+
+
Shares

तिब्बती शरणार्थीका चिनियाँ पाहुना

भन्छन्- चिनियाँहरु आएनन् भने हाम्रो जीविका नै मुस्किलमा पर्छ

उपेन्द्र पोखरेल उपेन्द्र पोखरेल
२०७४ भदौ २८ गते १२:००

२८ भदौ, काठमाडौं । हालैको एक अपरान्ह पोखरा हेम्जास्थित तिब्बती शरणार्थीको टासी पाल्के शिविर पुग्दा युवक सोनाम लामा पर्यटकको पर्खाइमा थिए । उनको रोजाइमा तेस्रो मुलुकका भन्दा चिनियाँ पर्यटक थिए ।

‘चिनियाँ पर्यटक आएनन् भने त हाम्रो व्यापार नै चल्दैन,’ उनले भने, ‘हस्तकलाका सामग्रीमा चिनियाँहरु लोभिन्छन् र जति भन्यो त्यतिमा किन्छन् ।’

सबैजसो तिब्बती शरणार्थी शिविर पर्यटकीय आकर्षणका केन्द्र बनेका छन् । पर्यटक जाने, घुम्ने र उनीहरूको संस्कृति बुझ्ने गर्छन् । पछिल्लो समय शिविरहरूमा चिनियाँ पर्यटकको संख्या बढ्दो क्रममा छ । त्यसरी आउने चिनियाँ नागरिकको उद्देश्य शिविरका गतिविधि थाहा पाउनु पनि रहने शंका भने कायमै देखिन्छ ।

‘नेपालमा जहाँ-जहाँ तिब्बती शरणार्थी बसेका छन्, त्यहाँ चीनको प्रभुत्व बढ्न थालेको छ,’ पोखरा लेकसाइडका एक नेपाली व्यवसायी भन्छन्, ‘पोखरा पनि त्यसबाट अछुतो छैन । पोखरामा चिनियाँ पर्यटक बढ्नुको मुख्य उद्देश्य तिब्बती शरणार्थीहरूको निगरानी गर्नु हुन सक्छ ।’

एक समय थियो, तिब्बतीहरु चीनको नाम पनि सुन्न मान्दैनथे । अहिले समय फेरिएको छ, चिनियाँ पर्यटक आए मात्र हस्तकलाका सामग्री बिक्री हुने ठान्न थालेका छन्, तिब्बती शरणार्थी ।

तिब्बती शरणार्थी र नेपाली पर्यटनको सम्बन्ध अन्योन्याश्रति छ । तिब्बती शरणार्थी आफैंमा पर्यटनको एउटा ‘प्रोडक्ट’ मानिन्छन् ।

संसारको छानो उपमा पाएको तिब्बत पुग्न लालायित हुने पर्यटक पश्चिमा मुलुकका बढी हुन्छन्, जसका लागि अझै सहज पहुँचमा छैन, तिब्बत ।

आर्थिक विकासको द्रुततर गतिसँगै चिनियाँ नागरिकको उपार्जनको स्रोत पनि बढ्दो क्रममा छ । एक समय थियो, चिनियाँहरु वैज्ञानिक प्रविधि सिक्न संसारभर पुग्थे । तिनै नागरिकले भित्र्याएको प्रविधिमा टेकेर विकासको फड्को मार्न सफल भयो, चीन । अहिले समय आएको छ, चिनियाँ नागरिक पर्यटकका रुपमा संसारभर फैलिन थालेका छन् ।

त्यही लहरको लाभ नेपालमा रहेका तिब्बती शरणार्थीले पनि प्राप्त गर्न थालेका हुन् । चीनमा कम्युनिस्ट पार्टीको शासन शुरु भएपछि आफ्नो संस्कृतिमाथि धावा बोलिएको ठानेका तिब्बतका बासिन्दा आफ्ना धर्मगुरु दलाई लामाको पदचिन्ह पछ्याउँदै भागेर दक्षिणी छिमेकी नेपाल हुँदै भारततिर पसे ।

तीमध्ये केही नेपालमा बसे । र, शरणार्थीको दर्जा पाए ।

चिनियाँहरु देशाटनमा निस्किन शुरु गर्नु अघिसम्म तिब्बती शरणार्थीहरुले बिक्री गर्ने हस्तकलाका सामग्रीले खासै भाउ पाएका थिएनन् । नेपालमा फल्ने बोधिचित्तका दानाको त मूल्य नै थिएन ।

‘बोधिचित्तको मालाको मूल्य चिनियाँहरूले कहाँबाट कहाँ पुर्‍याइदिए,’ ती नेपाली व्यवसायी भन्छन्, ‘अहिले तिब्बती क्याम्पमा बोधिचित्तको माला लिएर शरणार्थीहरू चिनियाँ पर्यटक कुरेर बस्न थालेका छन् । शरणार्थीका लागि चिनियाँ पर्यटक युरोपेली र अमेरिकीभन्दा महत्वपूर्ण भइसके ।’

उनको बुझाइमा चिनियाँ पर्यटकको शरणार्थी शिविर घुमघामको एक मात्र उद्देश्य उनीहरुको सहारा चीन नै भएको बुझाउनु हो । भन्छन्, ‘तिब्बतीहरूका लागि चिनियाँ पर्यटक नै महत्वपूर्ण हुन् भनेर बुझाउन खोजिरहेजस्तो लाग्छ ।’

हस्तकलाका सामानमा ८० प्रतिशत नेपाली कच्चापदार्थ प्रयोग हुन्छ । त्यसबाहेक भारतबाट ल्याउनु पर्छ । नेपालमा काटिने राँगा, भैंसीको हड्डी भारत जान्छ । र, भारतमा हस्तकलाको कच्चापदार्थ बनेर फेरि नेपाल आउँछ । त्यही हड्डीबाट माला, नेक्लेसलगायत सामान बनाइन्छ ।

काठमाडौं, पोखरासहित देशभरका शिविरमा बस्ने तिब्बती शरणार्थीको आम्दानीको मुख्य स्रोत क्युरियो सामानको व्यापार हो । शिविरभित्र आफैं उत्पादन गर्छन्, आसपासका तिब्बतीकै पसलमा ल्याएर बिक्री गर्छन् । र, तिनै पसलहरुबाट स्वदेशी/विदेशी पर्यटकले खरिद गर्छन् ।

काठमाडौंमा बौद्ध, स्वयम्भुलगायत क्षेत्र तथा पोखराको लेकसाइडका पसलहरुले उनीहरुका सामान खरिद गरेर पर्यटकलाई बिक्री गर्छन् ।

शरणार्थी नेता सोनाम साङ्पोका अनुसार देशभरका तिब्बतीका लागि आम्दानीको मुख्य स्रोत विदेशी पर्यटक नै हुन् । उनी भन्छन्, ‘स-साना हस्तकलाका सामग्री बिक्री गरेर जीवन निर्वाह गरिरहेका छन् ।’

पर्यटकीय सिजनमा शिविरका ५० प्रतिशत मानिस पर्यटककै पछि लाग्छन् । पोखराका शिविरमा बस्ने शरणार्थीहरु घान्द्रुक, छोमरोङ, अन्नपूर्ण आधार शिविर, धम्पुसलगायत पर्यटकीय क्षेत्रमा छरिन्छन् । बाटो-बाटोमा कुरेर आफूले बनाएका हस्तकलाका सामान फिँजाउँछन् र पर्यटकलाई बिक्री गर्छन् ।

शिविरमा आउने चिनियाँ पर्यटकमध्ये सबैजसो बौद्ध धर्मावलम्बी रहेको शरणार्थी नेता साङ्पो बताउँछन् । कोही त गुम्बामा पुगेर पूजा पनि गर्छन् ।

यसअघि तिब्बती संस्कृतिको मिश्रित स्वरुप झल्किन्थ्यो, काठमाडौंका ठमेल र बौद्ध तथा पोखराको लेकसाइडलगायत क्षेत्रमा । अहिले ती सबैमा चिनियाँ व्यवसायीको बाक्लो उपस्थिति देखिन्छ । ती क्षेत्रमा धेरै चिनियाँ लगानीका होटेल खुलेका छन् ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाका अनुसार पहिले बौद्धआसपास ५० प्रतिशत पसल तिब्बतीकै थिए, अहिले पाँच प्रतिशतमा झरेका छन् । तर, शिविरभित्र गलैंचा बुन्ने क्रम फाट्टफुट्ट देखिन्छ । जावलाखेलको शिविरमा भने फ्याक्ट्री सञ्चालनमा छ । शिविरमा उत्पादित गलैंचा चीनतर्फ नै निर्यात हुन्छ ।

घरभाडामा भएको वृद्धि, हस्तकलाका सामग्री बनाउन नेवारी समुदायको सक्रियता, थाङ्कामा तामाङ समुदायको इच्छालगायत कारण तिब्बतीको व्यापार भने खस्कँदै गएको छ ।

पोखरामा होटेलहरूको चिनियाँलाइन नै छ, जहाँ रेस्टुराँ र होटेल करिब ६० वटा छन् । लेकसाइडका अर्का व्यवसायी भन्छन्, ‘क्रान्ति र आदर्शको कुरा गरिबीमा मात्र हुन्छ । तिब्बतीहरू अब धेरै इन्फ्लुएन्स भइसके ।’

यो पनि पढ्नुस् 

तिब्बती शरणार्थीलाई अमेरिकाको एक करोड ७० लाख डलर

लेखक
उपेन्द्र पोखरेल

पोखरेल अनलाइनखबर डटकमका पूर्व सहायक सम्पादक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?