+
+
Shares

नेपाली युवालाई खाली हात हैन, सीपयुक्त बनाएर बिदेश पठाउँ: घले

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १७ गते १९:४४

Shesh-Ghale

१७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेले रोजगारीको खोजीमा बिदेशिने युवा पुस्तालाई सीपयुक्त बनाएर मात्र पठाउने गरी नीतिगत ब्यवस्था गर्न आग्रह गरेका छन् ।

नेपाली युवाहरुको विश्व सम्मेलन समापन समारोहलाई आइतबार भक्तपुरमा सम्बोधन गर्दै अध्यक्ष घलेले श्रम गन्तब्य मुलुकहरुमा जाने नेपाली युवाहरुको अनिवार्य सर्त सीप र दक्षतालाई बनाउनुपर्ने बताए ।

‘हामीले नलुकाई भन्नुपर्छ कि, आज यसरी बिदेशिएका युवाहरुलाई विनाकुनै सीप र तालिम त्यस्ता मुलुकहरुमा निर्यात गरिरहेका छौं । जसले हाम्रो अर्थतन्त्र र युवापुस्ताले पाउनुपर्नेजति लाभ पाउन सकेको छैन,’ अध्यक्ष घलेले भने, ‘सकिन्छ भने हाम्रै मुलुकभित्र अवसर सिर्जना गरौं, पठाउनै परेपनि कम्तीमा हाम्रा कर्णाधारहरुलाई खाली हात हैन, सीपयुक्त बनाएर पठाउँ, विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाएर पठाउँ । हैन भने यो प्रकृयालाई रोकौं, रोजगारीका लागि विदेश जानेको पहिलो सर्त सीप बनाएनौं भने हाम्रा युवाशक्तिको रगत र पसिना खेर जान्छ ।’

गैरआवासीय नेपाली संघ र नेपाल सरकारको संयुक्त आयोजनामा पहिलोपटक आयोजित युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष घलेले युवाहरुलाई सीपमूलक तालिम दिने ब्यवस्था गर्न एनआरएनएले सरकारसँग परिमाणमुखी साझेदारी गर्न चाहेको बताए ।

‘हाम्रो चाहना हो-युवाशक्तिलाई राष्ट्र निर्माणमा सहभागी बनाउँ, उनीहरुलाई सबल र सशक्त बनाउँ,’ उनले भने, ‘ग्लोबलाइजेसनको यो युगमा राम्रो अवसरका लागि हाम्रा सीपयुक्त र सशक्त युवाशक्तिले बिश्वको जुनसुकै ठाउँमा जाने विकल्प रोजे भने पनि त्यसलाई अन्यथा मान्न मिल्दैन ।’

बिदेशमा हुर्कंदै गरेको नेपाली मुलको दोस्रो पुस्ता यतिबेला नयाँ पुस्ताको एनआरएनको रुपमा उदाउँदै गरेको भन्दै उनले संघले अगाडि सारेको ‘भिजन २०-२० एण्ड बियोण्ड’मार्फत् नयाँ पुस्तालाई नेपालमा आकर्षित गर्ने ठोस अवधारणा अगाडि सारेको बताए ।

उनले विदेशमा हुर्किएका नेपाली नयाँ पुस्तालाई आफ्नो मातृभूमितर्फ आकर्षित गर्ने, नेपालमा सीप र पूँजी लगानीका लागि अभिप्रेरित गर्ने गरी नीतिगत ब्यवस्था गर्न सरकारसँग अनुरोध गरे ।

सम्मेलनमा नेपालका बिभिन्न जिल्ला तथा विदेशबाट गरी करिव ३ सय सहभागी थिए । घोषणापत्र जारी गर्दै सम्मेलन आइतबार सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?