Comments Add Comment

नाम कमाउन उपन्यास लेखेको होइनः शिखर घिमिरे

लेखक/पत्रकार शिखर घिमिरेको उपन्यास अवतारचैतको अन्तिम साता सार्वजनिक हुँदै छ । सामाजिकराजनीतिक विषयमा केन्द्रित भनिएको उपन्यास अहिले बजारमा आइरहेका उपन्यासभन्दा फरक हुने लेखकको दाबी
उपन्यासमा खास के छ र किन लेखियो भन्ने विषयमा घिमिरेसँग गरिएको कुराकानी:

पछिल्लो समय नेपाली साहित्य बजारमा उपन्यासको बाढी छ । अब तपाईं पनि यही भीडमा मिसिँदै हुनुहुन्छ । नाम कमाउन उपन्यास लेख्नुभएको हो कि सजिलो काम ठानेर ?

उपन्यास लेख्नु पक्कै सजिलो काम होइन । तर, पछिल्ला १० वर्षमा जसरी उपन्यास भनेर बजारमा पुस्तकहरु आइरहेका छन्, त्यसबाट आम सोचाइ उपन्यास लेखन सजिलो हुन्छ होला भन्नेमा केन्द्रित हुनु स्वाभाविक हो । मलाई चाहिँ उपन्यास लेख्नु सजिलो काम हो भन्ने लाग्दैन । यसमा विषयवस्तुमा फोकस हुन सक्ने ज्ञान, क्षमता र विशिष्टता चाहिन्छ नै, सँगसँगै स्टोरी टेलिङमा पनि एउटा फरकपना दिन सक्नुपर्छ । यसको अर्थ के होइन भने साहित्यका अरु विधा सजिलै सिर्जना गर्न सकिन्छ, उपन्यास लेख्न मात्रै गाह्रो छ । सबै विधाका आ–आफ्ना विशेषता छन् ।

मेरो विचारमा उपन्यास लेखन एउटा सिर्जना हो, जुन पढिसकेपछि एटा पाठकलाई सोच्न र आफ्नो विचार दिन बाध्य बनाउँछ । अर्को कुरा, मैले नाम कमाउनका लागि उपन्यास लेखेको होइन । उपन्यास लेखन त मेरो इन्स्टिंक्ट हो, प्यासन हो । बजारमा केही मानिसले नाम सुनून् भन्ने भएको भए मसँग अरु उपाय थिए, म त्यसैमा केन्द्रित हुने थिएँ । जस्तो कि सामाजिक सञ्जालमा जथाभावी नेतालाई गाली गरेर, अरुको टिप्पणी गरेर, अरुलाई मानमर्दन गरेर, भीडको वहाबतिर आफू केन्द्रित भएर केही लेख्न सक्थेँ । तर, म यी सब कुराबाट अलग छु ।

केही समययता पत्रकारहरु भटाभट उपन्यासकार बनिरहेका छन् । तपाईं पनि लामो समयदेखि पत्रकारितामा आबद्ध हुनुहुन्छ । पत्रकारिता र उपन्यास लेखनबीचको सम्बन्ध खासमा के हो ?

पत्रकारिता र उपन्यास लेखन एक–आपसमा जोडिएका विषय हुन् । हामी जो पत्रकारिता प्राक्टिस गरिरहेका छौं, हामीसँग लेख्नका लागि विषय आफैं ठोक्किएर आइरहेका हुन्छन् । फेरि पत्रकारिता गर्नु भनेकै लेख्नु हो ।

उपन्यास लेखन र पत्रकारितामा चाहिँ फरक भनेको एउटै कुरा हो– फ्याक्ट । हेर्नुस्, समाचारमा एउटा मात्र तथ्यांक वा तथ्य गल्ती भयो भने त्यो समाचारको काम हुँदैन । अनि उपन्यासमा चाहिँ एउटामात्र तथ्यांक वा तथ्य सही भयो भने त्यसले पुरै उपन्यासलाई न्याय गर्छ । केही समयअघि मैले मार्खेजको एउटा अन्तर्वार्ता पढेको थिएँ, त्यसमा उनले भनेका थिए– म पत्रकारितामा थिइनँ भने सायद उपन्यास पनि लेख्ने थिइनँ । मार्खेजको यो भनाइसँग म आफूलाई अत्यन्त नजिक पाउँछु ।

बजारमा आएका अन्य उपन्यासभन्दा के फरक छ तपाईंको अवतार ?

विषयवस्तु, राइटिङ स्टायल, कथा भन्ने शैली– न्यारेसन, यसको प्लट, सेटिङ सबै कुरा फरक गर्ने प्रयास गरेको छु । र, यो दाबी मैले पछिल्लो समय नेपाली आख्यानहरु पढिरहेको आधारमा गरेको हुँ । कम्तीमा पनि पछिल्ला १२ वर्ष यता छापिएका र काठमाडौंका पसलमा पाइने नेपाली उपन्यास मैले पढेको छु वा सरसर्ती एकपटक नै भए पनि पाना पल्टाएको छु । र, यी सबैमा मैले त्यस्तो तात्विक भिन्नता पाएको छैन । यसको अर्थ अहिले लेखिएका उपन्यास सबै नराम्र्रा छन् भन्ने पनि होइन, मैले त एउटा शैलीको कुरामात्र गरेको हुँ ।
कुनै समय कथाहरुको सुरुवात ‘एकादेशमा…’बाट हुन्थ्यो । त्यसपछि केही परिवर्तन आयो । तर, हाम्रो आख्यान लेखन ५० को दशकमा वा त्यसअघि जस्तो थियो, त्यस्तै छ । हो, केही विषयमाथि थप अध्ययन गरेर लेख्न थालिएको छ, भाषा निखारिएको छ । तर, हाम्रो आख्यान लेखनमा पर्याप्त प्रयोग भएका छैनन् । हिजो लेखिएका ‘पागल बस्ती’, ‘शिरीषको फूल’, ‘लङ्गडाको साथी’, ‘घामका पाइला’, ‘अलिखित’ लगायतका पुस्तककै शैली र अहिले लेखिएका उपन्यासमा त्यति ठूलो भिन्नता छैन । गुरुप्रसाद मैनाली, पुष्कर शम्शेरहरुकै शैलीमा अहिले पनि आख्यान लेखिएको छ । झन् अहिले आख्यानमा यौन, दुःख र आत्मालापलाई प्राथमिकता दिइएको छ,
त्यसैले अहिलेको समग्र आख्यान लेखनबाट म आफू पूर्ण सन्तुष्ट छैन । अनि पुस्तक पसलमा पुग्दा मैले सोचेको जस्तो वा चाहेको जस्तो पुस्तक भेटेको छैन, त्यसैले मैले अवतार लेखेको हुँ र यसमा मैले नयाँ प्रयोग गर्न खोजेको छु ।

आजभोलि त टार्गेट ग्रुप तोक्ने र उपन्यास बजारमा ल्याउने चलन छ । अवतारको टार्गेट चाहिँ कुन उमेरसमूह हो ?

म साहित्य एउटा समूहलाई टार्गेट गरेर लेखिने कुरा हो भन्ने मान्न तयार छैन । प्रकाशकहरुले पनि पुस्तक प्रवद्र्धनका लागि यसरी एउटा समूह तोकेर प्रचार गर्नु पनि गलत हो । साहित्य त सबैका लागि हुन्छ, सबैले पढ्नु पर्छ ।

पछिल्लो समय कतिसम्म प्रचार गर्न थालिएको छ भने यो पुस्तक डाक्टरहरुले पढ्नैपर्ने, यो इन्जिनियरहरुले, यो एसइई दिएकाले, यो प्लस टु सकेकाले, यो युवाले पढ्नुपर्ने पुस्तक हो भनिन्छ । मलाई त साहित्यिक सिर्जना सबैले पढ्नुपर्छ भन्ने लाग्छ, कुनै उमेरसमूहलाई तोकिनु हुँदैन । ‘अवतार’ कुनै एउटा पात्रको जीवनमाथि केन्द्रित भएर उसका दुःख र सुख, जीवनका अनेक चरणलाई वर्णन गरिएको उपन्यास होइन । त्यसैले पनि यो उपन्यासको पठन अहिले निकै फरक होला भन्ने मलाई विश्वास छ । म त चाहन्छु, पुस्तकप्रेमी सबैले यो पुस्तक पढ्नुहोस् र आफूलाई लागेको कुरा पनि सेयर गर्नुहोस् ।

तपाईंलाई के कुराले अवतार लेख्न प्रेरित गर्‍यो ?

हाम्रै समाजका घटना, हाम्रो राजनीति र हाम्रो जीवनले । मैले अवतारमा लेखेका कुरा पनि यीनै हुन् । उपन्यासमा राजनीति आएको छ, उपन्यासमा जीवन र हाम्रो समाज आएको छ । हाम्रो समाजमा भएका अनेक कथाहरु आएका छन्, राजनीतिका षडयन्त्र आएको छ । यो उपन्यास राजनीतिप्रति ‘सटायर’ हो, यसले हाम्रो जीवनमा पारेको प्रभावबारे मेरो एनलाइसिस हो । यो लेख्न मलाई उत्प्रेरित गरेको चाहिँ अहिलेको समयले हो र मैले कस्तो किताब पढ्न चाहन्छु भन्ने मेरो आफ्नै रुचीका कारण हो ।

यो उपन्यासमा मैले हामीले बाँचेको समय र जीवन लेखेको छु तर जीवनलाई सरसर्ती वर्णन गरेको छैन । यसमा मैले आफ्नो कल्पना प्रयोग गरेको छु । मलाई लाग्छ– सरसर्ती जीवन त लेख्न सकिन्छ, तर एक जनाको कल्पना चाहिँ वा उसले देख्ने सपना चाहिँ ऊ स्वयं बाहेक अरुले लेख्न सक्दैन । त्यसैले, यसमा मैले मेरो परिकल्पना लेख्ने प्रयास गरेको छु, मेरो कल्पना सबैलाई रुचिपूर्वक प्रस्तुत गर्ने जमर्को गरेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment