Comments Add Comment

ताज होटलबाट परराष्ट्रमन्त्रीले भनेः मोदीजी चिन्तित देखिनुभयो, हामीले सीधै कुरा राख्यौं

'यो भ्रमण अरुभन्दा फरक छ, नतिजा चाँडै देखिन्छ'

१ असोज, नयाँदिल्ली । भारतीय पक्षसँगको उच्चस्तरीय भेटघाट सकेपछि परराष्ट्र मन्त्री प्रकाशशरण महतले शुक्रबार राति ताज होटलमा नेपाल र भारतका उद्योगी व्यवसायीहरुलाई सम्बोधन गरे ।

प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा बिजनेस मिटिंग सकिएपछि पत्रकारहरुले मन्त्री महतसँग भारत भ्रमणबारे सामान्य समीक्षा गर्न आग्रह गर्दा उनले यो भ्रमण अन्य भ्रमणभन्दा फरक हुने र यसको नतिजा चाँडै देखिने दाबी गरे ।

मन्त्री महतको विश्लेषण उनकै शब्दमाः

Prakash-saran-mahatयो भ्रमणले एउटा विश्वासको सिर्जना गरेको छ । विश्वास भइसकेपछि हामी धेरै कुराहरु गर्न सक्छौं । यो भ्रमणबाट अत्यन्त सौहाद्रपूर्ण माहौल बनेको छ । हामीले आफ्ना कुराहरु फ्रयांक राख्यौं । स्टेट र सीधा किसिमले राख्यौं ।

जे कारणले हाम्रा कतिपय आयोजनाहरुको कार्यान्वयनमा समस्या आएका छन्, जति पनि दुई देशका जनतासँग जोडिएका मुद्दा छन्, एक एक गरेर मैले परराष्टमन्त्री तहको छलफलमा पनि राखें । र, यो प्रधानमन्त्रीको भ्रमणमा हामीले स्पष्ट ढंगबाट राख्यौं ।

मलाई लाग्छ, ‘सीधा, स्टेट किसिमबाट जुन छलफल भएको छ, यसलाई अत्यन्त सकारात्मक रुपमा लिनुपर्छ ।’

यो भ्रमण विगतको भन्दा धेरै मानेमा फरक छ । हामीले के भन्यौं भने जब यो दुई देशको सम्बन्ध छ, सहयोगका हाम्रा क्षेत्रहरु छन्, नतिजा जनताको तहमा देखिन थाल्छ

भारतीय कन्सर्न

उनीहरुको कन्सर्न के थियो भने दुई देशवीचको यो सम्बन्ध विकसित होस् । समस्याहरु नआउन् । उहाँहरु चिन्तित केमा हुनुहुन्थ्यो भने यी दुई पक्ष सहयोगका जुन क्षेत्रहरु छन्, समयमै यो कार्यान्वयन नहुनमा कहाँ समस्या रह्यो ? त्यसलाई कसरी हटाउने भन्नेतिर चाँहि प्रधानमन्त्री मोदी चिन्तित देखिनुभएको मैले पाएँ । यसलाई एउटा समयसीमाभित्र कसरी कार्यान्वयनमा लानेतिर पो उहाँको चिन्ता देखियो । मलाई लाग्छ यो अत्यन्त स्वागतयोग्य कुरा हो ।

संविधान संशोधनबारे भारतको केही भन्नु छैन

भारतका प्रधानमन्त्रीजीले स्पष्ट ढंगबाट के भन्नुभएको छ भने ‘यो (संविधान संशोधन) को विषयमा हामीलाई केही पनि भन्नु छैन । यो तपाईहरुको प्रक्रिया हो, तपाईहरुले नै यसलाई जे गर्नुपने हो, तपाईहरुले गर्ने हो, हामीलाई यसमा केही भन्नु छैन ।’

जहिले पनि छिमेकी देशहरुसँग दुईपक्षीय वार्ताहरु हुन्छ, त्यसमा हामी कसरी अगाडि बढ्दैछौं भन्ने कुराको आदान प्रदान हुन्छ । हामीले यसो गर्दैछौं भनेर आफ्ना कुराहरु राख्छौं । हामीले यसरी संविधानलाई कार्यान्वयन गर्दैछौं, त्यसलाई संस्थागत गर्दैछौं र नेपालमा स्थायित्वको बाटोमा जाँदैछौं भन्ने कुरा हामीले स्वाभाविक रुपमा राखेका छौं ।

भारतबाट नेपालको संविधानबारे पहिले नै स्वागत आइसकेको छ, एउटै विषयमा पटक पटक भनिरहनुपर्दैन । पटक पटक एउटै कुरा दोहोर्याइरहनुपर्ने आवश्यकता छैन

संविधान संशोधन एउटा आन्तरिक प्रक्रिया हो । त्यसमा केही समस्याहरु छन् भने यसको समाधान हामीले नै गर्ने हो । यो कुरालाई उहाँहरुले स्पष्ट ढंगबाट स्वीकार गर्नुभएको छ । यो तपाईहरुकै प्रक्रिया हो, तपाईहरुले कसरी गर्नुहुन्छ, त्यसमा हाम्रो केही भन्नु छैन भन्नुभएको छ ।

जुन ढंगबाट नेपालमा संविधान बन्यो, त्यसलाई चाँहि उहाँहरुले राम्रो भन्नुभएको छ । त्यसलाई स्वीकार गर्नुभएको छ । भारतबाट नेपालको संविधानबारे पहिले नै स्वागत आइसकेको छ, एउटै विषयमा पटक पटक भनिरहनुपर्दैन । पटक पटक एउटै कुरा दोहोर्याइरहनुपर्ने आवश्यकता छैन ।

स्पष्ट ढंगबाट हामीले हाम्रो देशमा भएका विकास क्रम र संवैधानिक प्रक्रियाका बारेमा सरकार प्रमुखवीच छलफल हुँदा के गरिराख्या छौं भन्नेबारे एक्स्चेञ्ज गर्ने चलन हुन्छ, त्यो एक्स्चेञ्ज भएको छ तर भारत सरकार र भारतीय नेताहरुले नेपालमा यस्तो हुनुपर्यो, उस्तो हुनुपर्यो भन्नुभएको छैन ।

नेपालमा हामीले यो समस्यालाई कसरी समाधान गर्ने, आन्दोलनरत पक्षलाई कसरी संविधान कार्यान्वयनका लागि उनीहरुको सहयोग जुटाउने भन्ने कुरामा हाम्रो छलफल भइराखेको छ । हामी आफैंले महसुस गरेर यो गरिराखेका हौं । भारत सरकारले भनेर यो हामीले गरेको होइन । हामीले आफैंले सबै स्टेक होल्डरहरुको विश्वास लिन जरुरी छ भनेर हामीले यो सब गरेको हो । उहाँहरुले भनेर या नभनेर हामीले गर्ने कुरा होइन । भारत सरकारले यसो गर, उसो गर भनेको छैन ।

अरु भ्रमण भन्दा फरक

यो भ्रमण विगतको भन्दा धेरै मानेमा फरक छ । हामीले के भन्यौं भने जब यो दुई देशको सम्बन्ध छ, सहयोगका हाम्रा क्षेत्रहरु छन्, नतिजा जनताको तहमा देखिन थाल्छ । त्यसैले हामीले काम गर्न थाल्छौं । खाली उच्चस्तरीय भ्रमणमा व्यक्त गरिएका प्रतिवद्धतामात्रै होइन, मन्त्रीस्तरीय, सचिव स्तरीय प्राविधिक तहका संयन्त्रहरुले पनि दिएको जिम्मेवारीलाई कार्यान्वयन गर्न थाल्छन् । मलाई लाग्छ, जनताको तहमा नतिजा देखिन्छ । नतिजा देखिनेवित्तकै एउटा सौहार्द्र विश्वासको वातावरण विकसित हुन्छ । यसमा हामीले जोड दिएका छौं ।

विकास आयोजनाबारे समय सीमा तोकेर अघि बढ्ने सहमति 

प्रधानमन्त्री मोदीजीले एउटा टाइम बाउण्ड तरिकाबाट हाम्रो जति पनि सहयोगको क्षेत्र छ, त्यसलाई कार्यान्वयन गर्ने कुरा गर्नुभएको छ । टाइम बाउण्ड तरिकाबाट यसलाई अगाडि बढाउने कार्य अब जुन, परराष्टमन्त्रीस्तरीय संयन्त्र छ, त्यसको बैठक हामी अक्टोबरमै बस्छौं । यो सहमति बनिसकेको छ ।

प्रणव मुखर्जीजीको नेपाल भ्रमणभन्दा अगाडि नै हामी बस्छौं । र, हामीले जति पनि मुद्दाहरु उठाएका छौं, एक एक गरेर अब कहाँ कहाँ कसरी कार्यान्वयनमा लाने भन्ने छलफल गरेर अगाडि बढाउने भन्ने भएको छ ।

के के विषयमा छलफल भयो ? 

