Comments Add Comment

यी हुन्, अर्थमन्त्री पौडेलले देखेका अर्थतन्त्रका १० चुनौति

Bishnu paoudel (4)
१३ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै विभिन्न १० चुनौतिलाई अर्थतन्त्रले चिुर्नपर्ने बताएका छन् । आर्थिक वृद्धि हाँसिल गर्ने, कृषिको आधुनिकीकरण गर्ने, औद्योगीकरणलाई तीव्रता दिने, उर्जा संकट निवारण गर्ने लगायतका चुनौति उनले दर्शाएका छन् ।

पूँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई सृदृढीकरण गर्ने, स्वदेशमा रोजगार सिर्जना गर्ने, अनौपचारिक अर्थतन्त्रलाई वैधानिक बनाउने लगायतका विषयलाई अर्थमन्त्री पौडेलले अहिलेको चुनौति मानेका छन् ।

अर्थमन्त्रीले देखेका  १० आर्थिक चुनौति
१. भूकम्पबाट भएको भौतिक क्षतिबाट अर्थतन्त्र    मा थप नकारात्मक असर पर्न नदिन र मुलुकको नवनिर्माणलाई उच्च प्राथमिकतामा राखेर आन्तरिक तथा बाह्य लगानीको उचित परिचालन गर्दै उच्च आर्थिक वृद्धि हात पार्न सजिलो छैन ।

२. कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धि बढाउन आवश्यक प्रविधि तथा उपकरणहरु, दक्ष जनशक्ति, उन्न बीउ र मल, कृषि प्रसार, उत्पादनको बजारीकरण, तथा गुणस्तर कायम गर्नु र सिँचाइका लागि पर्याप्त स्रोत साधन उपलब्ध गराएर कृषिको आधुनिकीकरण गर्नु चुनौतिपूर्ण छ ।

३. आन्तरिक तथा विदेशी पुँजीलाई आकषिर्त गरी निजी क्षेत्रको सक्रियतामा उत्पादनशील उद्योग, पूर्वाधार र औद्योगीकरण प्रक्रियालाई तीव्रता दिन गाह्रो छ ।

४. बढ्दो उर्जा संकटलाई अन्त्य गर्न सरकारी तथा निजी क्षेत्रको सहभागिता तथा साझेदारीमा विद्युत परियोजनाहरु निर्माण गर्न र विद्युत खरिद सम्झौता, जग्गा अधिग्रहण, स्थानीय अवरोध, श्रम सम्बन्ध, पूर्वाधार विकास लगायतसँग देखिएका समस्यालाई सम्बोधन गर्न चुनौति छ ।

५. भौगोलिक तथा सांस्कृतिक विविधताको उपयोग गरी पर्यटन क्षेत्रबाट रोजगरी सिर्जना र वैदेशिक मुद्रा आर्जनको दीगो स्रोतका रुपमा विकास गर्न भौतिक तथा संस्थागत संरचनाको सुदृढीकरण गर्दै छिमेकीसहित तेस्रो मुलुकका पर्यटक तान्न सजिलो छैन ।

६. खर्चको प्राथमिकीकरण गरी उत्पादनशील एवम् पुँजीगत खर्च गर्ने, वित्तीय अनुशासन तथा पारदर्शिता कायम गर्ने र खर्चको अनुगमन र मूल्यांकनमा प्रभावकारिता ल्याएर सार्वजनिक खर्च व्यवस्थापनलाई उपलब्धीमूलक बनाउने काम चुनौतिपूर्ण छ ।

७. सार्वजनिक ऋणको प्रभावकारी व्यवस्थापनका लागि संस्थागत संरचना, क्षमता अभिवृद्धि, नीतिगत तथा कानुनी व्यवस्था गर्ने र आन्तरिक ऋणको सीमालाई कुल गाह्रस्थ उत्पादनको बान्छित सीमा भित्र राख्ने, यस्तो सबै क्षणलाई पूँजी निर्माण हुने, क्षमेत्रमा लगानी गरी राष्ट्रिय उत्पादनमा सघाउ पुग्ने गरी प्रयोग गर्न सजिलो छैन ।

८. स्वदेशी बजारको आवश्यक्ताअनुसार सीपमुलक तालिमको व्यवस्था गराएर आन्तिरिक रोजगारी बढाउने, विदेशको रोजगारीमा दक्ष बनाएर पठाउने, रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने र विदेशबाट सीप सिकेर आएकालाई स्वदेशमा स्वरोजगार बनाउनु पनि अहिलेको चुनौति हो ।

९. अवैध निकासी पैठारी, विदेशी मुद्राको अवैध कारोबार, हुण्डी कारोबार र गैह्रकानुनी वित्ती कारोबार नियन्त्रण गरी औपचारिक अर्थतन्त्रलाई प्रोत्साहन गर्न पनि गाह्रो छ ।

१०. वित्तीय स्थायित्व कायम गर्ने, वित्तीय पहुँच बढाउने, यो क्षेत्रको विकास र विस्तार गरी उच्च आर्थिक वृद्धि हासिल गर्ने अर्थतन्त्रमा देखिएको अर्को चुनौति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment