Comments Add Comment

३१ वर्षसम्म थलिएको कालिकोट विमानस्थल, अब हवाइजहाज उडाउने तयारी

अब लोकसेवामा प्रश्न सोधिँदैन, २८ वर्ष नबनेको विमानस्थल कुन हो ?

 

kalikot-airport

१४ पुस, काठमाडौं । ३१ वर्ष बित्दासम्म पनि निर्माण कार्य पूरा हुन नसकेको कालिकोट विमानस्थल आगामी माघदेखि  सञ्चालनमा आउने भएको छ ।

विसं. ०४२ सालदेखि निर्माण सुरु भएको यो विमानस्थल १२ वर्षे शसस्त्र द्वन्द तथा राजनैतिक दलका स्थानीय नेतावीचको खिचातानीका कारण ३१ वर्षसम्म पनि  निर्माण सम्पन्न हुन नसकेको स्थानीय बताउँछन् ।

कालिकोट जिल्लाको कोटबरा गाविसको सुनथराली गाउँमा बन्दै गरेको यो विमानस्थलमा माघ महिनामा टेस्ट ल्यान्डिङ गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ । त्यसलगत्तै यसमा उडान पनि थालिने छ ।

अहिले  कालिकोट विमानस्थलमा धमाधम काम भइरहेको छ । झञ्डै ८० प्रतिशत निर्माण सकिएको कालिकोट बिमानस्थल आयोजनाका अधिकारीहरु बताउँछन् ।

नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक सञ्जय गौतमका अनुसार अहिले यो आयोजनाका अधिकांश कामहरु सकिन लागेका छन् ।

गौतमले भने- ‘२८  वर्ष सम्म पनि निर्माण नसकिने नेपालको एयरपोर्ट कुन हो भनेर यसपालि लोकसेवाले नै प्रश्न सोध्यो । तर, अब यस्तो प्रश्न आउँदैन किनकी यसको निर्माण सम्पन्न हुने तयारीमा छ ।’ नागरिक उड्डयन प्राधिकरणले यसको निर्माणको जिम्मा लिएको भने अहिले २८ वर्ष पुगेको छ ।

तत्कालीन जिल्ला पञ्चायतले ०४२ सालमा यसको निर्माण गर्ने भनेर बजेट छुट्टाए पनि निर्माणकै काम भने प्राधिकरणले जिम्मा लिएपछि मात्रै सुरु भएको थियो ।

कालिकोट विमानस्थल निर्माण आयोजनाका प्रमुख रत्नबहादुर श्रेष्ठका अनुसार ६ सय ९० मिटर लामो यो बिमानस्थलमा ४ सय मिटरभन्दा बढीको काम सम्पन्न भइसकेको छ ।

नयाँ समस्याहरु तत्काल सिर्जना नभए यसको काम माघ महिनामा पूर्णरुपमा सम्पन्न हुने उनको भनाइ छ ।

लामो समय निर्माणको जिम्मा लिने ठेकेदारसमेत नपाएको यो आयोजना अहिले बल्ल निर्माण सम्पन्न गर्ने तयारीमा छ ।

सशस्त्र द्वन्द्वका समयमा ठेकेदारहरु यसको निर्माणको जिम्मा लिन डराएका थिए । कुनै पनि निर्माण कम्पनी इच्छुक नदेखिएपछि यसको निर्माण प्रक्रिया लामो समय अलपत्र भएर बस्यो ।

किन सम्पन्न हुन सकेन २८ वर्षसम्म ?

जिल्ला विकास समितिले विमानस्थल निर्माणका लागि रकम त छुट्टायो तर दुर्गम भेगमा भएका कारण इन्जिनियरहरु जानै चाहेनन् ।

प्राधिकरणका प्रवक्ता बीरेन्द्रकुमार श्रेष्ठका अनुसार उक्त विमानस्थलमा गएका कैयन इन्जिनियरहरु काममा टिक्नै सकेनन् । उनले भने-‘इन्जिनियरहरु एक पटक जान्थे तर दुर्गम भेग भएका कारण अर्काेपटक जानै चाहँदैनथे । त्यसैले पनि लामो समय यसको निर्माण अवरुद्ध भयो ।’

द्वन्द्वका समयमा माओवादीहरुले नै त्यसको निर्माण कार्य रोक्न लगाएको स्थानीयहरु बताउँछन् । स्थानीयसमेत रहेका आयोजनाका सुपरभाइजर गणेशकुमार विष्टका अनुसार द्वन्द्वका कारण ०६३ सालसम्म यसमा खासै काम नै अघि बढ्न सकेन ।

उनले भने ‘माओवादीले यो तत्काल बनाउनहुँदैन भनेर भन्ने गर्थे । साथै उनीहरुले यसलाई रोक्नसमेत भनेका  थिए, त्यसैले उक्त समयमा यसको निर्माण अघि बढेको थिएन ।

माओवादी जनयुद्धका कारण ०५८ देखि ०६३ सालसम्म यो आयोजनाको कुनै पनि काम अघि बढ्न सकेन ।

राजनैतिक दलको किचलो

विसं. ०६३ पछि स्थानीय समिति निर्माण गर्दै यो आयोजना अघि बढाउने कार्य थालियो । तर, फेरि पनि यो विमानस्थल दलहरु वीचको आन्तरिक किचलोको शिकार बन्यो । जसले यसलाई झनै थला पार्‍यो ।

‘निर्माण समितिमा विभिन्न दलका प्रतिनिधिहरुको सहभागिता गराइएको थियो । तर, दलहरुका स्थानीय प्रतिनिधिका स्वार्थहरु भिन्न भिन्न भए, जसले निर्माण गर्ने भन्दा पनि यो विमानस्थललाई थला पार्ने दिशातिर धकेल्यो ।

दलहरुका प्रतिनिधिहरुको किचलोका कारण ०७१ सालसम्म अवरुद्ध बनेको यो विमानस्थलको निर्माण ०७१ साउनदेखि अघि बढेको थियो । अहिले तत्काल भने यसलाई निर्माण गर्नका लागि कुनै अवरोध छैन ।

आयोजनाका सुपरभाइजर विष्ट भन्छन् ‘तत्काल केही नयाँ समस्या उत्पन्न नभए यो माघ महिनामा निर्माण सम्पन्न हुन्छ । अहिले यसको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment