२७ फागुन, काठमाडाैं । सरकारमा रहेको नेकपा माओवादी केन्द्र नै बन्द र हडतालमा उत्रिएको छ । माओवादी केन्द्रले कञ्चनपुरको आनन्दबजारमा मारिएका गोविन्द गौतम आफ्ना कार्यकर्ता भएको भन्दै हत्याको विरोधमा शुक्रबार ७ नम्बर प्रदेश बन्दको घोषणा गरेको हो ।
विहीबार नै मधेसी मोर्चाले नेपाल बन्दको घोषणा गरेका बेला माओवादीको बन्द थपिएको छ ।
कञ्चनपुरबाट दीपक उपाध्यायले दिएको जानकारी अनुसार भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले कञ्चनपुरस्थित नेपाल भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको र एकजना नेपालीको हत्या भएको विरोधमा नेकपा माओबादी केन्द्रले सात नम्बर प्रदेश वन्दको घोषणा गरेको छ ।
नेकपा माओबादी केन्द्र सात नम्बर प्रदेशका ईन्चार्ज लेखराज भट्टले विज्ञप्ति जारी गर्दै मृतक गोविन्द गौतमलाई सहिद घोषणा गर्नुपर्ने, दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने लगायतका मागहरु राखेर बन्दको आहृवान गरेका हुन् ।
बन्दका कारण सुदुरपश्चिमका सीमानाकाहरु समेत ठप्प भएका छ । महेन्द्रनगरको गड्डा चौकी नाका, धनगढीको त्रिनगरनाका र टीकापुरस्थित खक्रौला नाका बन्द भएका छन् भने बजार व्यवसाय, स्कुल तथा लामो र छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।
राजधानीमा बन्दको प्रभाव परेन, दर्जनौं बन्दकर्ता पक्राउ
यसैवीच मधेसी मोर्चासम्वद्ध संघीय गठबन्धनले शुक्रबार गरेको नेपाल बन्दको प्रभाव मधेसका जिल्लामा परेको छ । पहाडका अन्य जिल्लाहरुमा पनि बन्दको आंशिक प्रभाव परेको छ । तर, काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन ।
प्रहरीले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष र महासचिवसहित दर्जनौं कार्यकर्ताहरुलाई काठमाडौंमा गिरफ्तार गरेको छ ।
पार्टीका उपाध्यक्ष हेमराज राई र महासचिव रणध्वज कन्दङ्वासहितका नेताहरु पक्राउ परेका छन् । संघीय गठबन्धनको आव्हानमा गरिएको बन्दको क्रममा ललितपुरको पुल्चोकबाट फोरम नेपालका उपाध्यक्ष राई, महासचिब कन्दङ्वा, राजनीतिक समिति सदस्य धिरेन्द्र बहादुर श्रेष्ठ पक्राउ परेका छन् । भने केन्द्रीय सदस्य भुपेन्द्र नेम्वाङ र महेन्द्रलाल राई, लिम्बुवान प्रदेश समितिका अध्यक्ष उपेन्द्र लावती, किरात प्रदेश सम्पर्क समितिका सचिव मोहन राई र सङ्घीय सुनुवार सङ्घका संयोजक राजेन्द्र सुनुवारसहित ८ जनालाई महानगरीय प्रहरी परिसर जावलाखेलमा राखिएको छ ।
यसैगरी, बन्द गराउँदै हिँड्ने क्रममा ललितपुरको पुल्चोकबाट फोरम नेपालका केन्द्रीय सचिव अजम्बर राई काङमाङ, केन्द्रीय सदस्यहरु शाक्य सुरेन, पूर्णबहादुर बस्नेत र बिष्णुजङ बस्नेत, कृष्णभक्त डङ्गोल, चन्द्र महर्जन, मगरात किरण, अश्तेन्द्र महर्जन, किर्ति लब, रमण राई र अर्जुन राईसमेत गरी ११ जना पक्राउ परेको पफोरमले जनाएको छ ।
त्यस्तै महाराजगञ्जबाट जय गोले, केदार घले,सञ्चवीर तामाङ, पासाङ तामाङ, अस्मिता तामाङसमेत गरी १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलार्इ महानगरिय प्रहरी परिसर महाराजगञ्जमा राखिएको छ ।
त्यसैगरी, भक्तपुरबाट फोरम नेपालका केन्द्रीय सदस्य कृष्ण बहादुर घजु र जिल्ला सचिव श्याम शिल्पकार सहित ९ जनालार्इ प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया 4