तराईमा दोस्रो फेजका लागि सहुलियत ऋण दिने सहमति भइसकेको छ । सब स्टेसन ढल्केबरमा, हेटौडामा सहयोग गर्ने सहमति भइसकेको छ । त्यस्तै गरेर क्रस बोर्डर लाइन पहिलाचाँहि दिन भारत सरकार तयार थिएन । अहिलेचाँहि बुटवल गोरखपुर ४०० केभी प्रसारण लाइनमा सहयोग गर्ने सहमति बनिसकेको छ ।

त्यस्तै गरेर सहुलियत ऋण भूकम्पपीडितलाई दिने भनिएको थियो, त्यसमा धेरै सामाग्री र सेवा भारतको हुनुपर्ने शर्त थियो, त्यसलाई एकदमै ठूलो प्रतिशतमा घटाउने सहमति पनि भएको छ ।

विगतमा जति सहयोग भारतले घोषणा गरेको थियो, त्यो सहयोगलाई कार्यान्वयन गर्नका लागि जे समस्याहरु थिए, तिनलाई हटाउने सहमति बनेको छ ।

हरेक वर्ष सीमाक्षेत्रमा जुन डुवान पर्ने गरेको छ, त्यसलाई हटाउनका लागि संयन्त्रको आवश्यकताको हामीले कुरा गरेका छौं । त्यसलाई पनि यो मन्त्रीस्तरीय संयन्त्रले टुंगो लगाएर अगाडि बढाउने कुरा भएको छ ।

हामीले बाढीका कुराहरु उठायौं । प्राकृतिकरुपमा जो नदीनाला बग्छन्, वषर्ायाममा रोकिँदाखेरि डुबानमा पर्छन्, त्यसलाई हटाउनका लागि एउटा ज्वाइन्ट मेकानिज्म बनाऔं भनेर हामीले भनेका छौं, त्यसमा उहाँहरु अत्यन्त सकारात्मक हुनुहन्छ । र, यो जुन मन्त्रीस्तरीय संयन्त्र छ, त्यसले ठोस निक्र्यौल गरिसकेपछि त्यसलाई सम्बोधन गर्ने कुरा भएको छ ।

दुई देशको खुल्ला बोर्डरलाई व्यवस्थित गर्ने कुरा भएको छ । दुईदेशवीचको जुन व्यापार छ, यसलाई कुनै पनि हिसाबले नरोकियोस् भनेर सुनिश्चितता दिने कुरादेखि लिएर कृषिजन्य वस्तुहरुको निर्यातमा देखिने समस्याहरुलाई हटाउने कुरा भएको छ ।

यसले एउटा राम्रो विश्वासको आधार तयार पारेको छ । त्यसैले यो भ्रमणले नेपाल भारत सम्बन्धलाई एउटा उचाइमा पुर्याएको छ र यसले नयाँ दिशा दिन्छ

विद्युत व्यापारमा भारतमा हाम्रो पहुँच किन्दाखेरि पनि र बेच्दाखेरि पनि सुनिश्चित भयो भने बल्ल नेपालमा ठूला लगानीहरु अगाडि बढ्छन् । त्यसैले बजारको सुनिश्चितताका लागि जति पनि कानूनसँग र रेगुलेसनसँग जोडिएका जति पनि कठिनाइहरु छन्, त्यसलाई हटाउने कुरा उहाँहरुले गर्नुभएको छ । प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

यो भ्रमणबाट धेरै कुराहरु टर्याकमा आएका छन् । धेरै सहमतिहरु भएका छन् । कार्यान्वयन गर्ने प्रतिवद्धता आएको छ । कतिपय सहयोगको क्षेत्रलाई विस्तार गरिएको छ । यसले एउटा राम्रो विश्वासको आधार तयार पारेको छ । त्यसैले यो भ्रमणले नेपाल भारत सम्बन्धलाई एउटा उचाइमा पुर्याएको छ र यसले नयाँ दिशा दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment