Comments Add Comment

दिल्लीमा गृहमन्त्री निधिले मोदीलाई भेट्ने, सोनिया र राहुल पनि सूचीमा

आतंकवाद प्रतिवादको बैठकमा भाग लिन जाँदा राजनीतिक भेटघाट हुने

३० फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको मिति टुंगो लागेकै दिन सोमबार गृहमन्त्री विमलेन्द्र निधि दिल्ली जाने संयोग जुरेको छ । मंगलबारदेखि दिल्लीमा सुरु हुने आतंकवाद प्रतिवाद सम्बन्धी बैठकमा सहभागी हुन त्यसतर्फ लागेका गृहमन्त्री निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च राजनीतिक नेतृत्वसँग भेट गर्ने कार्यक्रम छ ।

गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री निधिले आतंकवाद नियन्त्रण सम्बन्धी बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने समय तय भइसकेको गृह स्रोतले जनाएको छ ।
त्यसैगरी मन्त्री निधिले भारतीय समकक्षी राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, बिजेपी नेता अमित शाहका साथै भारतीय कांग्रेसका सोनिया गान्धी र राहुल गान्धीसँग भेट गर्ने समय तालिका तय भइसकेको छ ।
राष्ट्रपति प्रणव मुखर्जीसँगको भेट भने निश्चित भइनसकेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले अनलाइनखबरलाई बताए ।

पछिल्लो समयमा नेपालको राजनीतिक अवस्थाबारे भारतले स्पष्ट प्रतिक्रिया दिएको छैन । विशेष गरी स्थानीय तहको चुनाव गर्ने सरकारको घोषणालाई भारतले खुलेर स्वागत गरेको छैन । मधेसको समस्या समाधान नगरी चुनाव सफल नहुने भारतीय पक्षको अनौपचारिक प्रतिक्रिया आउने गरेको छ ।

त्यसैगरी पछिल्लो साता कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट नेपालीको मृत्यु भएको घटनाले नेपाल भारतबीच तनाव उत्पन्न भएको छ । र, नेपालमा भारतविरोधी भावना बढेको छ । यस्तो बेलामा नेपालका गृहमन्त्री निधिले भारतीय नेताहरुसँग गर्न लागेको भेटलाई अर्थपूर्णरुपमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment