Comments Add Comment

नेपालमा सरकार परिवर्तन हुँदा दिल्लीमा हर्षबढाइँ !

नाकाबन्दीलाई बिर्सेर दिल्लीले नहौसिनु बेस

KP oli

समाचार टिप्पणी । राजनीतिमा भन्ने गरिन्थ्यो, दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढ्ने चलन छ । तर, योपटक गंगा उल्टो बग्यो । अर्थात, नेपालमा पानी पर्दा दिल्लीमा छाता ओढ्ने काम भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिँदा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुभन्दा बढी दिल्ली खुसी देखिएको छ । प्रधानमन्त्री केपी ओलीको राजीनामापछि भारतीय सञ्चार माध्यमहरुमा यो खुसी प्रकट भइरहेको छ ।

भारतीय दैनिक हिन्दुस्तान टाइम्सले त ‘अब नेपालको राजनीतिमा भारतको पुनरागमन भयो’ सम्म भनेको छ । उसले लेखेको छ, यो (ओलीको राजीनामा) गत वर्ष राजनीतिक कोर्ष परिर्वतन गर्न असफल भएको भारतको नेपालको राजनीतिक परिदृश्यमा पुनरागमन हो ।’

उसले सरकार परिवर्तनको यो आन्तरिक घटनालाई चीनसँग पनि जोडेको छ । नेपालसहित दक्षिण एसियाको आन्तरिक राजनीतिमा माइक्रो म्यानेजमेन्ट कति गाह्रो रहेछ भन्ने चीनले पाठ सिकेको भारतीय पत्रिकाको दाबी छ ।

अब भारतसँगको सम्वन्ध र दिल्लीलाई पुनः ट्राकमा ल्याउन सक्छन् कि सक्दैनन् भन्ने नेपालको नयाँ प्रधानमन्त्री प्रचण्डको परीक्षा हुने हिन्दुस्तान टाइम्सले लेखेको छ । उसले लेखेको छ, ‘दिल्लीका लागि नेपालको डरलाग्दो सपना अन्त्य भएको छ ।’

त्यस्तै टाइम्स अफ इण्डियाले पनि प्रधानमन्त्री ओलीको बहिर्गमन भारतका लागि खुसी भएको बताएको छ । उसले लेखेको छ, ओलीले नेपाललाई भारतविरोधी राज्य बनाउन खोजेका थिए, जुन सफल भएन र उनी विदा भएका छन् ।’

टिप्पणीः

नेपालको अन्तरिक राजनीतिमा भारतको प्रभाव र बेलाबेला हस्तक्षेपकारी भूमिकालाई नेताहरुले नै स्वीकार गर्छन् । यद्यपि संविधान घोषणाका क्रममा प्रमुख दलहरुबीच बनेको अभूतपूर्व एकताले भारतलाई नराम्रो धक्का दिएको थियो ।

अहिले नयाँ सरकार गठनको प्रयाससँगै भारतको सक्रियता बढेको एमाले नेताहरुको आरोप छ । प्रधानमन्त्री स्वयंले सरकार परिर्वतनको खेललाई स्वचालित नभई ब्याट्रीबाट चलेको भनेका छन् ।

र, नेपालमा सरकार परिर्वतन हुँदा दिल्लीमा देखिएको खुसीले यो आरोपलाई थप बल मिलेको छ ।

अब प्रधानमन्त्री बन्दै गर्दा प्रचण्ड र उनका सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवाको पहिलो चुनौती ‘सरकार ब्याट्रीबाट नभई स्वचालित र नेपालीकै निर्णयमा भएको’ हो भन्ने बोलेर होइन, व्यवहारमै सिद्ध गर्न सक्नुपर्छ ।

भारतीय पक्षले पनि के बुझ्नुपर्ने हुन्छ भने यहाँको आन्तरिक मामिलामा खुशी वा रोष प्रकट गर्ने उसको भद्दा प्रतिक्रियाले अन्ततः नेपाल भारत सम्बन्धलाई बिगार्नेतिर लैजाने निश्चत छ ।

कांग्रेस नेता शेरबहादुर देउवाले आइतबार संसदमा बोल्ने क्रममा केपी ओली सरकारका पालामा चीनसँग भएका सम्झौताहरुलाई निरन्तरता दिइने बताइसकेका छन् । प्रचण्डले यसअघि खुल्लामञ्चबाटै आफू भारतको ‘एस म्यान’ नभएको बताइसकेका छन् । यो स्थितिमा नेपालको आन्तरिक सरकार परिवर्तनबाट भारतीयहरु बढी नहौसिने पो हो कि ?

विनाकारण छिमेकीलाई नाकाबन्दी गरेर दुःख दिएको दिल्ली यति सजिलै काठमाडौंमा ‘पुनरागमन’ हुन निकै कठीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment