Comments Add Comment

यसरी बन्छ डिप्रेशन आत्महत्याको प्रमुख कारक

world-suicide-prevention-day

काठमाडौ । केही हप्ताअघि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको मनोचिकित्सा वार्डमा एक बिरामी भर्ना भइन् ।

भोजपुर घर भई हाल काठमाडौ टोखा बस्ने ४२ वर्ष उमेरकी महिलालाई कडा डिप्रेशन भएको थियो । आफ्नो २४ वर्षीय छोराले आत्महत्या गरेपछि उनी डिप्रेशनको शिकार भएको पाइएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनले आफ्नो छोराको मृत्युको कारक आफूलाई मान्दा आफैं पनि मृत्युको नजिक पुगेकी थिइन् ।

विरामी महिलाले बताए अनुसार करिब तीन वर्ष पहिले उनका छोरा एक युवतीको प्रेममा परेका थिए । उनी विवाह गर्न चाहन्थे । तर उनले मन पराएको युवती विवाहको विपक्षमा थिइनन् ।

त्यसैले उनले छोरालाई पहिले पैसा कमाउन दबाव दिइन र विदेश पठाइन् । छोरा पनि आमाको सल्लाहअनुसार विदेशमा गए र झण्डै डेढ वर्षपछि नेपाल फर्किए । उनले विदेश बसुञ्जेल त्यहाँ कमाएको पैसा समेत बचत गरे । उनी विवाहको मनस्थितिमा नेपाल फर्किएका थिए ।

तर, विडम्बना उनी नेपाल र्फकँदा मन पराएको केटीले अर्कैसँग विवाह गरिसकेकी थिइन् । त्यही कुराले उनी डिप्रेशनको शिकार भए । उनी एक्लै बस्न र झोक्राउन थाले । उनको तौल घट्न थाल्यो । उनले खान छोड्नुका साथै उनी राति एकदमै कम समय मात्रै सुत्न थाले ।

छोराको बदलिएको ब्यवहार र आनी बानीलाई परिवारले समयमा बुझ्न सकेन । तनावकै बीच ६ महिना बित्यो । र, करिब दुई वर्ष पहिले युवकल घर छेउको खोला नजिकैको रुखमा झण्डिएर आत्महत्या गरे । यसले परिवारमा ठूलो पीडाको सिर्जना गर्‍यो ।

उनकी आमाले छोराको आत्महत्याको दोषी आफूलाई ठानिन् । घटनाको एक महिनासम्म उनी अचेत जस्तै भइन् । केही समयका लागि उनका श्रीमान समेत डिपे्रशनमा पुगेका थिए । तर, विस्तारै उनले आफुलाई सम्हाल्दै गए । युवककी आमाले भने सम्हाल्न सकिनन् । उनी ग्लानीमै बाँच्न थालिन् । जसले गर्दा उनी कडा प्रकारको डिप्रशनको शिकार भइन् ।

डिप्रेशन भएको थाहा पाएर उनलाई परिवारका सदस्यले शिक्षण अस्पतालका लगेर उपचार गरे । भर्खरै अस्पतालबाट डिस्चार्ज भएर घर गएकी छिन् । अहिले उनी तंगि्रएकी छिन् । हाँस्न र बोल्न थालेकी छिन् । घरका काममा समेत मन लगाउन थालेकी छिन् ।

ति महिलालाई चिकित्सकहरुले साइकोथेरापी अन्तर्गत उपचार गरेपछि उनमा परिवर्तन देखिन सुरु भएको हो । पहिले यसबारे बोल्न नचाहने परिवारका सदस्य अब उनीसित यसबारेमा खुलेर कुरा गर्न थालेका छन् ।

०००

त्रिवि शिक्षण अस्पतालका प्रो. डा सरोजराज वझा धेरै मानिसको आत्महत्याको मुख्य कारण डिप्रेशन भएको बताउँछन् । उनका अनुसार ति महिलाले छोराका डिप्रशनबारे समयमै पहिचान गर्न पाएको भए वा उसको कुरा परिवारले बुझेको उनको ज्यान बच्ने डा. वझाको भनाइ छ ।

डाक्टरहरुका अनुसार डिप्रेशनका बिरामीलाई ‘कनेक्ट, कम्युनिकेशन तथा कियर’ भन्ने कुनै मद्धत चाहिन्छ । यो भएन भने बिरामीले आत्महत्या रोज्न सक्छ । समयमै डिप्रेशनको पहिचान गरेर उपचार गराइयो भने सम्भावित दुर्घटनाबाट बचाउन सकिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वर्षेनी आठ लाख मानिसले आत्महत्या गर्छन् । तर, आत्महत्यालाई रोक्न सकिन्छ । यो सोच आउनु आफैंमा भयानक हो । यसलाई समस्याका रुपमा लिनुपर्छ ।

पहिले त आत्महत्या भन्ने कुरा त्यसै आउँदैन । यदि आयो भनेपनि किन आयो भनेर सोच्नुपर्ने हुन्छ । कसैलाई यस्तो सोच आइहाले पनि गइहाल्छ । तर, कतिलाई यस्तो सोच आइराखेमा यसलाई स्वास्थ्य समस्याको रुपमा लिनुपर्छ ।

जनमानसमा यसबारे जनचेतना फैलाउन नसकेको खण्डमा समस्या थप बढ्न सक्ने डा. वझा बताउँछन् । अहिले आत्महत्या गर्नेमा युवाहरु पनि छन्, त्यसैले रोकथामका लागि आवश्यक कदम चलाउनु जरुरी छ ।

विश्व स्वास्थ्य संगठनले पनि सन् २००३ देखि हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन ‘विश्व आत्महत्या रोकथाम दिवस’ मनाउँदै आइरहेको छ । यसवर्ष यो दिवस ‘कनेक्ट, कम्युनिकेशन, कियर’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।

कनेक्ट, कम्युनिकेशन, कियर भन्नाले पहँुच, सञ्चार र हेरचाह भन्ने बुझिन्छ । यही उदाहरणलाई मध्यनजर गर्दा पनि यदि कुनै घरमा पहिले नै आत्महत्या भएको छ भने त्यस्ता समस्या फेरि पनि हुनसक्ने उदाहरण प्रशस्तै हुने गर्छन् । त्यसका लागि डिप्रेशनमा परेकाहरुको पहिचान गरी व्यक्तिगत, सामूहिक वा सामुदायिक रुपमा उसलाई हेरचाह गरी साथ दिनु जरुरी हुन्छ ।

त्यस्तै सञ्चार अन्तर्गत मानिसहरु नबोली बसमा, एक्लै झोक्राएर बसेमा पनि उनीहरुमा आत्महत्याको सोच आउन सक्छ । त्यसैले यस्ता मानिसलाई धेरै भन्दा धेरै बोल्ने अवसर प्रदान गरेका खण्डमा पनि यसको रोकथाम गर्न सकिन्छ ।

त्यस्ता व्यक्तिलाई हेरचाह गरेमा मात्र पनि उनीहरुलाई यो सोचबाट बाहिर निकाल्न सकिन्छ ।

समाजमा मानिसहरुलाई यसबारे तालिम दिएर त्यस्ता मानिसहरुलाई बोल्न तथा आफ्ना मनका कुरा राख्न, तथा संवाद गर्न मद्दत पुग्छ । उनीहरुको कुरा सुनेर काउन्सिलिङ गर्न सकेमात्र पनि यो समस्याको रोकथाम गरी दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ ।

त्यस्तै सञ्चारमाध्यमले यसबारे जनचेतना फैलाउन सकेमात्र पनि यो समस्याको रोकथाम गर्न सकिन्छ । हेरचाहको सवालमा उनीहरुको समस्या बुझेर यसबारे पहल गर्न सकेमा पनि यो समस्याबाट बच्न तथा बचाउन सकिन्छ ।

केही तथ्य

  • हरेक ४० सेकेण्डमा एक व्यक्तिले आत्महत्या गर्नुका साथै २५ गुणा बढीले आत्महत्याको प्रयास गरिरहेका हुन्छन् ।
  • विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या विश्वको दोस्रो ठूलो कारक मध्यमा पर्छ । विश्वमा करिब एक लाख युवा वर्षेनी आत्महत्याका कारण मर्ने गर्छन् ।
  • १५ देखि १९ वर्षको उमेरका मानिसको सबैभन्दा धेरै मृत्यु आत्महत्याका कारण हुने गर्छ । आत्महत्या गर्नेमध्ये पुरुषको संख्या तीन गुणा बढी हुने गर्छ । जबकी महिलामा आत्महत्याको प्रयास गर्ने कोसिश तीन गुणा बढी हुन्छ ।
  • विदेशमा पुरुषहरु बन्दुक हानेर अथवा झुण्डेर मर्ने संख्या धेरै छ । जबकी महिलाहरुले औषधी सेवन गरी तथा नशा काटेर आत्महत्याको प्रयास गर्छन् । त्यसैगरी धुम्रपान, मद्यपान गर्ने पुरुषहरु बढी आत्महत्या गर्छन् ।

(यो लेख महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, प्रो. डा. सरोजराज वझासितको कुराकानीमा आधारित छन् । उनी हाल त्रिविवि टिचिङ्ग अस्पतालस्थित मनोचिकित्सा विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत छन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment