
३२ साउन, सप्तरी । बाढीबाट प्रभावित बनेको सप्तरी जिल्लाको अवस्था सामान्यतर्फ उन्मुख हुने क्रममा छ । गत साउन २७, २८ र २९ गतेको लगातारको अविरल वर्षाका कारण सप्तरी जिल्लाको प्रत्येक स्थानीय तहमा बाढी पसेको छ ।
३० गतेदेखि घाम लाग्न थालेपछि जिल्लाको जनजीवन केहि मात्रामा सामान्यतर्फ उन्मुख भएको छ । ग्रामिण क्षेत्रमा मानव वस्ती पसेको बाढी अझै सुकिसकेको छैन ।
वर्षा बन्द भएको तीन दिन बितिसक्दा पनि बाढीपीडितको ठोस तथ्यांक आउन सकेको छैन । रेडक्रस र प्रहरीले तथ्यांक बाहिर निकाले पनि सबैको आ-आफ्नै किसिमको रहेको छ ।
प्रहरीको तथ्यांकले बिभिन्न ६ वटा स्थानीय तहमा २५ वटा घर पूर्ण रुपले नष्ट भएको जनाएको छ भने रेडक्रसले पूर्ण रुपले क्षति भएको तथ्यांक देखाएको छैन । प्रहरीका अनुसार बाढीका कारण १४ सय ८९ परिवारका ५४ सय ११ जना विस्थापित भएका छन् । ३ हजार ६९० घर डुबानमा परेको प्रहरीको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
जिल्ला रेडक्रसको तथ्यांकलाई हेर्ने हो भने बाढीबाट १ लाख ३० हजार ६ सय २९ परिवार प्रभावित भएको देखाइएको छ । बाढीका कारण ६ लाख ४८ हजार ९ सय ४५ जना प्रभावित भएका छन् । विस्थापित २६ हजार ३ सय २५ जना भएको. रेडक्रसको तथ्यांकले देखाउँछ । रेडक्रसका अनुसार १ लाख ३१ हजार ६ सय २५ जना भएका छन् ।
बुधबार बसेको दैवी प्रकोप उद्धार समितिको बैठकमा फरक-फरक तथ्यांक प्रस्तुत गरिएपछि बाढीपीडितको तथ्यांक संकलन द्रूत गतिमा गर्ने निर्णय गरेको छ । प्रत्येक स्थानीय निकायका कार्यकारी अधिकृत वा सचिवको संयोजकत्वमा समिति बनाइएको छ । वास्तविक पीडितको तथ्यांक संकलन भएपछि यथाशिघ्र पुनर्निर्माणमा जुट्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ । सहयोगी निकायहरुलाई सहयोगका लागि आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्नका निम्ति सरकारलाई लेखी पठाउने निर्णय गरेको छ ।
दैवी प्रकोप उद्धार समितिले मृत्यु भएपछि बगाइएका सप्तरीको कोइलाडी गाविसका बालकको मृत्यु बाढीले भएको निर्णय गरेको छ । बिरामी भएपछि लगातारको वर्षाले उपचार नपाउँदा कोइलाडी गाविसका बालक कमलु सदाको मृत्यु भएको थियो ।
मृत्यु भएका बालकलाई गाड्ने ठाउँ नपाएपछि बाढीमै बगाइएको थियो ।
प्रतिक्रिया 4