Comments Add Comment

राप्रपाका सांसद एमालेले किन्न खोजेको आरोप, ओली र थापाको सम्बन्ध चिसियो

मितबाबुका छोराहरुले राजनीतिक साँठगाँठ गरेको आरोप

४ साउन, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चलखेल गरेको भन्दै राप्रपा अध्यक्ष कमल थापा एमाले अध्यक्ष केपी ओलीसँग रुष्ट भएका छन् । ओली र थापावीच राम्रो सम्बन्ध रहँदै आएकोमा पछिल्लो प्रकरणले चिसोपन बढेको छ ।

संविधान संशोधन प्रस्ताव असफल पार्न राप्रपाका केही सांसदलाई एमालेका नेताहरुले पैसा दिएर किन्न खोजेको र यस्तो कार्य केपी ओलीको जानकारीमै भएको राप्रपा नेताहरुको दाबी छ ।

स्रोतका अनुसार राप्रपा अध्यक्ष कमल थापाले एक भेटमा एमाले अध्यक्ष ओलीसँग यसबारे गुनासो पोखेका छन् । थापाले ओलीलाई चेतावनीको भाषामा भनेका छन्- ‘संविधान संशोधन लगायतका विषयमा एमाले र राप्रपावीच मतान्तर छ, तर यही विषयलाई लिएर मेरो पार्टीभित्र खेल्ने काम बन्द गर्नुहोला ।’

सांसद किन्न खोजेको प्रमाण कमल थापासँग !

एमाले नेताहरूले राप्रपाका असन्तुष्ट १० सांसदलाई बैठकमा उपस्थित हुनबाट तर्काएर रिसोर्टमा राखेको र त्यहाँको खर्चसमेत एमालेले नै व्यहोरेको राप्रपा नेता बताउँछन्

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई असफल पार्न एमालेले आफ्ना केही सांसदहरु खरिद गर्ने प्रयास गरेको राप्रपा नेताहरुको आरोप छ । कमल थापालाई उधृत गर्दै राप्रपाका एक नेताले अनलाइनखबरसँग भने- ‘केपी ओलीको समेत जानकारीमा गरिएको यस्तो हरकतको प्रमाण र तस्वीर समेत अध्यक्ष कमल थापासँग सुरक्षित छ ।’

र, त्यही प्रमाणका आधारमा कमल थापाले केपी ओलीलाई राप्रपाभित्र चलखेल नगर्न चेतावनी दिएका हुन् । थापाको चेतावनीपछि ओलीले आफूलाई यसबारे जानकारी नभएको बताएका थिए । तर, सो भेटमा थापाले ओलीलाई भने- ‘तपाईको जानकारीविना कसरी तपाईका मान्छेले मेरा सांसदहरुलाई भेटेर यस्तो काम गरे ? यसबो मसँग तस्वीरसहित प्रमाण छ ।’

सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक संसदमा मतदानका लागि प्रस्तुत हुनै लाग्दा गत वैशाख १७ गते राप्रपाका १० जना सांसदहरु एकाएक बैठकमा अनुपस्थित भएका थिए । उनीहरुकै कारण संविधान संशोधनमा बहुमत नपुग्ने भएपछि सरकार पछि हट्न बाध्य भएको थियो ।

राप्रपाका सांसदहरु त्यसरी अनुपस्थित हुनुमा एमालेको चलखेल जवाफदेही रहेको राप्रपा नेताहरुको दाबी छ ।

विशेष गरी राप्रपाका ४ जना सांसदहरु रामकुमार सुब्बा, रेशम लामा, बबिना मोक्तान र बिराज विष्टलाई एमालेले भड्काएको राप्रपा नेता बचाउँछन् ।

सुरुमा आफ्नो पार्टी पूर्वराजाका मान्छेहरुले फुटाउन खोजेको राप्रपा अध्यक्ष कमल थापाको बुझाइ थियो, तर पछि एमालेले चलखेल गरेको तस्वीरसहितको प्रमाण थापाको हातमा आइपुगेको राप्रपा नेताहरु बताउँछन् । राप्रपा स्रोतले अनलाइनखबरसँग भन्यो- ‘दरबारले संविधान संशोधन चाहेको छैन, त्यो कुरा सत्य हो, तर उसले पार्टी नै फुटाउने हथकण्डा गरेन । एमालेले चाहिँ पार्टीभित्रै चलखेल गर्‍यो । पैसासमेत लगानी गरेको प्रमाण भेटियो ।’

एमालेको लगानीमा राप्रपामा गुटबन्दी ?

