६ असार, काठमाडौं । १४ नेपालीको ज्यान जाने गरी सोमबार विहानै अफगानिस्तानको काबुलमा आत्मघाती आक्रमण भयो, जसमा पाँच नेपाली घाइते छन् ।
क्यानेडियन दूताबासको सुरक्षामा खटिएका नेपालीहरु चढेको बस आतंकवादी आक्रमणमा परेको हो । त्यहीँ सुरक्षागार्डका रुपमा कार्यरत एक मानबहादुर (उनकै आग्रहमा नाम परिवर्तन गरिएको) भने बिदा परेकाले बचेका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै उनले भने, मेरो आज डे अफ (बिदा) हो । त्यसैले कोठामा नै बसिरहेको थिएँ, विस्फोटमा साथीहरु परे ।’
उनले अघि भने, ‘आज नाइट ड्यूटीमा जानुछ । कसरी काम गर्ने त्रासमा छौं । ज्यानभन्दा ठूलो पैैसा होइन हजुर ।’
काबुलस्थित क्यानेडियन दूताबासको सुरक्षा जिम्मा बेलायती सेक्युरिटी कम्पनी ‘सेबर’ले लिएको थियो । र, उक्त कम्पनीले १४७ नेपाली भूपू सैनिकहरुलाई सुरक्षा गार्डका रुपमा खटाएको छ ।
सुरक्षा गार्डको डु्युटी सामान्यता तीन सिफ्टमा हुन्छ । तर, साथीहरु विदामा नेपाल आएकाले अहिले ४१/४१ जनाको टिम बनाएर दुई सिफ्टमा उनीहरुले दूतावासको सुरक्षामा काम गरिरहेका छन् ।
सोमबार उनीहरु काका लागि सदाझैं बसमा निस्किए । पहिलो बस उनीहरु बस्दै आएको ठाउँबाट निस्किएको केहीबेरमा अर्को बस हिँड्यो । तर, गेट कटेलगतै पेट्रोल पम्पको आडमा लुकेर बसेका एक आत्मघाती आक्रमणकारीले निशाना बनाए ।
मानबहादुर भन्छन्, म कोठामा थिएँ, विस्फोटले यहाँसम्म बेस्सरी थर्कायो । घटनामा परेका साथीहरुको निधन भयो ।’
सुरुमा उनीहरु बाहिर निस्कनै सकेनन् । घाइतेहरुलाई सुरक्षकर्मीहरुले उद्धार गरेर अस्पताल लगेको थियो । कोठामा भएकाहरुले १४ जनाको मृत्यु भएको सञ्चार माध्यमबाट थाहा पाए तर, कोको परे भन्ने खबर छैन ।
घाइतेहरुको उपचार चलिरहेको छ । पाँच नेपालीसहित ९ घाइते भएका थिए । उनीहरु मध्येका अमित रोकाय क्षेत्रीले आफू ठीक रहेको भन्दै छिट्टै नेपाल र्फकने बताएको समाचार एजेन्सी एपीले जनाएको छ ।
अहिले कोठामा रहेका नेपाली सुरक्षा गार्डहरु चिन्तामा छन् । साथीहरु के के भयो भन्नेसँगै फेरि काममा कसरी जाने भन्ने चिन्ता छ । मानबहादुरले भने, मेरो भरे ड्युटी छ । अब कसरी काम जाने भन्ने छ । हामी आफैं सुरक्षित रहेनौं भने कसरी काम गर्ने ?’
क्यानेडियन दूताबास र नेपाली सुरक्षा गार्डहरु बस्ने ठाउँ करिव एकाध किलोमिटरको दुरीमा छ । ड्यूटीमा जाने र र्फकने वेला उनीहरुलाई बस सेवा उपलब्ध गराइएको छ । कोठाबाट दूताबास पुग्न जाम नभएका बेला १०/१५ मिनेट लाग्छ भने कहिले काँही आधा घन्टा पनि लाग्छ ।
तर, बसमा यसरी यात्रा गर्दा सुरक्षाको उचित बस्दोबस्त नहुने गरेको नेपालीहरुले बताएका छन् ।
प्रतिक्रिया 4