Comments Add Comment

कमल ज्ञवाली दम्पतीलाई ३ वर्ष जेल र साढे १२ करोड जरिवाना

४ असोज, काठमाडौं । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालका कमलप्रसाद ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई  बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजायँ सुनाइएको छ । साथै  १२ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

Kamal-gwaliजम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले मंगलबार ज्ञवाली दम्पत्तीलार्इ दोषी ठहर गरेको हो ।

न्यायाधीशद्धय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले ज्ञवाली दम्पतीलाई ३/३ वर्ष जेल सजाय र ६ करोड २५ लाख/६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको छ ।

त्यसैगरी अदालतले सोही कर्जा प्रकरणमा संलग्न सिद्धार्थ डेभलपमेन्ट बैंकका कोमानन्द अधिकारीलाई ४ वर्ष जेल र ५ करोड ७४ लाख रुपैयाँ बिगो र धितो मुल्यांकनकर्ता किशोर ढकाललाई ४ वर्ष जेल र ५० लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको छ ।

६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्दि्रय अनुसन्धान व्यूरोले अढाई वर्षअघि मुद्दा दायर गरेको थियो । सीआइबीले मुद्दा दायर गरेपछि ज्ञवाली दम्पती फरार छन् ।
त्यतिमात्रै होइन, ज्ञावालीले तत्कालिन समयमा आफु प्रबन्ध सञ्चालक रहेको बैंक किष्टबाट पनि श्रीमति संलग्न रहेको जम्को प्रकाशनलाई १३ करोड रुपैयाँ ऋण प्रवाह गरी दुरुपयोग गरेका थिए । सो मुद्दामा भने अदालतबाट फैसला हुन बाँकी नै छ ।

तर, किष्ट बैंकलाई गाभेको प्रभु बैंकले भने ०७१ माघ १३ गते कमल ज्ञवालीको बैंकमा रहेको सेयर बेचेर सावाँ-व्याजसहित २३ करोड रुपैयाँ असूल गरिसकेको छ । तत्कालीन प्रभु विकास बैंकले ०७१ भदौ ३० गते किष्ट बैंकलाई गाभेर प्रभु बैंकको नाममा एकीकृत कारोबार गरेको थियो ।

गुल्मीको मध्यम वर्गिय परिवारमा जन्मेका ज्ञवालीले काठमाडौं आएर छोटो समयमै वित्तीय बजारमा चर्चा कमाएका थिए । किष्ट मर्चेण्ट बैंक खोलेर केही वाणिज्य बैंकमा स्तरोन्नति गरेका थिए ।

सञ्चालक र सीइओ दुबैको भूमिकामा रहेका उनले आफ्नी श्रीमति संलग्न रहेको संस्थालाई ऋण दिएर सो ऋण आफैंले घरजग्गा लगायतमा लगानी गरी दुरुपयोग गर्दै आएको तथ्य फेला परेपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

ज्ञवालीले जथाभावी ऋण प्रवाह गरेकै कारण तत्कालीन किष्ट बैंक डुब्ने स्थितिमा पुगेको थियो । तर, प्रभु समूहले सो बैंक खरिद गरी खराव कर्जा असुली थालेपछि किष्ट दुर्घटनाबाट जोगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment