Comments Add Comment

महाअभियोग सिफारिस समितिले लोकमानको घरमा खानतलासी गर्न सक्ने

lokman-sing-karki

२ मंसिर, काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले अभियोग लागेका व्यक्तिमाथि छानविनका क्रममा उनको घर तथा कार्यालयमा खानतलासी गर्न सक्ने भएको छ ।

बिहीबार सिंहदरवारमा बसेको सिफारिस समितिको बैठकले खानतलासी गर्न सक्ने व्यवस्थासहित आफ्नो कार्यविधि पास गरेको छ ।

समितिलाई यो अधिकार दिने कि नदिने भन्ने लामो बहस भएको थियो । तर, अन्ततः अभियोग लागेका व्यक्तिमाथि छानविनका क्रममा उनको घर तथा कार्यालयमा खानतलासी गर्न सक्ने व्यवस्थाा गरिएको सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए ।

संसदमा अहिले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव विचाराधिन छ । संसदको पूर्ण बैठकमा सैद्धान्तिक छलफल सकिएछि महाअभियोग सिफारिस समितिमा जानेछ ।

त्यसअघि समितिले आफ्नो कार्यविधि पास गरेको छ । कार्यविधि अनुसार अभियोग लागेका व्यक्तिलाई सात दिनको समय दिएर सनाखतका लागि बोलाइनेछ । यो समयमा नआए फेरि ७ दिन दिइनेछ र, यो समयमा पनि उपस्थित नभए अभियोग स्वतः प्रमाणित हुनेछ ।

आरोपितलाई सफाईको मौका दिने र आरोपितको बयान सुनेर आवश्यक अनुसन्धान गर्नुपर्ने भए सम्बन्धित व्यक्तिलाई बोलाएर बयान लिने, बकपत्र गराउने लगायत अधिकार कार्यविधिमा राखिएको कार्यविधि उपसमितिका संयोजक रामनारायण विडारीले जानकारी दिए ।

समितिले व्यवस्थापिका संसदलाई पठाउने प्रतिवेदन सकभर सर्वसम्मति र नभएको अवस्थामा सामान्य बहुमतको आधारमा गर्ने विधि तय गरेको छ । साथै अध्यक्ष नभए सदस्यले सनाखत गर्न सक्ने वा यो अधिकारलाई सचिवलाई पनि दिनसक्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment