Comments Add Comment

आन्तरिक उडानको प्रतिस्पर्धामा बुद्ध एयर अगाडि, नेवानि ५ औं स्थानमा


१२ बैशाख, काठमाडौं । आन्तरिक उडान भर्ने विमान कम्पनीहरुको प्रतिस्पर्धामा बुद्ध एयरले अरुलाई उछिनेको छ । सन् २०१६ मा सबैभन्दा बढी उडान भर्ने विमान कम्पनीको सुचीमा बुद्ध एयर पहिलो स्थानमा रहेको हो ।

त्रिभुवन विमानस्थलका अनुसार सन् २०१६ मा यस कम्पनीले २३ हजार ९ सय ७९ पटक उडान भरेको छ । सन् २०१५ मा यसले १८ हजार ३ सय ७५ पटक उडान भरेको थियो । सन् २०१५ मा पनि बुद्ध एयर नै सबैभन्दा बढी उडान भर्ने कम्पनीमा रहेको थियो ।

राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी नेपाल बायुसेवा निगम भने सबैभन्दा बढी उडान गर्ने कम्पनीमा ५ औ स्थानमा रहेको छ । त्रिभुवन विमानस्थलका अनुसार सन् २०१५ मा निगमले २ हजार ८ सय ९ पटक उडान भरेकोमा २०१६ मा २ हजार ५ सय ६० पटक उडान भरेको छ ।

सन् २०१६ मा आफ्नो उडान संख्या बढाए पनि अन्य विमान कम्पनीहरुको तुलनामा सरकारी विमान कम्पनीको बिजनेस सानो देखिएको छ ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशी बुद्ध एयरका विमान धेरै र सिट संख्या पनि बढस् भएका कारण यसको बिजनेश अन्यको भन्दा ठुलो भएको बताउँछन् । उनकाअनुसार अहिले बुद्ध एयरसँग ९ वटा विमान छन् । यसमध्ये ४ वटा ७० सिटका, ३ वटा ४७ सिटका र २ वटा १८ सिटका छन् ।

जोशीले भने ‘हामी उडान संख्या मात्रै नभई यात्रुलाई सेवा पुर्‍यउनेमा पनि सबैभन्दा अगाडि छाैं, आन्तरिक उडानको बजारमा हाम्रंो ५५ प्रतिशत हिस्सा छ ।’

अहिले बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, बिराटनगर, जनकपुर, सिमरा, भक्तपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्ने गरेको छ । माउन्टेन फ्लाइट बाहेक भने यसले शहरी क्षेत्रमा नै उडान गर्ने गरेको छ । पहाडी क्षेत्रमा यसको उडान छैन । शहरी क्षेत्रमा उडान गर्ने र सिट संख्या पनि बढी भएका कारण यसको बिजनेश हिस्सा ठुलो भएको देखिन्छ ।

सबैभन्दा बढि उडान भर्ने विमान कम्पनीहरुको दोस्रो सुचिमा यती एयरलाइन्स रहेको छ । यसका ६ वटा विमान छन् । सबैको सिट संख्या २९ मात्रै छ । त्रिभुवन विमानस्थलका अनुसार यती एयरलाइन्सले सन् २०१६ मा १८ हजार १ सय ९० पटक उडान भरेेको छ । सन् २०१५ मा भने यसले १४ हजार १ सय ८४ पटक उडान भरेको थियो ।

बुद्ध एयर र यती एयरलाइन्सको तुलनामा अन्यले आफ्नो बिजनेश बढाउन नसकेको देखिन्छ । सन् २०१५ मा २ हजार ५ सय १७ पटक उडान भरेको गोमा एयरले सन् २०१६ मा २ हजार ५ सय ९५ पटक मात्रै उडान भरेको छ ।

आन्तरिकमा धेरै उडान गर्ने विमान ५ विमान कम्पनी

 

विमान कम्पनी उडान संख्या सन् २०१५ उडान संख्या सन् २०१६
बुद्ध एयर १८३७५ २३९७९
यती एयरलाइन्स १४१८४ १८१९०
तारा एयरलाइन्स ४८४९ ६२८२
गोमा एयर २५१७ २५९५
नेपाल एयरलाइन्स २८०९ २५६०


नयाँ विमान थप्ने होड

यसरी निजी कम्पनीहरु अहिले आन्तरिक उडान गर्ने विमान संख्या पनि थप्न लागिपरेका छन् । केहीले नयाँविमान ल्याइसके भने केही ल्याउने सोचमा छन् ।

नयाँ विमान कम्पनीको रुपमा श्री एयरलाइन्सले पनि आफ्नो सेवा थाल्न लागेको छ । हालैमात्रै यसले एउटा विमान ल्याइसकेको छ भने अर्काे छिट्टै ल्याउन लागेको छ । तीनवटा विमान ल्याएसँगै यसले उडान भर्ने योजना बनाइरहेको छ ।

समिट(गोमा) एयरलाइन्सले हालै मात्रै दुईवटा जहाज थपेको छ । यससँगै समिटका ६ वटा विमान भएका छन् । यसको उडान दुर्गम क्षेत्रमा केन्दि्रत रहेको छ ।

सौर्य एयरलाइन्सले पनि हालै एउटा विमान थपेको छ । यसपछि सौर्यका दुईवटा विमान भएका छन् । बुद्ध एयरलाइन्सले केहि समयअघि एउटा जहाज थपेको थियो, जसले उडानसमेत सुरु गरिसकेको छ । बुद्धले अझै एउटा विमान थप्न लागेको छ । अक्टोबरमा नयाँ विमान ल्याउने तयारी भइरहेको बजार व्यवस्थापक जोशी बताउँछन् ।

त्यस्तै यती एयरलाइन्सले पनि आउँदो मे महिनाको मध्यतिर नयाँ जहाज ल्याउन लागेको छ । साथै सञ्चालनमा आउने तयारीमा रहेको श्री एयरलाइन्सले अन्य दुई जहाज ल्याउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment