४ चैत, काठमाडौं । नयाँ संरचना अनुसार नगरपालिकाको कार्यकारी प्रमुख तोक्ने विषयमा स्थानीय विकास मन्त्रालयमा विवाद चर्किएको छ । यही विवादले गर्दा सरकारले गाउँपालिकाका प्रमुखहरु मात्रै तोकेको छ ।
निर्वाचन आयोगले चैत ३ गतेभित्र कर्मचारी सरुवा गरिसक्न निर्देशन दिए पनि उपप्रधानमन्त्री थापाका प्रमुख राजनीतिक सल्लाहकार बर्तौलाको हस्तक्षेपका कारण अहिलेसम्म सुची मिलाउन नसकेको मन्त्रालय स्रोतको गुनासो छ । बर्तौलाले केही महिनाअघि मात्रै सरुवा भएर गएका उपसचिवलाई समेत सरुवा गर्न रुची राखेको र सचिवले अस्वीकार गर्दा समस्या बढेको स्रोतको गुनासो छ ।
कार्यदलको सूची एकातिर, सचिवालय अर्कातिर
आन्तरिक कर्मचारी प्रशासन महाशाखा प्रमुख चक्रबहादुर बुढा नेतृत्वको कार्यदलले तयार पारेको उपसचिवको सूचिलाई मन्त्रीको सचिवालयले अस्वीकृत गरेको कर्मचारीहरुले गुनासो गरेका हुन् ।
कार्यदलले बुधबार नै २४६ नगरपालिका प्रमुखका रुपमा खटाउने उपसचिवहरुको सुची तयार पारी सचिवलाई बुझाएको थियो । उक्त सुची सचिव केदारबहादुर अधिकारीले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापालाई बुझाएका थिए ।
सचिवले बुझाएको सूची कार्यान्वयनमा स्थानीय विकासमन्त्री कमल थापाको सचिवालयले हस्तक्षेप गरेको आरोप कर्मचारीहरुको छ ।
तर, उपप्रधानमन्त्री कमल थापाका निजी सचिव विरेन्द्र भारतीले भने आफूहरुबाट हस्तक्षेप भएको अस्वीकार गरे । उनले भने, ठूलो सरुवा भएकाले कति प्रगति भइरहेको छ भनेर समय-समयमा बुझ्न जाने गरेको हो, तर हस्तक्षेप गरेको छैन ।
सहयोग गरिदिनु पर्यो भन्दै मन्त्रीको सचिवालयमा आउनेहरुको नामावली कार्यदललाई बुझाइएको भारतीले बताएका छन् ।
स्थानीय विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको ४८१ गाउँपालिका प्रमुखहरुमध्ये केहीको नाम दोहोरो परेको छ । मन्त्रीका निजी सचिव भारतीका अनुसार एकै व्यक्तिका नाम दुईवटा गाउँपालिका प्रमुखको रुपमा पर्न गएको छ ।
मन्त्रालयले त्यस्तो सूची समेत सच्याउन गृहकार्य गरेको निजी सचिव भारतीले अनलाइनखबरलाई बताए ।
कर्मचारी भन्छन्- हस्तक्षेप भयो
कार्यदलका एक अधिकारीले भने ‘मन्त्रीको सचिवालयबाट हस्तक्षेप हुँदा समयमा काम गर्न नसकिएको बताएका छन् । उनले भने, ‘सामान्य चासो त स्वाभाविक हो, तर कार्यदलले तयार पारेको सुची नै अस्वीकार गरेर अर्को सुची बनाउने काम भयो ।
उक्त स्रोतका अनुसार उपप्रधानमन्त्री थापाका प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त सहमहामन्त्री राजाराम बर्तौलाले कर्मचारी सरुवामा हस्तक्षेप गरेका हुन् । ती अधिकारीले भने, उपसचिवहरुलाई नगरपालिकामा खटाएर उपसचिव नपुग भएका नगरपालिकामा बरिष्ठ अधिकृतहरु खटाउने गरी गृहकार्य गरेका थियौँ, तर, नगरपालिकाको कार्यकारी प्रमुखमा मन्त्रीको सचिवालयको बढी चासो हुँदा गाउँपालिका मात्रै टुंग्यायौँ ।
हस्तक्षेप गरेको छैनः बर्तौला
यसैवीच कार्यदलको सिफारिस कार्यान्वयन हुन नदिएको आरोप लागेका बर्तौलाले मन्त्री थापाको यसबारे कुनै चासो नरहेको बताए । उनले यसबारे चलेको हल्ला निराधार भएको अनलाइनखबरलाई प्रतिक्रिया दिए ।
सचिव आफैँ कार्यदलमा
तोकिएको समयसम्म पनि कर्मचारी खटाउन नसकेपछि मन्त्रालयका सचिव केदारबहादुर अधिकारी आफैं कार्यदलसँगै गृहकार्यमा खटिएका छन् । यसअघि गत असोजमा स्थानीय विकास अधिकारीको सरुवामा पनि बाहिरी हस्तक्षेप भएपछि सचिव अधिकारीले हस्तक्षेप गरेर सुची टुंग्याएका थिए ।

प्रतिक्रिया 4