+
+

संविधानको विद्रूप कोरियोग्राफी र भयावह परिणति

गिरिजाका कोटको खल्तीबाट निस्केका तीन चिज

अरुणकुमार सुवेदी अरुणकुमार सुवेदी
२०७३ मंसिर २५ गते १७:२६
अरुणकुमार सुवेदी

यो संविधान आउने अवस्थामा नै यस लेखकको स्पष्ट धारणा थियो, यो संविधान सांस्कृतिक अतिक्रमण मैत्री, छिमेकद्रोही र सार्वभौमिक अखण्डताको बिर्सन गर्ने दस्तावेज हो ।

तत्समयमा देखापरेको प्रायोजित राजनीतिक पागलपन (म्यानिया) को विपरीत धारका मेरो टिप्पणीलाई लिएर केही अन्तरंग मित्रहरुका ‘अशल व्यक्तिको विक्षिप्तता’ भन्ने हदसम्मका टिप्पणीहरु समेत सामाजिक सञ्जालमै आए ।

मेरा भविश्यवाणीहरु असफल हुन् भन्ने मेरो कामना थियो । म त्यसैमा खुसी हुने थिएँ । तर, त्यसो भएन । आज मेरो जुन पदार्थ थियो, त्यो अक्षरशः घटित भैरहेछ । अब भन्नुपरेन, यो भयावह स्थितिको कारक संविधानको विद्रूप कोरियोग्राफी जसले गरे, तिनै हुन् ।

पात्र-१ः गिरिजाप्रसाद कोइराला
नेपाल आमाको स्वरुप र सानलाई आफ्नो अदूरदर्शी एवं महत्वाकांक्षी उत्तेजनाले सबैभन्दा ठूलो खति पुर्‍याउने पात्र हुन् भीमसेन थापा । बहुलठ्ठी र दुर्वल मानसिकताका राजालाई उपयोग गरेर आन्तरिक शक्ति संचय गरेका भीमसेन थापाको कारणले नेपालले एक तिहाई भूमी गुमाउनु पर्‍यो ।

तर, खिएको वंशवृक्ष र मानसिक दुर्वलताको इतिहास रहेका प्रतापसिंह शाह र उनीपछिका राजाहरुको यो स्थिति हेर्दा साँच्चै नेपालको सार्वभौमिकता रहन सक्थ्यो होला । तर, जंगबहादुरको उद्देश्यले नेपालको सार्वभौम स्थिति अक्षुण रहृयो ।

जे होस् नागरिक अधिकारको कुरालाई छाड्दा राणाहरुले अंग्रेजका मुखमा १०१ वर्ष र बल्लभ भाइ पटेलका संघारमा ३ वर्ष नेपालको सार्वभौमिकतालाई धानेकै हुन् । देश नामको एउटा भूगोल राखिदिएकै हुन् ।

विसं.२००७ सालको क्रान्तिपश्चात नेपाल-भारत सम्बन्धको दरारलाई लिएर भएको स्थापित अन्योल र त्यो अन्योललाई प्रयोग गरी नेपालमा आफ्नो वर्चश्व संसारका दुई ठूला जनसंस्थामा दबावमूलक पाश्र्व शासन स्थापना गर्न चाहने पश्चिम रणनीतिक गोल चक्करमा फसेर नेपाल लाचार अस्थिरताको शिकार भएको सत्य हो ।

यसबाट कसरी मुक्ति पाउने भन्ने ठोस चिन्तन नहुनु तर अन्तरिम व्यवस्थापन गरी आफू सत्तामा आउन तिनै शक्तिसँग हुने न कुनै न कुनै सम्झौता गर्न नेपाली राजनेता र नेताहरुको समान नियति भै आएको छ । यस क्रममा को-को कति उपयोग भए भन्ने मात्र हो । यसमा न राजा महेन्द्र, न वीपीलाई नै अपवाद देख्छ यो पंक्तिकार । अरु अहिलेका भूरे टाकुरेको त कुरै छाडौं ।

