Comments Add Comment

अमरेशले प्रधानमन्त्रीलाई ‘मानसिक रोगी’ भनेपछि संसदमा हंगामा

सिंहको भनाइ रेकर्डबाट हटाइयो, मर्यादित हुन सभामुखको रुलिङ

८ साउन, काठमाडौं । नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक सन्तुलन ठीक नभएको आरोप लगाएपछि संसद बैठकमा केहीबेर हंगामा भयो ।

Amresh Kumar
अमरेशकुमार सिंह

एमाले सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गर्दै उनको भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएपछि एमाले सांसदहरु आ-आफ्नो ठाउँबाट उठेर आपत्ति जनाएका थिए ।

कानुनविद समेत रहेका सांसद पोखरेलले संसदको कार्य सम्पादन नियमावलीको नियम ३९ अनुसार अमर्यादित शब्द बोल्न नपाइने भन्दै सिंहको आरोप पुष्टि गर्न वा उनको भनाइ रेकर्डबाट हटाउनुपर्ने बताएका थिए ।

सिंहले रोष्टमबाटै यो कुरा मैलेमात्र होइन, डाक्टरहरुले समेत प्रमाणित गरेका छन् भनेपछि एमालेका सांसदहरु झनै आक्रामक भए । सांसद पुरुषोत्तम पौडेलले कुन डाक्टरले प्रमाणित गरेका हुन् त्यो पेश गर्न चुनौति दिए ।

एमाले सांसदहरुलाई सभामुख ओनसरी घर्तीले बस्न आग्रह गर्दा पनि सिंहलाई बोल्न नदिई सिंहले माफी माग्नुपर्ने माग गरे ।

लगत्तै सभामुखले महासचिवसँग सल्लाह गरेर सिंहको भनाइ रेकर्डबाट हटाउन निर्देशन दिइन् । उनले सांसदहरुलाई मर्यादित भएर बोल्न रुलिङ समेत गरिन् ।

सिंहलाई देश निकाला गर्न माग

यसैबीच नेकपा एमालेसम्वद्ध युवा संघले सिंहलाई देश निकाला गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

सिंहले संसदमा दिएको अभिव्यक्तिलाई दिएर युवा संघ नेपालले उनलाई देश निकाला गर्न माग गरेको छ । युवा संघले गोगंबु क्षेत्रमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा युवा संघका अध्यक्ष राजिव पहाडी सहित केही नेता कार्यकर्ताको संलग्नता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment