१४ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरी ल्याइएका एक जोडी अर्नालाई पञ्चेवाजासहित स्वागत गरिएको छ ।
जंगली भैसीका रुपमा भनेर चिनिने एक जोडी अर्नालाई वन तथा भू-संरक्षण मन्त्री शंकर भण्डारीसहित संरक्षणसम्बद्ध संघसंस्था र स्थानिय संरक्षणकर्मीहरुले संयुक्त रुपमा स्वागत गरेका हुन् ।
अर्नालाई राखिएको ट्रकको अघि-अघि वन मन्त्री शंकर भण्डारी र भेषभुषासहित सजिएका थारु युवतीहरु रहेका थिए । उनीहरुको साथै पञ्चेबाजाको टोली बाजा बजाउनमा व्यस्त थियो । त्यो दृश्य देख्दा विवाह उत्सवमा जस्तो लाग्दथ्यो ।
अर्नालाई निकुञ्ज भित्र प्रवेश गराउन विवाहमा सजाइने जस्तै गरी गेट तयार पारिएको थियो । सो गेटमा बाँधिएको रातो रिवनलाई वन मन्त्री शंकर भण्डारीले काटेपछि अर्नालाई निकुज भित्र लगिएको थियो ।
भाले अर्ना ५ वर्षको रहेको छ भने पोथी अर्नाको उमेर ३ वर्ष रहेको छ ।
चितवनमा पाँच भालेसहित २० वटा अर्ना ल्याउने योजना छ । आज कोशीटप्पुमा थप एक पोथी अर्नालाई नियन्त्रणमा लिएर राखिएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए ।
कोसीटप्पुमा ४३२ अर्ना रहेका छन् । अर्ना समाउन कोसीमा ६० जनाको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया 4