तर, यो एक अर्कालाई उपयोग गर्ने क्रममा वर्तमान पतनको स्थितिमा अत्यन्त नराम्ररी उपयोग भएका पात्र हुन् गिरिजाप्रसाद कोइराला । यस पंक्तिकारको गम्भीर विश्लेषण छ, भीमसेन थापाले जसरी एक तिहाइ भूभाग गुमाए, गिरिजाप्रसादका खलकबाट वाँकी भूभाग पनि छिन्न-भिन्न पार्ने स्थिति आएको छ ।

दिल्लीमा जतिखेर बाह्रबुँदे सहमतिको दौडधुप चलिरहेको थियो त्यसबखतको दर्शक साक्षी यो लेखक स्वयं पनि हो । त्यसका सर्जकहरु छिपेका थिएनन् । भारतका सोनिया गान्धी, सीताराम एचुरी छरप्रष्ट समाजवादी ‘रअ’ प्रमुख हमिज धाएकान, जेएनयू वुद्धिजीवी एसडी मुनि र पश्चिमाहरु ।

बाह्रबुँदे सहमतिमा नेपाली कांग्रेसभित्र किसुनजी, शैलजा आचार्य, तारानाथ रानाभाट, चक्र बास्तोलाजस्ता नेता असहमत थिए भने भारतीय कांग्रेस पार्टीमा पनि करणसिंह, सतपालजी महाराजहरु असहमत थिए । तात्कालीन भारतको प्रतिपक्षी दल भाजपाका नेताहरुले त त्यसको विरुद्धमा नै वक्तव्य दिएका थिए । त्यस बखतमा अन्तिम निर्णय लिने अख्तियारी थियो गिरिजाप्रसाद कोइरालाको ।

कोइरालाले १२ बुँदेको पक्ष त लिए नै, निर्णय त्योभन्दा एक कदम अगाडि बढेर भयो । त्यसको केही सयमपछि उनको कोटको खल्तीबाट दुईबुँदे अभिशाप निस्किए, धर्म निरपेक्षता र गणतन्त्र ।

वास्तवमा बाह्रवुँदेका सुत्राधारहरुको अन्तिम लक्ष चाँहि तिनै दुई बुँदा थिए । नेपालको पतनको सुरुवात नै त्यही क्षण हो । सूत्राधारहरु नेपालको पतनको वीजलाई अरु संरक्षण गर्नुपर्ने रणनीतिमा लागेका थिए । जसअन्तर्गत एक-एक गर्दै नयाँ राजनीतिक मुद्दा र पात्रहरु निर्माण हुन थाले ।

पात्र २ः मधेसवादी दल र नेताहरु
दुईबुँदे अभिशापका विरुद्ध सबैभन्दा बढी विरोध हुनसक्ने उर्वर भूमि थियो र हो तराई मधेस । यसका विरुद्ध आन्दोलन हुनपूर्व नै मधेसलाई बहकाएर अन्यत्र मोड्नु अनिवार्य थियो सूत्रधारहरुलाई । मधेस परम्परागतरुपमा हेपिएको पनि थियो । त्यही भेदभावको भुद्दा मार्फत मधेस आन्दोलनको सरुवात गरियो । तर, उद्देश्य भने दुईबुँदे अभिशाप विरुद्ध हुन सक्ने आन्दोलनको भूमि ओगट्नु थियो ।

यसैलाई टेकेर सुत्राधारहरु गिरिजाप्रसादलाई सम्भावित ऐतिहासिक पात्रताको लालसा दिएर संघीयताको विषवीज रोप्न सहमत गराए । बाह्रबुँदे बाहिर गएर गिरिजाप्रसाद कोइरालाको खल्तीबाट निस्किएको यो तेस्रो अभिशाप थियो । जसअन्तर्गत राष्ट्र आज विघटनको संघारमा छ । आज मधेस मुद्दा पूरा सुत्रधारहरुको हातमा छ । मागहरुबारे जति छलफल र लेनदेन गरे पनि यो टुंगिनेवाला छैन ।

गिरिजाप्रसादझै मधेसी नेता पनि फसिसकेका छन् । यिनीहरुले आन्दोलन छेड्नासाथ धर्मनिरपेक्षता विरुद्ध आन्दोलन सुरु हुन्छ, जुन नेपालको सांस्कृतिक एकताको आधार पुनस्र्थापनाको प्रस्थानविन्दु हुनेछ । जुन कुरा सुत्राधारहरु पटक्कै चाहन्नन् । उनीहरुलाई अब चीन र भारतका बीचमा अर्को एउटा राष्ट्र निर्माण गरेर स्वार्थसिद्ध नगरी भएको छैन ।

अहिलेको मधेसको मुद्दाले स्पष्ट पार्दछ, यो संविधानलाई यथावत राख्ने र यसले विजारोपण गरेको विभाजनको मुद्दालाई जीवित राख्ने । र, ७ माघ, ०७४ मा यसको आयु थप्ने प्रयोजनमा एमाले कांग्रेस, माओवादीलाई पुर्‍याउने । आफू रिङ बाहिरको गोप्य समर्थक भई बसिरहने ।

पात्र ३ः कमल थापा एक प्रोक्सी नेता

सुत्राधारहरुले थोपरेका अभिसापविरुद्ध पहाडबाट पनि ठूलो विद्रोहको सम्भावना थियो । यसको त्यो भावभूमिलाई ओगट्ने नेता पनि आफ्नै चाहिएको थियो उनीहरुलाई । तत समयमा कमल थापा खेलो हराएर बसेका थिए ।

राजनीतिक इमानलाई छाड्ने हो भने कमल थापा उम्दाम व्यक्ति हुन् । उनका हातमा हिन्दु राष्ट्रवादको नारा थमाइदिनासाथ त्यस नारामा लाग्न सक्ने सबै मानिस उनको नेतृत्वमा आउन सकेनन् । उनको स्थापना सम्बन्धित आन्दोलनलाई डिफ्युज गर्ने ष्डयन्त्र अन्तरगत भएको थियो । उनलाई स्थापित हुन नै लामो समय लाग्यो । त्यत्रो लामो समयसम्म धेरैले सम्झौता पनि गरे ।

यदि कमल थापा नभएर अरु कसैले यो नारा लिएर सडकमा आएको भए त्यतिखेरै विशाल आन्दोलनको सम्भावना थियो । लामो समयपछि जब यो धार अलि स्थापित हुन थाल्यो, तब कमल थापाले यो धारलाई नै विसर्जन गरेर अहिले सेकुलारिष्ट संविधान कार्यान्वयनको अड्डी लिइरहेका छन् । यसरी हिन्दु राष्ट्रवादलाई विसर्जन गर्न भारतीय सेकुलारिष्ट र पश्चिमले कमल थापालाई प्रोक्सी नेता बनाए ।

पात्र ४ः नेपाली कम्युनिष्ट र अहिलेका केपी ओली

नेपाली कम्युनिष्ट आन्दोलन जहिले पनि प्रतिक्रियामा आधारित राजनीतिमा अडेको छ । अहिले पनि त्यो भन्दा भिन्न छैन । हरेक नेता व्यक्तिगत चरित्र र आर्थिक मामलामा मात्र हैन, विदेशी शक्ति र स्वदेशी शक्तिकेन्द्रहरुसँगको सम्बन्धमा पनि त्यतिकै अपारदर्शी छन् ।

यसले कुन बखत कुन नेता के प्रयोजनका लागि कहाँबाट सञ्चालित भएर के बोलिरहेछ, खुट्याउन कठीन छ । यिनीहरुको आजसम्मको राजनीतिको एउटा मात्र परिणति भन्नुपर्‍यो भने चाँही प्रष्ट भन्न सकिन्छ, नेपालमा अराजकता र अस्थिरताका लागि प्रयोग हुन सक्ने अचूक अस्त्र चाँही यिनीहरु नै हुन् ।

नेपालमा अराजकतामार्फत सांस्कृतिक अतिक्रमण गर्ने अनि आफ्नो उपस्थिति मार्फत दुवै छिमेकीलाई दुःख दिएर शासन गर्ने पश्चिमाहरुका वर्किङ पार्टनर देखिएका हुन् पछिल्लो अध्यायमा एकथरि कम्युनिष्ट ।

पश्चिमाहरुलाई के राम्रो थाहा छ भने नेपाल र भारतमा कम्युनिष्ट जाति मच्चिए पनि जनवादी केन्द्रीयता स्थापना हुँदैन । त्यसैले निर्माण गरेको स्वसंस्कृतिप्रतिको घृणाभाव र राजनीतिक अराजकताले उनीहरुलाई नै लाभान्वित गर्नेछ । यसैले उनीहरुले अन्तराष्ट्रिय गैसस मार्फत कम्युनिष्टलाई यथेष्ट भरणपोषण गरेका छन् र उपयोग पनि गरिरहेका छन् ।

यो सहस्राब्दीसँगै भारतको कांग्रेस नेतृत्वको शासक गठबन्धनमा आएको पश्चिम परस्तताले त्यसको कुनै मलजल गरेको छ । भनिन्छ त्यसपछि त उनीहरुको गुप्तचर संस्था ‘रअ’नै पश्चिमा ‘हनी ट्रयापिङ’ मा लागेर आधा सीआइए भैसकेको छ । भारत र पश्चिम नेपाल मामलामा एकअर्काका विपरीत रहुन्जेल नेपाल जति सुरक्षित थियो, एक ठाउँमा आएपछि त्यति नै असुरक्षित भयो ।

विगत एक डेढ दशकका राजनीतिक घटनाक्रमले त्यसलाई पुष्टि गरिहाल्छ । यसक्रममा नेपालमा कम्युनिष्टहरु धेरै उपयोग भएका हुन् ।
अहिले एउटा कम्युनिष्ट नेता केपी शर्मा ओली बाहुन राष्ट्रवादीका रुपमा प्रचारित वा सञ्जालित छन् भने अर्का कम्युनिष्ट नेता प्रचढड ‘लेन्डुप’ उपनामबाट लखेटिएका छन् । कुनै जमानका जानी दुश्मन, कुनै जमानका अपरिहार्य मित्र र अहिलेका आंशिक शत्रु, आंशिक मित्र रहेका यी दुई नेताहरु पनि तिनै शुत्राधारको निर्देशनका दुई भिन्न पात्र हुन् भन्दा पर केही प्रतीत हुन्न ।

यसमा केपीको पनि निश्चित प्रयोजन छ । अहिले उनको राष्ट्रवाद भनेको पहाडिया जे बोल्छन् त्यही भाका राष्ट्रियता हो । पहाडिया जे सोच्छन् त्यही सोच राष्ट्रियता हो इत्यादि ।

यो पहाडिया अहंकार अहिले नै आएर जसरी उत्ताउलो भाकामा बजिरहेछ, यसको एउटा अर्थ त स्पष्ट छ- मधेसी जनतामा हामीले जति गरे पनि पहाडियामा हामीलाई नेपाली नमान्दा रहेछन् र भारत नै हाम्रो आदि भूमि भन्ने मान्दा रहेछन् भन्ने पार्नु हो । यो दोयम नागरिक भै बस्नु भन्दा बाटो अलग गर्नु पर्ला कि भन्ने सोच निरन्तर बढाउनु हो ।

विश्व राजनीतिको पातलो ज्ञान, भारत र चीनको सम्बन्धबारे सतही समाइ । ताली र गालीबाट उत्तेजनामा आउने सनकी मानसिकता भएका केपी ओलीलाई उपयोग गर्न सहज पनि देखियो । मोदीका विरुद्ध नेपाललाई उपयोग गर्ने भारतीय सेकुलरिष्ट र पश्चिम गठजोडको अर्थात सूत्रधारका नेताहरुमध्येका सीताराम यचुरी, मणिशंकर ऐयर र अहिलेको संविधान निर्माणको यस लिन खोज्ने थाराकान धारको ‘रअ’ को ‘स्क्रिप्ट’लाई छुच्चो नेपाली भाषामा अनुवाद गरी देशी उखान टुक्का हालेर बक्दै हिँड्ने केपी ओलीको राष्ट्रवादी पोस्चरिङ आफैमा विडम्वनाको एउटा कडी हो ।

यो अवस्थालाई अरु उत्तेजित पार्न कांग्रेसका तर्फबाट विमलेन्द्र निधि लगायत लागेकै हुन् भने ‘पावर र पैसा’ का लागि जे पनि गर्ने पात्रका रुपमा पहिचान बनाएका प्रचण्डले आफ्नो स्वार्थका लागि केचाहिँ नगर्लान् र ? त्यसैअन्तर्गत केपीजस्तो उत्तेजनामा आइहाल्ने पात्रलाई जिस्क्याई बस्नु दुवै अस्वाभाविक नै हैनन् ।

पात्रः ५- बाहिरका शेर नेपाल नीतिमा फेल अर्थात मोदी
बाह्रवुँदे सहमति, तीनबुँदे गिरिजाको कोटबाट निस्किएका अभिशाप र त्यसकै आधारमा आएको वर्तमान संविधानप्रति असहमत व्यक्ति हुन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

नेपालको वर्तमान संविधानको नेपाल विघटन हेतु समर्थन गर्ने सूत्राधारहरु भारतमा मोदीका विरोधीहरु हुन् । तर, नेपालका प्रायः सबै राजनीतिक दलहरुका मित्र हुन् ।

यसबीच नेपालमा मोदी यति निरीह भए कि नेपाली जनताको आम सहमतिको विषयहरुको एक शव्द’हिन्दूराष्ट्र’ संविधानमा राख्न पनि उनी असफल भए । चीन, जापान, यूरोप अमेरिका सर्वत्र शंका पिट्न सफल मोदीलाई यो ठूलो प्रतिष्ठाको विषय बन्यो ।

नेपाली राजनीतिक दलको विकाउ नेतृत्व धर्म निरपेक्षता नबनाइ नछाड्ने मोदी यो शब्द देख्न नचाहने, यो लडाइमा मोदीले जति कार्य गर्दै गए त्यो उनकै लागि प्रत्युत्पादक छँदै मात्र गएन, नेपालको जनमत नै ‘हिन्दूराष्ट्रवाद’ बाट पथान्तर भएर भारत विरुद्धको भावभूभितर्फ रुपान्तरित हुँदै गयो । आजसम्म उनको केही लागेको देखिन्न । अन्ततः उनले संविधान संशोधनको सन्देश त पढाए, तर त्यो पनि प्रत्युत्पादक नै बनाइयो । उनको उद्देश्य थियो धर्मनिरपेक्षता हटाउने ।

तर, भारतका मित्र भनी प्रचारित र धर्मनिरपेक्षताका कट्टर समर्थक वर्तमान उपप्रधानमन्त्री विमलेन्द्र निधिको अनौपचारिक स्रोतद्धारा अंगीकृत नागरिकलार्य संवैधानिक पदको अवसरको कुरा सार्वजनिक भयो, जो मोदीको एजेन्डा थियो । यसरी मोदी हरेक पहलमा नेपालमा फेल भएका छन् ।

पात्र ६ः नेपाली कांग्रेस

यसै त अहिलेको अराजकताको कारण नै नेपाली कांग्रेसको असफलता हो, तथापि गिरिजाप्रसाद कोइराला पश्चातको अलमल कांग्रेस चतुरंगिणी चरणका पात्रहरुको गतिहीन मोर्चामा रुपान्तरित भएको छ ।

फाइल तस्वीर

नेपालमा कोही व्यक्ति र पार्टी नभेटिरहेका बखत मोदीले केही नेताहरुलाई दीक्षित गरेको प्रतीत हुन्छ । तर, ती यति फितला छन् कि हिन्दूराष्ट्रवादको एजेण्डा त फलाक्दै हिँडेका छन् । तर, त्यसलाई न त पार्टीको वैधानिक निकायमा, न त सरकारको निकायमा विधिवत् राख्छन् । डा. शशांक कोइराला, डा. शेखर कोइराला र खुमबहादुर खड्का वर्गमा परिहनुभएको छ ।

एकातिर संविधानको कार्यान्वयनको कुरा उठाउने र अर्कातर्फ त्यही संविधानको विशेषताप्रति असहमत हुने भनी त्यसको संशोधनको वैधानिक र राजनीतिक दुबै बाटो नहिँड्ने । यो अनौठो स्कुल निर्माण भएको छ एक थरी कांग्रेसमा ।

 

अर्कोतर्फ कृष्ण सिटौला र गगन थापा छन् । डा. शशांकले बोल्दा विरोध ल्याउने सीधा धर्मनिरपेक्षताभिरु स्कुल । यिनीहरुसँग असहमत तर धर्मनिरपेक्षधर अर्का व्यक्तिहरु छन् । अलग अलग गुटका दुई नम्बर नेता भई बसेका मिलेन्द्र नीधि र प्रकाशमान सिंह सबैभन्दा माथि शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवै अलमलमा छन् ।

अर्थात नेपाली कांग्रेस पार्टी एक संस्थाका रुपमा यी चार/पाँच धारको घुमाउनेमा घुम्दा घुम्दा अन्ततः किनारा लागको दाउरा झै भएको छ । को कहिले आइपुगेर कुन प्रयोजननलाई प्रयोग गरेर राष्ट्र जलाउने हो, कसैलाई थाहा छैन । नेपाली कांग्रेसकै कारणले यसको दृष्टिकोण विहीनता र नेताहरु अर्काका पात्र बन्ने क्रमले नेपाल राष्ट्रको विघटन न आउला भन्न सकिन्न ।

यी छ पात्रहरुको विपरीतता वा पूरकता एउटै तत्वको स्वाथ्र्य पूर्तिमा सहायक भएको छ, जुन तत्व नेपाल विघटन गराउन चाहन्छ । यहाँ अर्को राष्ट्र पनि निर्माण गर्न चाहन्छ ।

यही कमजोर राष्ट्र (हरु)लाई हतियार बनाएर चीन र भारतमा पाश्र्व शासन गर्न चाहन्छ । यसबाट बच्न अब एउटै उपाय छ- सहमतिमा यो संविधान खारेज गर्ने र अर्को अन्तरिम सरकार गठन गर्ने । अनि नयाँ राजनीतिक प्रक्रिया सुरु गर्ने, जसमा पहिले निशेधित गरिएका पक्षहरुलाई पनि सहभागी बनाउने ।

तर, यो अहिलेको जलिरहेको अवस्थामा तुरुन्त गर्न सकिने नहुन सक्छ । तसर्थ एउटा उपाय बाँकी छ, सेनाले राजनीतिक भूमिकामा आएर स्थिति नियन्त्रणमा लिई नयाँ राजनीतिक क्रमको थालनी गर्ने । अस्थिर नेपालबाट पीडित चीन र मोदी सम्म् पनि यस्तै अन्तरिम परिवर्तनलाई समर्थन गर्ने वाहेक खास विकल्प देखिन्न ।

(यो लेखकको व्यक्तिगत विचार हो ।)

लेखकको बारेमा
अरुणकुमार सुवेदी

अर्थ राजनीतिक बिषयमा बिश्लेषण गर्ने सुवेदी जलस्रोतका जानकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?