२५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय अम्बर गुरुङलाई ‘सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने’ ताराको संज्ञा दिएका छन् ।
गुरुङको निधनमा शोध सन्देश व्यक्त गर्दै मंगलबार प्रधानमन्त्री ओलीले ‘नौलाख तारा उदाए’ गीतमा भरेको संगीतबाट स्वर्गीय गुरुङ स्वदेशमा मात्रै होइन, विदेशमा पनि चर्चाको केन्द्रमा पुगेको बताएका छन् । सो गीतबाट सुरु भएको गुरुङको देशभक्तिपूर्ण उचाइ नेपाली राष्ट्रगानको संगीतसम्म आइपुग्दा झनै माथि पुगेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले आफ्नो शोक वक्तव्यमा गुरुङबारे यस्तो उल्लेख गरेका छन्ः
नेपाली सांगीतिक आकाशका उज्ज्वल तारा, नेपाली सुगम संगीतलाई समृद्ध बनाउने अभियन्ता तथा नेपाली राष्ट्रगानका संगीतकार अम्बर गुरुङको निधनले मलाईं स्तब्ध तुल्याएको छ ।
उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु । स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकको यस घडीमा उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । उहाँको निधनबाट नेपाली संगीत सिर्जनाको क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।
‘नौलाख तारा उदाए’ गीतमा उहाँले भरेको संगीतबाट स्वर्गीय अम्बर गुरुङ स्वदेशमा मात्रै होइन, विदेशमा पनि चर्चाको केन्द्रमा पुग्नुभयो । सो गीतबाट सुरु भएको उहाँको देशभक्तिपूर्ण उचाइ नेपाली राष्ट्रगानको संगीतसम्म आइपुग्दा झनै माथि पुग्यो ।
‘रातो र चन्द्र सूर्य’ जस्ता राष्ट्रिय भावनाले ओतप्रोत गीतमा स्वर्गीय गुरुङले भरेको संगीतले उहाँको फैलावट झनै बढाएको थियो ।
स्वर्गीय अम्बर गुरुङले पश्चिमा शास्त्रीय संगीतमा प्रयोग हुने ‘क्यान्टाटा’ र ‘कोयर’ लाई पूर्वीय शास्त्रीय संगीत र लोकभाकामा मिलाएर संगीत सिर्जनालाई नयाँ आयाम दिनुभएको थियो ।
सामुहिक बाजा प्रयोगमार्फत नेपाली सुगम संगीतलाई स्तरीय र समृद्ध बनाउन उहाँले गर्नुभएको योगदान नेपाली संगीतको क्षेत्रमा मानकका रुपमा स्थापित छ ।
जति गह्रुंगा शब्दमा पनि कोमल संगीत भर्नसक्ने उहाँको खुबीले उहाँले संगीत भरेका गीतलाई नेपाली सांगीतिक क्षेत्रमा कालजयी बनाए ।
स्वर्गीय गुरुङ शीर्षस्थ संगीतकार मात्र होइन, कुशल शब्दसर्जक, गायक, संगीत शिक्षक र संगीत अध्येता पनि हुनुहुन्थ्यो ।
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिकल्पनाकार अम्बर गुरुङ सो प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति पनि हुनुहुन्थ्यो ।
भारतको दार्जीलिङमा विसं १९९४ मा जन्मेर नेपाली गीत संगीतको उन्नयनमा जीवन व्यतीत गर्नुभएका स्वर्गीय अम्बर गुरुङ नेपालको सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराका रुपमा चम्किरहनु हुनेछ । आफ्ना सिर्जनाहरुबाट स्वर्गीय गुरुङले नेपाल र नेपालीलाई लगाउनुभएको गुण मुलुकले सदा स्मरण गरिरहनेछ ।

प्रतिक्रिया 4