फाइल तस्वीर

संविधान संशोधनको विपक्षमा उभिँदै बैठकमा अनुपस्थित भएका राप्रपाका नेताहरु एक रिसोर्टमा पुगेको र त्यहाँ एमाले सांसद अग्नि खरेलले विद्रोही राप्रपा नेतासँग संविधान संशोधनको विपक्षमा उभिन आग्रह गरेको स्रोत बताउँछ ।

राप्रपा अध्यक्ष कमल थापाको भनाइ उधृत गर्दै स्रोतले भन्यो- ‘यसबारे आर्थिक लेनदेन नै भएको प्रमाण छ ।’

तथापि यही आधारमा राप्रपाका सांसदलाई कारवाही भने नगरिने अध्यक्ष थापाले बताउने गरेका छन् ।

राप्रपा अध्यक्ष कमल थापाले आफूविरुद्ध गतिविधि गर्दै हिँडेका केशरबहादुर विष्टका छोरा बिराज विष्ट र सगुन लावतीकी पत्नी बबिना मोक्तानलाई पनि अहिलेसम्म सांसदबाट नहटाएको उदाहरण दिँदै राप्रपाका नेता भन्छन्- ‘एमालेबाट पैसा खाने सांसदलाई पनि अध्यक्षजीले प्रमाण हुँदाहुँदै कारवाही गर्नुभएको छैन ।’

‘मित भाइ’ माथि आरोप

एमाले नेताहरूले राप्रपाका असन्तुष्ट १० सांसदहरुलाई बैठकमा उपस्थित हुनबाट तर्काएर रिसोर्टमा राखेको र त्यहाँको खर्चसमेत एमालेले नै व्यहोरेको राप्रपा नेता बताउँछन् ।

राप्रपाका असन्तुष्ट सांसद रामकुमार सुब्बाको टोलीसँग एमाले अध्यक्ष केपी ओलीका नजिकका नेता अग्नि खरेलले भेटेर संविधान संशोधनको विपक्षमा गुटबन्दी गरेको राप्रपा नेताको आरोप छ ।

साथै खरेलले गरेको भनिएको भेटवार्ता एमाले नेता केपी ओली, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलसमेतको जानकारीमा भएको राप्रपाका नेता बताउँछन् ।

तर, यसबारेमा जिज्ञासा राख्दा एमाले सांासद अग्नि खरेलले यसलाई भ्रामक प्रचारको संज्ञा दिए ।

सांसदहरुवीच भेटघाट हुनु सामान्य कुरा हो, तर राप्रपाका नेताहरुसँग आफ्नो कुनै भेटघाट र साँठगाँठ नभएको एमाले नेता खरेलले अनलाइनखबरलाई बताए ।

एमाले नेता खरेलले अनलाइनखबरसँग भने- ‘राप्रपा नेता रामकुमार सुब्बासँग मेरो पारिवारिक सम्बन्ध छ । उहाँ मेरा मित दाइ हुनुहुन्छ, उहिले बुबाहरुले नै मित लगाएकाले हामी दाजुभाइ हौं, उहाँसँग मेरो पारिवारिक भेटघाट र सम्बन्ध हुनु स्वाभाविकै भए पनि उहाँहरुले भनेजस्तो कुनै चलखेल भएको होइन ।’

राप्रपाले आफ्ना सांसदहरुलाई आफैं व्यवस्थापन गर्न नसकेको र त्यसको दोष एमालेमाथि लगाउन खोजेको खरेलले बताए । उनले भने-‘ उहाँहरुले आफूभित्र म्यानेज गर्न नसक्दा यस्तो समस्या आएको हो, एमालेले चलखेल गर्‍यो भन्ने आरोप निराधार छ ।’

रामकुमार सुब्बा भन्छन्- एमालेसँग केही कुरा मिल्न सक्छ

यसैवीच राप्रपा सांसद एवं पूर्वमन्त्री रामकुमार सुब्बाले अनलाइनखबरसँग कुरा गर्दै अहिलेको संविधान संशोधन विधेयक राष्ट्रघाती भएकाले यसलाई नमान्ने आफ्नो अडान दोहोर्‍याए ।

तपाईहरु १० जना राप्रपा सांसदहरु गोकर्ण रिसोर्टमा बैठक बस्न जानुभएको हो कि हैन भन्ने प्रश्नमा सुब्बाले भने- ‘त्यो त धेरै पुरानो कुरा भयो । तर, हाम्रो लाइन स्पष्ट छ, राष्ट्रघाती संविधान संशोधन विधेयकलाई मान्न सकिँदैन ।’

सांसद सुब्बाले संविधान संशोधनको विपक्षमा राप्रपाका ३७ जनै सांसदहरु उभिने आफूलाई विश्वास लागेको बताए ।

उनले अनलाइनखबरसँग भने- ‘आफूलाई राष्ट्रवादी भन्ने अनि राष्ट्रघाती विधेयकलाई मान्न सकिन्छ त ? त्यसैले यो छलफलको विषय बन्छ र सबै सांससदहरु यसको विपक्षमा उभिनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

आफूहरुले राष्ट्रवादी अडान लिँदा एमालेसँग केही कुरा मिल्ने सुब्बाले बताए । उनले भने-‘ उहाँहरुको पनि राष्ट्रवादी लाइन भएकाले केही कुराहरु मिल्न सक्छन्, तर एमालेसँग हाम्रो कुनै छलफल र साँठगाँठ भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment