Comments Add Comment

छोराछोरी कसरी हुर्काउने ? अभिनेत्री सञ्चिता लुइँटेलको टिप्स

बालबच्चालाई हुर्काउने, कस्तो संस्कार दिने ?

अभिनेत्री सञ्चिता लुइँटेलको जीवनलाई हेर्ने र बुझ्ने दुई पाटा छन् । उनको एउटा पाटो चमक दमकपूर्ण छ । अर्को पाटोमा उनी सौम्य छिन् । पहिलो पाटोमा सञ्चिता रंगीन दुनियाँकी ‘क्युट’ र ‘इनोसेन्ट’ हिरोइन हुन् । अर्को पाटोमा उनी सादगी जीवनभित्र ‘ममतावती आमा’ हुन् ।

फिल्मको सेड्युल अनुसार डोरिने दैनिकीबीच उनले छोराछोरीसँग ‘क्वालिटी टाइम’ बिताइरहेकी छिन् । त्यसैले त उनीहरुले आमाको न्यानो स्पर्शबाट बिमुख हुनु परेको छैन । वालवच्चाले छातीमा टाँसिएर आमाको न्यानो सास महसुस गर्न पाएका छन्, तिनै हातहरुले पकाएको जाउलो खाएका छन् ।

सञ्चिताका दुई सन्तान छन्, एक बर्षको अन्तरालमा जन्मिएका । छोरा अर्थर पाँच बर्षका भए, छोरी सान्वी चार बर्षकी । आर्थव र सान्वी युरो किड्समा पढ्छन् । सञ्चितासँग दोहोरो जिम्मेवारी छ, एकातिर लालाबाला हुर्काउने र अर्कोतिर आफ्नो करियरलाई अघि बढाउने ।

लामो बिश्रामपछि उनी रजतपटमा फर्किएकी हुन् । कहिले स्क्रिप्ट अध्ययन, कहिले सुटिङ त कहिले डबिङले बेफुर्सदिलो बनाउँछ । आफूलाई ‘फिट एन्ड फाइन’ राख्न जिम धाउनुपर्छ, स्पा लिनुपर्छ । सन्तुलित भोजन लिनैपर्‍यो । फेसन कन्सस हुनैपर्‍यो ।

 

सञ्चिताले जतिसुकै धपेडीबीच पनि छोराछोरीसँग समय साझेदार गरिरहेकी छिन् । उनीहरुलाई ख्वाउने, खेलाउने मात्र होइन, स्वास्थ्य जीवनशैलीमा डोहोर्‍याउने र संस्कार दिने काममा पनि पोख्त देखिएकी छिन्, सञ्चिता ।

त्यतिमात्र कहाँ हो र ? छोराछोरीलाई कसरी स्याहार्ने, कसरी हुर्काउने, कसरी पढाउने, कसरी राम्रो संस्कार दिने भनी ‘प्यारेन्टिङ टिप्स’ बाँडिरहेकी हुन्छिन् ।

अनलाइनखबरले यसपालि सञ्चिताको अभिनय र करियरलाई छाडेर बालबच्चाको लालनपालन सम्बन्धी कुराकानी गरेको थियो । पढौं, उनकै भाषामा:

मेरो बच्चा के चाहन्छ ?

यदाकदा मेरो बच्चाले भन्छ, ‘आमा म आज स्कुल जान्न ।’

‘हुन्छ’ म सहजै स्वीकृति दिन्छु ।

जबरजस्ती गरेर उसलाई स्कुल पठाउदिनँ ।

अर्को दिन भन्छ, ‘आमा आज पनि मलाई स्कुल जान मन लागेन ।’ फेरि पनि म उसैगरी उसलाई घरमा बस्ने सहर्ष अनुमति दिन्छु । दिनभर खेल्छ । रमाउँछ । टीभी हेर्छ । अनि म फकाएर सोध्छु, ‘किन तिमीलाई स्कुल जान मन नलागेको हो ?’

बच्चाले केही कारण बताउन सक्छ । भलै त्यो ठूलो कारण नहुन सक्छ । जस्तो कि, त्यसदिन उनलाई खेल्न मन लाग्यो । वा, अल्छी लाग्यो । तेस्रो दिन उनी आफै भन्छ, ‘आमा म आज स्कुल जान्छु है ।’

कहिले काहीँ जंकफूड खाने इच्छा गर्छन् । म उनीहरुलाई गाली गरेर, तर्साएर, डर देखाएर त्यसबाट पन्छिने गर्दिनँ । बरु, खान इच्छा गरेको कुरा किनिदिन्छु ।

बच्चालाई कुनै दिन स्कुल जाने मुड चल्दैन, कहिले जंक फूड खान मन लाग्छ, जो स्वाभाविक हो । जबरस्ती स्कुल जानैपर्छ भन्नु, जंकफूड खानै नदिनु मलाई उचित लाग्दैन । बरु, उनीहरुलाई स्कुल जानुको फाइदा र बेफाइदा, जंक फूड खानु र नखानुको असर बताइदिन्छु । अहिलेका बच्चाहरु आफैं समझदार छन् । उनीहरुले हामीले भनेको कुरालाई राम्ररी ग्रहण गर्न सक्षम छन् ।

किन बच्चाले जंकफूड खान्छन् ?

जब बच्चा राम्ररी अघाएको छ । उसलाई कुनै शारीरिक समस्या छैन भने मस्त खेल्नमा तल्लीन हुन्छन् । उनीहरुको ध्यान अन्यत्र मोडिँदैन । तर, जब भोक लाग्छ, तब उनीहरुको मस्तिष्कमा खेल्ने भन्दा खानेकुराको स्मरण हुन थाल्छ । उनीहरु मीठामीठा खानेकुरा सम्झन थाल्छन् । खासगरी बजारमा पाइने खानेकुरामा उनीहरुको मन लोभिन्छ । अनि, जंकफूड डिमान्ड गर्छन् ।

यदि उनीहरुलाई भोक लाग्ने अवस्था सिर्जना नगर्ने हो भने जंकफूडमा ध्यान नै जाँदैन । त्यसैले बेला-बेला आफैंले बनाएको खानेकुरा ख्वाउने, फलफूल ख्वाउने, जुस ख्वाउने गर्नुपर्छ ।

उपदेश दिने होइन, उदाहरण बन्नुहोस्

बच्चालाई त्यो गर्नुपर्छ, यो गर्नु हुँदैन भनेर म कहिल्यै भन्दिनँ । उनीहरु जे गर्छन्, त्यसमा स्वातन्त्र छाडिदिन्छु । किनभने बच्चालाई उपदेश दिएर बदल्ने विधि सही होजस्तो लाग्दैन । बरु, उनीहरुका लागि आफैं उदाहरण बन्ने हो ।

जस्तो कि, बिहान उठेपछि म आफै मनतातो पानी पिउँछु । उनीहरु मलाई देखेर त्यसै गर्न खोज्छन् । ब्रेकफास्ट लिन्छु । ब्रस गर्छु । उनीहरु मलाई पच्छ्याउँछन् । मैले जे गर्छु, उनीहरु त्यही गर्छन् । यसरी थाहै नपाई उनीहरुले राम्रो बानी अनुसरण गर्न थाल्छन् ।

खाना कसरी खाने, खाइसकेपछि के गर्ने जस्ता कुरा आफैंले गर्ने हो । उनीहरुलाई आफ्नो पुस्तक मिलाउने, लुगाहरु जथाभावी नफ्याल्ने, पेन्सिल, कपी व्यवस्थित राख्ने, खाना खाइसकेपछि थाल उठाउने जस्तो कुरामा हामीले आफुलाई उदाहरणको रुपमा पेश गरेर अभ्यस्त बनाउनु पर्छ ।

किन मेरा निम्ति बालबच्चा बोझिलो छैन ?

मेरो छोराछोरी बिहान पाँच बजे उठिसक्छन् । सूर्योदयअघि उठ्ने बानीले उनीहरुलाई स्वास्थ्य बनाउँछ । किनभने यतिबेला वायुमण्डलमा वहने हावा एकदमै स्वास्थ्यवर्द्धक हुन्छ भनिन्छ । यसलाई प्राणवायु पनि भनिदो रहेछ ।

बिहान पाँच बजे उठेपछि उनीहरु वाथरुम जान्छन्, फ्रेस हुन्छन् । त्यसपछि मनतातो पानी पिउँछन् । ब्रेकफास्ट लिन्छन् । यहि समयमा मैले उनीहरुसँग धेरै समय बिताउन पाउँछु । जब, उनीहरु स्कुल जान्छन्, त्यसपछि चार बजेसम्म म एकदमै फुर्सदिलो हुन्छ । अर्थात त्यो समयावधीमा म आफ्नो लागि खर्च गर्न सक्छु ।

चार बजे स्कुलबाट बच्चाहरु आउँछन् । आउनसाथ छोरी होमवर्क गर्न रुचाउँछन्, बाबुचाहिँ खेल्न मन गर्छ । ६ बजेको सेरोफेरोमा उनीहरुलाई खानेकुरा ख्वाइन्छ । त्यसपछि साढे सात बजे ओछ्यानमा पुग्छन् र निदाइ पनि हाल्छन् । अब ७ बजेपछिको समयमा म फ्रि  हुन्छु । जिम जाने हो कि, अरु भेटघाट गर्ने हो, म आफ्नो इच्छा अनुसार हिँड्न सक्छु । कसैले बाधा गर्दैन ।

यसरी मैले सानैदेखि छोराछोरीलाई नियमित दिनचर्यामा बानी गराएको छु । उनीहरु ठीक समयमा उठ्छन्, ठीक समयमा खान्छन्, ठीक समयमा खेल्छन्, ठीक समयमा पढ्छन् र ठीक समयमा सुत्छन् । उनीहरुको यही बानीले गर्दा मलाई आफ्नो निम्ति समय व्यवस्थापन गर्न सजिलो भएको छ ।

बच्चालाई आमा हुनुको महसुस गराउनुहोस्

धेरैले सोध्छन्, ‘तपाई सेलिब्रेटीहरुको त घरमा काम गर्ने मान्छे होलान् । छोराछोरीहरु उनीहरुले स्यार्छन् होला । खानेकुरा बनाउने, घर सफा गर्ने, लुगाफाटो धुने केही गर्नुपर्दैन होला है ?’

उहाँहरुले बुझेको भन्दा अलि भिन्न छ, हामी नेपाली कलाकारहरुको अवस्था । हो, छोराछोरीलाई ख्वाउने, पिलाउने, स्यहार्ने मान्छे राख्न नसकिने होइन । तर, छोराछोरीलाई आमाबुवाको उपस्थिति कति महत्वपूर्ण र अपरिहार्य हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ ।

जतिसुकै माया गरे पनि, जतिसुकै केयर गरे पनि आफ्नो आमाबुवाको सामीप्यता अरुबाट पाउन सक्दैनन्, छोराछोरीले । आफू व्यस्त भइयो भनेर छोराछोरीबाट अलग हुँदा त्यसले उनीहरुमा मनोवैज्ञानिक असर परिरहेको हुन्छ ।

म कहिल्यै आफ्ना कारणले छोराछोरीको खुसी गुमाउन चाहन्न । म त उनीहरुसँग खेल्छु, उनीहरुसँग खान्छु, उनीहरुसँगै रमाउँछु । छोराछोरीलाई आफ्नै हातले खानेकुरा बनाएर ख्वाउन कति नै गाह्रो हो र ?

बच्चालाई बच्चा जस्तै हुन दिनुहोस्

आफूलाई भुलेर म कहिले काहिँ बच्चा जस्तै हुन्छु । उनीहरुसँग यति धेरै संगत गरेकी छु कि, कार्टुनमा रमाउन सक्छु । चकलेटको स्वाद लिन सक्छु ।
बच्चाहरुलाई बर्थ डे सेलिब्रेसन गरेको असाध्यै मन पर्छ । त्यसमा उनीहरु उन्मुक्त रमाउन सक्छन् । त्यसैले म केक काटिदिन्छु ।
छिमेकमा कसैको बर्थ डे छ भने बरु म आफैं केक बोकेर बच्चाहरु डोहोर्‍याउँदै त्यहाँ पुग्छु । केक काट्दा मेरो छोराछोरी खुसी हुन्छन् ।
बच्चाले खेलौना छरपस्ट पार्छन् । कुनै बिगार्छन् । कुनै तोड्छन् । यो उनीहरुको बालसुलभ चञ्चलता हो, जसले उनीहरुलाई बच्चाजस्तै बनाउँछ । प्रकृतिले नै बच्चालाई बच्चाजस्तै बनाएको हो । त्यसमा जबरजस्ती अभिभावक हावी हुनुहुँदैन । हामीले यो मात्र गर, यसो नगर भनेर उनीहरुमाथि नियन्त्रण गर्ने भन्दा पनि के गर्दा राम्रो र के गर्दा नराम्रो भन्ने कुरा महसुस गराउनुपर्छ ।

आमाबुवाको करियरमा बाधक होइनन्, बच्चा

साना दुई छोराछोरीलाई ख्वाउने, पिलाउने, खेलाउने गरेर पनि मसँग आफ्नो लागि समय छ । म केवल बच्चाका लागि तल्लीन भएर धाईआमा जस्तो हुन सक्दिनँ । किनभने मेरो आफ्नै जीवन छ । र, मैले आफ्नो जीवन पनि बाँच्नुपर्छ ।

तर, करियरको दौडमा लागेर छोराछोरीलाई बेवास्ता गर्ने होइन । दुबैलाई सन्तुलित ढंगले अगाडि बढाउनुपर्छ । अक्सर महिलाहरु आमा भएपछि आफूलाई भुलेर छोराछोरीको पछि लागिरहेका हुन्छन् । त्यसले गर्दा उनीहरुमा दिक्दारी पैदा गर्छ । आफ्नै सन्तान बोझिलो लाग्छ ।
हरेक आमाको आफ्नो इच्छा हुन्छ, आंकाक्षा हुन्छ, रहरहरु हुन्छन् ।

छोराछोरी जन्माएपछि त्यसलाई त्याग्नुपर्छ भन्ने छैन । कतिले ठान्छन्, छोराछोरी हुर्काउने चक्करमा आफ्नै करियर ध्वस्त हुने हो कि । तर, छोराछोरी त्यस्तो बाधक होइनन्, जो हामी ठान्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment