिल मुलको जस्तो लाग्दो रहेछ, कहिल्यै चेकजाँचमा परिन । जोगाएन त दाह्रीले ?’

अब नेपाल पुगेर मात्र काट्ने उनी बताउँदै थिए । डुमरी ५ सिराहा घर भएका अरुणकुमार चमार २१ वर्षको उमेरमा रोजगारीको लागि मलेसिया आएका थिए । अहिले उमेर २९ वर्षको भएको छ । चार दाजुभाई र दुई बहिनीमध्ये उनी सबैभन्दा जेठा हुन् ।

दश कठ्ठा जमिन थियो परिवारको । धेरै ऋण लागेपछि वुवाले नै ऋण खोजेर अरुणलाई मलेसियाको पेनाङमा रहेको एक कम्पनीमा पठाएका थिए । आएको कम्पनीमा अरुणले एक वर्ष मात्रै काम गरे । नेपालबाट बुवाले पैसा पठाउन भन्ने यता कमाई नहुने भएपछि उनले कम्पनीछाडेर अवैधानिक अवस्थामा रहेर काम गर्न थाले ।

सातवर्ष अवैधानिक भएर काम गर्दा उनले सातवटै कम्पनी चहारे । काम गर्ने ठाउँमै होस्टेल भएको हुनुपथ्र्यो उनलाई । टाढा-टाढा बस्नु पर्ने ठाउँमा उनले कहिल्यै काम गरेनन् । तल्लो कोठामा काम गर्यो माथिल्लो कोठामा सुत्यो । स्थानियस्तरको वजार समेत उनले देख्न र नजिकबाट चिन्न समेत पाएनन् । क्वालालम्पुरमा ठडिएका ठूला-ठूला टावरहरु हेर्दै भने, ‘ओहो मलेसिया त ठुलै रैछ ।  घर पनि कत्रा-कत्रा हुन् । म बस्ने ठाउँ त सिराहा वजार जस्तै थियो । यत्रा-यत्रा ठुला घर पनि हुँदा रैछन् ।’

उनले अचम्म माने र पुराना कुरा सम्झिँए, ‘मेनपावरले म आउने बेलामा देखाएको ठुलो दुईटा विल्डिङ पनि यहि रहेछ । म्यानपावरले मलाई यहिँ नजिकै हो काम गर्ने भन्थ्यो । बल्ल आज पो देखियो ।’ उनले ट्वीन टावरतिर हात तेस्र्याए ।

अवैधानिक अवस्थामा रहँदा धेरै दुख पाएका दिनहरु उनको आँखा अगाडि झलझली आउछन् । एक वर्ष अगाडिको कुरा हो प्रहरीले कम्पनीमा छापा मार्ने भएछ । जुन कुरा कम्पनी मालिकले पहिल्यै थाहा पाएछन् ।

उनी सम्भिmन्छन्, ‘हामी १२ जना थियौ । गाडीमा हालेर जंगलमा लगेर छाड्यो । त्यहाँ एउटा छाप्रो थियो, त्यसैमा बितायौं । मालिकले खाना ल्याइदिँदा खाना खान्थ्यौं नत्र भोकभोकै बस्नु पथ्र्थाे । नौ दिनसम्म यसैगरी बितायौ ।’ एउटा अर्काे कम्पनीमा काम गर्दा पनि छापा हानेको थियो । उनलाई दाहि्रले नै जोगायो ।

मलेसियाको आठ वर्षे बसाईमा उनले ६ लाख रुपैया घरमा पठाए । कमाइ नभएपछि घर जान पनि पटक-पटक खोजेका रहेछन् उनी । तर घर कसरी र्फकन सकिन्छ या यहिँ नै वैधानिक भएर कसरी बस्न सकिन्छ भनेर कसैले पनि भनेनछन् ।

विवाहित अरुणले घरमा श्रीमतीसँग सम्पर्क नगरेको पनि आठ महिना भयो । ‘बुवाले भन्नु भयो कि तिम्रो श्रीमती छाडेर गैसकी । त्यसपछि फोन गर्न मन लागेन । पोइला गयो कि माइतमा बसेको छ मैले पनि चासो दिएको छैन । नेपाल पुगेपछि ससुराली जान्छु । अर्कैसँग पोइला गएको भए ल्याउने कुरा भएन । नत्र ल्याउनु पर्ला ।’ उनी खुलस्त भन्छन् ।

अरुण कसैलाई पनि विदेशमा अवैधानिक अवस्थामा नबस्न सल्लाह दिन्छन् । ‘ओहो साह्रै गाह्रो पो हुन्छ दाजु । म त कसैलाई पनि इलिगल -अवैधानिक) भएर बस भन्दिन । कम्ता दुख हुन्छ,’ उनले कुरा टुग्याए ।    अरुण आइतवार नेपाल र्फकदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment