Comments Add Comment

कर्णालीमा खडेरीले एक अर्ब ४० करोडको खाद्यबाली नष्ट

khaderi

२ जेठ, जुम्ला । लामो समयदेखिको सुक्खा खडेरीका कारण कर्णालीमा एक अर्ब ४० करोडको खाद्यबाली नष्ट भएको छ ।

खडेरीले सबैभन्दा ठूलो मारमा मुगु जिल्ला परेको छ । २४ गाविसको मुगु जिल्लाका १२ गाविस निकै सङ्कटग्रस्त र १२ गाविस सङ्कटोन्मुख अवस्थामा रहेको जिल्ला कृषि विकास कार्यालय, मुगुका वरिष्ठ कृषि विकास अधिकृत डा चन्दप्रसाद रिसालले जानकारी दिए । उनले भने – “बर्र्खे बालीमा ४०–६० र हिउँदे बालीमा ७५–८० प्रतिशत खाद्यान्न बालीमा ह्रास आएको छ । उहाँका अनुसार अहिले पनि रु ११ हजार ५७८ मेट्रिक टन खाद्यान्न आवश्यक परेको छ ।

त्यसैगरी, विगत ४० वर्षकै लामो खडेरीका कारण ३० गाविसको कालीकोट जिल्लामा रु ३९ करोड बराबरको खाद्यबाली उत्पादनमा ह्रास आएको वरिष्ठ कृषि विकास अधिकृत सुनिल सिंहले जनाए ।

वरिष्ठ अधिकृत सिंहले हिउँदे र बर्खे खाद्यान्न बाली गरेर ३४ देखि ५० प्रतिशत बाली उत्पादनमा कमी आएको बताउनुभयो । राष्ट्रिय जनगणना–२०६८ अनुसार यहाँका ८४ प्रतिशत जनतालाई अहिले पनि तीन महिना खान पुग्दैन, जसले गर्दा यहाँ निकै विकराल अवस्था छ, उहाँले भन्नुभयो । अहिले कामका लागि खाद्यान्न कार्यक्रम लागू हुनुपर्ने जिल्लावासीको माग छ ।

खडेरीले २७ गाविसको हुम्लामा रु ११ करोड १७ लाख ७१ हजार ५७० बराबरको खाद्य बालीमा क्षति पुगेको योजना अधिकृत केबी रोकायाले जानकारी दिए ।

योजना अधिकृत रोकायाका अनुसार त्यहाँको खाद्यबाली उत्पादनमा २४ देखि ८० प्रतिशत ह्रास आएको छ । खडेरीले गर्दा एक हजार ४९० मेट्रिक टन खाद्य बालीमा ह्रास आएको र नौ हजार ३५३ घरधुरी त्यसबाट प्रभावित भएको उनको  भनाइ छ ।

यता २३ गाविसको डोल्पा जिल्ला पनि खडेरीबाट निकै प्रभावित भएको छ । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने साल्दाङ, भिजेर, धो, तिञ्ज, छार्का र मुकोटलगायतका छ गाविस उच्चतम खाद्य असुरक्षित अवस्थामा रहेको डोल्पाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत भीमबहादुर धरालाले जानकारी दिए ।

अधिकृत धरालाले १७ वटा गाविस मध्यमस्तरीय खाद्य असुरक्षित अवस्थामा रहेको बताउनुभयो । योजना अधिकृत भानुभक्त भट्टराईले खाद्यबालीको हिसाब गर्दा रु नौ करोड १९ लाख ६० हजार बराबर उत्पादनमा ह्रास आएको छ । तथापि जनताको लगानी श्रमलाई जोड्दा झन्डै रु २० करोड क्षति भएको उनको भनाइ छ ।

खडेरीबाट जुम्ला पनि अछुतो छैन । यसवर्ष खडेरीबाट जुम्लाको खाद्यबालीमा ३०–४० प्रतिशत उत्पादनमा ह्रास आएको निमित्त वरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले जानकारी दिनुभयो । जसका कारण यो जिल्लालाई रु २५ करोड बराबर क्षति भएको अधिकृत महतको भनाइ छ ।

योजना अधिकृत बालकराम देवकोटाका अनुसार बर्खेबाली धान, मकै, कोदो, चिनो, कागुनो, फापरको उत्पादनमा केही कमी देखिए पनि हिउँदेबाली जौ, गहुँ र उवाको उत्पादनमा अधिकतम ह्रास आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment