+
+
Shares

यसकारण सुक्खाको मारमा छ मधेश

आवश्यक छ जलवायु अनुकूल कृषि प्रणाली

अब वैकल्पिक बाली र जलवायु अनुकूल कृषि प्रणालीको प्रयोगले मात्र सुक्खाको मारबाट मधेशलाई जोगाउन सकिन्छ।

रामबहादुर केसी रामबहादुर केसी
२०८२ साउन ९ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हामीले चुरेको अति नै दोहन गर्‍यौं, विकासे योजना जस्तै पूर्व-पश्चिम बाटो, हरियो वन करिब-करिब मासिइसक्यो, अवैज्ञानिक र कानून विपरीत ढुंगा-गिटीको उत्खननले गर्दा जमिनमुनिको पानीको रिचार्ज हुन सकेन।
  • तापक्रम दिनानुदिन बढिरहेको छ, वर्षाको परिपाटी बदलिइरहेको छ, पानी पर्ने दिनहरू घटिरहेका छन्। साउने झरी, भदौरे झरी, माघे झरी हराइसके। शीतलहरको अवधि लम्बिएको छ। साउनमा जेठ जस्तो मौसम छ।
  • प्राकृतिक तथा मानव सिर्जित प्रतिकूल परिस्थितिसँग जुधेर उत्पादन दिन सक्ने बाली, वस्तु, जात, नश्ल, प्रविधिको अनुसन्धान, विकास र प्रविधि विस्तार नै आजको आवश्यकता हो। यो सम्भव छ– जलवायु अनुकूल कृषि प्रणाली अपनाएर।

‘खडेरीले सुक्न थाल्यो धानको बीउ’, ‘पानी नपरेपछि मधेश प्रदेशले गर्‍यो सुक्खाग्रस्त क्षेत्र घोषणा’, २६ असारतिर नेपाली सञ्चारमाध्यमका प्रमुख समाचारका शीर्षक यस्तै थिए। साउन पहिलो साता मधेश समाचारको मुख्य प्राथमिकतामा पर्‍यो। अधिकांश सञ्चारमाध्यमका शीर्षक थिए, ‘मधेश सुक्खा: इतिहासकै डरलाग्दो संकट’। साउन ८ सम्म आइपुग्दा ‘मधेश विपद् संकटग्रस्त क्षेत्र घोषित’ नै भयो। असारको तेस्रो सातायता यस्ता समाचार पढेपछि कृषिको विद्यार्थीको नाताले घोत्लिन बाध्य भएँ।

साउन, झमझम झरी पर्ने महिना। ‘साउनमा आकाशमा तारा देखिए एक लाख मुरी अन्न/धान घट्छ’ भन्थे बुढापाका। कारण असारदेखि असोजसम्म नेपालमा मनसुनको सिजन हो। बंगालको खाडीबाट निस्केको जलवाष्पयुक्त वायु चुरे, महाभारत र हिमालय पर्वतशृंखलामा ठोक्किएपछि नेपालमा मनसुनी वर्षा हुन्छ, जसले नेपाललाई धनधान्य बनाउँछ; नेपाली कृषकको मुहारमा कान्ति ल्याउँछ र देशकै अर्थतन्त्रमा सुधार हुन्छ।

आंशिक प्रभाव अरबको खाडीबाट आउने र स्थानीय वायुको पनि निश्चय रहन्छ। बर्खामा खडेरी पर्दा रोपाइँ गर्न ढिलो हुने, रोपेको खेत धाँजा फाट्ने त पहिले पनि हुन्थ्यो तर अहिले त स्यालो ट्युबेल (चापाकल) सुकेर खानेपानीकै हाहाकार हुन पुग्यो। केही नगरपालिकाले दमकलबाट समेत खानेपानी वितरण गर्नुपर्‍यो। हुँदा–हुँदा एनजीओले समेत पानीका जार बाँडेको खबर पढ्नुपर्‍यो।

निश्चय पनि यो अवस्था चिन्ताजनक छ। के अब अन्नको भण्डारमा धान खेती नहुने नै हो त? यो आलेख तयार पारिरहँदा र मौसम विभागको पूर्वानुमान सुन्दा आश मरेको त छैन तर भरपर्दो आधार पनि देखिंदैन। कारण विभिन्न छन्। तीमध्ये एउटा हो, विश्वव्यापी जलवायु परिवर्तन जसको नकारात्मक असरबाट नेपाल पनि अछुतो रहनसकेको छैन र प्रभावहरू देखिइसकेका पनि छन्।

के यो खडेरीको कारण जलवायु परिवर्तन नै हो त? माथि नै भनिसकियो एउटा कारण हुन सक्छ तर यो भनिरहँदा अन्य तथ्यहरूलाई गौण ठान्नु हाम्रो मूर्खता हुन जानेछ। मधेशको पानी प्रणालीको कुरा गर्दा चुरे बिर्सन नहुने महत्वपूर्ण क्षेत्र हो। हामीले चुरेको अति नै दोहन गर्‍यौं, विकासे योजना जस्तै पूर्व-पश्चिम बाटो, हरियो वन करिब-करिब मासिइसक्यो, अवैज्ञानिक र कानून विपरीत ढुंगा-गिटीको उत्खननले गर्दा जमिनमुनिको पानीको रिचार्ज हुन् सकेन।

स्यालो ट्युबेल, डिप बोरिंगबाट डिस्चार्ज निरन्तर भइरहेको छ, यही हो अहिलेको मधेश प्रदेशका चापाकल सुक्ने प्रक्रिया र पिउने पानीको हाहाकारको एउटा कारण। अर्को, जंगल मासिइसकेको हुनाले बर्खाको पानी आउँदा जमिनले सोस्न सक्दैन। जमिनमुनि भरण हुनुपर्ने पानी बाढीको रूपमा खोलामा बगेर जान्छ। तटीय क्षेत्रमा वितण्डा मच्चाउँछ। नदीहरू फराकिलो हुँदै जान्छन्। जसका कारण मधेश मरुभूमिमा परिणत हुँदै गएको छ।

बढ्दो शहरीकरण, जनसंख्याको चाप पनि सहायक कारणका रूपमा लिन सकिन्छ। धान रोपाइँ हुनसकेको भए कम्तीमा स्यालो ट्युबेल (चापाकल) रिचार्ज भएर पिउनेपानीको संकट हुने थिएन। त्यसका लागि चुरे क्षेत्रमा व्यापक वन संरक्षण गर्ने, सतह सिंचाइ (कुलो नहर) को सुविधा बढाउने, ठूला–ठूला पोखरीहरू निर्माण गरेर बर्खाको पानी सुरक्षित गर्ने, र डिप बोरिंगको प्रचुरता नै समाधानको बाटो हो।

प्रदेशस्तरमा रोपाइँ सारांशमा

२०८२ साउन ४ गतेसम्मको तथ्यांक २०८१  साउन ६ गतेसम्मको तथ्यांक
प्रदेश धान रोपाइँ भएको

प्रतिशत

रोपाइँ हुने क्षेत्रफल (हे.) रोपाइँ भएको क्षेत्रफल (हे.)
कोशी प्रदेश ६१.७९ २७६३८६.७३ १७०७९०.३७ ८२.७
मधेश प्रदेश ४६.८३ ३७२६४५ १७४५०८.४२ ८०.६
बागमती प्रदेश ८७.१९ १२०५४५.२५ १०५१०३.८२ ८५.५
गण्डकी प्रदेश ७९.२८ ९४१८२ ७४६६४.८८ ८४.३
लुम्बिनी प्रदेश ८७.९३ ३०२९३९ २६६३६९ ८३.४
कर्णाली प्रदेश ८७.९३ ४०८८४ ३५९४८.५३ ९३.००
सुदूरपश्चिम प्रदेश ९६.९९ १७६१५१ १७०८४३ ९६.३
कुल जम्मा ७२.१४ १३८३७३२.९८ ९९८२२८.०२ ८४.६

स्रोत: कृषि विभाग

 

वैकल्पिक बाली

माथिको तथ्यांक विश्लेषण गर्दै अहिलेको जल्दोबल्दो समस्या र हाम्रो प्रमुख बाली धान खेतीको कुरा गरौं। नेपालमा बर्खे धान करिब १३ लाख ८३ हजार हेक्टर जमिनमा लगाइन्छ। कृषि विभागको साउन ४ गतेसम्मको धान रोपाइँको प्रगति विवरण हेर्दा ७२.१४ प्रतिशत क्षेत्रफलमा धान रोपिइसकेको अवस्था छ तर गत वर्षको सोही अवधिमा करिब ८४.६ प्रतिशत धान रोपाइँ भइसकेको थियो।

समग्र देशको स्थिति र आज साउनको दोस्रो हप्ता उल्लिखित तथ्यांक उत्साहजनक नभए पनि आत्तिइहाल्नुपर्ने अवस्था हैन। अब कुरा रह्यो मधेश प्रदेशको, कृषि विभागको सोही अवधिको तथ्यांक भन्छ- मधेशमा ३,७२,६४५ हेक्टर जमिनमध्ये १,७४,५०८ क्षेत्रफल अर्थात ४६.८४ प्रतिशत मा धान रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा मधेशमा करिब ८०.६ प्रतिशत धान रोपाइँ भइसकेको थियो। तराई/मधेशमा रोपाइँको सिजन त अझै छ, लगाइएला पनि तर बीउ बुढो भइसक्यो, कतैकतै बीउ नै सुकिसक्यो, बुढो बीउ लगाउँदा गाँज कम आउँछ र उत्पादन कमी हुन्छ। यही अवस्थाका लागि वैकल्पिक प्रविधि र वैकल्पिक बालीमा जानुपर्ने अवस्था सिर्जना भएको छ।

साउन/भदौमा मधेशमा कुन बाली लगाउन सकिन्छ ?

  • धान (छरुवा विधि): जसलाई प्राविधिक भाषामा डाइरेक्ट सिडेड राइस (डीएसआर) प्रविधि भनिन्छ। यसका लागि घैया १, घैया २, घैया ३ र सुक्खा सहने धानहरू; सुखाधान १, सुखाधान २, सुखाधान ३, सुखाधान ४, सुखाधान ५, सुखाधान ६, बहुगुणी धान १, बहुगुणी धान २ र राधा ४ जस्ता जातहरू लगाउन सकिन्छ। यो प्रविधिमा झारले विशेष दु:ख दिने हुँदा सो व्यवस्थापनबारे जानकारी हुनु/लिनुपर्दछ।
  • कोदो बालीहरू: कोदो, धान कोदो, बाजरा, सामा, जुनेलो, कागुनो आदि। कोदो बालीहरूको खेती हैसियत बिग्रेको जग्गा वा भनौं कम मलिलो जग्गा, कम पानीमा र प्रतिकूल वातावरणमा समेत गर्न सकिन्छ। कोदो बालीहरू पौष्टिकताले भरिपूर्ण भएकोले मानव स्वास्थ्य तथा पशु आहाराका निम्ति पनि अत्यन्तै उपयोगी छन्। नेपाल सरकारले प्रत्येक वर्ष साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको सन्दर्भमा सान्दर्भिक पनि देखिन्छ।
  • मकै: हिउँदे खेतीका रूपमा तराई/मधेश/भित्री मधेशमा भदौ–असोजमा लगाएर मकैको खेती गर्न सकिन्छ। हाइब्रिड मकै खेती गर्ने कृषकहरूका लागि रामपुर हाइब्रिड ८, रामपुर हाइब्रिड १०, रामपुर हाइब्रिड १२, रामपुर हाइब्रिड १६ तथा अन्य नयाँ जातहरू मनकामना ७, रामपुर ४ सिफारिस गरिएको छ।
  • तिल: यस सिजनका लागि तराई/मधेश/भित्री मधेशमा खेती गर्न सकिने अर्को बाली तिल हो। तिलको जात नवलपुर खैरो तिल १ सिरहादेखि नेपालगञ्जसम्मको तराई/मधेशका लागि र नवलपुर झुसे तिल तराई/मधेश/भित्री मधेशमा खेती गर्न सिफारिस गरिएको छ। यी बाहेक आ–आफ्नो क्षेत्रमा पाइने स्थानीय/रैथाने जातहरू पनि लगाउन सकिन्छ।
  • मास: यो बाली पनि यस सिजनमा तराई/मधेश/भित्री मधेशमा सफलतापूर्वक खेती गर्न सकिन्छ। रामपुर मास र खजुरा मास १ खेतीका लागि सिफारिस गरिएका उन्नत जातहरू हुन्। यी बाहेक आ–आफ्नो क्षेत्रमा पाइने स्थानीय/रैथाने जातहरू पनि लगाउन सकिन्छ।
  • भटमास: यो बाली पनि यस सिजनमा तराई/मधेश/भित्री मधेशमा सफलतापूर्वक खेती गर्न सकिन्छ। पूजा र खजुरा भटमास १ खेतीका लागि सिफारिस गरिएका उन्नत जातहरू हुन्। यीबाहेक आ–आफ्नो क्षेत्रमा पाइने स्थानीय/रैथाने जातहरू पनि लगाउन सकिन्छ।
  • रहर: छोटो अवधिमा तयार हुने स्थानीय/रैथाने जातहरू लगाउन सकिन्छ।
  • तरकारी बालीहरू: अब तराईमा अगौटे काउली लगाउने बेला भइसकेको छ, सिल्भरकप ६० भन्ने जात लगाउन सकिन्छ। ब्रोकाउलीका ग्रीन स्प्राउटिंग, सेंटाउरो जातहरू लगाउन सकिन्छ। मुलाका जातहरू ४० दिने, मिनो अर्ली, अलसिजन, चौमासे घ्यु सिमी, मालेपाटन १ बोडी, चम्सुर लगाउन सकिन्छ। यसैगरी गोलभेडाको बेमौसमी खेतीका लागि आफ्नो स्थानमा चलेका जातहरूको व्यवस्था गरी लगाउन सकिन्छ। तराई/मधेश/भित्री मधेशमा बेमौसम (साउन/भदौ)मा खेती गर्न सकिने अर्को बाली प्याज हो। सेट उपलब्ध भए सेट बाट, नभए बीउबाट पनि खेती गर्न सकिन्छ। हाल मधेश प्रदेशमा विभिन्न प्याजका जातहरू यस सिजनमा खेती गर्ने गरिएको पनि छ। यो प्रविधि गानो तथा हरियो साग दुवैका लागि उपयोगी हुन सक्छ।
  • घाँसे तथा चाराबालीहरू: जहाँ पशुपालनले व्यावसायिक रूप लिएको छ साथै साइलेज कम्पनीहरू सञ्चालनमा छन्, तिनीसँग समन्वय गरी घाँस उत्पादन गर्ने पनि एउटा विकल्प हुन सक्छ।

यहाँ केही मात्र वैकल्पिक बाली र जातहरूका बारेमा उल्लेख गरिएको छ। कृषकको आफ्नो अनुभव आ–आफ्ना पालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका पकेट/जोन/सुपरजोन इकाइहरू, कृषि अनुसन्धान केन्द्रहरू, कृषिमा संलग्न गैरसरकारी संघ संस्थाहरूसँग समन्वय गरी स्थानविशेष अनुसारका कार्यक्रम बनाई सञ्चालन गर्नु नितान्त आवश्यक छ। स्मरणरहोस् बल्ल साउनको दोस्रो साता शुरू भएको छ र नेपालमा मनसुनको सिजन भनेको असोज महिनासम्म हो। त्यसकारण वर्षालाई नजरअन्दाज नगरी जुन खेती गरे पनि पानीको उचित निकासको प्रबन्ध गर्न नितान्त जरूरी हुन्छ।

 जलवायु अनुकूल कृषि प्रणाली

जलवायु अनुकूल कृषि प्रणाली भन्नाले हालको बदलिंदो वातावरणमा पनि सुहाउँदा/अनुकूल कृषि कर्म/अभ्यासहरू पर्दछन्। अहिले तापक्रम दिनानुदिन बढिरहेको छ, वर्षाको परिपाटी बदलिइरहेको छ, पानी पर्ने दिनहरू घटिरहेका छन्। साउने झरी, भदौरे झरी, माघे झरी हराइसके। शीतलहरको अवधि लम्बिएको छ। खडेरी लामो समयसम्म रहने, हिमाली भेगमा खेती गर्ने क्षेत्र उत्तरतिर सरिरहेको छ, हिमाल कालापत्थरमा परिणत हुँदै गइरहेका छन्। हिमताल फुट्ने जोखिम बढ्दो छ। साउनमा जेठ जस्तो मौसम छ। जसको फलस्वरूप बालीनालीमा नयाँ-नयाँ रोग/कीराको प्रकोप देखिइरहेको छ।

पशुपन्छीमा नयाँ-नयाँ समस्याहरू देखा परिरहेका छन्। पानीका मुहानहरू सुक्ने, कमी भइरहेको र पानी समेत प्रदूषित हुँदा जलचर प्राणीमा समेत नकारात्मक असर परिरहेको छ। जैविक विविधता मासिइरहेको अवस्था छ। हो, यी र यस्ता यावत् प्राकृतिक तथा मानव सिर्जित प्रतिकूल परिस्थितिसँग जुधेर उत्पादन दिन सक्ने बाली, वस्तु, जात, नश्ल, प्रविधिको अनुसन्धान, विकास र प्रविधि विस्तार नै आजको आवश्यकता हो। यो सम्भव छ– जलवायु अनुकूल कृषि प्रणाली अपनाएर।

यसका लागि प्रशस्त मात्रामा अनुसन्धान र विकासका साथ नवप्रवर्धनका कार्यहरू गरिनु आवश्यक छ। यसका लागि यस क्षेत्रमा बढी लगानी आवश्यक पर्दछ र अहिलेको विकासको प्राथमिकतामा (केवल भौतिक पूर्वाधार, सडक, भ्युटावर, स्वागतद्वार, मठमन्दिर अवलोकन भ्रमण) परिवर्तनको आवश्यक देखिन्छ। घोषणा मात्रले पुग्दैन तीनै तहका सरकारले (संघ/प्रदेश/स्थानीय) स्थानीय आवश्यकताका आधारमा ठोस कार्यक्रम बनाई सञ्चालन गरिनुपर्दछ।

(केसी, कृषि वैज्ञानिक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?