Comments Add Comment

पूर्वमन्त्री शिवलालको निष्कर्षः केपी ओली महान ! ब्युरोक्रेसी खत्तम !

'आबो यो देश बन्दैन, देश बिगार्ने कर्मचारी हुन् !'

Shivalal-Thapa२८ साउन, काठमाडौं । ‘लु भो ! कुरा गरीसाध्ये छैन । आबो यसो अन्भउ गर्दा चैं यो देश बन्दैन है ।’

आदिवासी जनजातिवाद स्थापित गर्ने भनेर राजनीतिमा लागेका जनमुक्ति पार्टीका सांसद शिवलाल थापामगर मन्त्री बनेको ८ महिनामै यस्तो निराश भइसकेछन् कि उनले जनजातीय लवजमा ठोकेरै भन्दिए- ‘आबो (अब) यो देश बन्दैन ।’

हैट, के सारो दुरिद्वाइ हुनुभो दाइ, जाबो ८ महिनामै ! अनलाइनखबरकर्मीको यस्तो प्रश्नबाट शुरु भएको शिवलाल सम्वाद उनको सत्तानुभवको अन्तिम वाक्यमा पुगेर टुंगियो-

‘त्यो केपी ओली त मधेसी र जनजातिको अघोर बिरोधी भन्ने छाप चाहिँ खलाँसै भो है भाइ ! नेता त ओलीजस्तो पो हुनुपर्छ त ! आठ महिनाको अन्भोग (अनुभव) सोध्या होइन ? लु यत्ति हो, ओलीको फ्यान भइयो । अरु त के लछारपाटो लाउनु र, कर्मचारीले बिगारेको देश हो यो !

हैट ! इमान जमान हुँदैन ?

ओलीको जहाज अविश्वासको प्रस्तावबाट डुब्नै लाग्दा धमाधम मुसाहरु प्रचण्डको जहाजमा हामफाल्दै थिए । बिजय गच्छदार र दीपक बोहोरा जस्ता ठूला मुसादेखि विश्वेन्द्र पासवान र एकनाथ ढकाल जस्ता साना मुसाको बथानमा धेरैले शिवलाललाई पनि खोजे । तर, उनी मुसाहरुको यो लहरमा भेटिएनन् ।

होइट ! के कुरा गरेको ? भन्दै शिवलाल यसरी पोखिए- राजनीतिमा इमान जमान भन्ने हुनुपर्दैन ? ओलीले देशको शीर उठाए, हाम्ले उनलाई विश्वासघात गरेर जनजातिको शीर झुकाउने काम त गर्नै भएन । ओलीलाई सधैं हाम्रो साथ हुनेछ ।

ओली फोबियाबाट ओली मोहसम्म

मन्त्री बनेर ओलीको क्याबिनेटमा जाँदै गर्दा जनमुक्ति पार्टी लोकतान्त्रिकका अध्यक्ष शिवलाल थापालाई ओली जनजाति बिरोधी, पहिचान बिरोधी नेता हुन् भन्ने थियो । ठीक विपरीत, उनी आदिवासी जनजातिवादको राजनीति गर्ने नेता ।

आठ महिनाको सत्ता सहकार्यले थापाको दिमागमा ओली फोबियाले ओली मोहको रुप लिएछ । ‘केपी ओलीबारे सबै भ्रम तोडियो, उनको हाइटको नेता नै छैनन् नेपालमा । त्यो उचाइबाट नेपालको हित सोच्ने नेता देखिन है मैले चैं’ थापाले पटक-पटक दोर्‍याउँदै ओलीको प्रशंसा गरे ।

ओलीसँग के त्यस्तो क्षमता रै’छ, जसले तपाईको ‘ब्रेन वास’ गर्‍यो ? अनलाइनखबरकर्मीको अर्को प्रश्नमा शिवलाल फेरि हौसिएः

‘आहो ! भो नकुरा गरौं । हरेक कुरामा सक्षम, ठाउँको ठाउँ निर्णय लिन सक्ने । कुनै कुरामा नआत्तिने, आलोचना र बिचार मज्जाले सुन्ने । विकास निर्माण र आर्थिक सम्बृद्धिको कुरामा धेरै नै रुची । बाहिर भाषणमा सुनेका र भित्र काममा भोगेका ओली आकाश-जमीनको फरक ।

ओलीको प्रसंग आउनासाथ बोल्न तम्सिहाल्ने उनको ओलीमोह चाहिँ यहिँनेर बिट मारियो ।

‘लु है ! भन्नेले जे सुकै भनुन् मलाई त ओलीको मन्त्री हुनु पाउँदा बडो गर्व छ, भोलि फेरि ओलीले बोलाए भनेचैं दौडेर जाने हो ।’

सचिव र सहसचिवको ट्रान्जिट नेपाल

आठ महिनामा शिवलालले निकालेको अर्को निष्कर्षचाहिँ के हो भने, यो देश नेताले होइन, कर्मचारीले बिगारेका रेछन् । थापाले आठ महिना विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्दा सचिव, सहसचिव र अन्य कर्मचारीलाई देशमा भेट्न पाएनन् ।

‘तीनेरुको के कुरा गर्ने ? ८ महिनामा ६ महिनाजति त विदेशतिरै घुम्दारान् । धेरैजसो सहसचिव र उपसचिवहरु त नेपाललाई ट्रान्जिटमात्रै बनाइरहेका हुन्छन् ।  तेस्ताले बिगारेको देश हो रै’छ यो । बेकारमा हामी नेताले बिगारे भन्दा रै’छौं ।

विदेश घुम्ने बाहेक विज्ञान तथा प्रविधि मन्त्रालयका साना ठूला सबै कर्मचारीको अरु कुनै इलम देखेनन् निवर्तमानमन्त्री थापाले । ‘सचिव त नेपालमा बस्दैनन् अरुको के कुरा ? बाहिर बाहिरै प्रोजेक्टहरुबाट निम्तो मागेर जाने रैछन् । सरकारी पैसामा जानुपरे मात्रै मन्त्रीलाई थाहा हुने’ उनले भने ।

कर्मचारीले बिगारेको देश

नेपाल सरकारका ३१ मन्त्रालयमध्ये विज्ञान तथा प्रबिधि मन्त्रालय सबैभन्दा कम महत्वको, अर्थात फालिएको मन्त्रालय हो । तर, यही मन्त्रालयमा पुगिसकेपछि उच्चपदस्थ कर्मचारीहरुका लागि ‘लुटको स्वर्ग’ बन्ने गरेको शिवलालको अनुभव छ ।

‘मन्त्रालयमा धेरै विदेशी प्रोजेक्ट छन्, तिनले देशको विज्ञान प्रविधिको विकास गर्नेतर्फ कर्मचारीको कुनै सहयोग र सोच छैन । कसरी हुन्छ, विदेश जाने र डलर गोज्याउने धन्दामा सचिवदेखि अधिकृतसम्मका कर्मचारीको हानाथाप चल्छ’ थापाले भने ।
सचिव, सहसचिव र उपसचिवहरु विदेशमै हराउन थालेपछि उनले केही समय त कडाइ गर्न थाले । तर, मन्त्रीले विदेश जान कडाइ गरेपछि बाहिर बाहिरै निम्ता मागेर थाहै नदिई उड्ने गरेछन् कर्मचारीहरु ।

प्रविधिको क्षेत्रमा कुनै नयाँ काम गरौं भनेर विज्ञ कर्मचारी खोज्दा कोही पनि मन्त्रालयमा नभेटिने गरेको तीतो अनुभव पनि थापाले सँगाले । ‘मेरो निष्कर्ष भनेर लेखिदिनुस १ अरुले भनेको सुन्थेँ यो देश नेताले बिगारे भनेर, तर होइन रैछ, यो त ब्युरोक्रेसीले चलाएको देश रैछ, देश बिगार्ने कर्मचारी हुन्’ उनले भने ।

झल्याँस्स हुदा रित्तो हात

कुनै मन्त्री आएर सुधार गर्न खोज्दा कर्मचारी नै बाधक बन्ने गरेको थापाले ठम्याए । ‘सात प्रदेशमा विज्ञान प्रविधि डिभिजन खोल्न खोजेँ तर कर्मचारीले फाइल उठाउनै मानेनन् । कतै पनि सुधार गर्नै दिँदैन, नयाँ काम गर्न भनेपछि त सित्तैमा काम गर्नुपरे जस्तो गर्दा रैछन्’ उनले सुनाए ।

कर्मचारीकै कारण विज्ञान प्रविधि मन्त्रालयअन्तर्गतका करोडौं, अबार्ंै रुपैयाँका आयोजना र सूचना प्रविधि भवनहरु कामविहीन भएको उनले पत्ता लगाए । तर, एक्काइसौं शताब्दी सुहाउँदो प्रविधि मैत्री सरकार बनाउने उनको योजनामा उनकै मन्त्रालयका कर्मचारी बाधक बने ।

कुराकानीको अन्ततिर पुग्दै गर्दा निवर्तमान मन्त्री थापा अलि भावुक हुन थाले । उनले भने-मन्त्री हुञ्जेल यसो गर्दा पो हुन्छ कि, उसो गर्दा पो हुन्छ कि भनेर कर्मचारीको चाकडीसमेत गरेँ । तर, केही काम गर्न दिएनन् । असहयोगमात्रै गरे । अहिले झल्याँस्स भएँ- यस्ता कर्मचारी भएसम्म देश बन्दैन, बन्दै बन्दैन ।

सांसद खसीबोका:जनजाति प्रोजेक्टवाला

केपी ओलीलाई प्रधानमन्त्री सघाउने बेलामा उनको पार्टीमा संशय थियो । उनी र सीमाकुमारी विक दुईजना सांसद थिए । त्यो पनि एमएस थापाले पहिले नै सही गराएको खाली कागजमा राजीनामा लेखेर झण्डै झ्याप पारिसकेका ।

त्यसअघि नै चाल पाएर शिवलाल र सीमाले अलग दल दर्ता गरेर सभासद पद जोगाए । सान दलका सांसदहरु सत्ता परिवर्तनका बेला भेडा बाख्रा जस्तै किनबेच हुन्छन् भन्ने सुनेका थिए । गत वर्षको असोजमा उनको पनि मोलतोल भएछ ।

‘केही सांसद किनबेच भए, तर हाम्लेचैं यसपालि जे होला, केपीलाई भोट दिउँ भन्यौं’ थापाले भने ‘पैसाको कुरो त आकै हो, त्यसको केही समयपछि ओलीले उनलाई मन्त्रीको सपथग्रहण गर्न आऊ भनेर खबर गरे । सपथ ग्रहणपछि उनलाई लौ विज्ञान प्रविधि मन्त्री भयौ भनियो ।

संविधान जारी गर्दा केही जनजाति अगुवाहरुले आन्दोलन गरिरहेका थिए । आदिवासी जनजाति पार्टी भए पनि शिवलालले त्यो आन्दोलनको औचित्य देखेनन् । संविधानमा दर्जनौं संशोधन हाल्दै उनले संविधानसभाबाट संविधान जारी गर्न सघाए ।

‘संविधानमा आम आदिवासी जनजाति र उत्पीडितको भावना समेटिएको छ, विरोध गर्नेहरु प्रोजेक्ट चलाउने आदिवासी बुद्धिजीवीहरु हुन् ।आदिवासी जनजातिको जनमत त सभासदले बोल्ने हो नि’ उनले भने, ‘हामी पनि आदिवासी जनजाति हौं तर प्रोजेक्ट नचलाउनेवाला । त्यसैले संविधान मानिन्छ’ ।

अब के गर्ने त ?

आबो के गर्नु र ? संसदमा छौं । आदिवासी जनजातिको आवाज उठाउने पहिलो दल हामी नै हौं । ०४७ सालदेखि यही आन्दोलनमा छु । गोरेबहादुर खपांगीका अनुयायी हौं । निरन्तर यसमै लाग्ने हो । क्षेत्री बाहुनको बिरोध गरेर होइन, मिलेर जाने हो ।

यति भन्दै शिवलाल थापा संसद सचिवालयले दिएको सेतो रंगको गाडी चढेर विश्व आदिवासी जनजाति दिवस मनाउन हिँडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment